स्थलगत

घर पाउन बनको बास!

चिसो यथार्थमा पनि जीवन बदलिने लाप्राकीको न्यानो आशा



भूकम्पपछि गाउँबाट बिस्थापित लाप्राकका मानबहादुर गुरुङले २० महिने अबधिमा तीन ओटा टहरो (घर) बनाए। पाँच सन्तानसहित श्रीमती र उनको काम भुमे सामुदायिक बनको भीरालो जग्गा खारेर घडेरी बनाउँदै टहरो उभ्याउँदैमा बितेको छ। परिवारलाई ओतमा राख्ने टहरो बनाएर मात्रै कहाँ उनले आफ्नो जिम्मेवारी पूरा गर्न पाउँछन् र? उनको पेशा होटल ब्यवसाय हो। पेशालाई निरन्तरता दिन पनि उनले होटल राख्ने टहरो बनाउनुपर्नेछ।

‘घर मात्रै हो र होटल पनि तीन ठाउँमा सारिसके’ गुप्सीपाखाको बनमा जमेको हिउँ फ्याक्दै घडेरी खार्न ब्यस्त गुरुङले भने, ‘होटलबाट कमाइ होला भन्ने आश मरिसक्यो, सामान यताउता सार्दा ऋणमा पो डुब्ने भएँ।’ हिउँ परेपछि बढेको चिसो खप्न नसक्दा उनका सन्तान पूरानै गाउँ झरेका छन्। गुप्सी २७०० मिटर उचाइमा छ। पूरानो लाप्राक गाउँको उचाइ २१०० मिटर हो । पूरानो गाउँमा हिउँको कुनै परवाह छैन । कहिलेसम्म टहरोमा बस्ने ? उनले भने, ‘घर नपाउँदासम्म बस्नुपरेन?’ लाप्राकीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले घर बनाइदिने जिम्मा लिएको छ। त्यसैले सरकारले लाप्राकीलाई घर बनाउने किस्ता उपलब्ध गराएको छैन। 

लाप्राक १ की तारा गुरुङ हिउँमा खेल्दै थिइन्। स्कूल किन नगएका ? उनले भनिन्, ‘स्कूल टाढा सारेको छ।’ कक्षा ३ मा पढ्दै आएकी उनी गुप्सीबाट अन्यत्रै बिद्यालय सारेपछि पढ्न गएकी छैनन्। बिद्यालयको टहरो पनि निर्माणाधीन छ। बिद्यालयमा पठनपाठन हुन सकेको छैन। लाप्राकबाट बिस्थापित छ सय घरपरिवारका लाप्राकी गुप्सीबाट पनि बिस्थापित भएका छन्। एनआरएनएले लाप्राक नमूना बस्ती निर्माण गर्न गुप्सीका टहरोमा डोजर लगाएपछि भूकम्प प्रभावितहरु टहरा बनाउने ठाउँको खोजीमा गुप्सी नजिकैका बन, रिनजुलुङ र पूरानै गाउँतिर झर्न बाध्य छन्। गुप्सीमा बसेकामध्ये ९० प्रतिशत भूकम्प प्रभावितहरु अहिले नयाँ टहरो बनाउँदै छन्।

टहरो न्यानो बनाउन चित्रो बुन्दै लाप्राकका बासिन्द्र गुरुङ

रिनजुलुङको खोरियामा प्लास्टिक, त्रिपाल र जस्तापाताले छाएको टहराहरु प्रशस्तै देखिन्छन्। बढ्दो चिसोमा बृद्धबृद्धा, बालबालिका, सुत्केरी तथा बिरामीहरु सकस झेल्दै छन्। गुप्सीबाट स्वास्थ्यचौकी पनि अन्यत्रै सरिसकेको छ। गाउँमा भनेका बेला स्वास्थ्यकर्मी र औषधि नहुँदा बिरामीले समयमै उपचार सेवा पाएका छैनन्। स्थानीय समाजसेवी मारर्सिङ गुरुङले तीन पटक टहरो बनाउनुपर्दा अनेक समस्याहरु झेल्नुपरेको बताए। ‘गाउँमा युवाहरु छैनन्, पैसा कमाउने आशमा बिदेशिए’ उनले भने, ‘कहाँ बास बस्ने भन्ने गाउँलेको ठेगान छैन।’ गुप्सी छाडेर रिनजुलुङ सरेका गुरुङले भने, ‘पोहोरजस्तो बाक्लो हिउँ नपरेपनि यसपाली धेरै चिसो बढ्यो। तुसारोले हो चिसो बढाएको। स्याँठले टहरो भित्र पनि न्यानो हुँदैन । रातभर निन्द्रा पदैन।’

लाप्राकीले गुप्सीपाखामै दुई बर्षको जाडो झेले। अर्को बर्षको हिउँदसम्ममा नयाँ घर पाइने र आनन्दले जीवन निर्वाह गर्न पाइने आशमा लाप्राकी छन्। ‘६१२ जनाको घर बनाउनुपर्ने हो तर एनआरएनएले ५ सर ७३ जनाको मात्रै घर बनाउने तयारीसाथ घडेरी खारेको छ’ वडा नं. ५ का गणेश गुरुङले भने, ‘गुनासो गर्नेहरु पनि वास्तविक भूकम्पपीडित भएकाले उनीहरु लाई पनि एनआरएनएले घर बनाइदिनुपर्छ।’ कामदार नपाउनेलगायत समस्याले गर्दा गुप्सी बाट घर, टहरा, बिद्यालय, स्वास्थ्यचौकीलगायत संरचना अन्यत्र सार्न समस्या भएको उनले बताए। अरु के समस्या भोग्नुपरेको छ ? उनले भने, ‘पानी जम्छ, घाम नलागेसम्म धारामा पानी आउँदैन।’ बास बस्ने ठाउँ मात्रै होइन, खानेपानी र शौचालयको पनि समस्या छ।

हिउँमा खेल्दै बालिका तारा गुरुङ

लाप्राकलाई नमूना बस्ती बिकास गर्ने कामलाई तीव्रता दिन बिद्युत् तथा पानी ल्याउने काम गरिसकिएको छ। नेपाल टेलिकमले नमस्ते मोवाइल सेवा छिट्टै उपलब्ध गराउने गरी टावर निर्माणलाई अघि बढाएको छ। गुप्सीमा मौसमको अवस्था हेर्न नेपाल सरकारले हावापानी केन्द्र स्थापना गरिसकेको छ।

एनआरएनएको तयारी
आउँदो अक्टोवर ११ का दिन ‘एनआरएनए डे’ मा लाप्राकीलाई गोला प्रर्थाद्वारा घरको साँचो हस्तान्तरण गर्ने एनआरएनएले जनाएको छ। आउँदो फेव्रुअरी १ का दिन निजी आवासका लागि जग हाल्ने र धमाधम घर निर्माण कार्य अघि बढाउने लाप्राक नमूना बस्ती निर्माणको काम हेर्दै आएका इन्चार्ज राजेन्द्र भट्टले जानकारी दिए।

एनआरएनएले घर बनाउन घडेरी खारेको गुप्सी र हिउँ

‘गुप्सीपाखाका टहरो हटाएर घडेरी खार्ने काम अन्तिम चरणमा पुर्याएका छौँ’ गुप्सीपाखामा भेटिएका उनले भने, ‘दिनहुँ ९ हजार इट्टा उत्पादन गर्ने मेशीन गुप्सीपाखा ल्याइसकेका छौँ।’ इट्टा बनाउन मिल्ने माटो परीक्षण गर्ने कार्य भइरहेको उनले बताए। लाप्राक पुनर्निर्माणको काम अघि बढाउन एनआरएनएका अध्यक्ष शेष घले यसअघि नै छ पटक लाप्राक पुगिसकेका छन्। दुई महिनादेखि लाप्राकमा बस्दै आएका भट्टले भने, ‘एनआरएनएले पहिलो पटक दुर्गममा नमूना बस्ती निर्माणको जिम्मा लिएको हो। हामी हाम्रा स्वयसेवकमार्फत्, दक्ष जनशक्ति कामदारमार्फत् धमाधम घर बनाउँछौँ।’ एनआरएनएले गुप्सीपाखामा निजी घर मात्रै होइन, बिद्यालय, स्वास्थ्यचौकी, गुरुङ संस्कृति झल्किने संग्रहालय, खुल्ला चौरहरु निर्माण गर्ने जनाएको छ।

गुप्सीको बनमा हिउँ पन्छाएर घडेरी खार्दै एक महिला

कति खर्चमा कस्तो घर बनाउँछ एनआरएनएले ?
एनआरएनएले लाप्राकमा एउटा घर निर्माणमा कम्तिमा १५ लाख रुपैंया लगानी गर्ने तयारी गरेको छ। चार कोठे, दुई तले बन्ने घरमा सोलार र बिद्युत् जडान हुनेछन्। घरभित्र चिसो हुनेछैन। सोलार वा बिद्युतीय प्रबिधिद्वारा घर न्यानो बनाउने ब्यबस्था मिलाइने, शौचालयमा पनि तातो, चिसो पानीको ब्यबस्था हुने भट्टले बताए। ‘प्रत्येक घरको एउटा कोठा होमस्टेका लागि हो’ उनले भने, ‘लाप्राक पर्यटकीय ठाउँ हो, होमस्टे चाहिन्छ। यहाँ पर्यटक आउँछन्।’ एउटा घर निर्माण गर्न ३ आना ३ पैसा क्षेत्रफलको जग्गा आवश्यक पर्छ । मन्त्रीपरिषद बैठकले भुमे सामुदायिक बनको १८.२ हेक्टर क्षेत्रफलको जग्गा लाप्राकीलाई भोगचलन गर्न पाउने अधिकारसहित घडेरी उपलब्ध गराएको थियो। लाप्राकीहरु छिटो घर पाउने पर्खाइमा छन्।

गुप्सीपाखाबाट बिस्थापित भूकम्पप्रभावित रिनजुलुङको जंगलमा टहरो बनाएर बस्दै



प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 13:36:31

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • साडी, स्वीटर र ब्लाउजमा बुट्टा भर्ने तथा कढाइ गर्ने सीप सिकिरहेका एकल जीवन बिताउँदै आएका रोल्पाका महिला

    सीप सिकेर जीवन बदल्ने प्रयास गर्दैछन् रोल्पाका यी एकल महिला

    उमेर नपुग्दै विवाह गर्ने चलन रोल्पामा अझै घटेको छैन। सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्ध विच्छेद...

  • परासर आश्रमतनहुँको सेती र मादी नदीको किनारमा अवस्थित परासर आश्रम

    पर्यटकीय स्थलमा बदलिँदै छ व्यास क्षेत्र

    पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासका दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहुँको सकृयतामा करिब २७...

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...