Alpha Travel

हङकङको सरकारी टिभिमा नेपाली भाषामा रेलवे सिरियल

‘जहाँ रेलवे छ, त्यहाँ सभ्यता छ’



हङकङको सरकारी सञ्चार माध्यम ‘रेडियो टेलिभिजन हङकङ’ (आरटीएचके) ले नेपाली भाषाका कार्यक्रमलाई थप समावेश गरेको छ। रेडियोमा नेपाली भाषामा कार्यक्रम सुरु गरेको आठ वर्षपछि सोमबारबाट टेलिभिजनमा पनि नेपाली ‘सव टाइटल’ सहित सिरियल सुरु भएको हो।

सरकारी टिभिको टिभि ३१ र ३१ब् मा सोमबार साँझ ५ः३० बजे ‘जहाँ रेलवे छ त्यहाँ सभ्यता छ’ शीर्षकको टेलि सिरियल प्रशारण भएको छ। चिनियाँ भाषाको सिरियलमा नेपाली भाषा ‘सव टाइटल’ को रुपमा प्रयोग गरिएको छ।

‘रेलवेले साधन, जनशक्ति र संस्कृति ल्याउन सक्छ। यसले सम्वृद्धि ल्याउन सक्छ’, आरटीएचकेले नेपाली भाषामा ‘सव टाइटल’ सहितको सिरियल सुरु भएको जनाउँदै आफ्नो वेभसाइटमा भनेको छ, ‘यो प्रशारणमा हामी पुरानो र नयाँ उच्च गतिका रेलगाडीहरू हेर्न चीन रेलवे संग्रहालयको भ्रमण गर्न जाँदैछौँ।’

आफ्नो वेभसाइटमा आरटीएचकेले नेपाली र चिनियाँ भाषामा सिरियल सम्बन्धी विवरण पनि राखेको छ।

आरटीएचके रेडियोले करिब नौ वर्षदेखि सातामा एक घण्टा नेपाली भाषामा ‘साप्ताहिक सन्देश’ कार्यक्रम प्रशारण गर्दै आएको छ। ‘साप्ताहिक सन्देश’ कार्यक्रमका प्रोड्युसर तथा प्रस्तोता चुरा थापाका अनुसार हङकङको नेपाली समुदायलाई एकीकृत गर्ने नीति अन्तर्गत सरकारले यसरी टिभि सिरियललाई नेपाली ‘सव टाइटल’ सहित प्रशारण गरेको हो।

‘आरटीएचके रेडियोमा नेपाली भाषामा कार्यक्रम प्रशारण हुन थालेको करिब नौ वर्ष भयो, टिभिमा नेपाली सव टाइटल राखेर कार्यक्रम सुरु भएको चाहिँ यो पहिलो पटक हो’, हङकङ विश्वविद्यालयमा हङकङका अल्पसंख्यक समुदायको शिक्षा विषयमा विद्यावारिधि गरिरहेका थापाले नेपालखबरसँग भने, ‘सरकारले नेपाली समुदायलाई अझै बढी समावेश गर्दै जाने नीति अन्र्तगत यस्तो कदम चालेको देखिन्छ।’

थापाले नेपाली भाषा सहितको वेभ पेज पनि आरटीएचकेले नै बनाएको जनाउँदै टिभिमा ‘हङकङ हेरिटेज’ शीर्षक अन्र्तगत ५–६ वटा कार्यक्रममा नेपाली ‘सव टाइटल’ प्रयोग गरिएको र ती कार्यक्रम क्रमशः प्रशारण हुने बताए।

‘टिभिमा नेपाली भाषाको प्रयोगलाई हङकङका नेपालीले रुचाए भविष्यमा सव टाइटल मात्र नभएर नेपाली भाषामै कार्यक्रम उत्पादन हुन सक्ने छ’, थापाले भने।

हङकङमा करिब ३० हजार नेपाली बसोबास गर्छन्। हङकङमा अल्पसंख्यक समुदायलाई एकीकृत गर्ने नीति अन्र्तगत सरकारले विभिन्न सरकारी क्षेत्रमा नेपालीलाई समेट्न थालेको छ। सरकारी सेवामा अल्पसंख्यक समुदायलाई अवसर नदिइएको आवाज उठेपछि अहिले प्रहरी लगायतका संगठनमा नेपालीले प्रवेश पाउन थालेका छन्।

प्रकाशित २५ पुस २०७३, सोमबार | 2017-01-09 19:51:39

प्रतिकृया दिनुहोस

Blog

Special

NepalKhabar Tweets