अन्तर्वार्ता

‘यो सरकारको विकल्प हामीसँग छैन’

तमलोपा अध्यक्ष महन्थ ठाकुर भन्छन्– एमाले अझै संविधान संशोधनको विपक्षमा छ


मधेस आन्दोलनका शालिन र शान्त नेता महन्थ ठाकुर तराई मधेश लोकतान्त्रितक पार्टीका अध्यक्ष हुन्। संविधानमा असहमती राखेर आन्दोलनमा उत्रिएको मधेशी मोर्चा संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्न सरकारले ढिलो गरेपछि फेरि असन्तुष्ट बनेको छ। मधेश आन्दोलन र संविधान संशोधनमा केन्द्रित रहेर चन्द्रलाल गिरीले तमलोपा अध्यक्ष ठाकुरसँग गरेको वार्ता :

सरकार र मधेसी मोर्चाको बीचमा सहमति अनुसार काम भएको छ कि छैन?

काँग्रेस–माओवादी गठबन्धन र हाम्रो बीचमा भएको तीन बुँदे सहमतिअनुसार सरकारले काम गर्न ढिलाई गरेको छ। मुख्य काम संविधान संशोधन हो, त्यसको बारेमा सरकारले संसदमा प्रस्ताव पेस गर्ने भनेको छ। तर सरकारको अहिलेसम्म गृहकार्य नै पुगेको छैन। सहमतिअनुसार घाइतेको उपचार खर्च उपलब्ध गराउने, मुद्दा फिर्ता लिन मिसिल मगाएर हेर्नेजस्ता कार्य अत्यन्त सुस्त गतिमा भइरहेका छन्।

संविधान संशोधन गर्न किन ढिलाई भएको जस्तो लाग्छ?

सरकारले आफ्नै आन्तरिक कारणले समयमै संशोधनको प्रस्ताव ल्याउन सकिरहेको छैन्। गठबन्धन दलहरुमा पनि काँग्रेस र माओवादीका बीचमा अझै कुरा मिलेको छैन्। प्रतिपक्ष एमाले त अझ संशोधनको विपक्षमा छ। अहिले गठबन्धन दलहरुकै बीचमा गृहकार्य र कुराकानी भइरहेको छ।

सरकारले गृहकार्य गर्दा संविधान संशोधनको प्रस्तावमा तपाईंहरुसँग राय लिएको छ भन्ने छ नि?

हामीसँग संविधान संशोधनको प्रस्तावका बारेमा सरकारले कुनै पनि छलफल गरेको छैन। बाहिर मिडियामा चर्चा भएजस्तो हाम्रो बीचमा कुनै पनि त्यस्तो सहमति भएको छैन। त्यो मेरो जानकारीमा छैन।

छठपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाका नेताले बताउँदै आएका छन्, खास धारणा के हो?

संविधान संशोधन भएन भने हामी आन्दोलनमा जानुको विकल्प नै छैन। मिडियामा हामीलाई आन्दोलनकारी मधेसी मोर्चा भन्ने विशेषण दिइएको छ। वास्तवमा हाम्रो अवस्था त्यो भन्दा फरक छैन। हामी लामो समयदेखि आन्दोलन र विरोधमा छौँ। सडक र संसद दुवैमा हाम्रो आन्दोलन जारी रहन्छ।

सरकारलाई दिने समर्थन फिर्ता हुन्छ भन्ने मोर्चाका नेताहरुको भनाई दबावका लागि मात्र हो?

अहिलेसम्म मोर्चाले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छैन्। गठबन्धन सरकारले आयोग बनाएर नै काम गर्ने भनेकोे छ। तर कुराकानी भएजस्तो काममा परिणाम आउन सकेको छैन। हामी सरकारले चाँडै संशोधनको प्रस्ताव संसदमा पेस गरोस भन्ने चाहन्छौँ।

उसो भए सरकारसँग अझै भरोसामा हुनुहुन्छ?

सरकारलाई भरोसा गरेर नै हामीले समर्थन गरेका हौँ। मधेसी र जनजातिको माग पूरा गर्न उहाँहरुले जुन संकल्प र प्रतिबद्धतासहित हामीसँग सहमति गर्नुभएको थियो, त्यसमा ढिलाइ भएकोमा मोर्चा र मधेसमा असन्तुष्टि बढ्न थालेको छ। बोली र गराइका बीचमा तादाम्यता मिल्नुपर्छ भन्ने हाम्रो भनाइ हो। गठबन्धनभित्र सहमति नजुट्नु नै मुख्य समस्या हो।

उसो भए मोर्चाले सरकारलाई समर्थन गरिरहने हो त ?

हामी छठसम्म पर्खन्छौं। त्यसपछि भने परिस्थितिको आँकलन गरेर निर्णय लिनेछौं। दसैंअघि, तिहारअघि भन्दै भाका सार्ने सरकारको तरिकाले हामीमा आशंका बढ्न थालेको छ। संविधानसभाको राज्य पुनर्संरचना समिति र आयोगको प्रतिवेदनअनुसार मधेस र जनजातिका मागहरु समाधान गरेमा यहाँ कुनै समस्या हुँदैनन्। खाली नेता-नेताका बीचमा कुरा हुन्छन्। प्रतिवेदन र सुझाव लागू हुँदैनन्, समस्याको गाँठो यहाँ परेको छ।

राजेन्द्र महतोको सद्भावनासँग तमलोपाको पार्टी एकीकरण हुन लागेको चर्चा छ, कहाँ पुग्यो एकताको प्रक्रिया?

अहिले एकतासम्बन्धी त्यस्तो कुनै प्रक्रिया अघि बढेको छैन। सँगै आन्दोलनरत दलहरुका बीचको कुराकानीमा कुनै बेला प्रसंग आएको होला तर एकताको अहिले कुनै गुञ्जाइस छैन। मलाई लाग्छ, एकता अहिले हुन्छ, गरिहालौं भन्ने विषय पनि होइन।

उसो भए पार्टी एक हुँदैन?

एकता हुनैसक्दैन त भन्न मिल्दैन। हुनपनि सक्छ। कहिलेकही चर्चा भयो पनि होला तर त्यस्तो प्रक्रियागत रुपमा कुनै गृहकार्य भएका छैनन्। एकताकै कुरा गर्ने र जनचाहनालाई नै आधार मान्ने हो भने त सद्भावना मात्र होइन, सबै पार्टीहरु मिले हुन्थ्यो भन्ने जनअपेक्षा छ।

मोर्चा त अहिले राजनीतिक रुपमा आन्दोलन गर्ने कि नगर्ने, सरकारलाई समर्थन फिर्ता गर्ने वा नगर्ने भन्ने आधारमा हेर्दा त संकटमा परेको रहेछ होइन?

मोर्चा संकटमा छ भन्न मिल्दैन। आन्दोलन त आवश्यकता हो। पिछडिएका, राज्यबाट दबाइएका र अपहेलितहरुले आफ्नो अधिकारको सुनिश्चिता खोजेको हो। यो त समानताको लडाईं हो। यो समाधान भएन भने यसले विष्फोटको रुप लिनसक्छ। यस्तो अवस्था रहिरह्यो भने चाँही राष्ट्रिय संकट पर्नसक्छ।

मोर्चाले पनि राष्ट्रिय संकट समाधानका लागि विकल्प तयार गरेको होला नि त?

हामी त स्पष्ट छौं कि हामीले उठाएका मागहरु पूरा हुनुपर्छ। संविधान संशोधन नगरीकन हामीले संविधान स्वीकार गर्दैनौं। त्यस्तो अवस्थामा चुनाव हुनसक्दैन र संविधान पनि लागू हुनसक्दैन।हिजोको जस्तै हामीलाई पेल्दै जाने हो भने त हामीसँग संघर्षको विकल्प हुनेछैन।

यो सरकारको विकल्प पनि त नहोला नि? कि फेरि एमालेले नेतृत्व गरेको सरकार स्वीकार गर्नुपर्‍यो होइन?

कुरा सही हो। अहिले यो सरकारको विकल्प हामीसँग छैन। हामीले पनि यही सरकारले हाम्रो मागहरु पूरा गर्छ भनेर नै समर्थन गरेको हौँ यही सरकारले समस्याको समाधान गर्नुपर्छ र गर्छ भन्ने हाम्रो विश्वास टुटिसकेको पनि होइन, तर अहिलेसम्म गर्नुपर्ने काममा ढिलाई हुनहुन्नथ्यो। अहिलेसम्मको गतिलाई हेर्दा चाहीँ हामीलाई अलि शंका गर्ने ठाउँ पैदा भएको छ।

 

 

 

प्रकाशित १८ असोज २०७३, मंगलबार | 2016-10-04 17:07:19

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यसै साता काठमाडौँ ओर्लंदै छ नयाँ जहाज ‘एमए ६०’

    नेपाली टोलीसँग चीन पुगेका नेपाली क्याप्टेनले उडाएर एमए ६० जहाज ल्याउने तयारी भएको निगम स्रोतले जानकारी दिएको छ। ‘पहिलो चरणमा एमए ६० मात्रै आउँछ,’...

  • दुई पटक अनमेल विवाह दुई पटक अनमेल विवाह गरेका सखी–६ टुनिबोट रोल्पाका ७५ वर्षीय भीमबहादुर खत्री परिवारका साथमा।

    'कसैले पनि अनमेल बिहे नगरोस्, दु:ख मात्र पाइन्छ'

    खत्रीको भनाइ छ “अहिले म ७५ वर्षको भएँ। अब कति बाँचुला र ? कतै म मरे भने बच्चाले त दुःख पाउलान् नै। तर श्रीमती पो के गर्लिन् ? कहाँ जालिन् ? उनको अझ...

  • तीन दलका शीर्ष नेताहरु बालुवाटार बैठकमा सहभागी हुँदै । तस्बिरः रासस

    वैशाखभित्र स्थानीय चुनाव गर्ने प्रमुख दलहरुबीच सहमति

    प्रमुख चार दलबीच आगामी वैशाखभित्र स्थानीय चुनाव गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुबीच वैशाखमै स्थानीय चुनाव...

  • पोखरामा फ्लाई ओभर योजना

    यसै महिनाको अन्त्यतिर हुने पोखरा नगर परिषदबाट अमरसिंहचोकदेखि सिर्जनाचोकसम्म फ्लाई ओभर निर्माणको सम्भाव्यता अध्ययन गर्न झन्डै ४० लाख रुपैयाँ बजेट...