भारतीय (अ)लोकतन्त्रको कोलाज

अरुन्धतीको दोस्रो उपन्यास ‘द मिनिस्ट्री अफ ह्यापिनेस’ सबैभन्दा 'ठूलो लोकतन्त्र'को समकालीन राजनीतिक चित्र हो


उपन्यासकार अरुन्धती रोय र उनको नयाँ उपन्यास मिनिस्ट्री अफ अटमस्ट ह्यापिनेस
उपन्यासकार अरुन्धती रोय र उनको नयाँ उपन्यास मिनिस्ट्री अफ अटमस्ट ह्यापिनेस

बजार–राजनीतिको कटु आलोचक लेखकको कृतिलाई जबर्जस्ती बेच्नु पर्ने बजारू वस्तुको रूपमा व्यवहार गरेको असुहाउँदो थियो

एक हाथ में पेप्सी कोला 

दुजे में कंडोम
तीजे में रामपुरिया चाकु
चौथे में हरिओम
कितना ललित ललाम यार है
भारत घोडे पे सवार है
–अष्टभुजा शुक्ल

यो समीक्षा होइन। उपन्यासका तत्त्व र विषय, पात्रहरूका स्वाभाविकता र विकास, कथ्यको खुकुलोपना वा खँदिलोपना, द्वन्द्वको उठान र बैठान, संवादको संगति र असंगति, मानवीय संवेगको स्थुलता वा सुक्ष्मता। यी सबै उधिन्ने प्रयास होइन यो। त्यसो त उपन्यासको गुणवत्ताको ठाडो छ्यानविचार पनि होइन। बरू, उपन्याससँग संवाद गर्ने अति सामान्य प्रयत्न मात्र हो।

भारत भन्ने भीमकाय मुलुक मलाई विष्मयकारी लाग्छ। रोयले बीस वर्षको अन्तरालमा लेखेकी दोस्रो उपन्यास पनि उस्तै विष्मयकारी छ। भारत जति कोमल छ, त्यति नै क्रुर पनि छ। भारतमा जति अहिंसाको चर्चा अन्यत्र कहीँ हुँदैन, महात्मा बनाइएका गान्धी त्यही समाजका उत्पादन हुन्। गान्धी व्यक्तिबाट सैद्धान्तिक स्कूल ‘गान्धीवाद’मा परिणत भइसक्दा हिंसाको विद्रुपतम घटना कति घटे होलान् भारतमा? अभिलेख राखेर साध्य छैन। अध्यात्मको ओढनीले ढाकेर भौतिकताको चरम उपभोग गर्छ भारत। सधैंजसो धर्मको नांगो ताण्डव पनि उसैले देखाउँछ। कहिलेकाहीँ अत्यन्त मृदुभाषी सुनिन्छ भारत, अक्सर कर्कश र दुर्मुखा जस्तो सुनिन्छ त्यही भारत। यो आफैमा सुललित र जीवनमुखी काव्य हो, उतिकै जर्जर र शुन्यवादी गद्य पनि हो। आकारको विशालता यो समाजले सिर्जना गरेका विज्ञान र कला, विचार र दर्शनमा समाहित भएका छन्। यी विशालतम सिर्जना र संरचनाले दुनियाँलाई कायल बनाएको छ। अनेक सभ्यताको मिश्रण बनेर भारतले संसारभरका हजारौं अध्येताहरूलाई अद्यापि चकित पारिरहेको छ। साथै, अमानवीय विभेद र असभ्यताको द्योतकका रूपमा संवेदनशील मस्तिष्कलाई उत्तिकै जिरिङजिरिङ पनि बनाइरहेकै छ। द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस उपन्यास त्यही भारतको कोलाज चित्र हो।

उपन्यासमा कविता वाचिन्छन्, गजल गाइन्छन्। अंग्रेजी मूल कथ्यमा उर्दु, मलयालम, भारतेली अंग्रेजी, हिन्दी, अनेक भाषाका अनेक शब्द, संवाद, र कविताका टुक्रा भेटिन्छन्। अनेक मिठा पकवानहरू पाक्छन्। मुस्लिम छन्, हिन्दु छन्, क्रिश्चियनहरू छन्, र छन् आदिवासीहरू। ब्राह्मण छन्, दलित छन्। क्रान्तिकारीहरू छन्, चटकेहरू पनि छन्। स्त्री र पुरूषका आवेग र संवेग, ट्रान्सजेन्डरजन्य कौतुक र विष्मय पनि उपन्यासका विषय हुन्। दिल्लीको करिष्मा र दलाली छ, काश्मिरको प्रेम र कहर छ, गुजरातको अभिमान र जुगुप्सा छ, छत्तिसगढको विद्रोह र विद्रुपता छ, दक्षिण भारतको मेधा र सकस छ। ठाउँठाउँमा मान्छेप्रति असीम प्रेम दर्शाइएका छन्। मान्छेप्रति अग्घोर घृणा विद्यमान छ भन्ने पनि देखाइएको छ।

चिहानबाट सुरू भएको उपन्यासको यात्रा चिहानमै आइपुगेर अर्को सुरूवात गरेर टुंगिन्छ। कथा सुरू हुँदा घाम डुब्न लागेको छ तर उज्यालो बाँकी छ। उपन्यासको अन्त्य हुन लाग्दा, एउटी सानी बालिका, जो आफैमा जीवनको प्रतीक हो, उसले आफ्नै पिसाबको दहमा सहरको उज्यालो हेरेकी छ। यस्तो लाग्छ, खरानीबाट उठेको फिनिक्स चराको चल्तीको बिम्बले भारतको पतन र उत्थानको गाथा भन्न नसक्ने भएपछि, अरून्धतीले सानी बच्चीले बनाएको पिसाबको दह र त्यहाँ देखिने उज्यालोलाई नयाँ बिम्बको रूपमा प्रयोग गर्न खोजेकी हुन्। जसरी सधैं अनौठो लाग्छ भारत, त्यसरी नै अनौठा बिम्बहरूको प्रयोग भएको छ उपन्यासमा। एकरेखीय कथामा भारतीय समाज र त्यहाँका मानवीय सम्बन्धका जटिल पहेलीहरू व्यक्त गर्न सकिँदैन होला। रोयको उपन्यासमा कथाका तहहरू छन्।

यो खासगरी चार सहपाठीहरूको कथा हो। बंगाली उच्च जातीय विप्लव, मलायलमभाषी उच्च जातकी महिलाले अन्तरजातीय प्रेम गरेपछिको परिणामस्वरूप जन्मिएकी तिलोत्तमा, काश्मिरी मुसलमान मुसा, र दिल्लीवाले खुफिया पत्रकार नागा यी कथाका मुख्य पात्रहरू हुन्। तर, उपन्यासकी नायक भन्न लायक पात्र हुन् अन्जुम जो कथाको सुरूमा केहीबेर, मध्य भागमा एकछिन, र अन्त्यमा केहीबेर देखा परेकी छन्। यी दिल्लीको मुसलमान समुदायकी हिजडा भनेर हियाइने पात्र हुन्। तर, प्रेम, स्वाभिमान, र धैर्यताकी प्रतिरूप पनि हुन् अन्जुम।

अरुन्धती रोय

अरुन्धती रोय

एकताका सँगै पढेका तिलोत्तमा, मुसा, नागा, र विप्लव कतै न कतै भेट भइरहन्छन्। कारण, यी तीन जना पुरूषले उनीहरू सबैकी साझा साथी तिलोत्तमा उर्फ तिलोलाई प्रेम गर्छन्। कुनै न कुनै बहानामा यी तीनै जनाले तिलोको हालखबर बुझ्न खोजिरहेका नै हुन्छन्। तिलोत्तमा ग्राफिक डिजाइनर हो र ऊ स्वतन्त्र जीवनको अभिलाषा राख्ने हिम्मतिली महिला हो। पढाइ सकेपछि विप्लव बडो उदार र आधुनिक देखिन खोज्ने तर जातीय अहंकारको तुष मिल्काउन नसकेको ढोंगी युवा हो। ऊ खुफिया विभागको कर्मचारी हुन्छ र बिस्तारै पूर्णकालीन जँड्याहा बन्छ। नागा कुटनीतिक क्षेत्रमा इज्जत कमाएको बाबुको छोरो हो र जानेमानेको पत्रकार हो। ऊ सतहमा प्रगतिशील देखिन्छ तर विप्लवका लागि खबरीको काम पनि सँगै गरिरहन्छ। मुसाले काश्मिरको द्वन्द्वमा आफन्त गुमाउँछ। राज्यपक्षको क्रुरतापूर्ण कारवाहीमा उसका प्रिय मानिसहरूले ज्यान गुमाउँछन्। ऊ स्वतन्त्र काश्मिरका लागि क्रान्तिमा होमिन्छ। मुसासँग जसै तिलो काश्मिर पुग्छे, कथाले काश्मिरको कहर बताउन थाल्छ। उपन्यासले ठूलो अंशमा काश्मिर र केन्द्रीय सत्ताको क्रुरतम सम्बन्धको मेहेरो तानेको छ। काश्मिर उपन्यासका पात्रहरूसँगै कहिले निराशाको वेदीमा सहिद हुन्छ, कहिले क्रान्तिको झिल्कोमा आशावान बन्छ।

जन्नत अर्थात् स्वर्ग नाम दिइएको चिहानमा बनाइएको झुप्रामा अन्जुमले घर बसाएकी छन्। दलित बाबुलाई गाई मारेको अभियोगमा कुटेर हत्या गरेपछि दयाचन्द नामको हिन्दु दलित सद्दाम हुसेन नामको मुस्लिममा बदलिन्छ। इराकी सद्दाम फाँसीमा चढ्दा उसको अनुहारमा देखिएको भावले दयाचन्दलाई सद्दाम बनाउन प्रेरित गरेको हुन्छ। बाबुको हत्याराको बदला लिने संकल्प लिएर हिँडेको ऊ अन्जुमको शरणमा आइपुग्छ। विस्तारै उसमा अन्जुमले नै शरण दिएकी जैनब नामकी केटीप्रति प्रेम अंकुराउँछ। त्यसैबखत दलितहरू आफूमाथि भएका अन्यायविरूद्ध सडकमा आउन थाल्छन्। सद्दामले व्यक्तिगत बदलाको आवश्यकता नभएको महसुस गर्छ।

कुनै माओवादी छापामार महिलाले दिल्लीको सडकमा छाडेर हिँडेकी नवजात शिशुलाई फेला पारेपछि तिलो पनि उही जन्नतमै पुग्छे। राज्यका एक हुल सेनाबाट निर्ममतापूर्वक बलात्कृत भएकी महिला छापामारले जन्माएर सडकमा छोडेकी उही शिशु पछि अन्जुमको परिवारकी सबैभन्दा प्यारी बालिका बन्छे। अन्जुमले उसलाई रात छिपिएर चकमन्न भएपछि सहर देखाउन लिएर हिँड्दा, उसले सहरको चित्र पिसाबको दहमा हेरेकी हो।

धर्तीको स्वर्ग भनेर महिमा गाइने काश्मिर आफैमा चिहान बनेको छ। वागी मुसलमान र निर्दोष निहत्था मुसलमानहरूको थोक हत्या गरिएकाले त्यो सिंगो क्षेत्र चिहान बनेको हो। त्यहाँ असंख्य मान्छेका लाससँगै आशा र सपना पनि गाडिएका छन्। यता अन्जुमको चिहान भने जन्नत बनेको छ। यहाँ संसार सिंगार्ने आशा बाँकी छ, जीवन जिउने अभिलाषा बाँकी छ, र संसार बदल्ने अठोट पनि बाँकी नै छ। यी कुनै पनि मानवीय संवेगहरू कोरा रोमाञ्चकताको रूपमा अभिव्यक्त भएका छैनन् र बनावटी पनि होइनन्। बरू, संयम, धैर्यता, र एक खाले निर्दोषिता सहित अभिव्यक्त भएका छन्।

उपन्यासमा नरेन्द्र दामोदरदास मोदी गुजरातका लल्लाका नामले देखा परेका छन्। दिल्लीमा भ्रष्टाचारविरोधी हल्लाखल्लाबाट उदाएका अरभिन्द केजरिवाल जुँगे अग्रवालका रूपमा त्यस्तै हल्लाखल्ला गरिरहेका भेटिन्छन्। भारतीय जनता पार्टीका नेता अटल विहारी वाजपेयी शासक कविका अवतारमा यहाँ उत्रेका छन्। तर, यी कुनै पनि पात्रलाई नचिन्ने पाठकले यी सबैलाई प्रवृत्तिका रूपमा बुझ्नेछन्।

उपन्यास प्रकाशित भएर आउनुभन्दा महिनौं अघिदेखि यसको भरमार विज्ञापन गरिएको थियो। हरेक दिनजसो कुनै न कुनै नाम चलेका पत्रिका, रेडियो र टेलिभिजनले अरून्धतीको दोस्रो उपन्यास आउन लागेकामा ठूलो हर्षबढाइँ गरेका थिए। धेरैजसो प्रायोजित खाले प्रचारमुखी लेख र अन्तरवार्ता थिए। बजार–राजनीतिको कटु आलोचक लेखकको कृतिलाई जबर्जस्ती बेच्नु पर्ने कुनै नक्कली र बजारू वस्तुको रूपमा व्यवहार गरेको असुहाउँदो लागेको थियो। उपन्यास पढ्दा भने अरून्धतीको आलोचनात्मक तेवरमा कुनै कमी आएको देखिँदैन। कति समीक्षकले उपन्यासमा पनि उही आक्रामक गैरआख्यान लेखकको आवेग छोड्न नसकेको आरोप लगाएका छन्। अरून्धतीले लामो समय लेखिरहेका पोलेमिक्सको औपन्यासिक रूप नै यो पुस्तक हो भनेका छन्। उनले भनेको कथाको प्रशंसा गर्ने समीक्षकले पनि सम्पादन नपुगेको पहिलो ड्राफ्ट जस्तो छ भनेर आलोचना गरेका छन्।

भारतीय लोकतन्त्रका दुःख र चुनौतीहरू थुप्रै छन्। उपन्यास विधा लोकतन्त्रको उत्पादन हो भने, तिनका दुःख र चुनौतीहरूको अभिव्यक्ति पनि हो उपन्यास। त्यस अर्थमा भारतमा अभ्यास गरिएको (अ)लोकतन्त्रको एउटा कोलाज चित्रका रूपमा द मिनिस्ट्री अफ ह्यापिनेसलाई पढ्दा उचित हुन्छ। के उपन्यासमा विरोधाभासहरू छन्? कसैले राम्ररी खोज्यो भने, त्यस्ता विरोधाभासहरू पनि भेट्ला। अमेरिकी कवि वाल्ट ह्वीटम्यानलाई सम्झिए हुन्छ। उनले भनेका छन्, ‘मेरा विरोधाभासहरू देखिएका छन्? त्यसो हो भने, ठीक छ, मसँग विरोधाभासहरू छन्। किनभने म भीमकाय छु, मसँग अनेक थोक छन्।’

प्रकाशित २ असार २०७४, शुक्रबार | 2017-06-16 19:44:56

प्रतिकृया दिनुहोस

  • चीनमा पत्थरमा पर्यटन

    जलले तन, सत्यले मन, अभ्यासले ज्ञान अनि ज्ञानद्वारा बुद्धि शुद्ध हुन्छ भनिन्छ। त्यसैले मन्दिरजस्ता पवित्र स्थलमा बिना चोखोनिती जानु हुँदैन भनिन्छ।...

  • कवि विमल निभा

    यो गाउँको नाम रामगढवा हो

    मधेस परिवेश र किसान चेतनाका दृष्टिले कवि विमल निभाको तीन दशक पुरानो कविता उल्लेखनीय रचना हो। २०३७ सालमा लेखिएको अर्थात् आजभन्दा ३७ वर्ष पुरानो यस...

  • उपन्यासकार अरुन्धती रोय र उनको नयाँ उपन्यास मिनिस्ट्री अफ अटमस्ट ह्यापिनेस

    भारतीय (अ)लोकतन्त्रको कोलाज

    चिहानबाट सुरू भएको उपन्यासको यात्रा चिहानमै आइपुगेर अर्को सुरूवात गरेर टुंगिन्छ। कथा सुरू हुँदा घाम डुब्न लागेको छ तर उज्यालो बाँकी छ। यस्तो लाग्छ,...

  • काठमाडौं घण्टाघर

    कोलाहल सहरको घण्टाघर

    साला, यो सहरमा अहिले आएको मान्छेले को स्वदेशी चिनेन, को विदेशी चिनेन। कुन भाषा हाम्रो, कुन अर्काको त्यो पनि चिनेन। हाम्रो भेषभुषा चिनेन। हाम्रो...

  • बियर गिलासमा बाक्लो दही

    हिमाल देखिँदैन पटक्कै। नदी बग्दैन यता। फूलको बगान छैन। न खेल्ने ठुलो चहुर छ। न ठुलो बस्ती नै। यहाँ त्यस्तो प्रसिद्ध तीर्थस्थल पनि छैन। यहाँ...

  • महेश कोर्मचा

    ‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’

    ‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’, महेशले सुनाए, ‘हजुरबुवाले सात नाल बन्दुक पड्काएर ४९ वटा जनावरको बली दिनुभएको थियो क्रान्ति सुरु...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...