‘आनन्द जत्तिको दर्शन अरु छैन’

चर्चित गायक विपुल क्षेत्री भन्छन्, म अघिल्लो जन्मको गाइने हो


कालिम्पोङ जहाँ विपुल क्षेत्री जन्मे र हुर्के। त्यही घरको पिढीँबाट पारि भित्ताहरुमा हरेक साँझ डढेलो देखिन्छ। भर्खरै अस्ताएको सूर्य कतै ठोक्किएर आएको झिल्काजस्ता प्रकाशपुञ्जले उनका आँखालाई पुल बनाउँछन् र छिर्छन् मनका अन्तरकुन्तरमा।

‘उहिल्यै बालक हुँदा बडो डर लाग्थ्यो त्यस्तो दृश्य देख्दा,’ विपुलले दाहिने हातका औंला दाह्रीमा लतार्दै बालापन सम्झे।

‘पछिपछि बुझ्ने भएपछि त्यो एउटा दृश्य मात्र थिएन भन्ने लाग्यो,’ उनी मुस्कुराए।

हुँर्कदै गएपछि डरको स्थानमा डढेलोसँगै थपिए चारैतिरका अँध्यारा र अधुरा सपनाहरू। निभ्न नसकेको आगो। धुवाँसितै उडिरहने सम्झना। अन्ततः साँझ परेपछि निकै भावुक बनाउने त्यो पल गीतमा उनिन आइपुग्यो। र जन्म्यो–

डढेलो लाग्यो, त्यो पारि डाँडा, साँझतिर,

लौ है फेरि, मनमा मेरो, लाग्यो पीर,

बतासमा, फैलियो आगो, सररर।

यादहरू तिम्रो, फर्केर आयो, झललल।

सन् २०१३ को प्रारम्भमा बनेको यो पहिलो गीत नै विपुलको संगीत, मेलोडी र हार्मोनीको परिष्कृत फ्युजन जस्तो छ। रङहरुको ‘अफबिट’ संयोजन जस्तो। भइदियो के भने, जब उनले यही लोक र पश्चिमा परिस्करणलाई आफ्नो फेसबुकबाट सार्वजनिक गरे, अपेक्षा नै नगरेका प्रतिक्रियाले कमेन्ट्स बक्स र इन्बक्स भरिए। साँच्चै सेयरको पनि डढेलो लाग्यो।

‘मैले त्यो नितान्त मेरा लागि गाएको थिएँ, सबैको भइदियो।’

‘वाइल्डफायर विपुल’को यो प्रवेश साँच्चै गजबको थियो। फेसबुकबाटै डढेलो सल्कँदै गएपछि भएको एउटा घटना सुनाए उनले।

ढडेलो गीत तयार भएर पनि सार्वजनिक भइसकेको थियो। एकदिन उनलाई लामो इमेल आयो। लेखिएको थियो, ‘तपार्इंको सङ्गीत अरूभन्दा नितान्त फरक छ। प्रसिद्ध संगीतकार निरेन्द्र मोहन छेत्रीलाई एकपल्ट सुन्नु।’

रमाइलो के भने, खासमा त्यो इमेलमा विपुलको शैलीसँग मेल खाने संगीतकार जसलाई सुन्नु भनिएको थियो, उनी विपलुका साख्खै पिता थिए। निरेन्द्र मोहन क्षेत्री।

बाको प्रसङ्ग आएपछि विपुल अलिक बढी शान्त र संयमित भावमा देखिए। हाँस्दै खुलेर कुराकानी गर्दा उनका गालाको पूर्वी भाग कानको लोतीतिर लम्केको देखिएको थियो तर अहिले उनी तरङ्ग सकिएको तलाउजस्तो देखिए। स्थिर, शान्त।

खासमा विपलुको मलिलो मनमा संगीतको विऊ रोप्ने, त्यसलाई उमार्ने र हुर्काउने काम उनै बाबुको थियो। बाबु निरेन्द्र मोहन आफैँ गनिएका संगीतकर्मी। उनको नामको बासना कालिम्पोङमा मात्र होइन सबैतिरका नेपाली फूलबारीमा चल्छ।

‘बाबा त मेरो आइडियल नै हो नि।’

उनले आँखा चारैतिर नचाए। अनुहारमा एकखालको छायाँ देखियो। बोले, ‘स्कुलमा परफर्म गरिबस्थेँ। क्लास थ्रिमा हुँदा एउटा गीत गाएँ। बाबा पनि कार्यक्रममा हुनुहुन्थ्यो। त्यही सालतिर बाबा बित्नुभयो।’

राम साइँली

म त यौवनको पीर

गम खाएँ आशै खोला किनारैमा

ढलपल गर्छन् बादलमाथि बादलकी रानी

नबिर्सने तिमीलाई, टाढा भए पनि

टाढा भए पनि...

यो गीत उनको बा सम्झाइरहने गीत थियो। यसमा बगेको लोक लय कालिम्पोङका पहाडका कुनाकप्चेरामा अल्झेर बस्ने कुहिरो जस्तो छ। यतैका गाउँमा पुग्ने नागवेली बाटाहरु जस्तो छ, यसको सरगम। ‘बाबाले यो गीत गुनगुनाएको मात्र थाहा छ मलाई,’ विपुलले आफ्नो सामुन्ने रहेको गिटार हातमा लिए। धुनको सानो टुक्रा बजाए र फेरि भने, ‘त्यही कोरसलाई इम्प्रोभाइज गरेको हो मैले।’

बाबाको संगीतको मर्म नमारी परिमार्जन गरिएको यो गीतलाई रेकर्ड गरेर उनले बालाई समर्पण गर्दै यसलाई सार्वजनिक गरे। ‘राम साइली’ अहिलेसम्म युट्युबमा दुई करोड ५२ लाखभन्दा बढी पटक सुनिएको छ, हेरिएछ। नेपालीभाषी गीतका यति धेरै स्रोता आर्जन गर्ने विपुलको भर्चुअल ख्याति र प्रभावलाई हेरेर ‘टेलिग्राफ’ले गत अक्टोबरमा उनको एउटा अन्तर्वार्ता नै छाप्यो। अनि लेख्यो–

‘बलिउड ट्रेलरहरु पनि विपुलको युट्युब भ्युजको हाराहारीमा आउन असफल छन्। ‘सरल मानव कथाहरू’ गाइरहेका कालिम्पोङका विपुलको हरेक ट्र्याकले ‘हाइ हिट्स’ पाउँछन्। यदि युट्युबमा विपुललाई हेर्नु भएको छैन भने तपाईंले महान् म्युजिक मिस गर्नुहुनेछ। उनले नेपाली भाषामा गाउँछन् तर अपिल विश्वव्यापी छ।’

कस्तो गाउँछन् विपुल? उनको सरगम कस्तो हो? र, उनी आफैँलाई आफ्ना रचना कस्ता लाग्छन्?

सामान्य भए पनि सृजनात्मक हिसावले यी प्रश्नको जवाफ सहज हुँदैन। ‘म मेरा रुचीका धुनहरु बनाउँछु र जोड्छु’ भन्ने विपुलका गीतहरु वास्तवमै साधारण खालका लाग्छन्। सरल प्रकृतीका लाग्छन्। तर बिर्सनै नहुने कुरा के हो भने, संगीत त्यो पनि उनकै शब्दमा खोजेर जोडिएको संगीतमा सरलता प्रकटीकरण गर्नु सहज हुँदैन।

उनको पछिल्लो र चर्चित गीत सेन्डिगेटमा कुनै युवतिसित भेट भाको कुरा छ। नाम थाहा नभए पनि पर्वाह नभएको कुरा छ। नबोल्दा पनि धेरै बोलिरहेको कुरा छ। ‘असार’मा झरी र पहाडसितको प्रेम छ। शब्दहरू गम्भीर छैनन् तर लोकबोली छ। त्यसैले ‘स्केचेस् अफ् दार्जीलिङ’को चर्चा–परिचर्चा अरुमाभन्दा तन्नेरीहरु माझमा बढी छ।

विपुल पछिल्लो समयका कालिम्पोङ र काठमाडौं जोड्ने सबैभन्दा बलियो सांगीतिक सेतु बनेका छन्। त्यति मात्र होइन उनको धुनमा जहाँसुकैका नेपाली भाषीको ओठ र गोडा हल्लन्छन्। उनलाई पहिलोपटक काठमाडौंमा गरिएको ‘स्टेज सो’को सम्झना सधैं आइरहन्छ।

‘काठमाडौँको टँगालमा मेरो पहिलो सो थियो। ब्यान्ड लिएर गएँ। मसित ६ वटा गीत थिए। मैले कल्पनै नगरेका हजारौँ युवायुवती कार्यक्रम हेर्न आएका रहेछन्। छक्क परेँ। सोचेँ, मबाहेक अरू कोही राम्रो कलाकार पनि आउँदै होलान्। साँझ ढलिसकेपछि जब स्टेजमा चढेँ, थाहा पाएँ सबै मलाई हेर्न आएका रहेछन्।’

जब उनी गिटारको धुनमा बग्न थाले, दर्शकले आफू बसेको कुर्ची छाडेर उभिएर ताली बजाउँदै उनलाई साथ दिए। यो पल उनका लागि सबैभन्दा संवेदनशील र हर्षको पल थियो। हावामा हात हल्लाउँदै उनले भने ‘साँच्ची नै आखाँ रसाएर आयो। पहिलो गीत गाउन निक्कै गाह्रो भएको थियो।’

विपुल गीत आफैँ लेख्छन्। गिटार, पियानो, टुङ्गुना र हारमोनियममा कम्पोज गर्छन्। बाजाहरु नहुँदा पनि उनको मस्तिष्कमा संगीतको तानावाना चलिरहन्छ। भन्छन्, ‘म संगीतकै निम्ति जन्मिएको जस्तो लाग्छ। गीत र संगीत नभएको विपुल कल्पना पनि गर्न सक्दिनँ। पहिलेको जन्ममा गाइने थिएँ होला भन्ने लाग्छ।’

एकथरि संगीत समीक्षकहरु जो विपुलका गीतलाई फितला र दर्शनहीन भन्ने आरोप लगाउँछन्। खासमा उनका गीतका शब्दको सामान्य अर्थको जगमा उनको यस्तो आलोचना हुने गरेको हो। तर स्वयं विपलुलाई भने सबै गीतहरू सिरियस हुनुपर्छ भन्ने लाग्दैन। गीतले आनन्द दिनुपर्छ। प्रेरणा दिनुपर्छ। ‘यदि गीत सुनेर कसैलाई आनन्द लाग्छ भने त्योभन्दा ठूलो कुरा गायकका निम्ति अरू हुँदैन,’ उनको प्रश्न छ, ‘सामान्य र सरल कुरामा जति अर्थ अरु केमा हुन्छ? आनन्दमा जति बढी दर्शन केमा हुन्छ?’

बब डिलनका रचनाबाट आफूलाई निक्कै प्रभावित ठान्ने विपुल संगीतमा प्रभावको अर्थ नक्कलले प्रतिस्थापन गर्न नसक्ने तर्क गर्छन्। ‘संगीत भनेको निरन्तर रुपमा आफैंले साधना गर्ने कुरा हो, नक्कलले एक प्रकारको अक्कल त देला तर सृजना दिँदैन।’ उनका कुरा सुन्दा यस्तै लाग्छ।

‘स्केचेस् अफ् दार्जीलिङ’को सफलता पश्चता निस्किएको दोस्रो एल्बम ‘माया’ सार्वजनिक भएको पनि दुई महिना भयो। यो बीचमा उनले मायाले नै संसारका धेरै ठाउँका नेपालीभाषीलाई जोडेका छन्। उनको सृजनाको छायाँ बनेर हिँडिरहेको मायाले पनि उनलाई गराउनसम्म उत्साहित पारेको छ। भन्छन् ‘ मायाले पनि रेकर्ड ब्रेक गर्लाजस्तो छ। म आशावादी छु।’

नेपाली भूगोलदेखि अलिक यता एउटा भनाइ खुबै चर्चित छ। त्यो के भने, ‘दार्जीलिङका गायकलाई कि कालले लान्छ कि नेपालले।’ तर नेपाली संगीत सुनाउन विपुललाई नेपालले लैजान परेन। यतै बसेर पनि उनले संसारलाई संगीत सुनाइरहेका छन्। केही वर्षदेखि दिल्लीको एउटा विद्यालयमा संगीत पढाइरहेका यी तन्नेरी गायकले यतै वारि रहेर नै सफलताको शिखर चुमिरहेका छन्।

प्रकाशित १५ पुस २०७३, शुक्रबार | 2016-12-30 13:07:33

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • तीन दलका शीर्ष नेताहरु बालुवाटार बैठकमा सहभागी हुँदै । तस्बिरः रासस

    वैशाखभित्र स्थानीय चुनाव गर्ने प्रमुख दलहरुबीच सहमति

    प्रमुख चार दलबीच आगामी वैशाखभित्र स्थानीय चुनाव गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुबीच वैशाखमै स्थानीय चुनाव...

  • पोखरामा फ्लाई ओभर योजना

    यसै महिनाको अन्त्यतिर हुने पोखरा नगर परिषदबाट अमरसिंहचोकदेखि सिर्जनाचोकसम्म फ्लाई ओभर निर्माणको सम्भाव्यता अध्ययन गर्न झन्डै ४० लाख रुपैयाँ बजेट...

  • दर्जन ठूला कम्पनीको पूँजीवृद्धि स्वीकृतिको तयारी

    आगामी हप्ता बस्ने औद्योगिक प्रवद्र्धन बोर्ड बैठकले एक दर्जन कम्पनीको पूँजीवृद्धि निर्णय गर्ने भएको छ। लामो समयदेखि बोर्डको बैठक बस्न नसक्दा...

  • पार्टी एकीकरणमा उपस्थित राप्रपा र राप्रपा नेपालका शीर्ष नेता / तस्विरः रत्न श्रेष्ठ

    अब राप्रपाको पनि गाउँ तहबाटै समावेशी संरचना

    सत्ता यात्राकै क्रममा छिन्नभिन्न हुन पुगेका पूर्वपञ्चहरूबीच दुई महिनाअघि एकता भएसँगै पार्टी गतिविधि तीब्र बनाएको छ। ६ मंसिरमा राप्रपा नेपाल र...