बालाई जितेकी हिरोइन


उनले फ्ल्यासब्याकबाट कुरा सुरु गरिन्–

स्कुलमा एउटा सांस्कृतिक कार्यक्रम थियो। त्यसबेला १३ वर्षकी फुच्ची थिइन्। सधैं झैं दिल खोलेर नाचेकी थिइन्।

तर कार्यक्रम सकिने बित्तिकै उनको मन बेचैन बन्यो। घर पुग्दा ८ बजिसकेको थियो। नाचगानमा भाग लिँदा गाली गर्ने बुबाले त्यो दिन झन् कडक मिजासमा भने, ‘जति भने नि नमान्ने भइस् है, जे मन लाग्छ त्यै गर्। मलाई केही मतलब छैन।’
भक्कानिँदै आमाको अँगालोमा लुटपुटिइन्। सदा झैं आमाले उनलाई अँगालोमा गुटुमुटु पार्दै भनिन्, ‘नरोऊ नानु, म छु नि।’

घरभित्रको असहज माहौलको कथा सुनाइसकेपछि बोलिन्, ‘संघर्ष घरबाटै सुरु भयो।’ कडा स्वभावका उनका ड्याडी छोरीको रहर र इच्छा भन्दा पढाइमा मात्र जोड दिन्थे। नाचगान र अन्य गतिविधिमा हिँडेको उनलाई फिटिक्कै मन पर्दैनथ्यो। अहिलेको अवस्था सुनाइन्, ‘अहिले म सानो फुपूसँग बस्छु। अझैं पनि ५ बजेपछि घर पुगिनँ भने फोन आइहाल्छ।’

उनकी आमा भने बुबाभन्दा फरक थिइन्। कुनै बेला उनलाई पनि फिल्म खेल्ने प्रस्ताव समेत आएको रहेछ। तर अभिभावकले अनुमति नदिएकै कारण उनले पाएको अवसर पनि त्याग्नु पर्यो।

आखिरमा आमाबुबाको अधुरो सपना पूरा गर्ने तिनका सन्तान नै हुन्। आफूभित्र रहेको हिरोइन बन्ने रहर छोरीले पूरा गरोस् भन्ने चाहेर उनकी आमाले सधैं साथ दिइरहिन्।

आफ्नै बुबाको विपक्षमा उभिएर मिडिया र कला क्षेत्रमा लागेको लामो समयपछि मात्र उनले बुबालाई मनाउन सफल भइन्। खुसी र गर्व मिसिएको स्वरमा बोलिन्, ‘शब्दबाट बुझाउन नसकेका कुरा मैले आफ्नो कामबाट बुझाउन थालेपछि बल्ल उहाँको मन पग्लिन थाल्यो।’
त्यसै उज्यालो मुहारमा उत्साह थपेर भनिन्, ‘आज मेरो फिल्म सार्वजनिक हुँदा सबैभन्दा पहिला हेर्ने मान्छे ड्याडी नै हो।’

तर जसरी सिनेमामा खुसी र दुःखका कथा सँगै अघि बढ्छन्, उनको जीवनमा पनि गर्व र ग्लानी, उत्साह र निराशाको उतारचढाव चलि नै रह्यो।

सिने नगरीको रमझममा आएर उनले चर्चा र केही दाम मात्रै कमाएकी छैनन्। धेरै पटक चित्त दुखेर पश्चातापको आँसु पनि खसाल्नु परेको छ। परिवारका सदस्यले अफसोस नै मान्नु पर्ने दिन आउने हो कि भनेर आत्तिनु परेको छ।

उनको पहिलो फिल्म स्वर सार्वजनिक ताका एउटा घटना घट्यो। त्योबेला उनी यस क्षेत्रका लप्पन छप्पनबारे अनभिज्ञ थिइन्। ‘स्वर’को रेड कार्पेटमा तीन जना नायिकाहरु ठाटिएर जाने योजना बनाएछन्।

जाडो महिना भए पनि बेनिसाले चाहिँ ट्युबवाला आधा खुला गाउन लगाएर गएकी रैछिन्। गुनासो पोखिन्, ‘भोलिपल्ट समाचारमा त नायिका नाङ्गै भन्ने खालको समाचार पो देख्छु। उमेर र अनुभव दुबै हिसाबले कच्चा थिएँ। के गरुँ कसो गरुँ भयो।’

उनको आँखामा आमाबुबाको अनुहार नाँचिरह्यो। अनि सोचिन्, ‘सायद यही भएर ड्याडीले यो फिल्डमा नलाग छोरी भन्नुभएको होला।’ रोएर मन पखालिन्न भन्ने थाहा भए पनि उनी रुनुसम्म रोइन् त्यो दिन।

यसपछिको कुरा सुनाइन्, ‘बेकार यो क्षेत्रमा पाइला चालियो भनेर खेद पनि लाग्यो। तर अभिनय नशा बनिसकेको थियो।’ मनमा लागेको चोटभन्दा बालामनमै घर बनाएको कला क्षेत्रमा स्थापित हुने सपनाले बढी प्रभाव पारेको थियो उनलाई।
उनका सपनाहरु किस्ता किस्तामा पूरा भइरहेका छन्।
प्लस टु पढ्दै गर्दा कलेज नजिकै कालिका एफएम थियो। त्यहाँ आइडियल आरजे कम्पिटिसन हुन लागेको खबर उनको कानसम्म पुग्यो। २०६३ साल तिरको त्यो समयमा चितवनमा एफएम रेडियोको राम्रै क्रेज थियो।

७ सय जना प्रतिस्पर्धीबीचबाट छानिएर उनी सेकेन्ड रनरअप भइन्। मीठो स्वरकी उनलाई एफएमको दुनियाँ स्वादिलो लाग्यो।

२००८ मा ब्याचलर पढ्न उनी काठमाडौँस्थित मामाघर आइन्। ‘एक दिन अचानक सुरेश दर्पण सरले च्यानल नेपालमा फिल्मी प्रोग्राम चलाउने प्रस्ताव गर्नुभयो। मैले नाइ भन्ने कुरै थिएन।’ बुबाले पढाइ बिग्रिने कुरा गरिरहे पनि आफन्तले मनाए।

रेडियो र टेलिभिजनपछि उनको म्युजिक भिडियो यात्रा सुरु भयो। कलेजबाटै गुरुको प्रस्तावमा उनले पहिलो म्युजिक भिडियो ‘सिन्धुलीको रसिलो जुनार’ खेलिन्। व्यवसायिक रुपमै काम गर्ने उद्देश्य भन्दा पनि पढ्दै भिडियोमा खेल्दा पकेट खर्च राम्रो आउथ्यो। एक, दुई, तीन गर्दागर्दै हालसम्म उनको भिडियोको संख्या करिब १ सय ५० पुगिसकेको छ।

केही फिल्मका प्रस्ताव अस्वीकार गरे पनि उनले स्वरका लागि आएको प्रस्ताव नकार्न सकिनन्। कारण खुलाइन्, ‘प्रसन्न पौडेल दाइसँग पारिवारिक हिसाबले पनि नजिक थिएँ। बुबालाई पनि उहाँले नै पढाइ नबिग्रिने शर्तमा कन्भिन्स गराउनु भयो।’
भविष्य र गन्तव्य कता हो थाहा नभएकी बेनिसालाई त्यसबेला आफ्नो पहिलो र अन्तिम फिल्म ‘स्वर’ नै हुनेछ भन्ने लागेको रहेछ।

तर, अभिनयप्रतिको मोह बढ्ने र नयाँ नयाँ कामको प्रस्ताव आउने क्रम सँगसँगै भयो। हाँस्दै बोलिन्, ‘यो पेसा अजिब रहेछ। पेसा भन्दा पनि नसा हो यो।’

समयले मानिसलाई धेरै सिकाउँछ। बेनिसालाई पनि यस्तै लाग्छ। सुरुका दिनमा ग्लामर दुनियाबारे उनलाई बुझाउने कोही थिएन। आज उनलाई लाग्छ, ‘आफ्नै अनुभवले म स्वयम् मेरो गुरु बनेँ।’

समयले थुपारेका अनुभवरुपी इँटाका चाङ हेरेर अचेल उनी आफैंलाई प्रश्न गर्छिन्, ‘के म त्यही बेनिसा हुँ?’

बेलाबेला यस्तै प्रश्नले आफैंलाई चिमोट्ने कारण के भने, अहिलेकी फरासिली बेनिसा कुनै बेला निकै गुमसुम थिइन्। एकान्तमा बस्न रमाउने, लजालु र धेरै साथीसँगी नबनाउने खालकी। उनका ठूला आँखा अतीततिर फर्किए, ‘मेरो बाल्यकाल घरबाट स्कुल र स्कुलबाट घरमै सीमित थियो।’ केही सम्झे झैं गरी थपिन्, ‘पढाइसँगै वक्तृत्व कला, डान्स कम्पिटिसनजस्ता कुरामा पनि अब्बल थिएँ।’

कुनै समयकी अन्तर्मुखी उनी जानी नजानी बहिर्मुखी बन्दै गएकी छिन्। सुरुमा प्रिमियर र अन्य कार्यक्रममा जाँदा कम बोल्ने भएकैले उनलाई घमण्डी र ‘एटिट्युड प्रोब्लम’ भएको आरोप लाग्यो। यी आरोपबारे उनले ढिला गरी मात्रै चाल पाइछन्।

‘के गर्नु, मान्छेले ऊ लजालु र अन्तर्मुखी छे भनेर नबुझ्दारैछन्।’ अनुभव साटिन्। ‘त्यसपछि अलि खुल्न थालेँ, आफैँ बोल्न र बोलाउन थालेँ।’ एउटा यस्तो पनि समय थियो, जुनबेला उनी ६ महिनासम्म फेसबुकमा निस्क्रिय बसिन्। अहिले आफू धेरै ‘एक्सप्रेसिभ’ भइसकेको लाग्छ उनलाई।

सुरुका दिनमा कुरा काटिँदा, सोच्दै नसोचेको मान्छेसँग प्रेममा परेको भन्ने खबर छापिँदा वा कामको बारेमा भन्दा कपडा कस्तो लाएकी छन् भन्नेबारे बढी चर्चा हुँदा उनी वाक्कदिक्क हुन्थिन्।

भावुक बनिन्, ‘जति चित्त दुख्नु थियो दुखिसक्यो, जति रुनु थियो रोइसकेँ।’ आफैंलाई सम्झाउने अस्त्र पनि रहेछ उनीसँग। थपिन्, ‘ती सबैचिज भोग्नै पर्ने रहेछ। नत्र यति बलियो कहाँ हुन्थेँ म?’

अरुको कुरा सुन्यो भने, शतप्रतिशत लगावका साथ काम गर्न नसकिने कुरालाई मन्त्र बनाएकी छिन् उनले। ‘काम गर्दा अरुले के सोच्छ भन्ने बित्तिकै एउटा पर्खाल खडा हुन्छ। शतप्रतिशत पर्ममेन्स दिन सकिन्न।’

उनलाई जीवन यात्रामा धेरैले हात समात्न आए पनि, हामी आफैंले अरुको हात समाते पनि परिवारको साथ र खुसी नै निर्णायक लाग्छ।

ग्लामर दुनियाँमा हिजो पनि कुरा काटिन्थे, आज पनि काटिन्छन्। तर बेनिसालाई आफूबारे हुने हल्लाहरुले अचेल छुँदैन। परिपक्व भावमा सुनाउँछिन्, ‘अन्ततः मान्छेहरुले जे भने पनि म्याटर गर्ने त परिवारलाई नै हो। त्यही भएर परिवारलाई ग्लानी नहुने हिसाबले मात्रै काम गर्छु। परिवारको साथ भए दुनियाँ जितिन्छ।’

उनी आफ्नो नजरमा ‘स्ट्रेट फरवार्ड’ मान्छे हुन्। यसबारे भन्छिन्, ‘तर दुर्भाग्य, म जुन फिल्डमा छु, त्यहाँ एकदमै प्रिटेन्ड गर्नु पर्छ।’ उनले गम्भीर मुद्रामा अगाडि बसेको मान्छेको अगाडि हाँस्न मन नलागे पनि हाँस्नु पर्ने कुरा भन्दै गर्दा लाग्यो, ‘भर्खरैसम्म फुत्किरहेको उनको ओठको हाँसो साँचो हो कि बनावटी?’

मेरो मनमा उब्जेको सन्देहबाट बेखबर उनी आफ्नै तालमा भनिरहेकी थिइन्, ‘तर अभिनय त म पर्दामै गरिहाल्छु। वास्तविक जीवनमा झुठो हाँसो किन हास्ने?’

उनलाई नसोधी अघि मनमा उब्जेको प्रश्नको उत्तर पाएँ।

ढुक्क भएर, उनको पर्दाभित्रको अभिनयबारे कुरा कोट्याउन थालेँ।

सोधेँ, पर्दाभित्र फरक फरक मान्छेसँग रोमान्स गर्दा कस्तो ‘फिल’ हुन्छ?

खुलेरै भनिन्, ‘सुरुमा हग गर्ने, नजिक हुने, हात समात्नेजस्ता सिन गर्नु पर्दा लाज लाग्थ्यो। हिरोले मायाले हेर्दा साँच्चैको मन पराएर हेरेको जस्तो पनि लाग्थ्यो।’

पहिलो फिल्म ‘स्वर’मा राजबल्लभसँग काम गर्नु पर्ने थियो उनले। सुटिङताका हिरोले मायाले हेर्नु पर्ने दृश्यमा बेनिसामा साँच्चैको माया बस्ने हो कि भन्ने डर पलाएछ। खित्का छुट्यो, ‘केही दिनसम्म आएको त्यो फिलिङ्स आफैं हरायो।’ मोक्षमा त ‘इन्टिमेट’ हुने दृश्य नै खिच्नुपर्ने भयो। उनलाई कताकता केही भएको हो कि भने लागेछ। ‘त्यो मान्छेप्रति हल्का ‘फिल’ बढेको हो कि भन्ने भएको थियो। केही दिनमा हरायो।

उनले उजेली मिसको भूमिका निभाएको चर्चित फिल्म ‘कालो पोथी’मा पनि ‘इन्टिमेट’ सिन थियो। यस पटक पहिलाको जस्तो भावना नै उब्जेन रे। भनिन्, ‘ बिस्तारै पर्सनलबाट प्रोफेसनल फिलिङ्स आउन थाल्यो। काम गर्दै जाँदा प्रोफेसनल भइन्छ भन्ने उदाहरण हो यो।’
फिल्म छान्दा नै कथाभन्दा चरित्रलाई महत्व दिने बेनिसा कुन दृश्यमा कति खुल्नेबारे आफ्नो धारणा सुनाउँछिन्, ‘मैले मेरो सीमा आफैंले तोकेकी छु। आफ्नो कम्फर्ट जोनमा बसेर मात्रै यस्ता दृश्यमा काम गर्छु।’ यो सन्दर्भलाई स्पष्ट पार्न खोजिन्, ‘नाम होस् तर कामले, बदनामीको सहाराले होइन।’

बेनिसालाई आगामी साता प्रदर्शनमा आउन लागेको फिल्म ‘किङ’मा आफूभन्दा उमेरले पाको नायक निखिल उप्रेतीसँग काम गर्दा असहज लागेन। तर आफ्नो उमेरका कलाकारसँग काम गर्दा सल्लाह र संवाद बढी हुने उनको अनुभव छ। त्यही भएर ‘किङ’मा निखिलसँग भन्दा अनुप विक्रम शाहीसँग सरसल्लाह बढी भयो।

राम्रो काम गर्दा कलाकारको कामबाट मूल्याङ्कन हुनेमा उनी ढुक्क छिन्। ‘कालो पोथी’मा केन्द्रीय भूमिका नभएरै पनि उनले राम्रो प्रतिक्रिया पाएको बताउँछिन्। यही मेसोमा मिडियाप्रतिको गुनासो पनि साटिन्, ‘कालो पोथीको टिमसँग अन्र्राष्ट्रिय महोत्सवमा भाग लिन जापान र सिंगापुर पुगेको खबर भन्दा के लगाइ, कोसँग चक्कर चलेको छ भन्ने कुरा मात्रै पढ्नु पर्छ। मिडियाले कला होइन ग्लामरलाई बढी महत्व दिएको हो कि?’

‘किङ’पछि उनको ‘ब्लाइन्ड रक्स’ र निशा अधिकारीले निर्माण गर्ने नयाँ फिल्म आउनेछ। वास्तविक दृश्यविहीन पात्रको जीवनीमा आधारित ‘ब्लाइन्ड रक्स’प्रति उनी धेरै आशावादी छिन्। नयाँ पुस्ताका प्रतिभावान कलाकार नाजिर हुसेनसँगै काम गर्न लागेकोले पनि उनलाई थप उत्साहित बनाएको छ।

 

प्रकाशित १७ पुस २०७३, आइतबार | 2017-01-01 17:24:55

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • तिब्बतमा नयाँ सरकार प्रमुख

    नेपालसँग सिमा जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्र सरकार प्रमुखमा छि चाला चयन भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी ल्हासा कमिटिका पूर्व प्रमुख चाला...

  • तस्विरमा यस्तो देखियो राष्ट्रपति भण्डारीकी छोरीको विवाह

    शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु,...

  • ८ जनासँग छ, सबैभन्दा गरीब ५० प्रतिशतको जति नै सम्पत्ति

    विश्वका आठ सबैभन्दा धनी व्यक्तिसँग सबैभन्दा गरीब आधा जनसंख्या बराबरको सम्पत्ति रहेको अक्सफाम नामक सँस्थाले जनाएको छ। संसारभर आर्थिक वृद्धि भइरहँदा...

  • ...तर साथी निकै एक्लो छु अहिले

    रअ बार्जले यमजस्ता धेरैलाई र्‍यापप्रेमी समूह नजिक पुर्यायो। रअ बार्जमा देखाएको सक्रियता र प्रतिभाकै कारण उनी धेरै युवा र्‍यापरको रोल मोडल बनेका...