कवि श्रवण मुकारुङका पाँच किस्सा


कवि श्रवण मुकारुङ
कवि श्रवण मुकारुङ

कहिलेकाहीँ लाग्छ, हाम्रो जीवनका केही अनुच्छेद अनेक लयदार किस्साको जोडफलबाट बुनिंदोरहेछ। लिखित–अलिखित किस्साको जेब्राक्रसिङ पार गरेर पछाडि हेर्दा नोस्टाल्जियाबाट पनि गुज्रिन्छौँ सायद। कतिपय किस्सा आफ्नै जीवनकालमा लोककथाजस्तो बनिदिन्छन्। आफ्नै ‘लोककथा’ को श्रोता बनिसकेका कवि श्रवण मुकारुङसँग उनका किस्साहरू ‘भेरिफाई’ गर्न रमाइलै हुने लागेर प्रज्ञा–प्रतिष्ठानमा गएँ एक अपरान्ह।

आफ्नै च्याम्बरमा युवा कविहरूद्वारा घेरिएर बसेका मुकारुङ विभिन्न कार्यक्रमको योजनामाथि छलफल गरिरहेका थिए। युवा लेखकहरू दायाँ–बायाँ लागेपछि कवि श्रवण मुकारुङले आफ्ना रमाइला किस्साका ससाना पन्तुरा फुकाए।
..............
एक–
कुरा हो, श्रवण मुकारुङ कविको अवतारमा स्थापित नहुँदैको। धेरै अग्रज कविका कविताको लोभलाग्दो ग्लामर देखिसकेका थिए मुकारुङले। उनलाई पनि लागेको थियो,‘म पनि राम्रै लेख्छु कि त ?’ त्यसबेलाको ‘रोल नं. १’ साहित्यिक मासिकमा आफ्नो कविता छपाउने हुटहुटीले पखेटा हाल्यो। र, उनी उडेर पत्रिकाको कार्यालय जान थाले। सम्पादकको पुरातन पोल्टामा आफ्ना नवजात कविता जिम्मा लगाए। पुरानै चश्मा भिरेका सम्पादकले मुकारुङको कवितालाई देख्दै देखेनन्। तर, मुकारुङले सम्पादकलाई नब्बे डिग्रीमा नमस्कार टक्र्याउन छाडेनन्। उनलाई लाग्यो, सरकारी पत्रिकाको सम्पादक धेरै जिम्मेवार हुनुपर्ने हो। ६ महिनासम्म धनुषाकार कोटीको नमस्कारको चाङ लगाउँदा पनि सम्पादकले कुनै प्रतिक्रिया दिएनन्। कम्तिमा कविता पुनर्लेखनको सुझाव सम्पादकले दिनुपथ्र्यो होला। सम्पादक महोदयले चुँइक्क मुख खोलेनन्। अनि, मुकारुङलाई कसोकसो भोजपुरे झोंक चल्न थालेको थियो।

एकदिन झोंकको मुस्लो सम्पादकको ढोकाभित्र छिर्‍यो। आगोको फिलङ्गाजस्ता एक जोर आँखाले सम्पादकको राजसी अनुहारलाई घेरा हाले। ती आँखा श्रवण मुकारुङकै थिए। आर्मी बुटले फर्निचरमा जोडजोडले ठोक्दै मुकारुङ बोले, ‘मेरो कविता कहिले छापिन्छ?’ सम्पादकको शरीरमा कामज्वरो छुट्यो। तर, वाक्य फुटेन। हुरीजस्तै छिरेका खम्बुवानी आक्रोश उसरी नै फिरेको थियो।

अर्को महिनाको अङ्कमा प्रकाशित तातो कवितामा श्रवण मुकारुङको गाढा नाम प्रिन्टेट थियो।
....................
दुई–
चर्चित गायक खेमराज गुरुङसँग बुनिएका श्रवण मुकारुङका केही किस्सा पनि चल्तीमा छन् काव्यिक चिया–गफमा।

समान अधिकारका लागि लड्ने भूपू लाहुरेहरूको संस्था ‘गेसो’ को लागि श्रवण मुकारुङले आठ गीत लेखेका थिए। ‘गेसो मुभमेन्ट फर इक्वालिटी’ एल्बम तयार भएपछि नारायण गोपाल चोकनजिक लाहुरेहरूले भव्य पार्टी दिए। रात्रीकालीन रसरङपछि मुकारुङलाई घर पुर्‍याइदिन अघि सर्‍यो कोही। तर, गायक गुरुङ बीचमै उफ्रिएर भने,‘खेमराज गुरुङ हुँदाहँुदै दाजुलाई कसैलाई पुर्‍याउन पर्दैन।’ रात छिप्पिदै गएपछि मुकारुङ–गुरुङको फिट्टु जोडी ट्याक्सीमा रौसिंदै लागे, मुकारुङको डेरातिर। मुकारुङ बस्थे बालुवाटारमा। तर, त्यसअघि गुरुङ गएका थिएनन् बालुवाटारको डेरा। रक्सीको मात्रा यति अधिक थियो कि मुकारुङले आफ्नो बासस्थानको दिशा नै भुले। ट्याक्सीले पानीपोखरी–बालुवाटार क्षेत्र फन्का मारिरह्यो। मिटरमा भाडा उकालो लागेको लागेकै। सङ्कटकालको बेला थियो त्यो। हरेक चोकमा हतियारधारी प्रहरी थियो। कडा स्वरमा प्रहरीले केरकार गरेपछि खेमराज नम्रतापूर्वक बोल्थे, ‘म गायक खेमराज गुरुङ। वारि जमुना पारि जमुना..।’ ‘वारि जमुना पारि जमुना’ उच्चारण गर्दा लयमै जम्ला हात र टाउको दायाँ–वायाँ ढल्काउथे गुरुङ। घुमाउँदा घुमाउँदै ट्याक्सी त प्रहरी क्याम्पभित्र नै हुइँक्याउन लगाइएछ। त्यहाँभित्र पनि गायक गुरुङको नमस्कार पूर्ववत् रिदममै वारि–पारि ढल्कियो। गुरुङले माफी मागे प्रहरीसँग। सेलिब्रेटी गायक र गीतकारले माफी पाए।

मुकारुङलाई मदहोशीमै लाग्यो, केही त गर्नैपर्‍यो। कता–कताबाट गेसोका चियरम्यान पुरञ्जन राईलाई फोन गर्न भ्याए मुकारुङले। कविले फोनमा बोले, ‘तपाईंलाई एउटा सहयोग माग्न पर्‍यो। मेरो डेराको फोन नम्बर कति होला?’ हात लागी शून्य भो। फेरि ट्याक्सी घुमाउने क्रम जोडियो। गायक गुरुङ हैरान भएपछि संगीतकार मित्र पारस मुकारुङको डेरा मैतीदेवीमा लगेर बिसाए श्रवण मुकारुङलाई। केही थान नोट बेफ्वाँकमा गएको रन्कोमा लामो सास तान्दै गुरुङले बियरको बिर्को खोल्न थाले।

पछिल्ला जमघटमा कवि मुकारुङ मातेको चाल पाएपछि गायक गुरुङ ट्याक्सी चढाउन कहिल्यै अघि सरेनन्।

गायक गुरुङले आफ्ना गीतहरू करेक्सन गरिदिनका लागि श्रवण मुकारुङलाई अनुरोध गरिरहन्थे। नयाँ गीत लेखिदिनका लागि पनि प्रेमिल दबाब दिइरहन्थे। उही त हो, मतवालीको पुस्तैनी शैली। गुरुङले साँझ–साँझमा गतिलो सितनको जोहो गरेर मुकारुङको छेउमा बोतल ठड्याउँथे। मुकारुङको रसिलो घाँटीबाट एक पेग बगेपछि सिर्जनाको काम फिटिक्कै हुन्नथ्यो। हप्तौं बिते। तर, मुकारुङको सिपालु हातबाट गुरुङको धोको पूरा भएन। एक विहान चिया–नास्तामा मुकारुङले खेमराजको गीत गतिलैसँग बनाइदिए। त्यसपछि गुरुङले आफ्ना दौंतरीहरूसँग बारम्बार भनेछन्, ‘हेर केटा हो! श्रवण दाइसँग काम गर्नु छ भने बेलुका हैन है। दाइसँग काम गर्नु छ भने चियामा, दूधमा या फलफूलमा।’
..............
तीन–
श्रवण मुकारुङकै शब्दमा ‘सडक–कवि’ थिए उनी। कवि विप्लब ढकालले बानेश्वरमा घर किनेपछि कविहरूले एक साँझ रमाइलो गर्ने मुड बनाए। चराको चिर्बिरबीच कविहरूले केही गिलास समयसँग चियर्स गरे। मात लाग्दै गएपछि मुकारुङ भावुक हुँदै गए। उनको मनमा खेल्न थाल्यो, ‘सँगैको साथीले काठमान्डुमा घर किनिसक्यो। आफ्नो बासको ठेगान छैन।’ जति तरल पदार्थ भित्र जान्थ्यो, मुकारुङभित्रको कवि तरङ्गित हुँदै जान्थ्यो। सायद स्वाभाविक मानवीय कुण्ठा–इर्ष्याहरूले पनि घाँटी तन्काउन खोज्यो। खानपानको उत्कर्षमै कवि ढकाललाई मुकारुङले भने, ‘कवि! यो घर–रुख त तिम्रा हुन्। तर, यी चराहरू मेरा हुन्।’ आखिर कवि–मण्डली न परे। केही टुक्रा भावुकताको सलाद थपिए। एकाध पेग आत्मीयता भरिए। र, ढलपल हुँदै छुट्टिए।

कवि विप्लव ढकाल र श्रवण मुकारुङ

कवि विप्लव ढकाल र श्रवण मुकारुङ

केही घन्टापछि कवि ढकालको घरमा टेलिफोन बज्यो। फोनमा कवि मुकारुङले यत्ति बोले, ‘कवि ! त्यो घर तिम्रै थियो। रुख तिम्रै थियो। भैगो, अब ती चराहरू पनि तिम्रै भए।’
.........
चार–
राजतन्त्रविरुद्धको साहित्यिक अभियानमा सबैभन्दा धेरै वाचन,पठन र प्रकाशन गरिएको कविता सायद ‘बिसे नगर्चीको बयान’ हुनुपर्छ। यस कविताले श्रवण मुकारुङको राजनीतिक चेत र विशिष्ट कवि क्षमता दुवैलाई उजागर गरिदियो। मुकारुङ जीवनको यस्तो मोडमा उभिए, जहाँबाट उनले राजनीतिक दलको टिका लगाए। मुकारुङ काँग्रेस प्रवेश गरेपछि साहित्यिक माहौलमा बहसको ससानो कम्प नै छुट्यो। बहस श्रवणमय भइरहेकै बेला उनलाई काँग्रेसले समानुपातिक सभासदको उम्मेदवार बनायो। उम्मेदवार भएपछि कविताकर्ममा लाग्ने हातहरू कोइराला–कुटिर र देउवा–दरबारमा नमस्ते गर्नमा अभ्यासरत हुन थाले। प्रत्यक्ष उम्मेदवार जनतासँग भोट माग्न दौडिरहँदा समानुपातिक उम्मेदवारहरु प्रमुख  नेताको घरदैलोअगाडि म्याराथुनमा लाग्नु स्वाभाविक नै थियो। कोही चिनारु लेखक पत्रकार कोइराला निवासमा भेट हुन्थ्यो। चिनारुको प्रश्न तेर्सिन्थ्यो, ‘श्रवण दाइ कता?’ उनी प्रत्युत्तरमा भन्थे, ‘आदरणीय सुशील दालाई दर्शनभेट गरुँ भनेर।’ अनि पत्रकारलाई साउतीमा मुकारुङ भन्थे,‘यस्तो भाषा भर्खर सिक्दै छु।’

शरीरले चिसो नसहे पनि मुकारुङ बिहानैबिहानै कोइरालानिवास धाइरहन्थे। उनी हतार–हतार नेता–निवास पुग्दा अन्य उम्मेदवारको लामो लर्को हुन्थ्यो। उनी लाइनको पछाडि परिहाल्थे। अगाडि लाइनमा बस्नेहरू भन्थे, ‘सुशील दा ! म वर्षौंदेखि पार्टीको लागि खटिरहेको छु। मेरो योगदानको कदर हुनुपर्छ।’ अर्कोले थप्थ्यो, ‘मेरो लोग्नेलाई माओवादीले मारेको। पार्टीको लागि मेरो परिवारले सबथोक गुमाएको छ। याद गर्नुस् सुशील दाइ।’ आफ्नो पालो आउँदा मुकारुङसँग भन्नैपर्ने केही कुरा केही हुन्नथ्यो। पार्टी–प्रवेशको शिशुकालका मुकारुङ नमस्कार टक्र्याएर फर्कन्थे। लामै दौडधूपपछि उनलाई लाग्यो, ‘समानुपातिकको उम्मेदवार हुनु भनेको आधुनिक दास हुनु रहेछ।’ धेरैले मुकारुङलाई अग्रिम बधाइ दिइरहे। मुकारुङले सुइँको पाए, सुशील कोइरालाले नै उनको नाम उम्मेदवार सूचीमा चढाएका हुन्। तर, मुकारुङ सभासद भएनन्। पछि उनले थाहा पाए– बिमारको कारण सुशील कोइरालाले ‘मुकारुङको नाम आफैंले राखेको’ भन्ने नै भुलेछन्। साहित्यिक ठट्यौलीमा भाइ पुस्तासँग मुकारुङ भनिरहन्थे, ‘झन्डै–झन्डैको सभासद हुँ यार म पनि।’

..............
पाँच–
हङकङबाट कवि भोगेन एक्ले आएको बेला रमाइलोको लागि केही भाइ कविहरूसँग निरमाया दोहोरी साँझ छिरे श्रवण मुकारुङ। दोहोरीमा बियर खानेक्रममा एक भलाद्मीसँग परिचय भो कविको। आफू कवि रहेको जानकारी पनि गराउन भ्याए मुकारुङले। मातिसकेको कविले सोधे, ‘भाइ! माथि माथि सैलुङ्गेमा भन्ने गीत सुनेको छ? त्यो गीतको लेखक मै हुँ।’ त्यो गीत उसबेला सुपरहिट थियो। सुटमा ठाट्टिएका ती भलादमीलाई कविले दुइचार डोज गफ पनि दिए। ती भलादमीले कविलाई सम्मानपूर्वक सम्बोधन गरिरहे। कविले रवाफिलो शैलीमा सुटधारीलाई सोधे, ‘अनि भाइ के गरिन्छ त?’

आफ्नो नाम दीपक बताउने ती व्यक्तिले भने, ‘ठमेलतिर सानोतिनो बिजनेस छ दाइ।’ झुम्मिदै कवि बोले, ‘ठीक छ भाइ।’ राम्रै खाइपिइपछि ती भलादमीसँग विदाबारी गरेर हिँडे कवि–समूह। लिफ्टमा झर्दा भाइ कविहरूले कानेखुशी गरेर सोधे,‘श्रवण दाइ! तपाईंको पुरानै चिनजान हो?’ बियरको लयमा मुकारुङले सोधे, ‘कोसँग?’ फेरि भाइ टोलीले अर्को प्रश्न गरे, ‘अगि कोसँग गफ्फिनु भाको?’ उति महत्व नदिई मुकारुङ बोले, ‘भर्खरै त्यहीँ परिचय भाको। होला कोही।’ समूहको कसैले अड्कलेर बोल्यो, ‘श्रवण दाइ! त्यो अगिको मान्छे दीपक मनाङ्गे हो नि! थाहा छैन?’ ‘दीपक मनाङ्गे?’ त्यस समयको चर्चित ‘डन’को नाम,दीपक मनाङ्गे। लिफ्टबाट बाहिरिंदा श्रवण मुकारुङलाई रिङ्ग्याइरहेको वियरले पनि छोडेको थियो, छ्याङ्ग। र,खुल्ला हावामा उभिएर फुस्फुसाए मुकारुङ, ‘दीपक मनाङ्गे?’

प्रकाशित १ पुस २०७३, शुक्रबार | 2016-12-16 16:24:47
author photo

गुरुङ सुशान्त निबन्धकार तथा समीक्षक हुन्


प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • तीन दलका शीर्ष नेताहरु बालुवाटार बैठकमा सहभागी हुँदै । तस्बिरः रासस

    वैशाखभित्र स्थानीय चुनाव गर्ने प्रमुख दलहरुबीच सहमति

    प्रमुख चार दलबीच आगामी वैशाखभित्र स्थानीय चुनाव गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुबीच वैशाखमै स्थानीय चुनाव...

  • पोखरामा फ्लाई ओभर योजना

    यसै महिनाको अन्त्यतिर हुने पोखरा नगर परिषदबाट अमरसिंहचोकदेखि सिर्जनाचोकसम्म फ्लाई ओभर निर्माणको सम्भाव्यता अध्ययन गर्न झन्डै ४० लाख रुपैयाँ बजेट...

  • दर्जन ठूला कम्पनीको पूँजीवृद्धि स्वीकृतिको तयारी

    आगामी हप्ता बस्ने औद्योगिक प्रवद्र्धन बोर्ड बैठकले एक दर्जन कम्पनीको पूँजीवृद्धि निर्णय गर्ने भएको छ। लामो समयदेखि बोर्डको बैठक बस्न नसक्दा...

  • पार्टी एकीकरणमा उपस्थित राप्रपा र राप्रपा नेपालका शीर्ष नेता / तस्विरः रत्न श्रेष्ठ

    अब राप्रपाको पनि गाउँ तहबाटै समावेशी संरचना

    सत्ता यात्राकै क्रममा छिन्नभिन्न हुन पुगेका पूर्वपञ्चहरूबीच दुई महिनाअघि एकता भएसँगै पार्टी गतिविधि तीब्र बनाएको छ। ६ मंसिरमा राप्रपा नेपाल र...