Alpha Travel

मैले गुमाएको र कमाएको हङकङ



यो शहरमा पुरुषले मात्र होइन महिलाका निम्ति पनि सेक्स बजारमा किन्न पाइने बस्तु हो।

टाउको दुखाईले खपिनसक्नु हुन्थ्यो। टाउको दुख्दा आँखा समेत हेर्न मिल्थेन। वर्षौदेखि यो समस्याले आजित थिएँ। कहिले दायाँ, कहिले बायाँ, कहिले अगाडि कहिले पछाडि हान्ने। हुँदा हुँदा पेनकिलरले पनि काम गर्न छाड्यो। डाक्टरकहाँ जँचाउन गयो रोग नै भेटाउँदैन। पछि बुझ्दै गएँ यसको मुख्य जड त हङकङको जीवनशैली पो रहेछ।

हामी नेपालीले हङकङमा बसोबास गर्न थालेको पनि अब दुई दशक भैसकेछ। मैले हङकङमा पाइला टेकेको पनि पुगनपुग १७ वर्ष भएछ। कल्कलाउँदो उमेरमा कङ्क्रिटको शहरमा छिरेकी म कतिखेर हङकङ भएछु पत्तै पाइँन। यस्तो छ हङकङ। बसोबासका लागि विश्वको उत्कृष्ट शहरमा पर्छ हङकङ। अत्याधुनिक शहर हङकङ सजिलोसँगै असहज पनि छ। यहाँको परिवेशमा आफुलाई एडजस्ट गर्नै पर्यो। तर नेपाली परिवेशमा हुर्केर आएकाहरुलाई यहाँको जिवनशैली आत्मसात गर्न सहज चाहिँ छैन। हामी हङकङमा बसिरहेका छौं तर नेपाल बाँचिरहेका छौं। त्यसैले हामी न यता न उताको भएका छौं।

हङकङमा पैसा कमाउनु हामी नेपालीको पहिलो प्राथमिकता हो। त्यसकारण होला स्वास्थ्य चाहिँ अन्तिम प्राथमिकतामा परेकोे। पैसा बिना डेग नचल्ने हङकङमा काम नगरी सुख छैन। काम र कमाई अनुसार घरखर्च, स्वास्थ्य, शिक्षा, शहरी रहनसहन मेन्टेन गर्न पनि पैसा चाहियो। साताभरको समय लगानी गरेर काममा जोतिने हङकङको व्स्तताले हामीलाई नदेखिनेगरि बिरामी बनाउँदै लगिरहेको हामीले थाहै पाउन सकिरहेका छैनौँ।

हङकङको व्यस्तता नियन्त्रण गर्न सहज छैन। नेपालमा जन्मे हुर्किएको हामीलाई यो शहर एक चुनौती हो। नेपाल र हङकङको व्स्तता तुलना गर्न सकिंदैन । नेपालमा दैनिक ६–७ घण्टाको काम र अरु बाँकी समय नितान्त ब्यक्तिगत कामकाजको लागि व्वस्थापन गर्न सकिन्छ। तर हङकङमा यो आकाशको फल हो। दैनिक १० देखि १६ घण्टासम्म काममा जोतिइरहेका हामीले नेपालको आरामदायी जीवन सम्झेर बस्नुको सिवाय अर्को बिकल्प छैन। आजकाल बुझ्दा गाँउघरको बसाई सबैभन्दा सहज र आरामदायी बसाई रहेछ। प्राकृतिक रुपले स्वच्छ वातावरण भएको हुँदा मलाई गाँउघरको जीवन वास्तविक जीवन हो जस्तो लाग्न थालेको छ। तर यो पनि व्यक्ति अनुसार होला। कसैलाई शहरी जीवन मन पर्छ, कसैलाई गाँउले।

हङकङमा नेपालीले गर्ने काम सहज छैन। नेपाली नै हुन्, जसले १२–१४ घण्टासम्म सुरुङभित्र पसेर अर्थोपार्जन गरिरहेका छन्। नेपाली नै हुन् जसले विश्वका बिभिन्न देशबाट आएकाहरु भन्दा कयौं जोखिमपूर्ण काममा जोतिएका छन्। त्यसैले भनिन्छ, नेपालीले गर्ने थ्री डी अर्थात डर्टी, डिफिकल्ट एण्ड डेन्जर काम अरु जातिले हम्मेसी गर्न चाहँदैनन् हङकङमा। यसमा अर्को डी पनि थपिएको तर्क गर्न थालिएको छ– फोर्थ डी अर्थात डेथ। अहो, कस्तो खतरनाक काम गरेको भन्दा पैसा छ नि भनेर जवाफ फर्काइन्छ। तर पैसासँगै हामीले बगाएको रगत र पसिनाको भेल र जीवनशैलीले निम्त्याइरहेको डरलाग्दा रोग चाहिँ देखिरहेका छैनौँ। हाम्रो पहिचान नै जोखिमसँग खेल्ने श्रमिकको बनाएका छौं।

हङकङ एशियाकै प्रमुख ब्यापारिक केन्द्र हो भन्ने बल्ल केहिले बुझेर तदनुरुप यहाँको जनजीवनसँग आफुलाई समायोजन गर्न थालेका छन्। ति स्थानीयहरुसँग यहाँको सांस्कृतिक पक्ष सिकिरहेका छन्। ब्यापार पढिरहेका छन्। त्यस्ता औंलामा गन्न सकिने नेपालीहरु तन, मन र धन सबैले उन्नत हुँदै गैरहेका छन्। तर हङकङमा नेपाल नै बसाउन चाहने म लगायत बहुसंख्यक चाहिँ शारिरीक, मानसिक र आर्थिक रुपले पनि स्वस्थ छैनौँ। कमाएर गर्ने के, जब ढुकुटी जति अस्पतालको क्याबिनमा रित्तिन्छ भने। कमोबेस हङकङका हामी नेपाली अहिले यही जीवनशैलीले उन्नत हुनुपर्नेमा दिनदिनै जीर्ण हुँदै गैरहेका हौं कि भन्ने लागिरहेको छ।

के महिला, के पुरुष, के तन्नेरी हङकङमा काम पाउन कुनै अप्ठेरो छैन। त्यसैले आर्थिक रुपले सबै आत्मनिर्भर छन्। आत्मनिर्भरता बढी भैदिएपछि सामाजिक संरचनामा हुर्किएका हामी नेपाली पनि हङकङको बजारवादको सांस्कृतिक चक्रब्यूहमा परि बिस्तारै व्क्तिवादी हुँदै जाँदारहेछौं। यो हुनासाथ परिवार भन्दा व्यक्ति केन्द्रियता हावी हुने र सम्बन्धमा ‘इगो’ ले बदमासी गर्न शुरु गरिहाल्ने रहेछ। ‘मलाई तेरो आर्थिक छतरी नचाहिए म किन तेरो सामाजिक धागोको नियन्त्रले बाँधिनु’ भन्ने मनोबिकार मगजभरी भरिँदो रहेछ। पैसा भए जे पनि पाइने। यो शहरमा पुरुषले मात्र होइन महिलाका निम्ति पनि सेक्स बजारमा किन्न पाइने बस्तु हो। खल्तिमा पैसा भएपछि बच्चाले समेत अभिभावकलाई टेरपुच्छर नलगाउँदा रहेछन्। यसले हङकङमा नेपाली परिवार यति बिखण्डन भएको छ कि त्यसको लेखोजोखा गर्न कठिन छ।

एकातर्फ पुस्तैनी दिमागमा घुसाइँदै आएको सामाजिक संस्कारको घेरा पनि तोड्न नसकिने अर्कोतर्फ हङकङको बजारवादको चौघेराभित्र पनि रुमल्लिनु पर्ने। हामी बर्णशंकर जीवन बाँचिरहेका छौं। यसले ल्याएको मानसिक तनावले हङकङेली नेपाली समाज झन् झन् बिरामी हुँदै गैरहेको छ। म पनि यसको शिकार भएको रहेछु भन्ने अहिले मात्र बुझिरहेको छु। रोग कमाएपछि मानसिक तनाव त त्यसै झुण्डिएर आउने रहेछ। आजको दिनमा मानसिक तनाव सबैभन्दा खतरनाक रोग भनेर चिनिएको छ।

यति बुझ्न म जस्ता जान्ने बुझ्ने हुँ भन्नेलाई पनि वर्षौँ लाग्यो। तर अहिले म यी सबै टेन्सनबाट मुक्त छु। मलाई न पैसाको ढुकुटी घट्यो त्यसैले कन्स्ट्रक्सनमा जोतिनु पर्यो भन्ने लोभ पलाउँछ। न संस्कार संस्कृति बचाउने नाममा आफ्नो इहलिला छिट्टै सिध्याउने खालका कर्मकाण्ड गर्ने जाँगर चल्छ। त्यसैले केहि समययता मेरो खानपान नितान्त बदलिएको छ। सात्विक भोजनमा मोह पलाएको छ। मांशाहारी भन्दा शाकाहारीसँग प्रेम बसेको छ। स्वस्थ रहे आफुसँगै संसार हाँस्छ भन्ने मूलमन्त्र बाँधेर हङकङका डाँडाकाँडा चहार्न थालेको छु।

शरीर स्वस्थ रहे पो मानसिक स्वस्थता बढ्छ। स्वस्थ भए पो सकारात्मक सोच पलाउला। सोच सकारात्मक भए पो खुशी हुन सकिएला। यस्तो सोचले आफ्नो दिनचर्यालाई पूरै बदलिएको छु। अहिले न दिमाग चर्कन्छ न आँखाले सास्ती भोगेको छ। चंगा महसुस गरिरहेको छु। अहिले बल्ल महसुस भैरहेको छ, जे छ यहि मत्र्यलोकमा छ, जसको म भरमग्दुर आनन्द उठाइरहेको छु।

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 10:12:49

प्रतिकृया दिनुहोस

Blog

Special

NepalKhabar Tweets