Alpha Travel

नेपाली विद्यार्थी लिन हङकङ इच्छुक



हङकङको बापटिष्ट विश्वविद्यालयले भिसा प्रक्रिया सहज बनाएर नेपाली विद्यार्थी भर्ना लिन इच्छुक रहेको जनाएको छ। हङकङ बापटिष्ट युनिभर्सिटि अन्तर्राष्ट्रिय विभागका निर्देशक पिटर लीले मंगलबार नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईसँगको भेटमा नेपाली विद्यार्थी भर्ना गर्न आफ्नो विश्वविद्यालय इच्छुक रहेको बताउँदै त्यसका निम्ति पहल गरिदिन आग्रह गरे।

लीको नेतृत्वमा हङकङस्थित महावाणिज्य दूताबास पुगेको टोलीले विश्वविद्यालयका विभिन्न फ्याकल्टी, छात्रवृत्ति र भर्ना प्रक्रियाबारे जानकारी दियो। ‘लीले खासगरी अण्डर ग्राजुएट तहका विभिन्न फ्याकल्टीमा नेपाली विद्यार्थी भर्ना गर्न बापटिष्ट युनिभर्सिटि उत्सुक रहेको र त्यसमा पहल गरिदिन आग्रह गरे’, मंगलबारको भेटमा सहभागी वाणिज्यदूत बलिरामप्रसाद धामीले भने, ‘हामीले नेपाली विद्यार्थीलाई हङकङमा भिसा प्रक्रिया सहज बनाउने प्रयास भइरहेको जानकारी दिँदै नेपाली विद्यार्थी ल्याउन पहल गर्ने जवाफ दिएका छौँ।’

भेटमा महावाणिज्यदूत भट्टराईले नेपाली विद्यार्थी भर्ना लिने विश्वविद्यालयको नीतिको सम्मान गर्दै भिसा प्रक्रिया सहज बनाउन दूताबासले पहल गरिरहेको र त्यसमा हङकङका उच्च अधिकारीबाट सकारात्मक जवाफ पाएको बताए। भट्टराईले नेपाली विद्यार्थी भर्ना लिने विश्वविद्यालयको सन्देश नेपालमा पुर्याउने र त्यसका निम्ति पहल गर्ने बताए।

भिसा सहज नभएकाले हङकङमा नेपाली विद्यार्थीको संख्या करिब एक दर्जन मात्र रहेको छ। तीमध्ये अधिकांश हङकङ युनिभर्सिटि र केही सिटि युनिभर्सिटिमा अध्ययन गर्छन्। बापटिष्ट हङकङका राम्रा युनिभर्सिटिमध्ये एक मानिन्छ।

प्रकाशित २१ पुस २०७३, बिहिबार | 2017-01-05 12:39:26

प्रतिकृया दिनुहोस

Blog

Special

NepalKhabar Tweets