यात्रा संस्मरण

युरोपका पाँच देश, पाँच सहर र पाँच विशेषता


ब्रातिसलाभा दरबार स्लोभाकिया
ब्रातिसलाभा दरबार स्लोभाकिया

१० अक्टोबर २०१६। बिहान ७ बजे म डेल्टा कम्पनीको टेक्सीबाट लिभरपुलको स्थानीय जोन लेनन अन्तर्राष्ट्रिय विमानस्थल लागेँ। मेरो यात्रा रोमानियाको राजधानी बुखारेस्टको लागि तय भएको थियो। ९:२५ बजे उड्नु थियो। बुखारेस्ट पूर्वी युरोपको पेरिस अथवा 'लिटल पेरिस' भनेर चिनिन्छ। ११ अक्टोबर २०१६ को दिन हिन्दूहरुको महान् चाड विजया दशमी (टिका) परेको हुनाले लिभरपुलबाट अन्य युरोपियन राष्ट्रतिर घुम्ने सानो योजना बनाएको थिएँ।

मैले सदाझैं कुनै निश्चित स्थानमा जानेभन्दा पनि बुखारेस्ट पुगेपछि अन्य राष्ट्रको भ्रमण तय गर्ने मनसायले घरबाट निस्केँ। रोमानियामा पनि कुनकुन स्थानमा जाने बिनानिष्कर्ष घरबाट निस्केको थिएँ। लिभरपुलबाट एकतर्फी जहाजको टिकट र सेन्ट्रल होटल बुखारेस्टमा एक रात बस्नको लागि बेड अनि ब्रेकफास्ट अग्रिम बुकिङ गरिसकेको थिएँ। समयले साथ दिए बुडापेस्ट-हंगेरी, भियाना-अस्ट्रिया, प्राग-चेक गणतन्त्र, ब्रातिस्लाभा-स्लोभाकिया र बर्लिन-जर्मनीको यात्रा गर्ने पनि सोच बनाएको थिएँ।

जोन लेनन अन्तर्राष्ट्रिय विमानस्थल मेरो पहिलो अनुभव थियो। यसअघि बेलायतका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलहरुमध्ये लन्डनको हिथ्रो अनि ग्याटविक, स्टान्स्टेड, बर्मिङ्गहाम, मेनचेस्टर, एडिमवर्ग लुटन र कार्डिफ मात्र नभएर बेलायती सैनिक विमानस्थल ब्राइजनोर्टोन अनि लाएनहामबाट संसारका विभिन्न स्थानमा प्रस्थान गरिसकेको थिएँ।

जहाजले भुइँ छाडेको केही समयपश्चात् विमान परिचारिकासँग मिठो चाइनिज चिया मगाएर पिउँदै गर्दा मेरो मनमा विभिन्नथरि कुरो खेल्न थाल्यो, यो एकल यात्रा कस्तो रहला भनेर! जहाजमा अनि रेलमा यात्रा गर्दा पढ्नको लागि कर्ण शाक्यको 'म सक्छु', जनरल रुकमांगद कटवालको 'आत्मकथा' र जनरल छत्रमानसिंह गुरुङको 'जनताको छोरो' बोकेको थिएँ। एक क्षण पढेजस्तो मात्रै लागेको थियो, तीन घण्टाको यात्रा कति चाँडो बितेछ!

बुखारेस्ट : रोमानिया

बुखारेस्ट रोमानियाको पार्लियामेन्ट दरबार

बुखारेस्ट रोमानियाको पार्लियामेन्ट दरबार

हवाइजहाज निर्धारित समयमा हेन्द्री कोवान्दा अन्तर्राष्ट्रिय विमानस्थल, ओटेपानी, बुखारेस्टमा उत्रियो। डाम्बोभिता नदीको किनारमा अवस्थित बुखारेस्ट शहरको जनसङ्ख्या लगभग १९ लाख जति होला। विमानस्थलबाट म बस्ने 'होटल सेन्ट्रल बुखारेस्ट'को मुख्य स्थान उनिरी पुरानो टाउनमा अवस्थित थियो। बेलुकी बुखारेस्टमा निक्कै ट्राफिक जाम हुने रहेछ। होटल पुग्न लगभग ४५ मिनेटजति लाग्यो।

होटलमा 'स्मुथ चेक इन' भयो। कोठामा पसेर हलुका स्नान गरेपछि पुन: होटलबाट बाहिर निस्केँ बुखारेस्टको रात्रिकालिन सौन्दर्य हेर्नको लागि। होटलले दिएको म्यापले भने बुखारेस्टको झरी एक क्षण पनि थाम्न सकेन तर मेरो मोबाइलको 'म्याप एप्स'ले भने राम्रो काम गर्‍यो अनि कुनै समस्या भएन। बल्लतल्ल एउटा रोमानियान रेस्टुरेन्टमा छिरेँ। खाना के मगाउने भन्ने मलाई त्यति उपाय भएन। बेयराले अंग्रेजी छामेर बोल्ने रहेछ। त्यही भएर मैले धेरै जोखिम मोल्न नि आँट गरिनँ, अलिकति रोटी र चिकेनमा चित्त बुझाएँ। राईको छोरोलाई जाँड-रक्सी नचल्ने भएकोले गल्लीका भट्टीपसलहरु नियालेँ मात्रै। पानी परिरहेको हुनाले बेलुकीपख बुखारेस्ट त्यति व्यस्त थिएन अनि सप्ताहान्त पनि नभएकोले पर्यटकीय क्षेत्रमा धेरै रेस्टुरेन्टहरु प्राय: खाली नै देखिन्थे। खानापश्चात् समयमै होटल फर्केर आराम गरेँ।

बिहान उठेपछि ब्रेकफास्टको लागि दोस्रो तलामा झरेँ। एकजना जर्मन महिलासँग परिचय भयो। उनी म्युनिककी रहेछिन्। म पनि म्युनिक, जर्मनी दुईचोटि पुगिसकेको थिएँ। व्यापारिक सिलसिलामा उनी बुखारेस्ट आएकी रहेछिन्। उनले मलाई केही राम्रा ठाउँ घुम्न सल्लाह दिइन्। सोहीअनुसार घुमेर पार्लियमेन्ट प्यालेसतर्फ लागेँ।

रोमानियाको 'पार्लियामेन्ट प्यालेस' सन् १९६५ देखि १९८९ सम्म शासन गरेका क्रुर तानाशाह निकोलाइ चाउचुस्केले बनाएका हुन्। यस भवनमा १,१०० कोठा भए पनि लगभग ४० प्रतिशतजति खाली होलान्। यो भवन जमिनभन्दा माथि १२ तला र जमिनमुनि ९ तला बनाइएका रहेछ। अन्तिम तलामा भने 'न्यु क्लियर प्रुफ' गर्न १.५ मिटरको कंक्रिट ढलान गरिएको छ। प्यालेसको क्षेत्रफल करिब तीन लाख पैंसठी हजार वर्गमिटर छ। क्षेत्रफलको आधारमा अमेरिकन सैनिक मुख्यालय पेन्टागनपछि संसारको दोस्रो ठूलो व्यवस्थापन भवन हो। यो कुरो मैले पेन्टागन, वासिङ्टनको यात्रामा निस्कँदा चाल पाएको थिएँ। यसको परिक्रमा गर्ने मौका यस पटक जुर्‍यो।

तत्कालिन राष्ट्रपति निकोलाइ चाउचुस्केलाई रोमानियान सैनिक अदालतले २२ डिसेम्बर १९८९ मा पदबाट अपदस्त गरेको थियो। सैनिक अदालतले दोषी ठहर्‍याएका निकोलाइ र उनकी प्यारी श्रीमती एलिना चाउचुस्केलाई २५ डिसेम्बर १९८९ क्रिस्टमसको दिन प्याराट्रपर लोनेल बोइरुले छातीमा गोली ठोकेर हत्या गरेका थिए। यसरी रोमानियाको जनताले रोमानियानमा कम्युनिस्ट शासकको अन्त्य गरेका थिए। त्यस दिनदेखि आजसम्म रोमानियामा संविधानले मृत्युदण्डको सजाय दिन निषेध गरेको छ।

पार्लियामेन्ट प्यालेसको यात्रा गरिसकेपछि लन्च सकेर मैले होटल छाड्ने निधो गरेँ। टेक्सीबाट पश्चिमी रेल स्टेसन 'गोरा डी नोर्ड'तर्फ लागेँ। यो बुखारेस्टको सबैभन्दा पश्चिमी अन्तर्राष्ट्रिय रेल स्टेसन हो। रेल स्टेसन पुगेपछि कुन स्थान जाने भन्ने तत्कालै निधो गरेँ। दिउँसोको दुई बजेको रेल बुखारेस्टबाट हंगेरीको राजधानी बुडापेस्ट जाँदै थियो। म त्यही रेलबाट बुडापेस्टतिर लागेँ। यो यात्रा दिन र रात गरेर लगभग १७-१८ घण्टाको हुँदो हो। ट्रेनमा एक्लै यात्रा गर्दा दिनमा ठीकै भए पनि राती अलिक जोखिमपूर्ण हुने भएकोले सतर्कता अपनाउनुपर्ने थियो। म 'एड्भान्चरस' यात्री भएकोले खासै केही हुन्न होला भनेर 'पोजिटिभ' सोच्थेँ। यात्रा आरामदायी होस् भनेर प्रथम कक्षाको सुत्ने स्लिपर कोठाको टिकट लिएको थिएँ। हुन त रेलका सुत्ने कोठाहरु डिलक्स, स्लिपर, क्योचेट (२ वा ४ जनाको बुक बेड) बनाइएको हुन्छ। मैले भने स्लिपर रूम लिएको थिएँ जसमा एक जना मात्रै सुत्न मिल्थ्यो।

घडीको सुईले दिउँसोको दुई बजाउनेबित्तिक्कै रेलले आफ्नो बाटो ततायो। अब यो यात्रा भोलि बिहान पाँच बजेसम्मको हुने थियो।

रात्रिकालिन रेलयात्रा मेरो लागि पहिलो भने होइन। गत वर्ष हाम्रो रात्रिकालिन रेलयात्रा भेनिस, इटालीबाट पेरिस, फ्रान्सको लागि थियो। फरक भने तारा मात्र यस पटक मसँग थिइनन्। लगभग आधा घण्टाजतिको रेलयात्रापश्चात् रेलको कन्डक्टर आएर टिकट जाँच गरे। उसले टिकट आफूले नै राख्ने कुरो गर्दा मैले इन्कार गरेँ। १७-१८ घण्टाको रेलयात्रामा म सुतिजाँदा उनी कतै झरे र अर्को कन्डक्टर बदलियो भने मसँग टिकट नहुने जिकिर गरेँ। उनले मेरो कुरो सुन्न मानेनन् र उनले बोलेको धेरै अंग्रेजी मैले पनि बुझिनँ। मैले अर्को कोठाको सहयात्री जो रोमानियान थिइन् र राम्रोसँग अंग्रेजी भाषा बोल्थिन्, उनीसँग सोधेँ, 'के टिकट कन्डक्टरले राख्ने हो र ?' उनले भनिन्, 'रेल बुडापेस्ट हुँदै भियना, अस्ट्रियासम्म जाने भएकोले बाटोमा कुनकुन यात्री कहाँकहाँ ओर्लन्छन्, रेकर्डको लागि टिकट कण्डक्टरले नै राख्ने गर्छ। भोलि हामी ओर्लने बेला फिर्ता दिन्छ।' उनले त्यसो भनेपछl भने बल्ल सन्तोषको लामो सास फेरेँ। अचानक केही पर्ला भनेर मोबाइलले तस्बिर खिचेर टिकट जिम्मा लगाइदिएँ।

लामो एकल यात्रा भएकोले पुस्तक पढ्ने अनि रोमानियाको रमणीय दृश्यहरु मन-मस्तिष्कमा कैद गर्दै रहेँ। बाटोमा ब्रासोभ सहरको रमणीय दृश्य हेर्ने सुनौला अवसर पनि मिल्यो। त्यति मात्र नभएर दायाँबायाँ पाकेका मकैको खेती हेर्दा मनमा बहुत आनन्द आउँथ्यो।

निन्द्रा लागे सुत्ने, नत्र उठ्ने अनि साथमा भएका पुस्तक पढ्ने क्रम जारी थियो। धेरै कुरो मनमा सोच्दै गर्दा भुसुक्कै सुतिएछ। त्यस्तै रातको ११ बजेतिर रोमानियाको सिमाना छाड्ने बेलामा अध्यागमनका कर्मचारीहरु रेलभित्र पासपोर्ट जाँच्न आए। जाँचे अनि गए। म भने धेरै थाकिसकेको हुनाले पुन: सुत्ने प्रयत्न गरेँ। तर, करिब आधा घण्टाजतिपश्चात् फेरि हंगेरीका प्रहरीहरु पासपोर्ट जाँच गर्न उठाए। प्रहरीहरु गएपछि पुन: निन्द्रादेवीको शरण लिएँ। पहिले बाचा गरेबमोजिम कन्डक्टरले रेल रोकिनु २० मिनेटजति अगाडि टिकट हातमा लिएर मलाई उठाउन आइपुगे। मैले धेरै धन्यवाद टक्र्याएँ।

बुडापेस्ट : हंगेरी

बिहानको पाँच बजे म बुडापेस्ट, हंगेरीको केलेटी रेल स्टेसनमा आइपुगेको थिएँ। रेल स्टेसनबाट बाहिर निस्कँदा पानी परिरहेको थियो। बत्तीको उज्यालोमा एकजोडी अमेरिकन यात्री भर्खरै हंगेरीको यात्रा पूरा गरेर भियना हिँडेका रहेछन्। उनीहरुले मलाई 'सब वे' चढेर सिटी सेन्टर जान सल्लाह दिए। मैले बिस्तारै 'म्याप रिडिङ' सुरु गरेँ। फरकफरक देशमा मेट्रो, सब वे, इन्टरसिटी लिंक, ट्युब वा अन्डरग्राउन्ड जे भने पनि पेरिस, न्युयोर्क वा लन्डनको भूमिगत रेलमार्गको यात्रा गरिसकेपछि संसारका अन्य शहरहरुको मेट्रो मलाई सामान्य नै लाग्थ्यो।

हंगेरीको बुडापेस्टमा लेखक राई

हंगेरीको बुडापेस्टमा लेखक राई

बुडापेस्टको सिटी सेन्टर पुग्दा शहर मस्त निन्द्रामा थियो। घरबाहिर अँधेरो, पानी र जाडो मौसमका कारण अधिकत्तम मानिसहरु बाटोमा देखिन्नथे। मुस्किलले एउटा म्याक डोनाल्डमा बत्ती बलेको देखेर मनमा अलिकति जाँगर पलाएर आयो। कफीको चुस्कीसँगै 'फ्री वाइफाइ' चलाएर होटलमा कोठा बुक गर्ने मनमनै योजना बुनेँ तर दुर्भाग्य म्याक डोनाल्डका कर्मचारीहरुले सात बजेपछि मात्रै होटल खोल्ने जानकारी गराए। अनि बाटैबाटो लागेँ। धन्न एउटा खुद्रा पसल खुला रहेछ। केही सामान खरिद गरिसकेपछी उनले मलाई नजिकै एउटा होटल देखाइदिए।

होटलमा कोठाको लागि अनुरोध गरेँ। होटल कर्मचारीले असाध्यै बिहान भएकोले डेढ दिनको 'चार्ज' लाग्ने बत्ताए। 'के खोज्छस् कानो आँखो' भनेझैँ गरेर भनेँ, 'डेढ त के दुई दिनको भए पनि दिन तयार छु।' एउटा कोठा लिएँ। ९ बजेसम्म लम्पसार सुतेर उठेपछि ब्रेकफास्ट खान पहिलो तलामा झरेँ। यसपछि सब वेबाट 'सिचेंयी थर्मल बाथ' लागेँ।

'ब्लु लोगन' आइसलेण्डपछाडिको सिचेंयी थर्मल बाथ संसारको सबैभन्दा दोस्रो ठुलो मेडिसिनल थर्मल बाथ हो। मेरो 'बक्केट लिस्ट'मा आइसलेन्ड पनि छोटो समयको लागि परेको छ किनभने त्यहाँबाट संसारको सबैभन्दा राम्रो 'नर्दन लाइट' देख्न सकिने छ। सिचेंयी थर्मल बाथ १६ जुन १९१३ बाट आधिकारिक रुपमा खोलिएको हो। यसको क्षेत्रफल लगभग ६ हजार वर्गमिटर छ। यो खुलेको पहिलो वर्ष नै २ लाख मानिसहरुले स्नान गरेका थिए। यसमा पानीको तापक्रम २७ डिग्री राखिन्छ। यहाँका मानिसहरूको भनाइअनुसार छालाको रोगका बिमारीहरु दुई घण्टा पानीमा बसेपछि चट्!

होटल आएर दिउँसोको लन्च सकेपछि फेरि मेट्रो भएर सिधै बुडा दरबार (क्यास्चल)तिर लागेँ। हंगेरीका राजा बेला चौथोले सन् १२४७ देखि १२६५ मा यो दरबार निर्माण गरेका हुन्। ड्यानुब नदीको बायाँपट्टि बुडा र नदीको दायाँपट्टि पेस्ट दुई शहरहरु मिलेर बनेको बुडापेस्ट संसारको सुन्दर सहरमध्ये पर्छ। यसको जनसंख्या लगभग १७ लाखजति होला।

बुडा दरबारबाट ड्यानुब नदीको किनारमा देखिएको मनमोहक दृश्य शायद मेरो दिमागमा बाँचिन्जेल रहने छ। बुडा दरबारबाट हिँड्दै झरेरम च्यान ब्रिज हुँदै ड्यानुब नदी तरेर हंगेरियन पार्लियमेन्ट भवनतर्फ लागेँ।

हंगेरियन पार्लियमेन्ट भवन युरोपको सबैभन्दा पुरानो व्यवस्थापिका-सांसद भवन मात्र नभएर बुडापेस्टको मुख्य पर्यटकीय स्थल पनि हो। यो भवन बनाउन सन् १८८५ बाट सुरु गरिएको थियो। यो निर्माण गर्न एक हजार श्रमिकलगायत चालीस मिलियन इँटा, आधा मिलियन ढुंगा अनि सबैभन्दा महत्वपूर्ण कुरो चाहिँ चालीस किलोग्राम सुनको पनि प्रयोग गरिएको छ। भवनलाई सरसर्ती एक चक्कर मारेपछि शहर परिक्रमा गरेर होटल फर्केँ।

होटलबाट पुन: बेलुकीको खाना खोज्न बुडापेस्टको मनोरन्जनात्मक जिल्ला ओक्टोगनतर्फ लागेँ जहाँ पर्यटकहरुको प्राय: बाक्लो उपस्थिति रहन्छ। यहाँ प्रशस्त भट्टीपसल र रेस्टुरेन्ट मात्रै नभएर क्लब, पब र डिस्कोथेक रहेको छ। मलाई भने लामो यात्राको थकाइले अलिकति जाउलो चपाउने रहर जागेको थियो। हिँड्दै जाँदा भाग्यले एउटा इन्डियन रेस्टुरेन्ट देखेँ। अब अलिकति चिकेन जलफ्रेजी, नत्र भने चिकेन तन्दुरी, बासमती जाउलो र गार्लिक नानले दुःख पायो भन्दै अगाडि बढेँ। रेस्टुरेन्टको नाम रहेछ शालिमारा तर दुर्भाग्य भर्खरै पूर्ण रुपले बन्द भैसकेको रहेछ।

केही समय हिँडेपछि एउटा स्थानीय ट्राभल एजेन्टकहाँ पसेँ। ट्राभल एजेन्टका कर्मचारीले चाइनिज रेस्टुरेन्ट जान म्यापमा ठाउँ देखाइदिए।

उनले भने, 'रेस्टुरेन्टछेउमा न्युड डान्स बार पनि छ र त्यो ठाउँ तपाईंले मिस् गर्न सक्नु हुन्न।' त्यहाँ पुगेपछि चाइनिज स्पेयर रिब्स र बेइजिङ डकले पेट पूजा गरिसकेपश्चात् होटलतिर लागियो। नाचघर भने रातको ११ बजेपछि मात्रै खुल्ने रहेछ, अर्को वर्ष आउँला भन्दै बिदा भएँ।

भोलि बिहान ७ बजे खाजा खाइसकेपछि म ७:३० बजे ओक्टोगनबाट पुन: केलेटी ट्रेन स्टेसन लागेँ। यो हंगेरीको मुख्य अन्तर्राष्ट्रिय रेल वे स्टेसन हो। यहाँबाट रेलहरु पूर्वी हंगेरीलगायत बाल्कन अनि ट्रान्सल्भेनिय क्षेत्रतिर जान्छन्। ट्रान्सल्भेनिय क्षेत्र यति सुन्दर छ कि शब्दमा वर्णन गर्न सकिन्न। मेरो सिटको छेवैमा बस्ने एकजोडी क्यानेडियनसँग परिचय हुनासाथै लामो गफ भयो। उनीहरु किचेनर क्यानाडाबाट आएका रहेछन्। मैले टोरोन्टो, क्यानाडाको यात्रामा हुँदा किचेनरको विषयमा सुनेको थिएँ जहाँ सबैभन्दा बढी जर्मन डिसेन्ड बस्छन्।

बिहान ८ बजे रेल हिँड्यो। म हंगेरीबाट स्लोभाकियाको राजधानी ब्रातिस्लाभातर्फ लागेँ। रेल स्टेसनमा रोकिएको बेला या कुनैकुनै बेला स्टेसन छाड्दा रेल मास्टरहरुको युनिफर्म नियाल्थेँ। मलाई उनीहरुले लगाएको रातो टोपी (रेड ब्यारेट)ले भने घरीघरी रसियामा भएको अनुभूति दिन्थे। किनभने, मैले पटकपटक रसियन सैनिकहरुले त्यस्तैखालको 'रेड ब्यारेट' लगाएको धेरैचोटि देखिसकेको थिएँ। कुनै बेला मलाई यस्तो आभास हुन्थ्यो- यतातिर कतै कम्युनिस्ट शासन त लुकिबसेको छैन! तर यो सबै मेरो दिवास्वप्न मात्रै थियो। झसङ्ग भएर ब्युँझदा थाहा भयो, अर्की नयाँ महिला कन्डक्टर टिकट जाँच गर्न आइसकेकी रहेछिन्। म भर्खरै हंगेरी छाडेर स्टोरोभो, स्लोभाकियाको सिमाना आइपुगेको थिएँ। बुडापेस्टबाट हंगेरीको सिमानासम्म पुगेर हतियार बोकेका प्रहरीहरु झरे। स्लोभाकियामा भने त्यस्तो देखिएन। स्टोरोभो, स्लोभाकियाको सानो गाउँ भए पनि साइनबोर्डमा स्लोभाक र हंगेरियानम लेखेको हुने रहेछ।

ड्यानुब नदीको किनारैकिनारको यो यात्रा कति रमणीय थियो! भाग्यले साथ दिएर मौसम एकदम सफा थियो। पटकपटक नदी पार गर्ने पुल हेर्दा लाग्थ्यो, वास्तवमा रेलयात्रा गर्न पूर्वी युरोप पनि एक नम्बर नै रहेछ।

लगभग साढे तीन घण्टाको यात्रापछि म स्लोभाकियाको राजधानी ब्रातिसलाभा आइपुगेँ। वास्तवमा ब्रातिस्लोभा त्यति ठूलो शहर छैन भन्ने पूर्वअनुमान गरेर म त्यहाँ एक रात बिताउने या नबिताउने द्विविधामा परेको थिएँ। रेलबाट म निस्कनै लाग्दा क्यानिडीयन सहयात्रीहरुले मलाई बाँकी यात्राको लागि अग्रिम शुभकामना दिए। मैले नि धन्यवाद दिएँ।

ब्रातिसलाभा : स्लोभाकिया

ब्रात्सालाभा दरबार स्लोभाकिया

ब्रात्सालाभा दरबार स्लोभाकिया

रेलबाट झरेर यसो रेल स्टेसन नियालेँ। अगाडि रेस्टुरेन्ट देखेँ। अचानक भोक लाग्यो। अब पहिले केही 'ज्युनार' गरौं भनेर त्यतातिर लागेँ। रेस्टुरेन्टमा एकजोडी अमेरिकनसँग भेट भयो। सँगै खाना खायौं। उनीहरुले मलाई ब्रातिसलाभासम्बन्धी जानकारी मात्रै दिएनन् उनीहरुसँग भएको म्याप नै दिए। म हर्षले गदगद भएँ, साथै धेरै धन्यवाद दिएर बिदा भएँ। उनीहरु भर्खरै ब्रातिसलाभा छाड्दै थिए। उनीहरुले मलाई टेक्सी स्टेसन पनि देखाइदिए। म टेक्सी समातेर लागेँ ब्रातिसलाभा दरबार (क्यास्चल)तर्फ।

ब्रातिस्लाभा क्यास्चल (दरबार) ९औं शताब्दीमा निर्माण गरिएको हो। ब्रातिसलाभा क्यास्चलबाट ब्रातिसलाभा शहर सबै प्रस्ट देख्न सकिने रहेछ। सानो शहर भएकोले एक चक्कर मार्न धेरै समय लागेन। लगभग ५-६ घण्टाको ब्रातिसलाभा बसाइपछि भने मलाई त्यसै दिन अस्ट्रिया जान मन लाग्यो। टेक्सीलाई भियना जाने बस स्टेसनतिर मोड्न अनुरोध गरेँ। ड्यानुबको किनारमा फिल्क्स बस स्टेसन रहेछ अनि म लागेँ भियना, अस्ट्रियातिर।

फिल्क्स बस पनि रमाइलो रहेछ, चालकसँग टिकट काटेपछि बस परिचालिकाले स्वागत भाषण गरिन्। बसमा हल्काफुल्का नास्ता र पानीको व्यापार रहेछ। पटकपटक गल्ती गरेर स्पार्क्लिङ पानी किनेर पिउँदापिउँदा वाक्क भएको मेरो स्वादे जिब्रोलाई यस पटक भने मिठो अंग्रेजी स्वरको धनी अस्ट्रियान बस परिचालिकाबाट मिठै स्टिलपानी किनेर धित मरिन्जेल पिएँ।

भियना : अस्ट्रिया

अस्ट्रिया भियनाको सोन ब्रोन दरबार

अस्ट्रिया भियनाको सोन ब्रोन दरबार

लगभग एक घन्टाको बसको रमाइलो यात्रापछि म भियनाको अन्तर्राष्ट्रिय बस स्टेसन एर्दवर्ग आइपुगेँ। अस्ट्रिया मेरो लागि पहिलोचोटि भने होइन तर भियना चाहिँ बिल्कुल पहिलोचोटि हो। सन् १९८९ मा पहिले इन्सबर्गमा दुई हप्ता स्किइङ छुट्टी मनाउन गएको थिएँ। बेलायतबाट आफै गाडी लिएर गएको हुनाले त्यो क्षेत्र घुम्न साह्रै रमाइलो भएको थियो। पोहर साल भेनिस जाँदा रेलबाट अस्ट्रिया रमित हेर्दै गएको थिएँ। यस पटक भने मुख्य गरेर भियना रंगशाला, 'सोंन ब्रोन दरबार' अनि सैनिक संग्रहालय जाने रहरले हिँडेको थिएँ।

बसबाट झरेपछि एउटा टेक्सी लिएँ। दुर्भाग्यबस भारतीय मूलका टेक्सी चालकको पालो परेछ। हाम्रो असल छिमेकी मित्रराष्ट्रबाट आएका टेक्सी चालकहरुले मलाई एसिया, मध्यपूर्व अनि युरोपमा मात्र नभएर अमेरिकन महादेशमासम्म खत्तम बनाएका प्रशस्त अनुभव सँगालेर बसेको छु। भियना रंगशाला पुगेपछि भने मैले गलत निर्णय गरेको महसुस गरेँ। टेलिभिजनमा मात्रै आकर्षक त्यो देखेको रंगशाला त्यति आकर्षक भने लागेन। म आफै कार्डिफ, लिभरपुल, म्यानचेस्टर मात्रै नभएर बार्सोलोनाको रंगशाला हेरिसकेकोले पनि मलाई त्यस्तो लागेको हो।

उनै भारतीय टेक्सी चालकसँग भियना शहरको परिक्रमा गरिसकेपछि सोंन ब्रोन दरबारतर्फ लागेँ। टेक्सी चालक मलाई पर्खने कुरो गर्दै थिए, मैले उसको शुल्क दिइसकेपछि भनेँ, 'म त यही दरबारमा बस्छु, नपर्खनू।' ऊ पनि मेरो कुरा सुनेर हाँस्दै बाटो लागे।

सोंन ब्रोन पूर्वअस्ट्रियन साम्राटको ग्रिष्मकालिन दरबार हो। १,४४१ कोठाहरु भएको यो दरबार अति ठूलो मात्र नभएर ज्यादै सुन्दर पनि छ। यो दरबार भियनाको मुख्य ऐतिहासिक र सांस्कृतिक केन्द्रबिन्दु पनि हो। सन् १९५० यता पर्यटकहरुको चापले खुट्टा टेक्ने ठाउँ पाइँदैन। दरबारको बगैंचा कति सुन्दर छ भनेर वर्णन गरेर साध्य छैन। बगैंचामा जेम्स बोन्डको फिल्म 'द लिभिङ डेलाइट्स'को पनि अलिकति छायांकन गरिएको थियो। शितयुद्धको समयमा सन् १९६१ मा यो दरबारमा पूर्वराष्ट्रपतिद्वय केनेडी र ख्रुस्चेभको ठूलो मिटिङ भएको थियो।

मेरो घुम्ने अर्को मुख्य स्थान अस्ट्रियनहरुको सैनिक संग्रहालय हो। सोंन ब्रोन दरबारबाट सैनिक संग्राहलय जान ठ्याक्कै आधा घन्टा लाग्ने रहेछ। संग्रहालय बन्द गर्ने समय भएकोले मसँग त्यति समय रहेन। मेरो सपना अधुरै रहने भयो। यसका लागि मेरा टेक्सी चालक जिम्मेवार थिए। उनले यता राम्रो उता राम्रो भन्दै के के देखाए के के जसले मेरो समय नष्ट भयो।

सन् १९९५ मा पूर्वयुगोस्लाभाकीयाको युध्दमा लड्न जाँदा सारायाभोको सिटी हल जाने अवसर मिलेको थियो। यो त्यही सिटी हल हो जहाँ अस्ट्रियाका राजकुमार आर्क ड्युक फ्रान्क फर्डिनान्डको हत्या भएको थियो। मलाई त्यहाँ पुग्दा ड्युककी श्रीमती सोफीले छातीमा गोली लागेर मृत्युसँग जुझिरहेका राजकुमारलाई 'पतिदेव! तपाईं मर्न सक्नुहुन्न। हाम्रा नानीहरु एकदमै साना छन्' भनेको झल्याँस्स याद आयो। उनीहरु जुन बग्गीमा सवार थिए त्यो सैनिक संग्रहालयमा आजसम्म सुरक्षित राखिएको छ। २८ जुन १९१४ मा सारायाभोमा घटेको यही हत्यकाण्डबाट प्रथम विश्वयुद्धको विजारोपण भएको थियो। प्रथम विश्वयुद्धमा कतिले ज्यान गुमाउनुपर्‍यो वा कति घाइते भए भन्ने कुरो अहिलेसम्म यकिन गर्न सकिन्न। मेरो पनि दुर्भाग्य यसपटक पनि मलाई त्यो बग्गी हेर्ने अवसर मिलेन। किनभने, भोलि बिहानै ब्रोनो हुँदै चेकको राजधानी प्रागतर्फ लाग्दै थिएँ।

होटलबाट बिहानै 'भियना हाउपोबाहनोप' रेल स्टेसन लागेँ। ठूलो रेल स्टेसन भएकोले सूचनाको लागि पटकपटक तल र माथि गर्नुपर्‍यो। सबैभन्दा खेदको कुरो भने रेलको लागि टिकट काट्न पनि चिट लिनुपर्ने। अन्तमा रेलको टिकट हात पारेपछि भियनाबाट प्रागतर्फ लागेँ।

प्राग : चेक गणतन्त्र

चेक रिपब्लिकको प्राग दरबार

चेक रिपब्लिकको प्राग दरबार

म चढेको रेल 'प्राहा ह्लाभ्नी नादराज़ी' रेल स्टेसनमा रोकियो। यो प्राग, चेक गणतन्त्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय रेल स्टेसन हो। मैले होटल प्राग वानको पुरानो टाउनमा अग्रिम बुकिङ गरिसकेको थिएँ। यो पर्यटकीय क्षेत्र एकदम व्यस्त हुने भएकोले होटल पाउन कठिन हुन्छ। अग्रिम मोलतोल गरेर टेक्सी मिलाएँ अनि समयमै होटल पुगेर 'चेक इन' गरेँ। एकजना आधबैंसे महिला रेसेप्सनिस्ट रहेछिन्। तिनले मलाई दुई प्रकारको पर्यटकीय स्थान र भूमिगत रेलको स्थानीय नक्साहरु उपलब्ध गराइन्। यसको साथै भोलि बिहानको ब्रेकफास्टको समय मात्र नभएर बेलुकी कुन स्थानमा कुन प्रकारको रेस्टुरेन्टमा खाना खाने भनेर ठाउँ पनि बताइदिइन्।

मैले अस्ति इन्डियन खाना खान नपाएको झोंकमा आज पनि इन्डियन खाने निर्णय गरिसकेको थिएँ। होटलनजिकै इन्डियन रेस्टुरेन्टमा खाना खाएर रात्रीकालिन रमिता हेरेर रमाइलो मानेँ। बाटोको दायाँबायाँ थुप्रै भट्टी पसल, क्लब र डान्स बारहरु देखिए। भोलि शुक्रबारदेखि सप्ताहान्त मनाउन आउने थुप्रै पर्यटकहरुको बाक्लो उपस्थिति हुन थालेको थियो। मलाई जाँडरक्सी नचल्ने भएकोले आज पनि रमिता मात्रै हेरेँ। बाटोमा बत्तीको प्रकाश र अलिअलि मातेकी अग्ली-अग्ली अनि पातली चेक महिलाहरु हलिउडका नायिकाहरुभन्दा कम देखिन्नथे। 'स्टाग डु' मनाउन आएको बेलायती नायकहरु भने बाटोभरि होहल्ला गर्दै 'पब क्रावल' गर्दै थिए। म जाबो सानो फुच्चे राई लुरुलुरु बिस्तारै बाटोको कुनाकुना भएर होटलमा थपक्क आएर सुतेँ। समय त्यस्तै रातको ११ बजे हुँदो हो।

भोलि बिहानको खाजा खाइसकेपछि भने म प्राग नजर लगाउन निस्केँ। भिटभा नदीको किनारमा अवस्थित प्राग, चेक गणतन्त्रको राजधानी मात्र नभएर बोहिमियाहरुको पनि एक जमानामा राजधानी थियो। यहाँको जनसंख्या लगभग १२ लाखजति छ। यदि कुनै चेकबासी अहिले एक सय वर्ष बाँचेको छ भने ऊ पाँच देशको नागरिक भएर बाँचिरहेको छ– बोहिमियन, चेकोस्लाभाकियान, जर्मन, पोलिस अनि अहिले चेक गणतन्त्र।

होटलनजिकै रहेको ओल्ड टावन स्क्यारमा पर्यटकहरु एकाबिहानै खचाखच भरिएको थिए। म पनि स्क्यारनगिचै रहेको एस्ट्रोनोमिकल घडी हेर्न उपस्थित भैसकेको थिएँ। यो घडी सन् १४१० मा राखिएको थियो। यो संसारको तेस्रो पुरानो एस्ट्रोनोमिकल घडी हो। यस घडीले सूर्य अनि चन्द्रमाको मात्र नभएर अन्य ग्रह एवं नक्षत्रहरुको पनि वर्तमान अवस्था पत्ता लगाउन सजिलो पार्छ।

एस्ट्रोनोमिकल घडीको दर्शनपछि म 'चार्ल्स ब्रिज'तर्फ अगाडि बढेँ। भिटभा नदीमा सन् १३५७ देखि राजा चार्ल्स चौथोले पुल लगाउन सुरु गरेको भए पनि यो झन्डै पन्ध्रौं शताब्दीको सुरुतिर मात्र समाप्त गरिएको थियो। यो एतिहासिक पुललाई ढुंगे पुल, प्राग पुल हुँदै सन् १८७० बाट मात्रै 'चार्ल्स ब्रिज' भन्न थालिएको थियो। १० मिटर चौडाइ अनि ६२१ मिटर लम्बाइ भएको यस पुलबाट म बिस्तारै पारि प्राग क्यास्चल (दरबार)तर्फ लागेँ।

सन् ८७० बाट निर्माण गर्न सुरु गरिएको प्राग क्यास्चल दशौं शताब्दीको मध्यतिर मात्रै पूरा गरिएको थियो। गिनेस बुकको रेकर्डअनुसार प्राचीन समयमा निर्माण गरिएको यो क्यास्चल संसारको सबैभन्दा ठूलो हो। यहाँ अहिले चेक गणतन्त्रका राष्ट्रपति विराजमान गर्छन्। १५ मार्च १९३९ को दिन नाजी जर्मनले तत्कालिन चेक राष्ट्रपति एमिल हछालाई लखेटेर अडोल्फ हिटलरले यही दरबारमा एक रात बिताएका थिए। प्राग दरबारबाट देखिने शहरको सुन्दर दृश्य जोकोही पर्यटकले पनि भुल्न सक्दैनन्। दरबारछेउको दोकानमा कफीको चुस्की लगाउँदै दुई घण्टा समय बिताएको मैले पत्तै पाइनँ।

प्राग दरबारको यात्रापछि म होटल फर्किएँ। अब मेरो यात्रा क्रमश: बर्लिन, जर्मनीतिर थियो। हुन त बर्लिन घुमिसकेको थिएँ तर धेरै समय भएको थियो। अचानक छोरोले फोन गरेर ऊ आज नै सप्ताहान्त मनाउन ओस्टासयरबाट लिभरपुल आउने जानकारी गराए। छोरोसँग भेट नभएको लगभग दुई महिना भइसकेको थियो। मैले पनि मेरो बाँकी यात्रा यहीँ अन्त गर्ने निर्णय गरेँ। हतारहतार प्रागबाट लिभरपुल या म्यानचेस्टर जाने जहाजको टिकट खोजेँ। मेरो यो असफल प्रयासपछि भने म बर्मिङ्घमको लागि ४ बजेको टिकट मिलाएँ। अनि सिधै टेक्सी लिएर भाक्लब हवेल अन्तर्राष्ट्रिय विमानस्थल प्राग हुइकिएँ।

समयमा एयरपोर्ट पुगेर 'चेक इन' गरेँ। अध्यगमन पास भएपछि चेक एयरको जहाजमा चढेर प्रागलाई बिदा गरेँ। प्राग विमानस्थलबाट दुई घण्टाको जहाजको यात्रा लगभग अन्त हुनै आँटेको थियो। म बर्मिङ्घममा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदै थिएँ, जहाज करिब १२,००० फिट माथि बर्मिङ्घमको आकाशमा एयर ट्राफिक कन्ट्रोलले होल्ड गराइरहेको थियो।

फेरि एक पटक मनमनै सोचेँ- यो मेरो यात्रा सफल बनाउन सहयोग गर्ने स्काइ स्क्यानर, बुकिङ डट कम र मेरो बारक्ले कार्डलाई मुरीमुरी धन्यवाद!

प्रकाशित १ पुस २०७३, शुक्रबार | 2016-12-16 16:02:46
author photo

भीम राई पूर्वब्रिटिस गोर्खा सैनिक हुन्


प्रतिकृया दिनुहोस

  • चीनमा पत्थरमा पर्यटन

    जलले तन, सत्यले मन, अभ्यासले ज्ञान अनि ज्ञानद्वारा बुद्धि शुद्ध हुन्छ भनिन्छ। त्यसैले मन्दिरजस्ता पवित्र स्थलमा बिना चोखोनिती जानु हुँदैन भनिन्छ।...

  • कवि विमल निभा

    यो गाउँको नाम रामगढवा हो

    मधेस परिवेश र किसान चेतनाका दृष्टिले कवि विमल निभाको तीन दशक पुरानो कविता उल्लेखनीय रचना हो। २०३७ सालमा लेखिएको अर्थात् आजभन्दा ३७ वर्ष पुरानो यस...

  • उपन्यासकार अरुन्धती रोय र उनको नयाँ उपन्यास मिनिस्ट्री अफ अटमस्ट ह्यापिनेस

    भारतीय (अ)लोकतन्त्रको कोलाज

    चिहानबाट सुरू भएको उपन्यासको यात्रा चिहानमै आइपुगेर अर्को सुरूवात गरेर टुंगिन्छ। कथा सुरू हुँदा घाम डुब्न लागेको छ तर उज्यालो बाँकी छ। यस्तो लाग्छ,...

  • काठमाडौं घण्टाघर

    कोलाहल सहरको घण्टाघर

    साला, यो सहरमा अहिले आएको मान्छेले को स्वदेशी चिनेन, को विदेशी चिनेन। कुन भाषा हाम्रो, कुन अर्काको त्यो पनि चिनेन। हाम्रो भेषभुषा चिनेन। हाम्रो...

  • बियर गिलासमा बाक्लो दही

    हिमाल देखिँदैन पटक्कै। नदी बग्दैन यता। फूलको बगान छैन। न खेल्ने ठुलो चहुर छ। न ठुलो बस्ती नै। यहाँ त्यस्तो प्रसिद्ध तीर्थस्थल पनि छैन। यहाँ...

  • महेश कोर्मचा

    ‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’

    ‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’, महेशले सुनाए, ‘हजुरबुवाले सात नाल बन्दुक पड्काएर ४९ वटा जनावरको बली दिनुभएको थियो क्रान्ति सुरु...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • दर्जन देशबाट चामल आयात, वर्षेनि सकिन्छ २३ अर्ब

    वर्षेनि दर्जन देशबाट चामल आयात गरी २३ अर्ब सिध्याइने नेपालमा तीन वर्षभित्र आत्मनिर्भर हुने सरकारी योजना अघि सारिएको छ। नेपालमा खासै उत्पादन नहुने...

  • नेपालखबर हङकङका सम्पादक जेवी पुन मगर

    हङकङ सम्पादक पुनमाथि आक्रमण प्रयास, ज्यान लिने धम्की

    हङकङमा बसोबास गर्ने स्याङजाका कोमल गुरुङले नेपालखबर हङकङ संस्करणका सम्पादक जेवी पुन मगरमाथि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आक्रमण प्रयास...

  • कुन दल होला पहिलो? यस्तो छ कांग्रेस, एमाले र माओवादी लेखाजोखा

    दोश्रो चरणको निर्वाचनमा पनि तीन प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने निश्चित छ।...

  • भारतले ‘गल्ती नसच्याएसम्म’ चीनले नाथुला नाका नखोल्ने

    ‘भारतीय तीर्थयात्री नाथुला नाका हुँदै समयमै तिब्बत पुग्न नसक्नुको जिम्मा भारतले लिनुपर्छ’, प्रवक्ता लुले बेइजिङमा भने, ‘कहिले खुल्छ भन्ने कुरा...