परीको पारा नै अलग

र्‍यापर युवतीका यस्ता कुरा


उनीभित्र दुईटा ‘म’ छन्। एउटा प्रेक्ष्या र अर्को परी। प्रेक्षा बज्राचार्य अन्तर्मुखी/ग्राउन्डेड छिन्। एक्लै बस्नु, थाङ्का बनाउनु, भावनामा डुबेर कविता र गीत कोरेर मनका भावना बिसाउन मन पराउँछिन्। परी भने बहिर्मुखी छिन्। उनी मोडलिङ, गायन, अभिनयलगायत कला र ग्लामर क्षेत्रका विविध विधाको अनुभव बटुल्न अग्रसर हुन्छिन्। ‘प्रेक्षा बनेर गर्ने हरेक कामले म भित्रको परीका लागि इनर्जी सेभ गरिरहेको हुन्छु’ उनको ओठले मुस्कानको आकार लियो।

पाटनमा जन्मिएकी प्रेक्षाका ममी ड्याडी दुबै पाटनका थाङ्का व्यवसायी हुन्। बाल्यकालदेखि नेवारी थाङ्का बनाउने बनाउने काम आज पनि उनको दैनिक तालिकाभित्रै पर्छ। 

उमेर बढ्दै जाँदा उनी सङ्गीतमा चुर्लुम्मै डुबिन्। लेख्न, बजाउन र गाउन मन लाग्न थाल्यो। तर स्कुलको सांस्कृतिक गतिविधिमा अगाडि आएर गाउने साहस थिएन। अझ आम अभिभावकझैं छोरी सङ्गीतभन्दा डाक्टर, इन्जिनियर बनोस भन्ने चाहना राख्थे। मनोविद् झैं उनी बोलिन्, ‘अभिभावकको यही मनोविज्ञान बुझेर म आर्किटेक्ट बन्छु भन्ने सोच्थेँ।’

तर कलाप्रतिको मोहले उनलाई मनले खाएकै बाटोमा हिँडायो।

स्वभाव अन्तर्मुखी तर रुचि भने सार्वजनिक रुपमा गाउने, मोडलिङ र अभिनय गर्ने। आफ्नै स्वभाव घाँडो भयो। यसका लागि उनले ‘केही’ गर्नै पर्ने सोचिन्।

तर उनी आफ्नो अन्तर्मुखी स्वभावलाई चुनौनी दिन चाहन्थिन्। सुरुमा उनले फेसबुक र युट्युबको सहारा लिइन्। पछिल्लो समयको ट्रेन्डअनुसार उनले युट्युबको सहारा लिइन्। आफ्नै नयाँ गीत गाएर असुरक्षित लगानी गर्नु भन्दा पहिल्यै रिलिज भइसकेका गीतको कभर सङ्ग गाइन्। शालीन मुद्रामा मन्द मुस्कान छर्दै बोल्ने प्रेक्षाले सम्झिन्छिन्, ‘२०११ तिरदेखि युट्युब जर्नी सुरु भयो।’

प्रतिक्रियाहरु राम्रा आउन थाले। यसैबीच उनले र्याप ब्याटलमा आधारित एमिनेमको ‘एट माइल’ हेरिन्। फिल्म र्यापस्टार एमिनेमको जीवनका केही वास्तविक घटना पनि समेटिएको छ। ‘यो फिल्म हेर्दा म पनि त्यसरी नै र्याप ब्याटलमा भाग लिन पाए कस्तो रमाइलो होला भन्ने लाग्यो।’ लेन्स लुकेका कैला आँखा चम्काउँदै उनले एकै श्वासमा भनिन्।


––
भन्छन् नि, ‘तँ चिता म पुर्याउँछु’। उनको जीवनमा यस्तै भयो।

र्‍याप ब्याटल रअ बार्ज सुरु भएपछिका कुरा हुन्, सबै। र्‍याप गाउने केटी पाउन गाह्रो थियो। रअ बार्जबाटै प्रस्ताव आयो। ‘एट माइल हेर्दाको रहर पूरा गर्ने समय आयो भनेर खुसी लाग्यो।’ धेरै उत्साहित अनि थोरै डरका साथ अडिसनमा सहभागी भइन्। २०१३ मा भएको त्यो ब्याटलमा उनकी प्रतिद्वन्द्वी थिइन् सम्युन। हेर्दा शालीन देखिने प्रेक्ष्या ब्याटलमा भने आक्रामक बनेकी थिइन्। भन्छिन्, ‘त्यसबेला त भूत जागेको थियो भूत। ब्याटल सकिएपछि अँगालो मार्यौं, सबै नर्मल भयो।’

ब्याटलमा उत्रिनुअघि एक महिना तयारी गरेकी थिइन्। सोसियल साइट्सबाट प्रतिस्पर्धी सम्यनको विरुद्धमा के कस्तो कुरा प्रयोग गर्न मिल्ला भनेर बुँदा बनाइन्। तयारीकै क्रममा प्रतिद्वन्द्वीले आफूलाई मजासँग अब्युज गर्ने र आफू पनि ऊ भन्दा आक्रामक हुनु पर्ने कुरामा स्पष्ट भइन्। परिणाम सुनाउछिन्, ‘हाम्रो ब्याटलमा दुबैले हार्यौँ, दुबैले जित्यौँ।’

हेर्नुस् परीको र्‍याप ब्याटल

रअ बार्ज ब्याटलले उनको फलोअर्सको संख्या ह्वात्तै बढाइदियो। ‘तर त्योभन्दा मेरो उद्देश्य आफूभित्रको बहिमुर्खी स्वभावलाई चुनौती दिनु थियो। आफैलाई एक्सप्लोर गर्ने मेरो प्रयास सफल भयो।’

उनी मान्छे नै अलराउण्डर। काम गर्दा एउटै विधामा अल्झिन चाहन्निन्। त्यसैले उनलाई लाग्छ, सङ्गीतमा र्‍याप, पप, लोक वा रक मात्रै गाउने भनेर खुम्चिनु हुँदैन। उदार दृष्टिकोण राख्दै भन्छिन्, ‘विधागत विभाजनमा खुम्चिनु सोसाइटीमा रेसिस्ट कुरा गर्नु जस्तै हो।’


ब्याटलमा भाग लिएपछि उनलाई थाहा भयो र्‍याप त कविता र आधुनिक दोहोरीको नजिकको विधा पो रहेछ। थपिन्, ‘कविता लेख्ने बानीले र्‍याप गाउन सघायो।’ र्‍याप गाउने समूह बढेको उनलाई राम्रो लागेको छ। यसको कन्टेन्ट र प्रस्तुतिमा हुने आक्रामक शैली र ‘अब्युजिभ’ शब्दहरुलाई पनि उनी अस्वाभाविक मान्दिनन्। ‘नेपालमा यो विधा अलि नयाँ र यसमा युवा पुस्ताको सलंग्नता बढी भएकोले पनि बढी आक्रामक भएको हो। कलाकारहरुमा पहिला भन्दा म्याचुरिटी बढेको महसुस गर्छु।’

नेपालमा र्‍यापबारेको बुझाइ स्पष्ट नभएको उनको मूल्याङ्कन छ। कराते, बक्सिङ वा रेसलिङ पनि त आक्रामक हुन्छ, मान्छेले त्यसलाई खेलका रुपमा स्वीकारी सकेका छन्। र्‍याप ब्याटललाई पनि त्यसरी नै ग्रहण गर्नु पर्ने उनको राय छ।

पहिलो पटक उनले अभिनय गरेको फिल्म जात्रामा पनि उनको नाम परी नै छ। सहायक भूमिका भए पनि फिल्मी दुनिया बुझ्न जात्राले सेफ ल्याण्डिङ गराएको उनको अनुभव छ। यसको सफलतापछि उनले केही म्युजिक भिडियोमा काम पनि गरिसकिन्। फिल्म चाहिँ सोच विचार गरेर मात्र गर्न चाहन्छिन् उनी।

तर भर्खरै २२ वर्षकी उनलाई हतारो छैन रे! ‘पढाइ र काम सँगै लैजानु छ।’ २२ वर्षे उमेरमा उनी २२ थरी रहरको चौबाटोमा उभिएकी छिन्। जुन बाटोतिर फक्र्यो, त्यतै हुइँकिउँ झैं हुन्छ उनलाई। बल्ल खितखिताइन्, ‘अलराउण्डर हुनुको घाटा होला यो चाहिँ।’ त्यसै उज्यालो अनुहारमा मुस्कान छर्दै फेरि हाँसिन्।


उनको आफ्नै युट्युब च्यानल छ, जहाँ यम बुद्धसँग गाएको ‘काठमाडौँको ठिटो’, रोनित खालिङसँग गाएको माया कसरी जस्ता नेपाली गीत छन्। नेपाली भन्दा धेरै अङ्ग्रेजी गीतमा रमाउने उनी वियोन्सेकी फ्यान हुन्, एडेल मन पराउँछिन्। उनको साथी सुजन जोशीको रेकर्डिङ स्टुडियो छ 'साइक स्टुडियो'। सङगीतमा आफ्नो सक्रियताको श्रेय उनी सुजनलाई नै दिन्छिन्। 

उनका आफ्नै गीतहरु धेरै छन् रे, जुन उनी बिस्तारै सार्वजनिक गर्ने सुरमा छिन्।

छुट्टिनुअघि उनले र्‍याप सुन्ने आग्रह अनकनाउँदै नकारिन्। बरु त्यसको साटो, फ्र्यान्क ओसनको गीत गुनगुनाइन् ‘थिङ्किङ अबाउट यु।’

 

 

प्रकाशित ६ पुस २०७३, बुधबार | 2016-12-21 14:36:15

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • केरुङ–रसुवागढी नाका

    नुवाकोटमा नेपाल-चीन औद्योगिक पार्क निर्माण यसै वर्ष अघि बढ्ने

    विश्वको अल्पविकसित मुलुकमध्ये पर्ने नेपालमा कृषि वस्तुबाहेक अरु अधिकांश कुरा आयातमा निर्भर हुनुपरेको बताउँदै वाङ्ले यसबाट आम नेपालीको आवश्यक मागको...