धुनमा गाउँ खाने कथा


तस्विरः सन्देश दुमरु

डेढ वर्षअघि जेसन कुँवर बलम्बुतिर जाँदै थिए। बाटोभन्दा अलि परको इँट्टा भट्टा अगाडिको दृश्यतिर उनको आँखा दौडियो। दौडाइरहेको साइकलमा बे्रक लगाउँदै ८–१० वर्षका बच्चाहरुले लाइनैसँग उभिएर इँट्टा ओसारेको दृश्य हेर्न थाले। त्यहीँ एउटा बच्चा कालो ढुंगामाथि सुतिरहेको थियो। बच्चाकी आमाचाहिँ इँट्टाको भारी बोक्नमा व्यस्त थिइन्।

त्यो दृश्यले जेसनको मनलाई लामो समय घोचिरह्यो, दिमागलाई पछ्याइरह्यो। लामो समयसम्म छटपटिएपछि उनले कोरे,

कालो ढुंगा सिरानी तिम्रो
निथ्रुक्कै मायामा भिजेको यो मन
हावा नचले नि बयेली खेल्छन्
कालो ढुंगा सिरानी तिम्रो
तुसारे तिम्रो कमिज

'कालो ढुंगा' नाइटको दोस्रो एल्बमका लागि तयार भएको गीत हो। झण्डै ९ वर्ष लामो साङ्गीतिक जीवनमा दोस्रो एल्बम निकाल्न लागेको नाइटले सन् २०१५ मा पहिलो एल्बम ‘अनि उकाली, सँगै ओराली’ निकालेको थियो।

बच्चादेखि नै जेसनलाई बाँसको टुक-टुक आवाज मन पर्ने भएकाले कालो ढुंगामा उनले 'ब्याम्बु म्यालेट' प्रयोग गर्दै टकटक टकटक आवाज निकाल्ने रहर गरे। नाइटका साथीहरुसँग उनको लय यति मिलिसकेको छ कि साथीहरुले पनि शब्दको भावअनुसार धुन सृजना गर्न साथ दिइहाले। भन्छन्, ‘हरेक गीत बनाउनुभन्दा अघिदेखिको पृष्ठभूमि ब्यान्डका सदस्यसँग साट्दै आएकाले साथीहरु आँ गर्दा अलङ्कार बुझ्ने भइसकेका छन्।’ ‘नाइट’मा जेसन कुँवर, मीना(सुम्निमा) सिंह, निरज शाक्य, शिवकुमार खत्री, सुधीर आचार्य र बिराट बस्नेत गरी हाल ६ जना सदस्य छन् । 

सबै गीतमा पहिला शब्द र त्यसपछि मात्र सङ्गीत बनाउने आफ्नो अभ्यासबारे उनले थपे, ‘गीत बनाउने प्रक्रिया अनौपचारिक हुन्छ, कहिले टाउकोबाट सुरु हुन्छ त कहिले पुच्छरबाट। तर यसको मूल स्रोत मन र समाज नै हो।’ गीतमा शब्द लेख्ने र धुन भर्ने कामभन्दा अदृश्य ‘इन्टान्जिबल’ प्रक्रिया पनि हुन्छ भन्छन् उनी।

समूहका सबै गीत लेखेका जेसन रचनागर्भबारे भन्छन्, ‘ठालुले निर्धालाई, टाठाले सोझालाई थिचे-मिचेको विषय र बहुजातीय-बहुभाषिक नेपाली समाजको विविधता नै मेरो/हाम्रो गीत सङ्गीतको स्रोत हो। पूर्वी नेपालको सङ्गीत संस्कृति बुझ्न जाँदा उनले सतार समुदायका मानिसलाई नेपाली भाषा नआएकै कारण साहु–महाजनहरुले औँठा छाप लगाई उनीहरुकै जमिन र भाग्य खोसेको देखेका थिए।

आफू चार्टर्ड एकान्टेन्सी (सिए) पढ्न मलेसिया जाने क्रममा आफूजस्तै ५० भन्दा बढी मधेसी दाजुभाइलाई त्यही देशमा श्रम बेच्न जान लागेको पनि देखे। खाडी मुलुकबाट बाकसमा तिनै श्रमिकका शव नेपाल भित्रिने कुराले पनि उनको मन पोलिरहेको थियो। यसै सन्दर्भमा उनले आक्रोशित भएर ‘सुनको जुत्ता’ रचे।

विभिन्न जातजातिका रीतिरिवाज, मूल्य–मान्यता, परम्परागत अभ्यास र लोपोन्मुख बाजागाजाको सोधखोजका लागि जेसन कहिले एक्लै त कहिले ब्यान्डका साथीहरुसँग लामो समय गाउँमा बिताउँछन्। नेपाली सङ्गीत संस्कृतिको मुख्य स्रोत र आधार आखिरमा यिनै रैथाने परम्परा र ज्ञान त हुन्। यिनै स्रोतलाई आधार बनाएर लामो प्रक्रिया, सोधखोज र सुझबुझबाट जन्मेका गीत भएकैले होला नाइटका कठोर, पुतली, तुइन, कोसी जस्ता गीतले स्रोताको मन जितिसकेको छ।

नाइट समूहसँग आबद्ध भए पनि जेसनले केहीमा एक्लै त केहीमा ब्यान्डकै सदस्य निरज शाक्यसँग मिलेर फिल्मका लागि पाश्र्व सङ्गीत सिर्जना गर्ने काम पनि गरिरहेका छन्। ‘छड्के’, ‘टलकजंग भर्सेस टुल्के’, 'झोला', ‘पशुपतिप्रसाद’, ‘गाँठो’, 'कालो पोथी' आदिमा उनले गरेको कामको राम्रो प्रतिक्रिया पाएका छन्। जेसनको शब्द र संगीतमा आनी छोइङ डोल्माले गाएको कालोपोथीको गीत 'लामा खेनो' र सो फिल्मको ब्याकग्राउण्ड स्कोर'का लागि हालै सिकागो म्युजिक लाइब्रेरीमा सम्पन्न एसियन वर्ल्ड फिल्म फेस्टिभल अवार्ड समेत पाए।

नाटक ‘खरीको घेरो’का लागि पहिलो गीत ‘कठोर’ बनाएयता नाइट र जेसनको नाम र कामको पहुँच फिल्म, नाटकदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चहरुसम्म फैलिइसकेको छ। सन् २०१५ मा युरोपको ‘साम्बला फेस्टिबल’मा प्रस्तुति दिने पहिलो नेपाली साङ्गीतिक टोली बन्ने अवसर नाइटले पायो। यस्तै, सन् २०१६ मा पनि नाइटलाई बेलायतको ‘मेकिङ्ग ट्र्याक्स आर्ट काउन्सिल अफ इंग्ल्यान्ड’ले निम्तो गरेको थियो। त्यसपछि यसै वर्ष यो समूहले अस्ट्रियाको भ्रमण गरिसकेको छ।

तै पनि उनी भन्छन्, ‘म आफैंसँग असन्तुष्ट छु।’
किन त?
जेसनलाई लाग्दो रहेछ, नाइटका लागि बनाइएका गीतमा आफ्नो रुचिअनुसारकै काम गर्दागर्दै पनि केही छुटिरहेको छ। मनको अन्तर–कुन्तरमा पोख्न बाँकी अझै केही लुकिरहेको छ। यो कुरा उनी नाइटका साथीहरुसँग न साट्न सक्छन्, न त तिनलाई बुझाउन नै। कति कुरामा त उनी आफैं प्रस्ट हुन पनि बाँकी छ रे। मान्छेहरु व्यक्तिगत डायरीमा शब्द मार्फत जसरी निर्वाध पोखिन्छन्, उनी पनि सङ्गीत मार्फत त्यसरी नै पोखिन चाहन्छन्। यही क्रममा उनले एउटा एकल एल्बम तयार पार्ने निर्णय लिएका छन्, ‘गाउँ खाने कथा’।

त्यसमा अहिले बनाइराखेका गीतभन्दा फरक के हुन्छ त? उनी भन्छन्, ‘गीत पूरै फरक हुने भन्दा पनि यो काम मेरो एकल कन्फेसन, विद्रोह र असन्तुष्टिको निकास हुनेछ।’ अरु कुरा नखुलाए पनि समाजका विकृति विसङ्गति कम गर्न आफ्नो भूमिका के त भन्ने प्रश्नमा घोरिइनु उनको असन्तुष्टिको एउटा मुख्य स्रोत रहेछ।

‘गाउँ खाने कथा’ ल्याउने धुन भए पनि उनी आगामी वर्षसम्म नाइटको दोस्रो एल्बम निकाल्ने काममै व्यस्त हुनेछन्। ‘एकल एल्बमको काम पनि सँगसँगै लाने प्रयास गरिरहेको छु,’ तर त्यो कहिले सकिन्छ उनी आफैंलाई थाहा छैन। भन्छन्, ‘हेर्दै जाम्।’
यही सिलसिलामा उनी केही महिनाअघि कर्णाली पुगेका थिए। दुई महिनाभन्दा लामो बसाइमा उनले कनिकुथी खस भाषा सिके। त्यहाँका स्थानीय कलाकारसँग भेटे। केही समय बिताएपछि ठाडी भाकामा गीत पनि लेखे।

अपरिचित गाउँठाउँ चहार्दै भाका र बाजाबारे सोधखोज गर्नु रहर कि बाध्यता? उनी प्रस्ट पार्छन्, ‘हामीले बजाउने धेरै बाजा रैथाने हो। यसबारे हामीलाई भन्दा स्थानीय मान्छेलाई बढी थाहा हुन्छ। गाउँघर घुम्दा बाजा र भाकासँग जोडिएको सांस्कृतिक सन्दर्भ पनि बुझिन्छ।’

यो भन्दा बढी चाहिँ स्थानीय कलाकारसँग सङ्गत गर्दा उनीहरुको रगतमै रहेको सङ्गीतको ज्ञान नै नसरे पनि, तिनका आत्माको सानो अंश चोर्न सकिन्छ कि भन्ने लोभ छ उनमा। भन्छन्, ‘स्थानीयसँगको उठबसले परोक्षरुपमै भए पनि लोक संस्कृतिबारे धेरै कुरा सिकाउँछ। आफ्नो कामलाई आफ्नै नजरमा अथेन्टिक बनाउँछ।’

गाउँगाउँ डुल्न भने सजिलो छैन। आर्थिक पाटो त छँदैछ, थरिथरिका मान्छेसँग घुलमिल हुन मानसिक रुपमै तयार भएर हिँड्नुपर्छ। हाँस्दै भन्छन्, ‘आफू जाँड नखाने मान्छे परेँ, तर गाउँमा सबैलाई रक्सी खाएर नाच्नुपर्छ। अरुको होमा हो मिलाउन सक्नुपर्छ।’ काठमाडौँबाट आएको भन्ने बित्तिकै गाउँका मान्छेले हेर्ने ‘अर्कै नजर’लाई सहज बनाउनमै लामो समय बित्छ। गाउँमा काठमाडौँबाट गएकालाई एकातिर ‘ठूलो’ मान्ने दृष्टिकोण हाबी छ, अर्कोतिर पैसा कमाउने स्वार्थ बोकेर आएका मान्छेको रुपमा हेर्नेहरुको पनि कमी छैन। यस्ता बुझाइलाई ‘डिकोड’ गर्नमै उनको पहिलो हप्ता बित्छ।

 

कहिलेकाहीँ त जेसनलाई आफ्नो काम बुझाउन पनि हम्मेहम्मे पर्ने रहेछ। कर्णालीको किस्सा सुनाए, ‘मैले ठाडी भाकामा एउटा गीत लेखेको थिएँ। भाका सुन्ने बित्तिकै ए ठाडी यस्तो रैछ भनेर अब्जर्भेसनको आधारमा हामी गीत बनाउन सक्छम्। तर त्यो रचना ठाडी हो भन्नेमा धेरैले शंका गरे।’ स्थानीय कलाकारको सन्देह मेट्न उनले त्यो समूहभन्दा अलि परको एक जना बच्चीलाई त्यो ठाडी गाउन दिए। ‘त्यहीँको बच्चाको स्वरमा गीत सुनेपछि बल्ल उहाँहरु कन्भिन्स्ड हुनुभयो।’

जसरी घरमा भात खाँदा पैसा तिर्नुपर्छ भन्ने भाव नै आउँदैन, सङ्गीत सिर्जना गर्दा पनि काम गरेको भाव आउँदैन जेसनमा। सङ्गीतबाहेक अरु काम भने उनका लागि बोझ बनिदिन्छ। त्यही भएर मलेसिया पुगेर सिए पढ्दा पनि रमाउन सकेनन् उनी। न त सुरुमा बजाउने हेभी मेटल र विदेशी बाजाले नै उनलाई सन्तोष दियो। घुमीफिरी उनी नेपाली लोक संस्कृति, लोपोन्मुख र प्रयोगमा नआएका बाजागाजामै रमाए। यही कारण सन् २००१ मा बनाएको मेटल ब्यान्डलाई उनले सन् २००६ मा नयाँ लोक पाठशाला अर्थात 'नाइट' बनाए।

गाउँगाउँ डुलिहिँड्दा धेरै कथा सुने उनले। तिनै कथाहरु उनको एकल एल्बममा गीत बनेर गुन्जिनेछन्। सँगै, सङ्गीत मार्फत मान्छेले गाउँ कसरी खाइरहेका छन् भन्ने विषय पनि उतार्ने छन्। यो एल्बममा जेसनले ‘पड्किन्छ बारुद’ र सन् २०१५ मा विश्व शान्ति दिवसका लागि इन्टरनेसनल एलर्टको प्रोजेक्टअन्तर्गत भारतीय सङ्गीतकार एआर रहमानसँगै काम गरेको सङ्गीत पनि समावेश गर्नेछन्।

जेसनको गाउँ खाने कथा परम्परागत सङ्गीतलाई ‘कन्टेम्पोररी’ स्वादमा ढाल्ने जमर्को र लोक अनुभवमा ‘आधुनिक चेत’ मिसाउने एउटा अर्को प्रयास पनि हो।

प्रकाशित २१ मंसिर २०७३, मंगलबार | 2016-12-06 10:22:57

प्रतिकृया दिनुहोस

  • यस्तो छ 'तुइन'को ट्रेलर (भिडियो)

    तुइन वारीबाट पारी जाने माध्यम मात्रै होइन, नेपाली दुःखको विम्ब पनि हो। भौगोलिक जटिलताका कारण तुइनमा यात्रा गर्नु पर्ने बाध्यताका कारण धेरै नेपाली...

  • दारी ग्याङको गीत ‘के म पनि त मान्छे हैन र!’ (भिडियो)

    निस्किन्छु बाटोमा जब फर्कि हेर्छ मान्छे किन नचाहिने नानाथरी कुराहरु गर्छ किन के म पनि त मान्छे हैन र समाजलाई हाम्रो खाँचो छैन र... यी शब्दहरु...

  • के गर्दैछन् मिस नेपालका यी सुन्दरी?

    राजधानीको अन्नपूर्ण होटलमा आइतबार भएको तालिममा मिस नेपालका सहभागी प्रतिस्पर्धी सदस्यहरुलाई खाना खाने शैलीबारे सिकाइएको थियो। प्रतियोगिता हुनुअघि...

  • लेखक-डाक्टरको समीरको 'भूकम्पमा मलहमपट्टी'

    महाभूकम्पको दोस्रो वार्षिक उत्सवको अवसर पारेर लेखक तथा डाक्टर रवीन्द्र समीरको एघारौं कृति 'भूकम्पमा मल्हमपट्टी' बजारमा आएको छ। २०७२ वैशाख १२ गतेको...

  • तीन वर्षे विश्रामपछि फेरि ‘पलेटी'

    आधुनिक नेपाली संगीतको विकासक्रम सम्झाउने र यसको स्वर्णीमकालको उपासना गर्ने मञ्च ‘पलेटी श्रृंखला’ सुचारु हुने भएको छ। पुराना सर्जकहरुको सम्मानमा... साङ्गीतिक समूह नेपथ्यले आफ्नो स्थापनाको २५ औं वर्ष मनाउने क्रममा पलेटी श्रृंखलाको व्ययभार बेहोर्ने घोषणा गरेपछि फेरि सुचारु हुन लागेको हो।

  • सस्पेन्स थ्रिलर 'पर्व'को ट्रेलरमा हेर्नुस् नम्रताको छटपटी (भिडियो)

    नम्रता श्रेष्ठ र कोशिस क्षेत्रीको मुख्य भूमिका भएको फिल्म 'पर्व' सार्वजनिक भएको छ। राजधानीमा आइतबार सम्पन्न कार्यक्रममा आयोजना गरी निर्माण युनिटले...

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बच्चाले ‘गर्छ’ सिक्तैन

    शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम...

  • भुइँचालोपछि राहत पर्खिरहेका सर्वसाधरण (फाइल फोटोः पालनी मोहन)

    भूकम्पः वर्ष दोस्रो, किस्ताः न पहिलो न दोस्रो

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणको १४ महिना बिताइसक्दा पनि सबै पीडितले पहिलो किस्ता पाउन सकेका छैनन्। दुई वर्षअघि वैशाख १२ गते गएको...

  • तेल चोरी रोक्न जेठ १ बाट ट्यांकरमा 'लकिङ सिस्टम'

    ‘नेपाली ट्यांकरमा अटोमेटिक लकिङ सिस्टम जडान गर्ने विषयमा भारतले पनि सहमति जनाएको छ,’ आपूर्ति विभागका डाइरेक्टर तथा निगमका प्रवक्ता पोखरेलले...

  • के गर्दैछन् मिस नेपालका यी सुन्दरी?

    राजधानीको अन्नपूर्ण होटलमा आइतबार भएको तालिममा मिस नेपालका सहभागी प्रतिस्पर्धी सदस्यहरुलाई खाना खाने शैलीबारे सिकाइएको थियो। प्रतियोगिता हुनुअघि...