दुर्लभ पत्र जहाँ भानुभक्तले १२ वर्षे छोरालाई भनेका छन्, कि पढ् कि मर्


कुरा एक सय ४९ वर्ष अघिको न पर्यो। शैक्षिक र सामाजिक मूल्य र मान्यताका आयाम पक्कै पनि अहिलेको भन्दा फरक थिए। त्यतिबेला आदिकवि भानभक्त आचार्यले लेखेको एउटा घरेलु पत्र तत्कालिन अवस्था बुझ्न एक हिसवाले काफी छ।

नेपालखबरले फेला पारेको सो पत्रको प्रतिलिपीमा आदिकविले आफ्नो जन्मस्थान तनहुँ रम्घाबाट काठमाडौं आएका बेला घरमा रहेका १२ वर्षे छोरा रमानाथ आचार्यको पठनपाठनको चासो र चिन्ता प्रकट गरिएको छ। २०१८ सालमा कविराज नरनाथ शर्माद्वारा लिखित ‘भानुभक्त आचार्यको जीवन चरित्र’ नामक पुस्तकमा दाबी गरिए अनुसार भानुभक्तको फेला परेको पहिलो हस्ताक्षर स्वरुपको सो पत्रमा उनले पुत्रलाई सम्बोधन गर्दै लेखेका छन्–

‘उप्रान्तः पढ्दैनस् भन्दा सुन्दछु, मेरा कढापरि जति उम्लंछस्, ञहाँबाट म क्या गरुँ. म तांहा आयापछि तैंले नपढेको ठहराञा भन्या वावै तेरा ज्यानको आसा नराषि लात् मान्र्याछु. कि तैले मर्नु पर्ला. कि मरि सुख पाउँन्याछस् कि पढि खुख पाउँन्इाछस्. यो बुझ् कि तैंले मर्नु कि पढ्नु...’

पत्र पढ्दा भानुक्तमा छोराको अध्ययनलाई उनले सर्वोपरी ठानेको देखिन्छ। नेपालको शिक्षा प्रणाली त्यतिवेला अहिलेको जस्तो आधुनिक थिएन। गुरु राखेर शास्त्र र ज्योतिष पढ्ने चलन थियो। पिँढी शिक्षा पनि अस्तित्वमा थियो। गुरुले मात्र होइन अभिभावकले पनि आफ्ना सन्तानलाई शारिरिक दण्ड दिएर, धम्क्याएर समेत पढ्न लगाउने चलन त हुने भइहाल्यो। त्यसैले होला, भानुभक्तले लेखेको यो पत्रमा छोरालाई लात हान्ने र मर्नेसम्मको कुराको चर्चा गरेका छन्।

त्यतिबेला त्यसैले भानुभक्तले पत्रमा छोराको घोकन्ते शिक्षाको कुरा उठाएका छन्। घरमा रहेकी श्रीमती अर्थात् रमानाथकी आमालाई समेत यो पत्र पढेर छोरालाई साँझ विहान लात मारेर घोक्न लगाउनु भन्ने आदेश भानुभक्तको छ। उनले लेखेका छन्–

‘आमाले पनि यो चिठि हेरि– सांझ बेहान तँलाई लात मारि घोकन लगावोस्. आज तेरि आमाको चेत आएनन् र तँलाई षेलन दियी भन्या मैले लात् मारि मर्नान्तको तमासा हेर्लि हे वावै. पढिनस् भन्या तोरे जिउ खंज गराइ छोडुला, रतिजति तेरो माया मान्या छैन. सो जानी तेरि आमाले तंलाई अर्दमा राषि घोकाउनु तैले घोकनु. आजसंम कति पढिस् ञहांसंम पाठ पुरयाको छु भनि लेषि पठा. अघिपढ्याको पनि विर्सिस् कि आउंछ, तेरा हातले लेषि पठा. नहि भन्या तेरो ज्यान सवुदराषन्या छैन’

आदेशात्मक र धम्कीपूर्ण भाषा अभिव्यक्त भएको यो पत्रको अन्तिममा भानुभक्तले आफ्नी धर्मपत्नीलाई छोराको पठनपाठनको अवस्था नसुर्धेमा पत्र लेखिएको महिनाभित्रै उसलाई मान्छेको हिल्ला लगाएर काठमाण्डौंमा आफूसँग पठाइदिन पनि आग्रह गरेका छन्। भनेका छन् –

‘ताहां पढ्दैन भन्या मानिसका साथलाइ मंसिरभित्रै ञाहां पठाइदे, म आउंदा सगै लिआंउंला. ञाहीं पढाउंछु. तांहि पढ्छ भने बढिया हो’

(यो पत्र भानुभक्तले १९१५ साल मंसिरमा छोरा रमानाथलाई लेखेका हुन्)

 

प्रकाशित ८ पुस २०७३, शुक्रबार | 2016-12-23 13:08:55

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • चुनाव र मेरो गाउँ

    सपना स्वीटजरल्याण्ड, सिंगापुर र जापानको देखाइन्छ। तर पञ्चायत जानु, बहुदल आउनु र गणतन्त्रको बजार लाउनुले मेरा बा आमाको जीवनमा खासै अन्तर आएको छैन।...