बियर गिलासमा बाक्लो दही

सुन्तलाबारी पुग्दा मनको पिङ्ग यसरी मच्चियो


हिमाल देखिँदैन पटक्कै। नदी बग्दैन यता। फूलको बगान छैन। न खेल्ने ठुलो चहुर छ। न ठुलो बस्ती नै। यहाँ त्यस्तो प्रसिद्ध तीर्थस्थल पनि छैन। यहाँ उद्योगधन्दा पनि छैनन्। तर किन बोलाए अक्षर यात्रीलाई मोहन खनालले। किन भव्य स्वागत गर्यो सुन्तलाबारी सामुदायिक होम स्टेले। किन रमाए अक्षर यात्री। फुरुङ्ग किन भए। फेरि फेरि जाने कि नजाने। किन जाने नि।

कार्यक्रम अक्षर यात्र । यो १४२ औँ शृंखला। जीवन र जगतको यथार्थ बोधका लागि अक्षर यात्रा। ग्रामीण पर्यटन यात्राको यौटा अपूर्व कार्यक्रम। अग्रज अनुजहरुको एउटै साहित्यिक केन्द्र। कस्तो रमाइलो, सबै बराबर। जो कोही पनि प्रकट हुन सक्ने ठाउँ। साहित्यको लक्ष्मण रेखा आफै कोर्न पाइने ठाउँ। उकाली ओरालीको सम्झना बिर्सना उन्न पाइने अक्षरमा। डुल्न पाइने। घुम्न पाइने। आफ्ना अनुभूति कोर्न पाइने। तत् स्थानका अर्गानिक रचनाले पुलकित बन्न, बनिनँ पाइने ।

जीवन यात्रा हो । यात्रामा कहिले खोला भेटिन्छ। कहिले नदी तरिन्छ। पहाड उक्लिन्छ । भिर, पाखा, पर्वत, बगर या के के भेटिन्छ यात्रामा । सजिलो। अप्ठ्यारो। हाँसो। रोदन। रमाइलो हुन्छ यात्रामा। जसरी लियो त्यस्तै पो हुन्छ यात्रा ।आखिर जिन्दगी पनि यात्रा न हो। जसरी भोग्यो त्यस्तै न हुन्छ । यात्रामा हिँड्न जान्नु पर्छ । जिन्दगी जिउन पनि त जान्नु पर्छ।

यस्तो अगार्निक यात्राको भ्रुण हुर्काउने काम १३ वर्ष पहिल्यै भएको हो। अर्थात् विक्रम संवत् २०६२ असार १८ गते। न्युरोडमा रहेको पगेनी आर्टमा हो गर्भाधारण भएको। सुन्दरी डाँडाको रमणीय स्थानबाट सुरुआत भएको यात्रा यसपाली स्याङ्जाको एलादी पुगेको हो । सुन्तलाबारी सामुदायिक होम स्टे पुगेको हो।

बिहान ७ बजे छोडेका हाँै पोखरा। एउटा टुरिस्ट बस। बसभित्र जम्मा २६ यात्री। रमाइलो थियो। नौ डाँडामा नास्ता गरेर अगाडि बढ्दा एउटा पार्टी गठन भैसकेको थियो बसभित्रै। पुछार सिटे पार्टी। अध्यक्ष कोही थिएन। प्रवक्ता सञ्जीव। मु्क्तक मञ्च पोखराका पूर्वअध्यक्ष। स्वघोषित प्रवक्ता। काममा निपूर्ण। मित्र सुरज त्यसै मख्ख। आडैमा बसेर पार्टीको प्रचार प्रसारमा लागेका थिए। आडैमा बसेका श्रीराम अधिकारी भने क्याटलिस्ट बनिरहेका थिए।

अगाडिको सिटमा बसेका नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले खास मेसो पाएनन् क्यारे। परिकल्पनाकार प्रकट पगेनी शिवले भने यो पार्टीको स्वाद मज्जैले लिए। रहर त पार्टीसँग जोडिन गजल सन्ध्याकी अध्यक्ष बिर्सना बस्नेतलाई पनि उत्तिकै थियो। स्थापना कालमा जोडिएको भावना परिवारको संलग्नता थिएन अहिले। अलि अगााडि रहेका गौरी तमु, संगिता आभाष, सूर्य प्रकाश मल्ल, मिर्मिसा पराजुली, अम्बिका भण्डारी, वसन्त विनोद, अस्मिता भटराई, गीता, माया, केआर लगायतको पार्टी प्रतिको जिज्ञासा प्रवत्ताले नै पूरा गरेका थिए। पुष्टि गर्न चिल उड्यो आकाशका लेखक बालकवि सुरज उपाध्याय काफी थिए।

पार्टीको मूल उद्देश्य हो अक्षर यात्राको मूल मर्मलाई पूरा गर्नु। अर्थात् साहित्यिक पर्यटन । कार्यक्रमको आफ्नै विशेषता छन्। तत् स्थानमा जाने, साहित्य सिर्जना गर्ने, सोही ठाउँमा सुनाउने। त्यहाँका सकारात्मक पक्ष बाहिर ल्याउने। यसो भनूँ, ग्रामीण पर्यटन र साहित्य।
हिड्दै थियौँ हामी। अलि बलिया भएका सञ्जीव, सुरज र म अगाडि थियौँ। र त वञ्चित भयौँ ट्याक्टर चढ्न। घामले पोलेको उकालो चढ्न सजिलो थिएन कसैलाई। कवि सुरजले निधारभरिको पसिना पुछ्दै भनेका थिए, ‘गरिबको पसिनाको कुनै मूल्य छैन, पुछेरै फाल्दिने हो।’ हामी पसिना पुछ्दा पुछ्दै बाटोमा केटाकेटी बनेका थियौँ।
पक्कै पनि अक्षर यात्राले पोखरा र आसपासका धेरै ठाउँलाई उजिल्याउने काम गरेको छ । केही मात्र भएपनि परिचय स्थापित गराएको छ कार्यक्रमले। स्याङ्जा, पाल्पा, तनहुँ, गोर्खा, पर्वत जस्ता विभिन्न जिल्लामा अक्षर यात्राले आफ्नो गर्विलो उपस्थिति जनाइसकेको छ। यसपाली अक्षर यात्रीले उजिल्याउने पालो हो स्याङजाको सुन्तलाबारी सामुदायिक होम स्टेको।

सुन्तलाबारी जान वालिङ पुग्नु अगाडि त्रियासीबाट भित्र छिर्नुपर्छ। हामीलाई बसले झारिदियो खहरेमा । कच्ची मोटरबाटो गाउँसम्म नै पुग्छ। नियमित बस पनि चल्छ। जानका लागि खास अप्ठ्यारो छैन। पुगेपछि सुन्तलाबारीभित्र लुकेको सुन्दर गाउँले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ।

जम्मा ३० घर। गुरुङ बस्ती। ब्राह्मण परिवार २ घर मात्र। चारैतिर पहाडले घेरिएको। बिचमा समथर ठाउँ। मान्छे र घर देखिदैँनन्। देखिन्छन् त सुन्तलाका बगान मात्र। तल दक्षिणमा कान्छी मनकामना। उत्तरमा बुढाकोट, ठूलो मनकामना र भ्यू टावर पूर्व र पश्चिममा।
च्याट्ट परेका घर। सुकिला मान्छेहरु। मिजासिलो स्वभाव। नम्र बोली। सभ्य व्यवहार। माया र प्रेमिल हृदय। बस, कविका लागि पुगिगो। त्यसो त कवि पनि आम मान्छ न हो ।
सुरज, सञ्जीव, श्रीराम र म सुन्तलाबारीभित्र टुसुक्क बसेको घर पुग्यौँ। गुरुङ बस्ती। गुरुङकै घर। आमा पिँढीको डिलमा बसेर माला उन्दै। तिर्खा थियो मनभरि । कस्तो प्यास लागेको। भोक पनि थियो नि। आमा लुसुक्क उठेर भित्र छिरिन्। बाहिर निस्कँदा बियरको गिलास। अनि बियरको गिलासमा बाक्लो दही। कति मीठो दही पनि। आमाहरु त आमा मात्र हुन्छन् नि।

एउटै परिवार झैँ मिलेर बसेको गाउँ। सबै मिलेर खोलेको सामुदायिक होम स्टे। त्यहाँका सम्भावनाहरुको खोजी गर्ने राम्रो प्रयास। २०६९ मै खोलिएको हो यो। जसका अध्यक्ष अहिले पनि क्याप्टेन डिलबिक्रम गुरुङ छन्। भारतीय सेनामा ३० वर्ष काम गरेर फर्केपछि उनी र मोहन खनालको पहलमा त्यहाँको सम्भावनाको खोजी कार्यलाई मूर्तरुप दिन थालिएको हो।

‘हामी पैसा कमाउन होइन, यो ठाउँलाई चिनाउन चाहन्छौँ। सुन्तलाबारी होम स्टेलाई परिचित बनाउन चाहन्छौँ, यहाँका प्रकृतिक स्रोत, प्रतिभाहरुलाई बाहिर ल्याउन चाहन्छौँ।’ अध्यक्षले यसो भनिरहँदा वरिपरि सुनिरहनुभएका गाउँलेहरुले बडो सुन्दर हाँसो छरिरहेका थिए। त्यसो त बिक्रम त्यहाँका बासिन्दाको विचार परिवर्तन गराउन चाहन्छन्। सरसफाइ गर्न र गराउन चाहन्छन् । उनीहरुको सोच नै परिवर्तन गराउन चाहन्छन्। ‘यसै अनुरुप काम पनि भैरहेको छ,’ मोहन खनाल गर्व गरिरहेका थिए।
मोहन खनालसँग पहिलो भेट हो मेरो। स्याङ्जाको सुदूर गाउँमा क्यानोनिङ जस्तो साहसिक खेल खेलाउन सकिने सपनालाई साकार बनाएका थिए उनले। मसान गैरो, जहाँ जान पनि डराउँथे आमाहरु, ओर्लन पनि डराउँथे केटाकेटीहरु, त्यही पहरोमा क्यानोनिङ खेलाउँछन् आजभोली। उहिल्यै एकजना मानिस खसेर मरेपछि त्यसको नाम भएको रहेछ मसान गैरो।

गाउँको ठाडो भीरको यसरी सदुपयोग गर्न सक्नु त्यहाँको मुख्य विशेषता हो। नर्वेमा भएको ‘ग्रामीण पर्यटन, सम्भावना, चुनौती र अवसर’ गोस्ठीमा पुगेपछि मोहन खनालले नै यसको उपयोगिता गर्न सकिने गाउँलेलाई बताएका थिए। अझै त्यहाँ त बालबालिका, युवा र प्रोफेसनल खेलाडी पनि खेल्न मिल्ने तीन प्रकारकै एड्भेन्चेरियस ठाउँ छन्। यसले त्यहाँको ग्रामीण पर्यटनमा सकारात्मक प्रभाव पार्ने पक्कापक्कि छ।

अति सुन्दर सुन्तलाबारीले जो कोहीको मन आनन्दित बनाउँछ। नजिकै रहेका कान्छी मनकामना र ठूली मनकमना घुम्न लायक छन्। माथि बुढाकोटबाट सुन्दर हिमाल नियाल्न पाइन्छ । पहाडका टाकुरामा बनाइएका भ्यू टावरबाट राम्रा राम्रा रमणीय दृश्यावलोकन गर्न सकिन्छ। मन आह्लादित बन्छ त्यहाँ पुगेपछि । उत्खनन् हुँदै गरेको गुफा पनि छ एउटा, राम्चे गुफा।

पर्यटकका लागि खान र बस्नको सुविधा गाउँलेले नै मिलाउँछन्। तत् स्थानीय अर्गानिक खानेकुरा पस्किनु उनीहरुको मौलिक विशेषता हो। समयअनुसारका खानेकुरा पाइन्छन् त्यहाँ। २५– ३० पर्यटकलाई राम्रोसँग राख्न सक्ने सुन्तलाबारी होम स्टेमा पुगेर आनन्द लिनुको मज्जा नै बेग्लै हुने छ।

कविता, गीत, गजल लेख्न यताउता छरिएकाहरु जम्मा भैसकेका थिए व्यवस्थित सामुदायिक भवनमा । लक्ष्मण थापा, बिर्सना बस्नेत र डिलबिक्रम गुरुङ सभापति भए। मोहन खनाल पछि आरके भ एउद्घोषक। अनि अरु रचना वाचन गर्ने र सुन्ने।

परिकल्पनाकार प्रकट पगेनीलाई गज्जबको सेल्फी खिच्न मन लाग्यो सुन्तलाबारीमा । त्यो पनि लाज नमान्नेसँग। उता बालकवि सुरज र सुवासलाई भने यहाँका धेरै युवाहरुले पासपोर्ट बनाएकोमा निकै चिन्ता थियो। बरु जुस कम्पनी पो खोल्न आग्रह गरे कवितामा।

सुरजले सञ्जीवलाई बाटैमा दिएका थिए कविताको प्लट। न्याय गर्न पनि कति सिपालु। उनले पसिना कवितामा त्यहाँका दुख पीर पुछेर फालिदिए। अमृत गुराँसलाई गाउँ निकै सुन्दर लाग्यो। लक्ष्मण थापा उसरी नै चिन्तित थिए युवाहरु नदेखेपछि। जे होस्, गाउँका अर्गानिक रचना निकै सुन्दर भएर सिर्जित भएका थिए। नवनीत साहित्य सागरका अध्यक्ष यसपालिका रचना सुनेर निकै गम्म परेको भाव फर्कँदा बसमा बताइरहेका थिए।

यही आनन्द लिन जाने त हो नि। त्यहाँको शालिनता, हार्दिकता, आत्मीयता लिन जाने हो । अनि सिजनमा सुन्तला खान जाने। स्याङ्जा जिल्लाकै उत्कृष्ट सुन्तला खान मन कसलाई नलाग्ला र। कवितालाई निकै माया मान्ने मोहन खनालले यही कुरा देखाउन पो बोलाएका रहेछन्। उनलाई जति धन्यवाद दिए पनि थोरै हुन्छ । कवि हृदय भएको मान्छे। फेरि पनि बोलाउँछु भनेका छन् उनले। सातवटा होम स्टे पो छन् रे त स्याङ्जामा।

प्रकाशित २७ जेठ २०७४, शनिबार | 2017-06-10 12:52:25
author photo

अल्पज्ञानी . पोखरास्थित साहित्यकार हुन्

@alpagyani

अल्पज्ञानी .बाट थप


प्रतिकृया दिनुहोस

  • चीनमा पत्थरमा पर्यटन

    जलले तन, सत्यले मन, अभ्यासले ज्ञान अनि ज्ञानद्वारा बुद्धि शुद्ध हुन्छ भनिन्छ। त्यसैले मन्दिरजस्ता पवित्र स्थलमा बिना चोखोनिती जानु हुँदैन भनिन्छ।...

  • कवि विमल निभा

    यो गाउँको नाम रामगढवा हो

    मधेस परिवेश र किसान चेतनाका दृष्टिले कवि विमल निभाको तीन दशक पुरानो कविता उल्लेखनीय रचना हो। २०३७ सालमा लेखिएको अर्थात् आजभन्दा ३७ वर्ष पुरानो यस...

  • उपन्यासकार अरुन्धती रोय र उनको नयाँ उपन्यास मिनिस्ट्री अफ अटमस्ट ह्यापिनेस

    भारतीय (अ)लोकतन्त्रको कोलाज

    चिहानबाट सुरू भएको उपन्यासको यात्रा चिहानमै आइपुगेर अर्को सुरूवात गरेर टुंगिन्छ। कथा सुरू हुँदा घाम डुब्न लागेको छ तर उज्यालो बाँकी छ। यस्तो लाग्छ,...

  • काठमाडौं घण्टाघर

    कोलाहल सहरको घण्टाघर

    साला, यो सहरमा अहिले आएको मान्छेले को स्वदेशी चिनेन, को विदेशी चिनेन। कुन भाषा हाम्रो, कुन अर्काको त्यो पनि चिनेन। हाम्रो भेषभुषा चिनेन। हाम्रो...

  • बियर गिलासमा बाक्लो दही

    हिमाल देखिँदैन पटक्कै। नदी बग्दैन यता। फूलको बगान छैन। न खेल्ने ठुलो चहुर छ। न ठुलो बस्ती नै। यहाँ त्यस्तो प्रसिद्ध तीर्थस्थल पनि छैन। यहाँ...

  • महेश कोर्मचा

    ‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’

    ‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’, महेशले सुनाए, ‘हजुरबुवाले सात नाल बन्दुक पड्काएर ४९ वटा जनावरको बली दिनुभएको थियो क्रान्ति सुरु...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चर्चामा मोदीको ‘अंकमाल कुटनीति’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने गरेको भाषणको जति चर्चा हुन्छ, त्यति नै चर्चा हुने गर्छ उनले गर्ने अंकमालको। विश्वका नेताहरुसँग मोदीले...

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...