लड्दैपड्दै उभिएको बर्दियाको डल्ला गाउँ होमस्टे


डल्लाको होमस्टे
डल्लाको होमस्टे
जनक पौड्याल

९ महिनाअघि नेपाल भ्रमणमा आएका बेलायती राजकुमार ह्यारीको भ्रमण तालिकामा बर्दिया राष्ट्रिय निकुञ्ज पनि परेको थियो। उनी २०७२ साल चैत ८ गते बर्दिया पुगे। उनले निकुञ्जको बीचमा बगेको खौरिया खोलामा र्‍याफ्टिङ गरे। निकुञ्जसँगै जोडिएको एउटा सानो थारु गाउँमा पुगे र केही समय १४ नम्बर होमस्टेमा आराम गरे। प्रिन्स ह्यारीले टेकेपछि सूर्यपटुवा गाविस ४ मा रहेको डल्ला गाउँको एकाएक चर्चा भयो। अहिले पनि डल्ला होमस्टेमा पुग्ने अधिकांश पाहुनाले 'प्रिन्स ह्यारी यहाँ आएका थिए होइन? उनी कुन घरमा आराम गरेका थिए? उनले के भने? के-के गरे?' जस्ता प्रश्न पहिले गर्छन्।

डल्ला होमस्टे सञ्चालक समितिका अध्यक्ष परशुराम चौधरीले भने, 'होमस्टे पहिलेदेखि नै थियो, देशभित्रकै केही ठूलाबडाहरु पनि आएकै हुन्। तर प्रिन्स ह्यारी आएपछि भन्छन् नि सुनमा सुगन्ध भने जस्तो भयो। चर्चा एकाएक चुलियो।'

प्रिन्स ह्यारीले आराम गरेको होमस्टे

प्रिन्स ह्यारीले आराम गरेको होमस्टे

बर्दियाको थारु समुदायले सञ्चालन गरेको होमस्टेका रुपमा कहलिन डल्ला गाउँले धेरै हण्डर खेपेको छ। प्रिन्स ह्यारीले टेक्नासाथ चर्चित भूमि जस्तो देखिएको डल्ला गाउँको अन्तर्कथा भने कम सकसपूर्ण छैन। माओवादी युद्धको चरम मार खेप्नेदेखि जंगली जनावरले दिने सास्ती सहेर पनि डल्लाले आफ्नो पहिचान बनाउँदैछ।

माओवादी सशस्त्र द्वन्द्वका बेला डल्ला गाउँ सरकारी नजरमा 'माओवादी गाउँ' थियो। महेन्द्र राजमागर्गदेखि १८ किलोमिटर दक्षिणमा जंगलसँग जोडिएको डल्ला गाउँलाई तत्कालीन सुरक्षाकर्मीले फुटी आँखाले हेर्न चाहेनन्। परशुराम चौधरीले ती दिन सम्झँदै भने, 'एक सय १२ घर भएको हाम्रो गाउँबाट सशस्त्र युद्द्धका बेला ११ जनाले ज्यान गुमाए। सूर्यपटुवा गाविसबाट मात्र लगभग २१ जना मारिए होला। एउटै घरका पाँच जनासम्म परे।'

समाजमा पर पारिएको थारु समुदायका केही मानिसले माओवादी युद्धलाई जानीनजानी आत्मसात गरेका थिए। त्यसको भार उनीहरुले चुकाउनुसम्म चुकाए। चौधरी भन्छन्, 'थारु समुदाय सँधै पछाडी पारिएको हो। युद्धसँगै आएको राजनीतिक चेतनाले हामीलाई आत्मबल भने मिलेको छ। त्यसैले डल्ला गाउँलाई नमूना होमस्टे बनाउन भनेर हामी कस्सिएका छौँ।'

यस्तै घरमा बस्न पाउनेछन् डल्ला पुग्ने पाहुनाले

यस्तै घरमा बस्न पाउनेछन् डल्ला पुग्ने पाहुनाले

प्रधानमन्त्री पुष्पकमल दाहाल केही समय अघि डल्ला गाउँ पुगे। आफू युद्धकालमा यो गाउँमा आएको भनेर सुनाए। गाउँलेहरु दाहालको त्यो अतितसँग उति उत्साहित भएनन्, उनीहरुलाई त वर्तमान चाहिएको छ, भविष्य चाहिएको छ। माओवादी युद्धमा त्यति धेरै पिल्सिएको डल्ला गाउँले प्रधानमन्त्री दाहालसँग मात्र बाटो माग्यो। महेन्द्र राजमार्गको आमबासादेखि ठाकुरद्वारा हुँदै ओराली भन्ने ठाउँसम्म पिच आइदिओस्। बस्, यत्ति छ उनीहरुको चाहना।

डल्ला गाउँका बडघर अशोकराम चौधरीले भने, 'बर्खामा हिलैहिलो र हिउँदमा धुलैधुलो हुन्छ। राम्रो बाटो बनिदिए यहाँ पाहुनालाई आउन पनि सजिलो हुन्थ्यो।'

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको शिव सामुदायिक वन डल्लाबासीहरुको संरक्षणमा छ। त्यहाँ जंगली हात्ती र गैँडा आइबस्छन्। डल्ला पुग्ने पर्यटकले वनमा मौका मिले गैँडा र हात्तीसँगै पाटेबाघ, चितुवा जस्ता दूर्लव जनावर पनि देख्न पाउँछन्। जंगल सयर गर्न पाउँछन्। थारु परिकार र संस्कृतिको स्वाद लिन पाउँछन्। सबैभन्दा प्रिय कुरा त, डल्ला गाउँका बालक, बृद्ध सबैले मुस्कानसाथ गर्ने स्वागत र सम्मान पाउँछन्।

थारु परिकार ढिक्री

थारु परिकार ढिक्री

सामुदायिक वन संरक्षणको काम पनि सजिलो कहाँ छ र। डल्ला गाउँमा गैँडाको आक्रमणबाट दुई जना र हात्ती आक्रमणबाट दुई जनाले ज्यान गुमाइसकेका छन्। तथापि जंगलसँग उनीहरुको नातो पुरानो छ, माया पुरानो छ। २०५४ सालमा सुरु भएको शिव सामुदायिक वनका अध्यक्ष मंगल चौधरीले भने, 'त्यही जंगल छ, त्यही जनावर छन् र त पाहुनाहरु आउँछन्। कहिलेकाहीँ जंगली जनावरले हैरान बनाउँछ तर पनि तनीहरुकै संरक्षण गर्नुछ। कहाँ जाउन् र उनीहरु। यो धर्ती त उनीहरुको पनि हो नि।'

पर्या पर्यटनको विकास गर्ने र डल्लालाई देशकै नमूना होमस्टे बनाउने काममा गाउँले एकजुट भएर खटेका छन्। अहिले २२ वटा घरमा होमस्टे सञ्चालित छन्। २०६७ सालमा तत्कालीन मिसनेपाल सदीक्षा श्रेष्ठले उद्घाटन गर्दा ११ घरमा होमस्टे थियो। अध्यक्ष चौधरीले भने, 'पाहुना थपिदैँ गए होमस्टेको संख्या बढाउन हामी सक्छौँ। होमस्टे नभएका घरहरुमा पनि कसैले गाई-भैँसी पालेका छन्, कसैले अर्गानिक तरकारी खेती, कसैले लोकल कुखुरा, बाख्रा, माछा पालन गरेका छन्। पाँच घरले बेतका फर्निचर बनाउने जिम्मा लिएका छन्। समुदायलाई नै लाभ हुनेगरी हामी अघि बढेका छौँ।'

बेतका सामाग्री बनाउँदै डल्लाबासी

बेतका सामाग्री बनाउँदै डल्लाबासी

डल्लामा बर्सेनी १२ देखि १३ हजार पर्यटक पुग्छन्। त्यसमा पाँच देखि ६ सय विदेशी पाहुना हुन्छन्। परशुरामलाई लाग्छ, यो संख्या अझै बढाउन सकिन्छ। उनको चाहना छ, कम्तिमा पर्यटन बोर्डले मात्र भए पनि वर्षमा केही कार्यशाला वा तालिमा यहाँ आएर गरोस्। उनले भने, 'हामीले हाम्रो ढंगले होमस्टे सञ्चालन गरेका हौँ। देशका अरु ठाउँमा कसरी सञ्चालन भएका छन् त्यो बुझ्न पाए हुन्थ्यो। पर्यटन बोर्डले बर्दियाको होमस्टे देखाउन लम्जुङको होमस्टे सञ्चालकलाई ल्याओस, हामीलाई उता लगोस्। त्यसले सांस्कृतिक आदानप्रदानसँगै होमस्टे सञ्चालनमा थप अनुभव मिल्थ्यो।'

डल्ला गाउँले हरसम्भव आफूलाई पाहुनाको सत्कारमा लगाएको छ। सहृदयी थारु दाजुभाइ-दिदीबहिनीहरु त्यहाँ पुग्ने पाहुनाको आतिथ्यमा दत्तचित्त छन्। तब न दूरदराजको थारु बस्ती डल्लाले सम्मान आर्जन गरेको छ।

प्रकाशित २२ पुस २०७३, शुक्रबार | 2017-01-06 16:24:56

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सिंहदरबार रेट्रोफिटिङ गर्न टेण्डर निकाल्ने तयारी

    भूकम्पले क्षतिग्रस्त बनाएको सिंहदरबार रेट्रोफिटिङ (सबलीकरण) गरिने भएसँगै पुनर्निर्माणले गति लिने भएको छ। सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई...

  • पश्चिम सेतीले जगाएको आशा

    पश्चिमसेती जलविद्युत आयोजना अघि बढाउन वैधानिक रुपमा बाटो खुलेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बुधबार स्वीकृति दिएपछि ७ सय ५० मेगावाटको...

  • लण्डनले स्वागत गर्‍यो पहिलो चिनियाँ रेललाई

    चीनबाट बेलायतका लागि छुटेको मालबाहक रेल बुधबार लण्डन पुगेको छ। १८ दिनको यात्रापछि ७ हजार ५ सय माइल दूरी पार गरेर सो रेल पूर्वी लण्डनको बार्किङमा...

  • मधेशमा पाँच लाखको शक्ति प्रदर्शन: एमाले

    मधेशमा पाइला टेक्नै नपाउने चेतावनी खेपिरहेको नेकपा एमालेले मेचीदेखि महाकालीसम्म पाँच लाखभन्दा बढी जनता सडकमा उतार्ने तयारी भइरहेको बताएको छ।...