साहित्यमा तराई–मधेस (कथा)

हिटलर


हिटलरलाई दूध खान मन लाग्यो।

00                                                                                        00

हो, आजको मेरो कथाको पात्र हो हिटलर। मेरो कथाको नायक बनिदिने धेरै दिनको मेरो अनुनयविनयपछि मात्र उसले ‘पात्र’ बन्न स्वीकार गरेको बेहोरा म मेरा पाठकहरुलाई ससम्मान जानकारी दिन चाहन्छु।
हिटलर अचेल मेरो रुमपार्टनर भएको छ। जतिखेर ऊ मकहाँ आयो, सहरमा दंगा सुरु भइसकेको थियो र सहरभरि पुलिसहरु कफ्र्युको आदेश छर्दै थिए। त्यसैले आउनेबित्तिकै मैले ‘एकछिन थकाइ मेटुँ, अनि सहर डुल्न जाउँला’ भन्न सकिनँ। हिटलरले पनि केही भनेन। हामी केही बेर ससाना टुक्राटाक्री कुराहरु गरेर निदायौँ।

राती एकदुई पटक हिटलर तर्सेर बिउँझ्यो। उसले सहरभित्र बाघ देखेछ। अचेल हिटलर बाघ देखेर तर्सिन थालेछ, यो कुरा पाठक महोदय, तपाईंहरुलाई अचम्म लाग्ला। लाग्दैन? हो पनि, किन लागोस्? आजको समय र परिवेशमा ‘अचम्म’ भन्ने कुरो के?

– के एकसाथ सय पचासको हत्या हुनु ‘अचम्म’ हो?

– सय जनाको एकै पटक नाक काटिनु कुनै ‘अचम्म’ हो?

– सहरमा प्रत्येक मान्छेले एकअर्कालाई हतियार देखाएर तर्साउनु ‘अचम्म’ हो?

निश्चय पनि आधुनिक समय र सन्दर्भमा यी ‘अचम्म’ का कुराहरु होइनन्, पक्कै होइनन्।

राती हिटलरलाई ऐठन पनि प¥यो। उसले कैयन् पटक आफ्नो घाँटी निमोठिएको सपना देख्यो र गुहार माग्न खोज्यो सपनामै। अहँ, पटक्कै आवाज निस्किएन। घ्यार्रघ्यार्र गरेको त मैले पनि सुनेको थिएँ तर त्यतिखेर ऊ त्यति भयावह सपना देखिरहेको होला, मैले कसरी ठम्याउनु? ... निकै बेरको संघर्षपछि मात्र उसका आँखा खुले र आँखा खुलेको केही बेरपछि मात्र सहज अनुभव ग¥यो।

राती हिटलरले एउटा अर्को सपना पनि देख्यो – सहरका जम्मै व्यक्तिहरु समलिंगी भएको र सबैले बलजफ्ती उसको लुगा फुकालेर उसलाई नांगो पारेको। हिटलर त्यतिखेर रोयो। ब्युँझँदा पनि उसका आँखाका कापमा आँसु कटकटिएको थियो।

00                                                                                         00

तर उसको इच्छा पूरा गरिदिन हाल सम्भव थिएन। मकहाँ नियमित रुपमा दूध पु¥याउने दूधवाला थिएन। त्यसैले दूध वा दूधबाट बनेका पदार्थहरुका लागि बजारमै जानुपर्ने बाध्यता थियो। .... र बजार जाने उपाय थिएन कफ्र्युका कारण।

सहरमा आगो लागेको थिएन तर आगोको ‘तातो’ चारैतिर अनुभव भइरहेको थियो। मान्छेहरु एकअर्कालाई एकसाथ आक्रमण र अविश्वासको भावले हेरिरहेका थिए। अस्पतालअगाडि दंगा, चोकमा दंगा, वडा प्रहरी कार्यलयअगाडि नै झडप, गल्लीहरुमा ढुंगा हानाहान, इदगाहअगाडि हात हालाहाल, मन्दिरअगाडि नै टाउको फोराफोर, आदिइत्यादि कुराहरु आफ्नो सम्पूर्ण शक्ति, सामथ्र्य र आवेगका साथ भइरहेका थिए, घटिरहेका थिए।

कट्टाहरु, छुराहरु, हथगोलाहरु, चेनहरु, र बन्दुकहरुको खोजी सुरु भइसकेको थियो। सीमाका चोर बाटाहरुबाट यी कुराहरु भित्रिरहेका थिए।

आशा, विश्वास, समझदारीका निम्ति सहर साँघुरो भइरहेको थियो।

सर्वदलीय बैठक एकअर्कालाई आरोप–प्रत्यारोप गर्दै सिद्धियो। ‘आजको सन्दर्भमा मानवता’ विषयक प्रवचन–कार्यक्रममा एउटा श्रोता पनि उपस्थित भएन। तटस्थ व्यक्तिहरु ‘शान्ति मार्च’ गर्न डराए।

स्थिति यस्तो थियो र यस्तोमा ‘दूध’ को सम्भावना थिएन। .... यही कुरा भन्न, स्पष्ट गर्न म हिटलरतिर फर्किएँ तर हिटलर आफ्नो साबिकको स्थानमा थिएन। ऊ बसेको ठाउँमा एउटा सानो चिट थियो र लेखिएको थियो– ‘दूधको खोजी’।

अर्थात् हिटलर दूधको खोजीमा निस्कियो।
मसित, मभित्र यतिखेर ‘डर’ पनि थियो र ‘रिस पनि।
यो ठाउँ, यहाँको परिवेश, यहाँका बाटाहरु, यहाँको स्थिति, सबैतिर अपरिचित हिटलर हराउन पनि सक्थ्यो अथवा ‘हराइन’ पनि सक्थ्यो। त्यसैले उसलाई खोज्नु र रोक्नु जरुरी थियो।

00                                                                                        00

लुगा फेरेर म पनि निस्किएँ हिटलरको खोजीमा।

म मूल सडकमा आइपुग्दा सडकमा कुकुरहरु थिए, पुलिसहरु पनि थिए। यो एरियामा कफ्र्यु जारी गरिएको थिएन तर डर, त्रास र अविश्वासहरु थिए। शंकाउपशंकाहरु जारी थिए। क्रोध, आवेग र उन्मादहरु पनि जारी थिए।

डर, त्रास, अविश्वास, शंकाउपशंका, क्रोध, आवेग र उन्मादहरु छिचोल्दै, पुलिस र कुकुरहरुसित जोगिँदै म कफ्र्युग्रस्त बजार पुगिने गल्लीभित्र फुत्त पसेँ।

गल्लीभित्र पनि कुकुरहरु थिए। यिनीहरुलाई कफ्र्युको डर थिएन। त्यसैले यतिखेर सबैभन्दा डरलाग्दा कुकुरहरु नै थिए तर गल्लीका कुकुरहरुबाट पनि म जोगिएँ र जुग्गीलालको बन्द रहेको पसलनेर पुगेँ। दायाँ टँगास्ट्याण्ड र बायाँ राधाकृष्ण मन्दिरसम्म आँखा तन्काएर हेरेँ। बुट, टोप, बन्दुक र लठ्ठीहरुबाहेक कतै केही देखिनँ। पसलहरु यस्तामा खुल्ने कुरै थिएन। त्यसैले दूधको खोजीमा निस्किएको हिटलरलाई यतातिर भेटिने सम्भावना रहेन।

बुट, टोप, बन्दुक र लठ्ठीहरु विपरीत दिशातिर फर्किएको मौका छोपी म खुरुर्र दौडेर ठीक अगाडिको महेन्द्रपार्क जाने गल्लीभि पसेँ। ढुक्क भएँ। नावेल्टी हेयर कटिङ स्यालुननेर अडिएर चुरोट खान सलाई झिकेँ तर खल्तीमा चुरोट रहेनछ। हातमा यतिखेर सलाई मात्र रह्यो र म आफ्नै हातको सलाईदेखि डराएँ। एउटा घरको झ्यालबाट च्याइरहेको आठदश वर्षको ‘आँखा’ पनि डरायो। मानौँ म उसको घर सल्काउन आएको छु। ‘आँखा’ ले आतंकित भएर झ्याल बन्द ग¥यो र मैले हत्तपत्त सलाई फेरि खल्तीभित्र हुलेँ।

घसियारन टोलबाट सोझै हिँडेपछि म फेरि चोकनेरको बाटामा मिसिने गल्लीको मुखमा पुगेँ र गल्लीकै मुखबाट दायाँबायाँ अवलोकन गरेँ। चाटपसलअगाडिका खाली ठेलाहरु, बिरयानी–पसलअगाडिको फोहोर, उन्मादीहरुद्वारा ध्वस्त रजाक कबडियाको तरकारी पसल, पानका पिकहरु, भागाभगमा छुटेका चप्पलहरु, यतिखेर बजारमा यति मात्र थिए। मिठाई पसलहरु, चियापसलहरु सटर झारेर मौन बसेका थिए। त्यसैले ‘दूध’ को पूर्ण सम्भावना थिएन।
र त्यसैले हिटलर यता कतै देखिएन।

त्यसपछि ठीक अगाडिको एकलैनी पुग्ने गल्लीभित्र बन्द बजारलाई झुक्याएर, मौनताको आँखा छलेर फुत्त पसेँ। सौरभ इलेक्ट्रोनिक्स, भेरी प्रिन्टिङ प्रेस, दिलवाले टेलर्सका बोर्डहरु सायद छक्क परेर मलाई हेरिरहे....। र म सोझै कवाब दुकान र मुसाफिरखानाअगाडि पुगेँ। कवाबका उब्रिएका बासी टुक्राहरु, पातहरु, अण्डाका बोक्राहरु र एकअर्कालाई हिर्काएका ढुंगाहरु बाहेक केही थिएन। हिजोअस्तिसम्मको व्यस्त हटारु बजार टाउकामा हात राखेर अपशकुनको मुद्रामा पसारिएको–थचारिएको देखिन्थ्यो।

यति मौनतामा पनि उन्मादको तीव्र ध्वनि किन व्याप्त छ? कार्तिकका सुरुका दिनहरुमा यो तातोपन कस्तो? .. यतातिर पनि मिठाई पसल र चिया पसलहरु खुल्ने कुनै सम्भावना थिएन र हिटलर यतापनि थिएन।

अब मुसाफिरखानाको दाहिनेतिरको साँघुरो गल्लीमा हिँडिरहेको थिएँ। यो बाटाबाट लक्ष्मी चित्रमन्दिरनेर पुगिन्छ। टाढा कतै बुटहरुको होहल्ला सुनेर म रोकिएँ र एउटा खम्बाको आडमा लुकेँ। बुटको होहल्ला टाढा पुगेको अनुमान लगाएर म सिनेमा हलअगाडिको बाटामा आइपुगेँ। विगत डेढदुई वर्षयतादेखिका नयाँपुराना सिनेमाका पोष्टरहरु, नायक हराएर खलनायकको मात्र भूमिका शेष रहेको सिनेमा देखाएर थाकेको सिनेमा हल, बदामाका बोक्राहरु, ‘शो’ सिद्धिएपछि फालिएका प्रयोजनहीन टुक्राहरु।

र यहाँ पनि हिटलरलाई खोज्नु व्यर्थ थियो।

00                                                                                            00
दूध।

र हिटलर।

... यतिखेर म यी दुवैसित अत्यधिक क्रुद्ध थिएँ। क्रुद्ध त थिएँ तर हिटलरप्रति अगाध स्नेहको भाव पनि थियो मभित्र। .. बिचरो हिटलर, उसका निर्दोष आँखाहरु, आतंकविहीन जुँगा, निश्चल मुहार। ... त्यस्ता आँखा, त्यस्तो जुँगा, त्यस्तो मुहार अचेल कुन मान्छेसित बाँकी छ? तानाशाही, बहसीपन, उन्माद– अचेल मान्छेभित्र यी बाहेक अरु के छ?

अरु के छ?

के छ अरु?

म लक्ष्मी क्लथ आउसलाई छिचोलेर, भत्काएर नयाँ बाटाबाट नयाँ सिनेमा हल हुँदै धम्बोझी आइपुगेँ।

थापाजीको बन्द फोटो स्टुडियो, संवेदनालाई खिच्ने कोड्याक रिलका खाली खोलहरु, पासपोर्ट साइजका तर च्यातिएका ब्ल्याक एन्ड ह्वाइट फोटोका टुक्राहरु, डेभलपर र फिक्सर खरिद गरिएका पुराना बिलहरु।

बन्द दूध पसल। फुटेका माटाका कप (कुज्जा) हरु र तिनमा लागेको नौनी निकालिएको दूधको सेतोपना।

... र त्यसरी नै सातो गएर सेतो भएको सहर। अब हिटलरलाई खोज्न कुनै ठाउँ रहेन।

00                                                                                                  00
कफ्र्यु हट्यो। एक्कासी सटरहरु घ्यार्रघ्यार्र खुल्न थाले। मान्छेहरु बाँध भत्किएर पानी छताछुल्ल भएझैँ जताततै पोखिए। आवाजहरु सुरु भए। कुकुरहरु अप्रत्यासित रुपले कम देखिन थाले।

उन्माद बोकेका, एकाधिकारको भाव ओढेका तानाशाह मनको दास भएका मान्छेहरु, बाघहरुले झैँ फेरि एकअर्कालाई हेर्न थाले, समलिंगीझैँ नग्नता खोज्न थाले, घाँटी निमोठ्ने भावहरु आफूभित्र एकत्रित गर्न थाले।

र दंगा फेरि सुरु भयो।

धम्बोझी चोकमा दंगा, त्रिवेणी मोडमा दंगा, एकलैनी बजारमा दंगा, त्रिभुवन चोकमा दंगा, अस्पतालअगाडि दंगा।

म हिटलरलाई खोज्दै, मान्छेहरुबाट जोगिदैँ, दंगाहरुलाई छिचोल्दै अस्पतालनेर आइपुगेँ। अस्पतालभित्र पसेँ। इमर्जेन्सी वार्डमा घाइतेहरु, रगतहरु। वार्डका भुइँमा, भित्तामा रगत।

मान्छेहरु रगतसित खेल्दै थिए। रगत आँखाभरी एकत्रित गर्दै थिए, मनभरी एकत्रित गर्दै थिए। रगत पोख्दै थिए, रगत पिउँदै थिए।

..... र हिटलर त्यहीँनेर, अस्पतालनेर, मरासिनीको पि.सि.ओ. अगाडि, भर्खरै खुलेर भर्खरै बन्द भइसकेको चिया पसलमा किनेको दूध पिउँदै, वाल्ल पर्दै, अनौठो मान्दै, डर, विस्मय, उत्सुकता र दिक्दारीका साथ उभिएको थियो।

‘हिटलर दंगा हेर्दै थियो’ यस्तो शीर्षकको समाचार गोरखापत्र, कान्तिपुर, विमर्श, जनमञ्चका संवाददाताहरुले पठाएनन्। आजका सन्दर्भमा हिटलर कुनै समाचार हुन सक्दैन। कुनै अनौठो व्यक्ति हुन सक्दैन। हत्या, मारकाट, अस्थिरता, आतंक, दंगा, अविश्वास, राजनीतिक तानातानबीच हिटलर को हो? के हैसियतको हिटलरको?

मरासिनीले आफ्नो पि.सि.ओ. बन्द गर्दै हिटलरलाई भन्यो, ‘घर फर्किनुस् महाशय!’

(यो कथा परशु प्रधान र नारायण तिवारी सम्पादित तराई–मधेसका कथा नामक पुस्तकबाट लिइएको हो)

प्रकाशित १६ पुस २०७३, शनिबार | 2016-12-31 17:48:53

नयनराज पाण्डेबाट थप


प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • चुनाव र मेरो गाउँ

    सपना स्वीटजरल्याण्ड, सिंगापुर र जापानको देखाइन्छ। तर पञ्चायत जानु, बहुदल आउनु र गणतन्त्रको बजार लाउनुले मेरा बा आमाको जीवनमा खासै अन्तर आएको छैन।...