हङकङकी सुपर मोडेल नम्रता भन्छिन्, ‘ह्याङ्आउट गर्न समय छैन’

हङकङको नेपाली मोडेल ऐजेन्सी सेन्स अफ क्लिकले आयोजना गरेको ‘हन्ट फर फेशन शो’ मा ‘सुपर मोडेल’ को उपाधि जितेपछि ५ फिट ६ इन्च अग्ली नम्रता गुरुङको आत्मविश्वास ह्वात्तै बढेको छ। यस प्रतियोगितामा ३ वर्षदेखि निरन्तर भिडिरहेकी नम्रताले यसपालि सफलता हासिल गरेकी थिइन।

भिटीसी युथ कलेजबाट कम्प्युटर र इन्टेरियर डिजाइनमा फाउन्डेसन डिप्लोमा गरेकी नम्रता हङकङमै जन्मिएर यहिँ हुर्किएकी नेपाली तेस्रो पुस्ताकी प्रतिनिधि पात्र हुन्।

बेथल हाईस्कुलबाट २०१० मा माध्यमिक शिक्षा सकेर हङकङ अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा फुड एन्ज बेवरेज प्लाजा प्रिमियम लाउन्जमा पार्ट टाइम काम गरिरहेकी उनको अबको योजना चाहिँ एयर होस्टेसमा जाने छ। चिनियाँ भाषाका कारण एयरहोस्टेस विषयको अध्ययन रोकिएको र अब त्यसका निम्ति तयारी गरिरहेको बताउने नम्रतालाई यहाँका केही सिनियर नेपाली एयर होस्टेसहरुले सहयोग गर्ने आश्वासन दिएका छन्।

हङकङमै जन्मेर हुर्के पनि अग्रेंजी माध्यमको विद्यालयमा अध्ययन गरेकाले उनको क्यान्टोनिज भाषा राम्रो छैन। ‘कामचलाउ बोल्न सक्छु, सिक्न खोजिरहेको छु’, नम्रता भन्छिन्।

‘उपाधि जितेपछि शक्ति बढ्दो रहेछ, शक्तिले जिम्मेवारी थप्दो रहेछ। हामीलाई अरुले अब्जर्व गरिरहेका छन् भनेर कन्सस भइँदो रहेछ। त्यसले नराम्रो काम गर्न रोक्दो रहेछ,’ फेशन प्रतियोगितामा भिड्न थालेपछि आत्मविश्वास बढेको बताउने नम्रता भन्छिन्, ‘हामीले युथलाई लिड गरिरहेका छौं, हाम्रा भाई बहिनीले हामीले केही नराम्रो गर्नासाथ त्यही सिक्छन् भनेर राम्रो काम गर्न सिकिंदो रहेछ।’

आफुमा आएको यो परिवर्तनलाई नम्रताले पूँजीको रुपमा लिएकि छिन्।

प्रतियोगिता तयारीका निम्ति गरिएको ३ महिने प्रशिक्षणबाट धेरै ज्ञान आर्जन गरेको र त्यसले पूरै ब्यक्तित्व परिवर्तन भएको अनुभव छ, नम्रतासँग। ‘नेपाली अभिभावकसँग बच्चालाई पर्याप्त समय छैन, ति कता छन् के गरिरहेका छन् घरमा थाहा हुन्न। त्यसैले बढ्दै गएका बच्चा बरालिन थाल्छन्।’ फेशन, खेल, आर्ट जस्ता क्रियटिभ क्षेत्रमा बच्चालाई ब्यस्त बनाइदिए नेपाली युवाहरु गलत बाटोमा लाग्न नपाउने बताउने नम्रता भन्छिन्, ‘हुन त भत्किुन र सप्रनु आफ्नै हातमा हुन्छ। तर अभिभावकले बच्चालाई हङकङमा उपलब्ध ज्ञान र शिक्षा पाउने वातावण मिलाइदिए गलत संगतमा गएर बिग्रन पाउँदैनन्।’

उनको अनुभवमा हङकङका नेपाली युवाहरु ग्याङफाईमा संलग्न हुनुका कारण पनि अभिभावकले समय दिन नसक्नु र तिनले सही गाईड नपाउनुले हो।

आफुसँगै पढेका कतिपय साथीहरु बरालिएर हिंडेका र कतिपय लडाइँ झगडामा परेर जेल गएका देखेकी नम्रतालाई यसले बिचलित तुल्याउँछ। यसरी युवाहरु भौंतारिनुमा बिभिन्न कारण रहेको बताउने उनी भन्छिन्, ‘फेमेली टेन्सन, पढाईको टेन्सन, कामको टेन्सन, रिलेसन टेन्सन छ। त्यसमाथि अरुको घृणा थपिएपछि त्यस्ता युथहरु लडाइँ झगडातिर लाग्दा रहेछन्।’

सेन्स अफ क्लिकका पवन सुब्बाका अनुसार, नम्रतालाई अन्र्तर्राष्ट्रिय प्रतियोगितामा लैजाने तयारी भैरहेको छ। त्यसका निम्ति उनलाई केही वर्कसपमा सहभागी गराईएको छ। नम्रताले मोडलिङमा लागेपछि र प्रतियोगिता जितेपछि हिजो जसरी सामान्य लाइफस्टाइल बिताउन पाएकी छैनन्। यसमा उनलाई कुनै गुनासो छैन।

‘पहिला भट्टी भट्टीमा गएर जथाभावी खाइन्थ्यो, जे पायो त्यही गरिन्थ्यो’, नम्रता भन्छिन्, ‘अहिले त्यो सबै हरायो। शरिर फिट राख्न र सौन्दर्य बनाउन हाइजेनिक र सन्तुलित खानपान हुनुपर्यो। कसरत गर्नुपर्यो भन्ने सिकेको छु। त्यसैले ह्याङ्आउट गर्न मसँग समय नै छैन।’

नेपालमा बुटवल मंगलापुरकी नम्रता हङकङमा चाहिँ युङलोङमा बसोबास गर्छिन्।

प्रकाशित 2017-01-11 13:38:02