स्थलगत

रुप फेर्दै मुसहर बस्ती

यस्तो छ धुर्मुस-सुन्तलीको गाउँ बनाउने तेस्रो योजना



अशिक्षा, अज्ञानता, गरिबी, बाल बिवाहको चरम अवस्थामा रहेको आफ्नो गाउँ एकाएक नमूना गाउँमा परिणत हुँदैछ भनेर कहिले लागेको थिएन, मञ्जय सदालाई। एक छाक टार्नका लागि धौधौ पर्ने मुसहर बस्तीले नयाँ रुप पाउनेछ भनेर पनि कहिले सोचेनन् उनले। तर अहिले उनको त्यो नसोचिएको सपना साँच्चै विपनामा परिणत हुँदैछ।

‘आज हर्षको सिमा नै छैन, शब्दमा व्यक्त गर्न सकिरहेको छैन, कति हो कति खुसी लागेको छ,’ सदा भन्छन्। धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण गरिने एकीकृत नमूना मुसहर बस्तीको शिलान्यास कार्यक्रममा उनी जस्ता थुप्रै सदाहरु खुसी बाँडिरहेका थिए। सदा भन्छन्, ‘नगरपालिका नै भएर पनि हामी अर्को कुनै ग्रहको प्राणी जस्तो थियौं। न बिजुली, न पानी, न रोजगारी। तर अब हामीले नि यी सुविधा उपभोग गर्न पाउन लागेका छौं। एकदमै खुसी छौं। धुर्मुस सुन्तली हाम्रो लागि न्यायो दिने घाम हुन्।’ सदा जस्तै गरी लट्टु सदा पनि उत्तिकै खुसी देखिन्थे। भन्दै थिए, ‘नयाँ घर पाउन लागेका छौं, भुँइमा खुट्टा छैन। हामी पनि यो काममा जस्तोसुकै सहयोग गर्न तयार छौं।’

‘मुसहर बस्तीमा बस्ती नै निर्माण भइसकेको जस्तो भएको छ,’ सिता सदा भन्छिन्, ‘मुसहर समुदायमा रहेको कुस, परालको घर, त्यो पनि निकै सानो घर अनि बर्सातको समयमा पानी चुहिएर रातभर जाग्राम बस्नुपथ्र्यो अब त्यो अन्त्य हुने भएको छ।’ यो बस्ती बिस्तारका लागि काम सुरु भएसँगै यहाँका ६० भन्दा बढी बालबालिका विद्यालय जान थालेका छन्। एक गाग्रो पानी लिनका लागि घण्टौं धाउनुपर्ने दिन गएको छ। बस्तीको बीचमा नै पानीको धारो उभिएको छ। खुला रुपमा शौचालय प्रयोग गर्ने मुसहर पक्की शौचालयको प्रयोग गर्न थालेका छन् भने बस्तीमा बिजुली बत्तीले प्रकाश छर्न थालेको छ।

बर्दिबास नगरपालिका वडा नम्बर २ को यो बस्तीमा गत सोमबार निकै भिडभाड भयो। जिल्लाका गन्यमान्य सबैजसो उपस्थित रहेको उक्त भेलामा राष्ट्रियस्तरका कलाकारको पनि राम्रै जमघट थियो, नमूना बस्ती शिलान्यासको अवसर पारेर। काभ्रेपलाञ्चोकको पहरी र सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत नमूना बस्ती निर्माण गरेका सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस, सुन्तली) ले तेस्रो एकीकृत नमूना बस्तीको रुपमा सो बस्तीको निर्माण गर्न लागेका हुन्।

तीन महिनाको अवधिमा ५० घर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य लिएकाले दैनिक दुई सयभन्दा बढी काम गर्ने ज्यामी मिस्त्री खटिने कट्टेलले जानकारी दिए। जाजरकोटका २५ जना ज्यामी मिस्त्री बस्तीमा खटिइसकेका छन्। काम समयमै सम्पन्न गर्नका लागि थप १५ जना ज्यामी मिस्त्री आउँदैछन्। त्यसका अलावा बस्तीकै मुसहर समुदायले प्रत्येक धुरीबाट दैनिक एकजनाको दरले श्रमदान गर्नेछन्। बस्ती निर्माणका लागि ‘क्विक भोलेन्टियर’ बाट पनि दैनिक ९–१० जना स्वयंसेवी खटिने भएका छन्।

भुइँतलाका तीन कोठा र माथिल्लो तलामा दुई गरी जम्मा पाँच कोठाको घर बनाउने फाउन्डेसनको तयारी छ। माथिल्लो तलामा बरन्डा पनि निकालिने भएको छ। शौचालय घर बाहिर निर्माण हुनेछ। बस्तिभित्र एक बाल उद्यान, सार्वजनिक शौचालय, धारा लगायत हुनेछन् भने सडक पिच हुनेछ। बस्ती निर्माण गर्दा मौलिकतालाई पनि ध्यान दिइने भएको छ। बस्ती अपांगमैत्री र बालमैत्री हुनेछ। साथै बस्तीको मध्यभागमा मुसहरको कुल देवताको मन्दिरसहितको रुख रहेकाले सो क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित मन्दिर बनाइने भएको छ।

फाउन्डेसनले ५० परिवार मुसहरलाई एकीकृत बस्ती निर्माण गरी उपहारस्वरुप घर प्रदान गर्न लागेको हो। नयाँ एकीकृत बस्ती निर्माणका लागि चार करोड ७८ लाख लगानी लाग्नेछ। उक्त बस्ती निर्माणका लागि फाउन्डेसनले गिरान्चौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैँया समेत खर्च गर्नेछ। यही चैतको अन्तिमसम्म बस्ती निर्माण गरी उनीहरूलाई २०७४ साल वैशाख १ गते हस्तान्तण गर्ने लक्ष्य लिइएको छ। बस्ती निर्माणका लागि प्रकाश कोइराला लुरेन्स कन्ट्रक्टिङ एन्ड जेनेरल क्लिनिङ कम्पनीका तर्फबाट ४० लाख रकम प्राप्त भएको छ भने शिलान्यासकै दिन विभिन्न संघ संस्था र व्यक्तिबाट ३५ लाख रुपैयाँ रकम उठेको छ।

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 10:53:20

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...

  • खुसी रहन अपनाउनुपर्ने यी पाँच उपाय

    मानिसको दिमागलाई के कुराले खुसी बनाउँछ त? अथवा एक व्यक्तिले बढी खुसी प्राप्त गर्न कस्ता कुरामा ध्यान दिनुपर्छ त? एक न्युरो साइन्टिस्ट एलेक्स कर्बका...

  • गुरुङ थातथलो पुग्दा यस्तो देखियो इतिहास

    अन्नपूर्ण र लमजुङ हिमालको फेदमा अवस्थित क्होला सोँथरलाई तीन गाउँमा विभाजन गरिएको छ। क्होला सोँथरको पश्चिमी भागमा केही घरहरुको अवशेष देख्न सकिन्छ...