राई किन जाती होइन, ११ तर्क



राई भन्ने कुनै जातिको नाम नभई गाउँका ठुला मुखिया जनाउने शब्द हो। बाहुनलाई पण्डित, नेवारलाई साहुजी, राणा ठकुरीलाई बाबु साहेब, क्षेत्रीलाई काजी, लिम्बु र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, थारुलाई चौधरी, दमाइलाई नगर्ची, सार्कीलाई मिजार, कामीलाई सुनार शब्दले सम्बोधन गरेजस्तै मात्र थियो। – डोरबहादुर विष्ट

किरात मुन्धुममा उल्लेख भए बमोजिम हायु , चाम्लिङ, थामी, नाछिरिङ, साम्पाङ, बान्तवा, कुलुङ, वाहिङ, खालिङ, मेवाहाङ, याख्खा, लिम्बु , धिमाल, मेच, सुनुवार, लोहोरुङ, याम्फु , छिलिङ, वाम्बुले, जेरो, दामी, कोइ, तिलुङ, आठपहरे, जिरेल लगायत किरात मुलका जाति (पाछा) हुन्। शाही शासनले २४० वर्षसम्म यहाँका विविध जातिहरु माथि एक पक्षीय नीति लादेका कारण किरातीहरु समेत पहिचानबारे अन्यौलमा छन्। कथित एकीकरणको बहानामा भूमी खोसेपछि शासकले आदिम किरातीको संस्कृति र परम्परालाई नष्ट गर्न सुब्बा, मुखिया, राई पदले सिंगारेको धेरैलाई हेक्का नै छैन। केहि बुझेकाहरु जानेर पनि तैं चुप मै चुप छन्।

२०४६ सालपछि चर्किएको पहिचानको राजनीतिले राईलाई छुट्टै जाति मानि जनजातिमा सूचिकृत गरिदिएपछि पदवीलाई समेत राज्यस्तरबाट जातीय जामा पहिराइएको छ। राई किन जाति हैनन? इतिहासकार, मानवशास्त्री र समाजशास्त्रीहरुका लेखोटबाट तल केही तथ्य उदघाटित गर्न चाहन्छु।

१. राई शब्द राजाबाट उत्पन्न भएको हो। खम्बुवानमा गोर्खा आधिपत्यपछि पृथ्वीनारायण शाहले खम्बु प्रमुखलाई दिएको राय भनिने उपाधिलाई गोर्खालीले राईमा रुपान्तरण गरे। (प्रधान कुमार द गोर्खा कन्क्वेष्ट्स, पृ. ५२०)।

२. राय शब्द राजा शब्दको अपभ्रंश हो। राई शब्द राय शब्दकै अपभ्रंश देखिन आउँछ। (शिवकुमार श्रेष्ठः लिम्बुवानको ऐतिहासिक अध्ययन, धनकुटा श्रीमती गंगादेवी श्रेष्ठ, पृ. २४२)।

३. राई शब्दको प्रयोग पृथ्वीनारायण शाहले किरात प्रदेशलाई नेपालमा गाभेपछि गाउँका जान्ने सुन्ने अर्थात टाठाबाठा व्यक्तिलाई स्थानीय प्रशासकको रुपमा जमिनदार, तालुकदार, राई, सुब्बा पदवी दिएपछि प्रयोग हुन थालेको हो। (जनकलाल शर्मा, हाम्रो समाज एक अध्ययन, काठमाडौं, साझा प्रकाशन, २०३९ पृ. २८६०)।

४. राई भन्ने कुनै जातिको नाम नभई गाउँका ठुला मुखिया जनाउने शब्द हो। बाहुनलाई पण्डित, नेवारलाई साहुजी, राणा ठकुरीलाई बाबु साहेब, क्षेत्रीलाई काजी, लिम्बु र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, थारुलाई चौधरी, दमाइलाई नगर्ची, सार्कीलाई मिजार, कामीलाई सुनार शब्दले सम्बोधन गरेजस्तै मात्र थियो। (डोरबहादुर विष्ट, सबै जातको फुलबारी, पृ. ५०)।

५. राई शब्दको व्यापक प्रयोग सात दशक अघिदेखि भएको इतिहासले बताउँछ। नेपाली जातिबीच मौलिक, भाषिक र सांस्कृतिक मूल्य मान्यताको लहर चलेपछि राई एउटा विभागको कठघरामा उभिन गएको छ। (सिएम खम्बु, राई को हुन्?)

प्राचीन कालमा मालपोत उठाउने एक पदाधिकारी, किरातीहरुले आफ्नो सार्वभौम सत्तासँग साटेको उपाधि र पगरी राईले उसको मौलिक शब्द र जात बुझाउँदैन। पृथ्वीनारायण शाहले किरात भूमि कब्जा गरेपछि लिम्बुलाई सुवाङ्गी (सुब्बा, १८३२ तिर) र खम्बुलाई राई पद दिए। क्रमैले सुनुवार जाति मुखिया, राई जाति देवान भए, तराईका थारु चौधरी भए। किपटीय कालमा किपटका प्रमुखलाई मात्र राई भनिन्थ्यो, जसले सरकारी तिरो भारो उठाउनुका साथै रैती माथि शासन गर्दथे। रैतिलाई जिमी भनिन्थ्यो।

राईलाई उपराजा सरहको अधिकार थियो र उनको जेठा छोराको मृत्युपछि जेठा छोराले मात्र राई हुन पाउँथ्यो। अन्य छोराहरु चाहिँ रैती वा जिमी नै हुन्थे। किपट प्रणाली विघटन भएपछि रैतीलाई पनि राई भन्न थालियो। साथै राई पद अन्यतिर पनि प्रयोग हुन थाल्यो। सिक्किम पाचे–खानीका भीमबहादुर प्रधानलाई राम्रो काम गरे बापत सन् १९४३ मा सिक्किम सरकारले राई साहेबको उपाधि दिएका थिए। त्यस्तै बर्माका काजीलाई देवान पदले विभुषित गरिएको थियो। राई दनुवार जातिहरुले पनि लेख्ने गरेको पाइन्छ भने भारतमा बंगाली, गडवाली र पंजावीहरुले पनि राई (राय) लेख्ने गरेको पाइन्छ। (सिएम खम्बु, नामची दक्षिण सिक्किम् राई को हुन्?)

६. किपट जग्गा चलाउने मुख्य शासकलाई ‘राई’ भनिन्थ्यो। पृथ्वीनारायण शाहले उपराजा सरहको अधिकारसहित राई पद दिएका थिए। राईको मृत्युपछि जेठा छोरा पुनः राई हुन पाउँथ्यो। अरु छोराहरु रैती हुन्थे। २०२६ सालसम्म लेखिएको सरकारी कागजपत्रमा शासकलाई राई र रैतीलाई जिमी लेखेको पाइन्छ। राईले किपटमा शासन गर्दा आर्थिक कारोबार मिलाउने, अपराधीलाई कारवाही, लेखापढीको काम गर्ने सचिवलाई द्वारे भनिन्थ्यो। राई रैतीहरुबाट तिरो उठाएर सरकारलाई बुझाउने र ज्यान सम्बन्धी मुद्दा जाहेर गर्नु पर्दथ्यो। रैतीहरु घर लौरी उठेर, राईको खेतीपाती लगाइदिन जानु पर्थ्यो। जनताले जग्गाको तिरो बुझाउन जान र आउन राईलाई बाटो खर्च दिनु पर्दथ्यो। (थोमरस २०५०, २७, कुलुङ संस्कृति अध्ययन)।

७. खास व्यक्ति र सो व्यक्तिको परिवारले मात्र प्रयोग गर्ने यस उपाधिलाई कालान्तरमा अन्य सर्वसाधारण किरातीहरुले पनि प्रयोग गर्न थाले। अझ राणा शासकहरुले ३० मुरी माटो र सलामी बापत सरकारलाई २६ रुपैयाँ चढाएपछि राई पदवी पाउन सक्ने व्यवस्था मिलाई दिएपछि त राई शब्दको प्रयोगले व्यापक रुप लिँदैगयो। मर्यादा र प्रभावको सूचक पद राई शब्दलाई किरातीहरुले व्यापक रुपमा अंगाल्न थाले र राणा शासनको अन्त्यतिर र त्यसपछि यसको प्रयोग झन बढ्दै जान थाल्यो। अहिलेसम्म किराती समुदायभित्र धेरैले यसलाई अंगाली सकेका छन्। अहिले राई शब्द नै किरातीको पर्यायवाची शब्द जस्तै भैदिएकोछ। (टंकबहादुर राई)।

८. राईको इतिहास २५० वर्षभन्दा कम रहेको र यो सेन राजाहरुले पूर्व विजय गरेपछि किरात प्रदेशमा केही मुखिया हरुलाई राय पदवी दिएको र त्यो पदवी नै पछि गएर राई बन्यो। राई शब्दको प्रयोग गोर्खा अधिराज्यभर व्यापक रुपमा प्रयोग हुन थाल्यो। (डा. डिल्लीराम दाहाल, साउन २५, २०६२ राजधानी दैनिक, पृ. ४०)।

किरातहरुले मात्र नभई अन्य जातजातिहरुले पनि राई पद पाएका थिए। सोलुखुम्बुको सोत्तो (सोताङ) का शिरबहादुर बस्नेत, दिपबहादुर बस्नेत, ओखलढुड्डा रातमाटेका टेकमान ध्वज कार्की, तेजप्रसाद कोइरालाले पनि राई पगरी पाएका थिए। डोल्पामा रोकाया क्षेत्रीहरु, जाजरकोटमा बस्नेत क्षेत्री राई थिए। भुटानमा गर्जबहादुर गुरुङले पनि राई पदवी पाएका थिए।

९. राई जाति होइन भन्ने कुरा २३५ वर्षसम्म राई भनेर बसेकाहरु लिम्बु जातिमा परिणत हुनुले पनि स्पष्ट पार्दछ। २०६६ साल भदौ १६ गते, संखुवासभा जिल्लाको सभापोखरी गाविस वडा नं. १, २, ३, ४ मा बस्ने ५८ परिवारले राई थर परिवर्तन गरेका थिए, जसमध्ये एक जना ९० वर्षीय केसबहादुर राई पनि थिए। बिसं. १८३१ ताका तत्कालीन शासकले स्थानीय प्रशासन सञ्चालन गर्ने जिम्मा सहित केही लिम्बुहरुलाई राई पद दिएको थियो। पछि ति साविकको पहिचानमा फर्किएको भनाइ छापिएको थियो। (अन्नपुर्ण पोष्ट, २०६६ भदौ १७ गते, २३५ वर्षपछि राईहरु लिम्बु बने)।

१०. पृथ्वीनारायण शाहको शासनकालमा किरात भूमिलाई नेपाल राष्ट्रमा गाभेपछि राई, देवान, सुब्बा पदवीको नाममा जमिनदार, तालुकदारमा नियुक्त भएकाहरु नै कालान्तरमा जातमा रुपमान्तरण हुन थाले। (नरेन्द्र शर्मा, नेपाली जनजीवन दार्जिलिङ, १९७६, पृ. १००)।

११. किरातीहरुको संरचना ध्वस्त पारी किराती प्रमुखहरुलाई हटाएर तिनीहरुको ठाउँमा राई नियुक्त गरियो। पृथ्वीनारायणले किरात भूमीलाई विसं १८३१ तिर नेपालमा गाभेपछि राई शब्दको प्रयोग भएको हो। किरात क्षेत्रमा राई, सुब्बा, मुखिया, देवान पद प्रदान गरी किरात किपट भूमिको राजस्व संकलन गर्ने जिम्मेवारी दिएको थियो। (राजेश गौतम, कुमार थापा मगर, ट्राइबल इथ्नोग्राफी अफ नेपाल, पृ. ५५ र ५६)।

किरात संस्कृति र संस्कारलाई गोर्खाबाट आएका शाही शासनले आफ्नै मनगढन्ते तरिकाले ध्वस्त पारेको देखिन्छ। गोर्खालीले कब्जा गर्ने र त्यहिँका स–साना गणराज्यका मान्यजन्यलाई राई, सुब्बा, मुखिया, देवान, चौधरी, पगरी भिराएर आफ्नो अनुकुल नीतिनियम लादेको पाइन्छ। जसले गर्दा पच्चीस पाछा (थर, गोत्र) भएका किरातीको आफ्नो मौलिकता लोप हुने गरी लिच्छवी, गोपाल, मल्ल र शाह बंशबाट लखेटिँदै आईयो। पटक पटक काठमाडौँबाट लखेटिँदाको दुर्दशा र २४० वर्षसम्म एक जातीय एक धार्मिक एकात्मक राज्य प्रणालीको असरले आदिवासी किराती सभ्यता लोप हुँदै गयो। किरातीलाई भिराईएको पगरीको अर्थ नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाल बृहत शब्दकोश’ मा यसप्रकार छः

चौधरी
नेपालको तराईका ठाँउमा मौजाको आवाद गुल्जार गराउने र सो मौजाको कर असुल्ने र सरकारमा बुझाउने पद। जुन नेपाल एकीकरण पश्चात गरिने चार वर्ण देखभाल गर्ने व्यक्ति तराईका थारुलाई दिएको पद (पृ. ४१०)।

मुखिया
गाउँका ठूला तालुकदार, तालुकदारी दिई माझी र सुनुवारलाई गोर्खाबाट पाएको पोष्ट। (पृ. १०२१)।

राई
प्रचीन पर्वते नेपाली भाषामा राज विशेष कर्णाली प्रदेशका बुझाउने शब्द। नेपाल किरात भित्रका एक जात। केही पूर्वी मालपोत वा तिरोभरो उठाउने एक पदाधिकारी। (पृ. १०६६)।

सुब्बा
लिम्बु जातिलाई गोर्खाली शासनले दिएको पगरी मान बोधक शब्द। (पृ. १२८८)।

यसरी गोर्खा शाही शासनले विभिन्न तह तप्कामा किरातीलाई छुट्याएपछि किरातीले वास्तविक पहिचान गुमाउन बाध्य भए। यी जातिभित्र जातपातको केही रुढि परम्परा थोपर्ने काम भयो। राणाकालमा कुनै तागाधारीले आदिवासी हातले बनाएको खाना खायो भने वा पानी नचल्ने जातकी स्वास्नी ल्यायो भने उसमाथि जातभातको मुद्दा चलाइन्थ्यो। त्यसैले बुद्धिजीवी किरातीले ईतिहासको गहन अध्ययन गर्दै आफ्नो वास्तविक किरातीको परिचय खोतल्न आवश्यक छ।

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 09:24:29
author photo

राजविक्रम चाम्लिङ किरात इतिहासमाथि अध्ययन गरिरहेका छन्


प्रतिकृया दिनुहोस

Blog

Special

NepalKhabar Tweets