प्रोड्युसरका दुःख कति कति


नाटक होस् चाहे सिनेमा, तिनका पात्रको संवेदनमा हराउनु रबीन्द्र सिंह बानियाँको पुरानो आदत थियो। यही आकर्षणले उनमा कला र कलाकारप्रति सम्मान मात्रै जगाएन, कालान्तरमा उनलाई यस क्षेत्रकै हर्ताकर्ता पात्र बनाइदिएको छ।

उनको भनाइमा, बुबाको कमाइ खाएर, आमाको लजमा सुत्ने २०-२२ सम्मको उमेरमा जोकोही कलाकार हुन्छ। भन्छन्, ‘तर आफ्नो कमाइको बुतामा दालमाम खाएर वास्तविक कलाकार बन्ने यसपछिको चरण पो गाह्रो त।’

उनी पनि त्यो कठिन चरणबाट गुज्रिए। धन्न उनले परिवारको साथ पाए। २०५७ सालमा धादिङबाट काठमाडौँ छिरेका उनलाई आफ्ना केही साथीलाई जस्तो कमाएर पैसा घर पठाउनु पर्ने दबाब थिएन। त्यसैले फुक्काफाल भएर ‘परिवर्तन नेपाल’ नामक सडक नाटक अभियानमा सडक–सडक चाहार्ने मौका पाए।

नाटकमा जोडिएको सन्दर्भ खुलाउँदै भने, ‘खासमा म अति लजालु थिए। एक्लै हिँड्दा पछाडि केटीहरुको समूह छ भने पनि ढाडमा काउ लाग्थ्यो।’ उनी यस्तो संकोच हटाउन चाहन्थे। २०५७ सालमा परिवर्तन नेपालमा निःशुल्क अभिनय कक्षा खुल्यो। थपे, ‘सुरुमा लाज हटाउनै छिरेको थिएँ, पछि त भाँडाकुटी खेल्ने बच्चाझैं नाटकमै रमाउन थालेँ।’

नयाँ नयाँ काम सिक्ने तिर्सना थियो। यही उर्जाले नायिका श्रीषा कार्कीको अन्तिम फिल्म ‘वाचा बन्धन’मा सहायक निर्देशकका रुपमा काम सिक्न उत्साहित बन्दै पुगे।

प्रायः ठट्टा गर्ने उनको शैली विपरीत निराशा र आक्रोश मिसिएको स्वरमा सुनाए, ‘के के न सिकौंला भनेर फुर्केको थिएँ। कलाकारबीच कला र सिर्जनाका कुराभन्दा केटी र रक्सीको कुरा पो बढी हुनेरहेछ। दिक्दार लाग्यो।’

त्यसपछि त, जसका लागि उनमा मनैदेखि श्रद्धा जाग्थ्यो, तिनलाई नमस्कार गर्दा पनि हात भारी हुन थाल्यो। यस्तो असन्तुष्टि बढिरहेकै बेला उनले मनमनै अठोट लिए, ‘जुन दिन आफ्नै सोचसँग मेल खाने समूह हुन्छ, त्यसदिन मात्रै फिल्ममा आउँछु।’
नभन्दै उनले आफ्नो छुट्टै समूह बनाउने दिन आयो। गुरुकुलमा पाँच वर्षभन्दा लामो समय बिताउँदा उनले सुनिल पोखरेलदेखि सौगात मल्ल, विपीन कार्की, खगेन्द्र लामिछाने लगायतसँग काम र सङ्गत गर्ने अवसर पाए।

गुरुकुलको त्यो माहोल सम्झिए, ‘सो कल्ड नै भए पनि बुद्धिजीविहरु आउँथे, सानो समूहमै भए पनि सिर्जनात्मक कुरा बढी हुन्थे।’ उनी पनि त्यही माहोलको सक्रिय हिस्सा बने।

गुरुकुलमा ‘टलकजंग भर्सेस टुल्के’ नाटक मञ्चनपछि खगेन्द्र त्यसलाई फिल्ममा ढाल्न छटपटाइरहेका थिए। उनी त्यो कथा अलि ठूलो दर्शकसम्म पुगोस् भन्ने चाहन्थे। उनको चाहनामा रबीन्द्र पनि गाँसिए। ‘खगेन्द्रले फिल्मका लागि स्क्रिप्ट लेखिसकेपछि हाम्रो सपनामाथि सहिद बन्ने पात्रको खोजी भयो। सहर्ष म त्यस्तो पात्र बन्न तयार भएँ।’ ठट्यौली गरे।

त्यसबेलासम्म फिल्ममा नयाँ पुस्ताका निश्चल बस्नेत, सौगात, दयाहाङहरुले धावा बोलिसकेको स्थिति थियो। ‘लुट’पछि नेपाली फिल्मले बजारसमेत बढेको अवस्था थियो। ‘हाम्रो केटाहरुले पनि कसो नसक्लान्’ भन्दै हौसिए।

खगेन्द्र र रबीन्द्र बिबिसी मिडियाको ‘कथा मीठो सारङ्गी’को नाटकका लागि सँगै काम गर्थे। रवीन्द्र ‘प्रोड्युसर एन्ड राइटर’को भूमिकामा थिए। त्यहीबेला उनको ‘प्रोड्युसर’बारेको परम्परागत बुझाइ फराकिलो भयो। पैसा लगानी गरेर घुम्ने मेचमा बस्नु मात्रै निर्माता हुनु होइन भन्ने बुझेपछि उनी निष्कर्षमा पुगे, ‘आखिर हाम्रो समस्या त फिल्म निर्माण केका लागि र कसरी गर्ने सोचाइमा भएको अपरिपक्वता र अस्पष्टतामै रहेछ।’

‘कथा मीठो सारङ्गी’का लागि वैचारिक चिन्तादेखि उत्पादन र निर्माणसम्बन्धी सबै काममा निरन्तर संलग्न भइ सुरुदेखि अन्तिम चरणसम्मै खट्नु पर्थ्यो।

‘प्रोड्युसर’को वास्तविक अर्थ खोज्न उनले गुगलदेखि किताबसम्मको सहारा लिए। उनको निचोड निस्कियो, प्रोड्युसर भनेको मालिक नभएर सबै चाँजोपाँजो मिलाउने सेवक पो रहेछ।

‘टलकजंग भर्सेस टुल्के’ बनाउने क्रममा नेपाली फिल्म क्षेत्रमा यस्ता मान्छेको खाँचो रहेको बोध झन् गाढा भयो उनलाई।

फिल्म बनाउन पैसा भन्दा पनि पागलपन र जुनून चाहिन्छ भन्छन् उनी। पैसा त उनीसँग पनि थिएन। प्रेमिका सीता बेलायत बस्थिन्। आर्थिक सहयोगका लागि प्रेमिका बलियो भर बनिन्। हाल १४ वर्ष लामो प्रेम विवाहमा बदलिइसकेको छ। उनीहरु दुईबाट तीन बनिसकेका छन्।
जीवनमा केही न केही बन्ने रहर वा सपना सबैको हुन्छ। उनी पनि सुरुमा सैनिक पेसा अँगाल्न चाहन्थे। आर्मीमा बुबाको सान र मानले लोभ्याएको थियो उनलाई। माओवादीको सशस्त्र संघर्षका कारण सिर्जित प्रतिकूल समयमा रोजेको पेसामा चाहेर पनि लाग्न पाएनन् उनी।

निर्माताको काम पैसा लगानी गर्नु मात्रै होइन। उसको काम त, फिल्म बनाउने ‘आइडिया’ फुराउनेदेखि अन्तिम चरणसम्म खटेर उत्पादन र निर्माणको चाँजोपाँजो मिलाउनु पर्ने हुन्छ। तर हामीकहाँ लगानी गर्ने तर सिर्जनात्मक र व्यवस्थापनको विषयमा वास्तै नगर्ने निर्माताको संख्या बढी छ।

यी सबै कुरा मनन गरेपछि रबीन्द्रले निष्कर्ष निकाले, ‘प्रोड्युसर’ भनेको घुम्ने मेचमाथि बसेर मुनाफा कमाउने सपना देख्ने महासय होइन, हरेक पक्षमा सोचविचार गरेर खट्ने सेवक पो रहेछ।

त्यस्तो पात्र आफैं बन्न राजी भएकोले नै होला, उनले अन्य निर्मातासँग मिलेर लगानी गरेका ‘टलकजंग भर्सेस टुल्के’ र ‘जात्रा’ दुबैबाट राम्रो प्रतिक्रिया पाए।

आफू अभिनेताको रुपमा भन्दा संयोजकका रुपमा बढी उपयुक्त छु भने पनि रबीन्द्रले अभिनय गरेका फिल्महरु ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद’, ‘जात्रा’, ‘सेतो सूर्य’जस्ता फिल्मले राम्रो चर्चा पाएका छन्। पशुपतिप्रसादमा उनले खेलको भूमिका ‘हनुमानजी’ त उनको नामको पर्याय नै बन्यो।

उनको निर्माण र अभिनय भएका फिल्म चल्नु संयोग मात्रै नहोला। यसको पृष्ठभूमिमा केही कुरा त पक्कै छ।

पहिलो कारण खुलाए, ‘म रहरले भन्दा ह्या यिनेरु भन्दा त मै राम्रो काम गर्न सक्छु भन्ने झोंक र असन्तुष्टिले यहाँसम्म आइपुगेको हुँ।’ 

दोस्रो र अझ महत्वपूर्ण कारण पनि खोले, ‘शतप्रतिशत मिहिनेत गर्यो भने त्यो काममा झल्किहाल्छ। हामी कलाकारले चित्त नबुझेको काममा नाइ भन्न सक्नुपर्छ।’

राम्रो काम गरेपछि आर्थिक फाइदालगायत अरु कुरा आफैं जोडिदै आउने उनको विश्वास थियो। आज त्यो अनुभव बनिसकेको छ। राम्रो कामको लागि राम्रो वातावरणमा जोड दिँदै उनी थप्छन्, 'फिल्म सामूहिक काम हो। बाहिर नामै नआउने धेरै मान्छेको पसिना र लगन मिसिएको हुन्छ यसमा। हरेक सदस्यको सुख-दु:ख र मिहिनेतको कदर गर्ने वातावरण बनाउन म सक्दो ध्यान दिन्छु।' 

धेरै पैसावाल मान्छे थिएनन् उनी। अझैं पनि लोन तिर्न बाँकी रहेको सुनाए। त्यही भएर ठूलो लगानी गरेर ठूलो जोखिन नलिइ दुई वा दुईभन्दा बढी निर्माता मिलेर फिल्म बनाउँदै आएका छन्। काममा आर्थिक सुरक्षा र भविष्य त हेर्नैपर्यो तर उनी सन्तुष्टि पनि हेर्छन्, ‘जात्रा बनाउँदा प्रक्रियामै यति रमाइयो कि फिल्म असफल भएको भए पनि गुनासो हुन्थेन।’

लक्ष्य मात्रै ताक्ने र यात्राको मजा नलिने प्रवृत्ति उनलाई मन पर्दैन। ठट्यौलो मिजास देखाए, ‘तपाईंले यो कुराकानी छापे पनि, नछापे पनि यही गफमा मजा आइरहेको छ।’

उनको मजामा अवरोध पुर्याउन मन त थिएन तर प्रसङ्ग मोडियो।

‘टलकजंग भर्सेस टुल्के’को सुटिङ राति साढे दुई बजे सकिएको रहेछ। जेनेरेटर र स्पटको २२ हजार ५ सय रुपियाँ तिर्नुपर्ने रहेछ। उनले चेक काटेछन् तर चेक लिनेले पुलुक्क मुखमा हेर्दै जवाफ दिएछन्, ‘फिल्मवालको चेक चल्दैन।’
उनका लागि त्यो जवाफ नभएर थप्पड बन्यो। फिल्मवालाहरुले दिएको चेक बाउन्स हुने कारण उनले साथीभाइसँग नगद सापटी लिएर काम चलाए।

त्यसबेला उनको दिमागमा कलाकारहरुले देशको लागि यो, त्यो योगदान गरेका उद्घोष सम्झिए। अनि फेरि प्रश्न गरे, ‘समाजमा फिल्म बनाउने मान्छेप्रति यसै क्षेत्रका मान्छेको विश्वास छैन भने, फिल्मले पार्ने प्रभाव कस्तो पर्ला?
बिस्तारै उनले फिल्म बनाउनेहरु धेरैले आफ्ना भान्जी, बुहारी, दिदी, बहिनीलाई यो क्षेत्रबाटै टाढै राख्न चाहने कारण पनि उनले बुझ्दै गए। एउटाको फिल्म फ्लप हुँदा खुच्चिङ भन्न खुट्टा उचालेर बस्नेहरु चिन्दै गए।
नराम्रा कुराको सूचि त जति पनि थप्न सकिने देखेर सम्भावना र आशाका कुरा थालियो।

हिजो चिया खाजा खान सापट माग्ने र दिने दुबैखाले साथीहरु वर्तमान फिल्म र नाटक क्षेत्रका राम्रा कलाकार बनेकोले उनी सबैभन्दा बढी उत्साहित छन्।

अलिअलि भएको पैसा घर र जग्गा जोड्नमा खर्च नगरेर फिल्ममा लगानी गरे। आफ्नो आर्थिक रणनीति सुनाए, ‘घर वा जग्गामा जाम गर्नुभन्दा पैसा चलायमान बनाउनु पर्छ भन्ने लागेर जोखिम मोलियो। टुल्केबाट अलिकति कमाए, अहिले जात्राबाट पनि फाइदै भएको छ।’
गाउँ जाँदा उनलाई आफन्तले फलानोले घर र जग्गा किनिस्क्यो तैले के गरिस् भन्थे। ‘मेरो सन्तुष्टि, मेरो चिन्तनको कसैलाई मतलब थिएन।’ अचेल भने त्यो अवस्था फेरिएको उनको अनुभव छ। उनको दुखेसो छ, ‘युवा पुस्ता आफ्नो सपना पूरा गर्नभन्दा पनि परिवार र समाजले तोकिदिएको घर, जग्गा र गाडीजस्ता भौतिक उपलब्धीका लागि विदेशी भूमिमा पैसासँग आफ्नो सपनाको सम्झौता गर्न बाध्य छन्।’

उनी अभिनित 'सेतो सूर्य'ले नेपालबाहिर ठूलै अन्तर्राष्ट्रिय चर्चा र अवार्ड पायो। हाल वितरण कम्पनी पपकर्न पिक्चर्सको नेतृत्वमा समेत रहेका उनी यो अवसरलाई बिस्तारित गर्नुपर्ने विचार राख्छन्। भन्छन् ‘पछिल्ला फिल्महरु कालो पोथी र सेतो सूर्यको सफलतालाई अवसरका रुपमा बदल्न सक्नुपर्छ।’ फिल्म मनोरञ्जन मात्र नभएर सामाजिक राजनीतिक मूल्य स्थापना गर्ने सबैभन्दा सशक्त माध्यम हो भन्ने उनलाई राम्ररी थाहा छ। त्यसैले उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय रुपमा यसको बजार विस्तार गरेर मात्रै पुग्दैन, सोही अनुसारको दक्ष मान्छे र स्तरीय काम पनि गरेर देखाउनु पर्छ।’

अर्कोतिर उनी देशभित्रै फिल्म धेरै भन्दा धेरै दर्शकमा पुग्न सके अहिलको थोरै फाइदा पनि धेरै हुने मत राख्छन्। तर त्यसका लागि व्यवसायिक हिसाबले फिल्म उद्योगलाई व्यवस्थित बनाउन सामूहिक पहल गर्नु पर्ने उनको अनुभव छ।
हल र वितरकको सम्बन्ध, फिल्म क्षेत्रमा काम संस्था र समूहको साझा प्रयास, बक्स अफिस प्रणाली कार्यान्यन, डायस्पोरामा नेपाली फिल्मप्रतिको अपिल जस्ता पक्षलाई गम्भीर रुपमा लिने हो भने धेरै कुरा चाँडै परिवर्तन गर्न सकिन्छ भन्ने लाग्छ उनलाई। नेपालमा पछिल्ला वर्षहरुमा हिन्दीले भन्दा नेपाली फिल्मले बढी ग्रस उठाइरहेको अवस्थालाई मनन गर्दै मौकामा चौका हान्न सक्नु पर्ने उनको मत छ।

तर आफ्नो सीमाबारे पनि उनी प्रष्ट छन्, ‘हामीजस्ता एक दुई जनाले मात्र केही हुँदैन। संस्थागत पहल र राज्यको सहयोगले मात्र यो वातावरण बन्ने हो।’

तस्विरहरु- सन्देश दुमरु

प्रकाशित २६ पुस २०७३, मंगलबार | 2017-01-10 12:59:02

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...

  • खुसी रहन अपनाउनुपर्ने यी पाँच उपाय

    मानिसको दिमागलाई के कुराले खुसी बनाउँछ त? अथवा एक व्यक्तिले बढी खुसी प्राप्त गर्न कस्ता कुरामा ध्यान दिनुपर्छ त? एक न्युरो साइन्टिस्ट एलेक्स कर्बका...

  • गुरुङ थातथलो पुग्दा यस्तो देखियो इतिहास

    अन्नपूर्ण र लमजुङ हिमालको फेदमा अवस्थित क्होला सोँथरलाई तीन गाउँमा विभाजन गरिएको छ। क्होला सोँथरको पश्चिमी भागमा केही घरहरुको अवशेष देख्न सकिन्छ...