दुर्लभ बाजाहरूको सुलभ सङ्ग्रहालय (फोटोफिचर)

लोक बाजा सङ्ग्रहालयले गाउँगाउँबाट पुराना बाजा खोजेर सङ्कलन-संरक्षण गर्छ


तपाईं त्रिपुरेश्वर धेरै पटक जानु भएको होला! तर त्यहाँबाट थापाथलीतिर बढ्नेबित्तिकै दाहिनेतर्फ एउटा गजबको सङ्ग्रहालय छ भन्ने जानकारी नहुन पनि सक्छ। हो, त्यहाँ छ, लोकबाजा सङ्ग्राहलय। एक, दुई, तीन गर्दागर्दै त्यहाँ सङ्कलित बाजाहरूको संख्या आजको मितिमा ५ सय ४० पुगेको छ। सङ्ग्राहलयमा करिब ६ सय लोकबाजाहरू सङ्कलित छन्। ०७२ सालको भुइँचालोले तीमध्ये ६० बाजा नष्ट बनायो। त्यसअघि त्यहाँ बाजाको संख्या ६ सय पुगिसकेको थियो।

दुई दशकदेखि कँडेल दुर्लभ बाजाहरूको सुलभ सङ्कलनमा दत्तचित्त भएर लागिरहेका छन्

सङ्ग्राहलयमा भएका मध्ये तराईतिर डोमहरूले बजाउने घुर्ना बाजा नेपालको प्राचीनतम बाजा भएको अध्यक्ष रामप्रसाद कँडेल बताउँछन्। एक हातजति लामो रेटेर बजाउने यो एकतारे र दुई तारे दुबै हुन्छ। यसको तार र रेट्ने दुबैमा घोडाको पुच्छर प्रयोग हुन्छ।

यसबाहेक कपाली जातिले बजाउने पूजा मोहाली, थारु बाजा रेउनीलगायत तीनतारे सारङ्गी, बयल घण्ट, मृदङ्ग, रानी मादल, पिवांचा जस्ता लोपोन्मुख र कम प्रयोगमा आएका बाजागाजाहरू नै सङ्ग्राहलयका प्रमुख आकर्षण रहेको अध्यक्ष बताउँछन्।

कँडेलका अनुसार, ‘कुई कुई बज्छ तीनतारे सारङ्गी’ गीत नै छ। यो बाजाबारे साहित्यकार लक्ष्मीप्रसाद देवकोटा र भवानी भिक्षुले चर्चा गरेका थिए। तर नयाँ पुस्तालाई यसबारे धेरै जानकारी छैन।

बुढाखाडा बित्दै जानु, यी बाजाबारे सोधखोज गर्न प्रेरित गर्ने खालको पाठ्यक्रम नहुनु जस्ता कारण नेपाली बाजागाजा र सङ्गीत संस्कृति क्रमशः लोप हुँदैछ। जे जति बाँकी छन् ती लिपिमा नभएर केही सांस्कृतिक गतिविधि र मौखिक परम्पराका रूपमा मात्रै भेटिने अवस्था छ।यसका लागि राज्यले नेतृत्व लिएर ठोस काम गर्न सकेको छैन। 

यस्तै चासो र चिन्ताले जन्मिएको लोकबाजा सङ्ग्रहालयले नेपाली सङ्गीत संस्कृतिको अध्ययन र अभिलेखीकरणका लागि विविध गतिविधि गर्दै आएको छ। सङ्ग्रहालयले विभिन्न समूहसँग नजिक रहेर अन्तर्राष्ट्रिय लोक सङ्गीत फिल्म महोत्सवको आयोजना समेत गर्दै आएको छ। यसै महिना यसको छैठौँ संस्करण सम्पन्न भएको थियो।

हाल पार्टटाइमर २५ जना स्वयम्सेवीले सङ्ग्रहालयको काममा सघाइरहेछन्। उनीहरूको मुख्य काम जिल्लामा गएर सङ्गीत संस्कृतिको अध्ययन गर्ने र त्यसको अभीलेखीकरण गर्ने हो। कुनै बाजा र त्यसको प्रयोग गर्ने समुदायबारे केही महिनामै धेरै कुरा थाहा हुने त कुनै कुनै जानकारी पाउन वर्षौ लाग्ने कँडेल बताउँछन्।

उनका अनुसार, शंखशीला बाजाबारे जानकारी बटुल्न झन्डै ७ वर्ष लागेको रहेछ। यो बाजाको विशेषता के त? ‘मान्छे मरेको बेला, बालाचतुर्दशी, शिवरात्री आदि समयमा बजाउने ढुंगे बाजा हो यो। बाग्लुङ, ज्यामिरेघाट, अमलाचौरको र फलेबासको साँधमा फेला परेको यो बाजाको अध्ययनका लागि सोचेभन्दा बढी नै समय लाग्यो।’

सङ्ग्रहालयले दुर्लभ बाजाहरू गाउँमै कम भएकोले सकेसम्म नयाँ बनाउन लगाएर ल्याउँछ। त्यो सम्भव नभए पुरानो र बिग्रेको बाजा ल्याएर काठमाडौँमै नयाँ बनाउँछ। दुई दशकदेखि कँडेल दुर्लभ बाजाहरूको सुलभ सङ्कलनमा दत्तचित्त भएर लागिरहेका छन्।

सङ्ग्राहलयमा बाजाको सङ्कलन बढ्दै गए पनि त्यसको उपयोगिताबारे भने उल्लेख्य नतिजा हात पार्न लामो समय लाग्ने भएकाले यो काममा धैर्यको खाँचो पर्ने कँडेलको अनुभव छ। अनुसन्धान गर्ने विद्यार्थी र विदेशीहरूमा बाजाप्रति बढी चासो रहेको छ भन्दै उनले थपे, ‘नयाँ पुस्ताका केही कलाकारले हाम्रो संस्कृति र बाजालाई महत्व दिए पनि नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्न हामीजस्तो एउटा संस्थाको प्रयास मात्रैले पुग्दैन।’

तस्बिरः सन्देश दुमरु

प्रकाशित २४ मंसिर २०७३, शुक्रबार | 2016-12-09 15:47:00

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • केरुङ–रसुवागढी नाका

    नुवाकोटमा नेपाल-चीन औद्योगिक पार्क निर्माण यसै वर्ष अघि बढ्ने

    विश्वको अल्पविकसित मुलुकमध्ये पर्ने नेपालमा कृषि वस्तुबाहेक अरु अधिकांश कुरा आयातमा निर्भर हुनुपरेको बताउँदै वाङ्ले यसबाट आम नेपालीको आवश्यक मागको...