'लडेको मात्रै हुँ, मरेको छैन'

रामकृष्णका तीन दशकको आरोह-अवरोहः कहाँ चुके, कहाँ बाजी मारे?


'ओराली लागेको हरिणको चाल भो' गीत गाएर सङ्गीत क्षेत्रमा उकालीको उत्कर्षमा पुगेका गायक हुन् रामकृष्ण ढकाल। उनै रामकृष्णले गत असोजमा आफ्नो पन्ध्रौँ गीति सङ्ग्रह आवरण सार्वजनिक गरे। एल्बम संख्या पन्ध्र पुग्दै गर्दा उनको औपचारिक साङ्गीतिक यात्राले पुगनपुग तीस वर्ष छुँदै थियो।

सङ्गीतको बजार युट्युब र कन्सर्टमा मात्रै खुम्चिएको समयमा भव्य कार्यक्रमबीच उपराष्ट्रपति नन्द किशोर पुनः मार्फत सङ्ग्रह सार्वजनिक गरिएको थियो। रामकृष्णले ११ ओटा गीत रहेको आवरणका सबै गीतको म्यूजिक भिडियो बनाउने खर्चिलो उद्घोष गरिसकेका छन्। 

यस्तो उद्घोषका मुख्य दुई कारण छन्, पहिलो गीत सुन्नेबाट हेर्ने विधा बन्नु, अर्को थोरै भए पनि युट्युबाट हुने आर्थिक आम्दानी। यसको अन्तर्यमा रहेको महत्वपूर्ण कुरा चाहिँ नयाँ समय र सन्दर्भमा आफूलाई ढाल्दै लाने रामकृष्णको प्रयास।

अनेक आरोह अवरोहका बीच रामकृष्णको जोस र उत्साह कायम रहेको एउटा उदाहरण हो यो। उनको गेट अप, जीवनशैली र गीत सबैमा यसको झलक पाइन्छ। रामकृष्णले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘नयाँ गीत ननिकाले त हराइन्छ।’ वास्तवमा अहिले अवस्था त्यस्तै छ। उनीसँगै वा अघिपछि गाउने धेरै गायकहरु विदेश पलायन भइसकेका छन्। नेपालभित्रै भएकाहरु पनि धेरै निस्क्रिय छन्। रामकृष्ण भने औसतमा प्रत्येक दुई वर्षमा एउटा एल्बम निकालिरहेका छन्।

कलाकारको स्टारडम र त्यसलाई टिकाइरहन नसक्दा उब्जने निराशा र छटपटीमा खेमराज गुरुङलगायत केही स्रष्टाले संसारै छोडिसकेका छन्। यस्तो परिप्रेक्ष्यमा गीतमै समर्पित हुनु, नयाँ पुस्तासँग काम गर्नु, आफूलाई टिकाउन नयाँ नयाँ रणनीति अपनाउनु उनको खुबी हो।
तर उनका सबै रणनीतिको असर भने बिस्तारै कम हुँदैछ। भन्नै पर्दा, उनी ओराली लागेको हरिण पथमा छन्।

एउटा कलाकारको इतिहास उसको व्यक्तिगत जीवन मात्रै होइन। यो उसँगै बाँचेको समयको प्रविधि, समाज र राजनीतिको अंश पनि हो। हरेक कलामा सामाजिक मनोविज्ञानको बाछिटाका छिर्का भेटिन्छन्। व्यक्ति र समाजले टेक्दै मोडेका अनेक कुइनेटा देखिन्छन्।
रामकृष्णको साङ्गीतिक यात्रामा पनि नेपाली सङ्गीतकै आरोह र अवरोह मजाले देखिन्छ। सङ्गीत बजारको बिस्तार र सङ्कुचन, प्रविधि र मिडियाले सङ्गीत र सर्जकमा पारेको हेरफेरका अनेक किस्सा भेटिन्छन्।

रामकृष्णलाई फर्केर हेर्दा

कलिलै उमेरमा नारायणगोपालका गीत गाडी, चोक हुँदै रेस्टुराँसम्म गाएका उनलाई 'फुच्चे नारायणगोपाल' भनियो। सानो उमेरमै गाउन थालेकाले उनको गायनमा परिपक्वता आयो। त्यो परिपक्वता उनको गीत छनौटमा पनि देखियो। चालीसको उत्तरार्धको समयमा नारायणगोपाल ठूलो नाम बनिसकेको थियो। 

२०४५ सालमा पहिलो गीत 'हाम्रो सुन्दर संसार थियो' रेकर्ड गराए पनि ढकालले अनौपचारिक गायनमा अनुभव बटुलिसकेका थिए। तथापि, सुरुका दिनमा रामकृष्ण आफ्ना गीतभन्दा नारायणगोपालको छायाँ गायकका रुपमा बढी चिनिए।
२०४७ मंसिरमा नारायणगोपालको निधन भएपछि उनका लागि बनेका धेरै गीत रामकृष्णले पाए। उनको सफलतामा यसको ठूलो प्रभाव पर्यो। रामकृष्णले सुगम संगीतका पुराना हस्तीहरु दीपक जंगम, नातिकाजी, दिव्य खालिङ, कालीप्रसाद रिजाल, दिनेश अधिकारी आदिसँग काम गर्ने मौका पाए। तर उनले काम गरेका त्यसबेलाका नयाँ पुस्ताका न्ह्यु बज्राचार्य, आलोक श्री, आनन्द अधिकारी, राजु सिंह पनि पछि स्थापित नाम बन्यो। यसरी हेर्दा, उनी नयाँ र पुराना पुस्ताका सेतु बने।
नरायणगोपालको गीतको सहाराबाट मुक्त हुन कुरिरहेका बेला रामकृष्णको ‘आशा’ निस्क्यो। 'आशा'को ओराली लागेको गीत रामकृष्णका लागि मात्रै नभएर नेपाली सुगम सङ्गीतकै कोसेढुङ्गा बन्यो।

०४६ सालको राजनीतिक आन्दोलनबाट प्राप्त स्वतन्त्र वातावारणमा पञ्चायती निगाहमा खुम्चिएको कला क्षेत्रले फैलिने अवसर पायो। ५० को दशक सङ्गीतसँगै सिनेमाले पनि गति लिएको थियो। काम गर्ने शैली, प्रविधिको प्रयोगदेखि विचारधारासम्मको हिसाबले त्यो नयाँ थियो। पुरानाबाट नयाँमा जाने स्वभाविक प्रक्रियाको उपज थियो। रामकृष्ण आधुनिक गायनसँगै सिनेमाका लागि पनि रोजाइका गायक बने। सङ्गीतको बजार बिस्तार भएको त्यो समयमा उनी सबैभन्दा चलेका गायक थिए। टेलिभिजन, एफएम रेडियो र मिडियाको बिस्तारले कलाकारको ग्लामर बढाउने समयका प्रतिनिधि कलाकार रामकृष्ण नै बने। गीत गाएकै भरमा गाडी किन्ने गायक पनि बने उनी।

नारायणगोपालको निधनपछि उनको विरासत धान्ने पात्रको खोजी भइरहेको थियो। रेडियो नेपालकालीन सुगम सङ्गीतलाई निरन्तरता दिने नयाँ पुस्ताको खाँचो पनि थियो। यिनै सन्दर्भमा चम्किएका थिए गायक रामकृष्ण। रामकृष्ण मात्रै होइन दीप श्रेष्ठदेखि फत्तेमानसम्मले एल्बम निकालेर चर्चा र दाम कमाउनु पचासको दशकको उपलब्धी थियो। गीतकारकै नामबाट मात्रै निकालिएका क्यासेट समेत बिक्ने समय थियो।

तर समयको प्रकृति नै पुरानोलाई छोडेर नयाँलाई अँगाल्नु हो। साठीको दशकमा सङ्गीत बजार पुरै खस्क्यो। नाम र दाम कमाएका कम्पनीहरु बन्द हुन थाले। पाइरेसीका कारण मात्रै होइन, राज्य, संगीत क्षेत्रको हर्ताकर्ता र सरोकारवालाहरुको अदुरदर्शीताका कारण पनि सङ्गीत बजार खुम्चियो। भविष्य नदेखेर पालैपालो शर्मिला बर्देवा, यम बराल, सपनाश्री, जगदिश समालजस्ता प्रतिभा विदेश पलायन भए।

नेपाली सिने सङ्गीतमा एक छत्र राज गरेका शम्भुजित बासकोटाका ठाउँमा नयाँ नयाँ सङ्गीतकारहरुको प्रवेश भए झैँ सिनेइतर सङ्गीतमा पनि नयाँ पुस्ताको दबदबा बढ्यो। विधागत हिसाबले पप, लोक पप, लोक रक, र्याप, फ्युजनजस्ता विधाको प्रभाव बढ्नाले पनि सुगम सङ्गीतका स्रोता बाढिए।

समयको मनोविज्ञान नबुझ्दा पनि कलाकारहरु हराउँछन्। रामकृष्णले त्यो बुझ्ने प्रयाससम्म गरेको देखिन्छ। आफ्नो एल्बम आधार एल्बमका लागि नवीन के भट्टराईको सङ्गीतमा तिम्रो आगमनले फेरि गीत गाएका थिए। पप शैलीको यो गीत नयाँ सन्दर्भमा टिक्ने प्रयास थियो। त्यसयता उनले धेरै पाश्चात्य शैलीमा बनेका पप गीत गाइसकेका छन्। यस्ता केही गीत चले पनि रामकृष्णले बाटो बिराएको मान्नेहरुको पनि कमी छैन।

उनको नयाँ एल्बम आवरणको 'म लडेको मात्रै हुँ' गीतका सङ्गीतकार हरि लम्सालका अनुसार, रामकृष्णले पछिल्ला वर्षमा पप शैलीका गीत गाउन खोजे पनि उनको आवाज मेलोडियस गीतका लागि पर्फेक्ट छ। सबै खालका गीतमा उनको गायन जम्ने खालको छैन। वचन तोडे, कसम नि तोडेलगायत केही चर्चित गीतमा रामकृष्णका लागि सङ्गीत भरेका राजु सिंह भन्छन्, ‘व्यवसायिक रुपमा टिक्न होस् वा नयाँ पुस्ताको रोजाइमा पनि पर्न रामकृष्णजीले गरेको प्रयासप्रति असन्तुष्ट हुने धेरै छन्।’ दुबै सङ्गीतकारको नजरमा शब्द चयन र सङ्गीत संयोजनको स्तरमा समेत चासो राख्नु रामकृष्णको विशेषता हो। यही विशेषताका कारण उनी संख्यात्मक र गुणात्मक दुबै हिसाबले अब्बल बनेका हुन्।

सङ्गीतकार सिंहका अनुसार, रामकृष्णले क्यासेट निकाल्दा शब्दबाहेक सङ्गीत संयोजन र रेकर्डिङको स्तरलाई पनि सधैं प्राथमिकता दिए। उदाहरण दिँदै भन्छन्, ‘वाद्यवादकको समूहलाई नै बम्बई लगेर अन्तर्राष्ट्रिय अनुभवबाट सिक्नु पर्छ भन्नेमा उहाँले धेरै जोड दिनुभयो।’ स्तरमा ध्यान दिने उनै रामकृष्णका गीतमा पहिलाको स्तर नभेटिनुमा रामकृष्णको मात्रै दोष नभएको सिंह बताउँछन्। भन्छन्, ‘सङ्गीतमा लगानी बालुवामा पानी जस्तै भएको छ। लगानी गर्ने कलाकारले नभइ अर्कै पक्षले कमाइरहेको छ।’

आफ्नी पत्नी निलमलाई मोडल बनाएर होस् वा सानी छोरी रानीलाई पनि गायनमा डोर्याएर रामकृष्णले दर्शक स्रोताहरुको ध्यान खिच्दै आएका छन्। तर नाम नखुलाउने सर्तमा उनका नजिकका सङ्गीतकार भन्छन्, ‘त्यो पुरानो चार्म र क्रेजको दौर सकिएको चाहिँ सत्य हो। आखिर सङ्गीतको पनि आयु हुन्छ।’

कलाकारको तीस वर्षे इतिहास उसको व्यक्तिगत जीवन मात्रै होइन। यो हामी बाँचेकै समयको सांस्कृतिक राजनीति, प्रविधिजन्य परिवर्तनको कथा पनि हो। नेपाली सङ्गीत क्षेत्रकै आरोह र अवरोह बुझ्न पनि रामकृष्णको साङ्गीतिक यात्रा एउटा अध्ययनको विषय हो।

नयाँ एल्बम आवरणमा उनले एउटा गीत गाएका छन्–
म लडेको मात्रै हुँ, मरेको छैन
म थाकेको मात्रै हुँ, हारेको छैन
मनिष वशिष्ठको शब्द र हरि लम्सालको सङ्गीतमा रहेको यो गीतको अन्तर्यमा रामकृष्णको वर्तमान अवस्थाको प्रतिविम्बन भेट्न सकिन्छ। देशको वर्तमान अवस्थाको चित्रण गर्न खोजिएको यो गीत मनिषले लेखे पनि यसमा कताकता रामकृष्णकै मनोदशाको झल्को आउँछ।

 

प्रकाशित १२ पुस २०७३, मंगलबार | 2016-12-27 12:06:45

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • तिब्बतमा नयाँ सरकार प्रमुख

    नेपालसँग सिमा जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्र सरकार प्रमुखमा छि चाला चयन भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी ल्हासा कमिटिका पूर्व प्रमुख चाला...

  • तस्विरमा यस्तो देखियो राष्ट्रपति भण्डारीकी छोरीको विवाह

    शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु,...

  • ८ जनासँग छ, सबैभन्दा गरीब ५० प्रतिशतको जति नै सम्पत्ति

    विश्वका आठ सबैभन्दा धनी व्यक्तिसँग सबैभन्दा गरीब आधा जनसंख्या बराबरको सम्पत्ति रहेको अक्सफाम नामक सँस्थाले जनाएको छ। संसारभर आर्थिक वृद्धि भइरहँदा...

  • ...तर साथी निकै एक्लो छु अहिले

    रअ बार्जले यमजस्ता धेरैलाई र्‍यापप्रेमी समूह नजिक पुर्यायो। रअ बार्जमा देखाएको सक्रियता र प्रतिभाकै कारण उनी धेरै युवा र्‍यापरको रोल मोडल बनेका...