‘कविताले समयलाई पछाडि लगाएर हिँड्छ’


कविताले के गर्छ? कविता के हो? यो कसका लागि लेख्ने? कविता लेख्नेलाई आउने प्रश्न हुन् यी। कवि तुलसी दिवसले पोखरामा यसको उत्तर दिए। ‘कविता स्याउ, सुन्तला जस्तो हो र ओखरजस्तो पनि हो,’ दिवसले भने, ‘यो स्याउ, सुन्तलाजस्तो सजिलै खान पनि सकिन्छ, हाडे ओखरजस्तो ढुंगाले फोरेर स्वाद लिनुपर्ने पनि हुन्छ।’ पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार गरेको गोधुलीमा कविता कार्यक्रममा कवि दिवसले कवितामाथि लामै जवाफ दिए।

‘कविता अर्कालाई खुसी पार्न लेखिँदैन,’ दिवस अघि बढे, ‘कविता आफ्नै खुसी र वैयक्तिक विचार हो। प्रकाशित भएपछि अर्कासँग पनि मिल्न सक्छ।’ कवितामा आयुको अर्थ देख्दैनन् दिवस। जुनसुकै उमेरको होस् कवि भनेर स्वीकार गरेपछि सबै समान हुने उनको ठम्याइ छ। ‘कविता समयको पछाडि हिँड्दैन्, कविताले समयलाई पछाडि लगाएर हिँड्छ,’ कवि दिवस रोकिएनन्, ‘म आयुमा भन्दा सिर्जनशीलतामा विश्वास गर्छु। त्यसैले कविता सधैँ ताजा हुनुपर्छ।’ कविताका विषयमा बढी कविले नै बोल्नुपर्ने उनको भनाइ थियो। ‘आफ्नो कविताको बढी जानकार आफैं हो, समालोचक होइन,’ दिवसले भने, ‘हामी समालोचकले भनेको धारणालाई आफ्नो मानेर बस्छौं।’

गोधुलीमा कविता कार्यक्रमको अन्तिममा कविता वाचनसहित वक्ता बनेर मञ्चमा उभिएका दिवसले जति बोले कविताकै पक्षमा बोले। अशेष मल्लबाट सुरु भएको कविता वाचनको शृंखला दिवसमा पुगेर टुंगिएको थियो। दिवसले बाघचाल शीर्षकको कविता सुनाए।

‘गोधुलीमा कविता’ नाम दिएर २०३० को दशकभन्दा अघि नै नेपाली कवितामा छाप छाड्ने र ०३० कै दशकको आसपासमा कविता लेख्न थालेका १५ कविलाई मञ्चमा उभ्याइएको थियो। अधिकांश कविले दुई वटा कविता सुनाए भने केही कविले मुक्तकको झटारोसमेत हाने। कवि अशेष मल्लले अहिलेको काठमाडौँ सम्झिएर कार्यक्रको मेलो सुरु गरेर ‘बुधनको पसिनाको गन्ध’ सुनाए। इन्द्रकुमार विकल्पले उत्साहले गगन चुम्न खोजे। उषा शेरचनले केही मुक्तक र एक कविता सुनाएर किशोर पाहाडीलाई पालो दिइन्। तीर्थ श्रेष्ठले ‘लय’ शीर्षकको कविता वाचन गरी कार्यक्रमको लय मिलाउँदै ‘धर्मग्रन्थ’ वाचन गरे।

प्रकट पगेनी ‘शिव’ले भोक कविता सुनाउँदा माहौल भावुक बन्यो। विजय बजिमयले ह्विल चियरबाट कविता सुनाएपछि मञ्चमा उक्लेका नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले ‘हराएको छ’ शीर्षकको कविता वाचन गरे। कवि मञ्जुलले आमालाई सम्झँदै आमा–३ र ताल शीर्षकको कविता सुनाएपछि राजेन्द्र शलभ मञ्चमा उक्लेर छोरी र पढेर के हुन्छ शीर्षकको कविता वाचन गरे। लक्ष्मी मालीको ‘आमा तिम्रो नाम के हो’ कविताले धेरैको ध्यान खिच्यो। त्यसलगत्तै विश्वविमोहन श्रेष्ठ र स्नेश सायमीले कविता पाठ गरेका थिए।

उमेरले ५० नाघेका र नेपाली साहित्यलाई जनतासम्म पुर्‍याउन सहयोग गरेका केही कविलाई परिवारले मञ्चमा उभ्याएको अध्यक्ष दीपक समीपले बताए। विभिन्न साहित्यिक गतिविधि गर्दै आएको परिवारको यो कार्यक्रम साहित्यको क्रियाशीलतामा अर्थपूर्ण हुने साहित्य संयोजक अमृत सुवेदीले जानकारी दिए।

प्रकाशित २४ पुस २०७३, आइतबार | 2017-01-08 20:39:22

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • चुनाव र मेरो गाउँ

    सपना स्वीटजरल्याण्ड, सिंगापुर र जापानको देखाइन्छ। तर पञ्चायत जानु, बहुदल आउनु र गणतन्त्रको बजार लाउनुले मेरा बा आमाको जीवनमा खासै अन्तर आएको छैन।...

  • केरुङ–रसुवागढी नाका

    नुवाकोटमा नेपाल-चीन औद्योगिक पार्क निर्माण यसै वर्ष अघि बढ्ने

    विश्वको अल्पविकसित मुलुकमध्ये पर्ने नेपालमा कृषि वस्तुबाहेक अरु अधिकांश कुरा आयातमा निर्भर हुनुपरेको बताउँदै वाङ्ले यसबाट आम नेपालीको आवश्यक मागको...

  • चुनाव व्यवस्थापनका लागि आयोगले दियो यस्तो निर्देशन

    निर्वाचन आयोगले वैशाख ३१ गते गरिने स्थानीय चुनाव व्यवस्थापनको लागि सरकारलाई १९ बुँदे निर्देशन दिएको छ। बुधबार नै चुनाव कार्यतालिका घोषणासँगै आयोगले...