‘बन्ने भो बाहिरी चक्रपथ’

पहिलो चरणमा सतुङ्गलदेखि चोभारसम्मको काम



बाहिरी चक्रपथ आयोजनाले आगामी दुई महिनाभित्र सतुङगलदेखि चोभारसम्मको सडक निर्माण थालिसक्ने जनाएको छ।

आयोजनाले बाह्य चक्रपथको उत्तरी खण्ड बाहेकको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) यो महिनाभित्रै सहरी विकास मन्त्रालयमार्फत पास गराएर काम थाल्ने तयारी गरेको हो। यसका लागि बाहिरी चक्रपथ आयोजना व्यवस्थापन समितीले डिपीआर स्वीकृति समेत गरिसकेको छ। काम सुरु गर्नका लागि ३ करोड रुपिँया बजेट निकासा समेत भईसेकेको छ।

स्थानीयवासीको राम्रो साथ पाएकाले यो क्षेत्रबाट काम सुरु गर्न लागिएको बाहिरी चक्रपथ निर्माण आयोजना प्रमुख दिपक श्रेष्ठले बताए। ‘पहिलो स्टेपमा नै हामीलाई स्थानीयबाट कामका लागि आग्रह समेत भयो’ श्रेष्ठले भने, ‘ ढुक्क हुनुहोस्, बाहिर चक्रपथ बन्छ।’ सतुङगलदेखि काम सुरु हुने खबर सँगसँगै यो पटक कीर्तिपुरका स्थानीयले बाहिरी चक्रपथ निर्माणका लागि सकारात्मक सहयोग गरेको प्राधिकरणले जनाएको छ।

योजना अनुसार मन्त्रालयमार्फत् प्रतिवेदन पास भए लगत्तै सङतुगलदेखि गाम्चाहुँदै चोभारसम्म सिमांकन गर्ने, जग्गा रोक्का गर्ने, नयाँ ट्रयाक खोल्ने र ग्रावेलसम्म गर्ने आयोजना प्रमुख श्रेष्ठले बताए।

‘हामी यो महिना भित्रै प्रतिवेदन मन्त्रालयबाट पास गराएर आयोजना थाल्ने क्रममा छौं’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘प्रतिवेदन पास गराएर आगामी महिनाबाट फिल्डमा खट्ने योजना बनाएका छौं।’ उनले त्यही अनुसार काम द्रुत गतिमा अघि बढ्ने पनि दाबी गरे।

अघिल्लो पटक तयार पारिएको नापी नक्सामा परिमार्जनसहित परिवर्तन गर्नु पर्ने भएकाले निर्माण सुरु गर्न यो बीचमा केही ढिलो भएको भनाइ आयोजनाको छ। नक्सा पुन डिजाइनका लागि फुलब्राईट कन्सलटेन्सीले काम गरिरहेको छ। ‘पहिला जे भयो, भयो अव नयाँ ढङ्गबाट तिव्र गतिमा काम सुरु हुने छ’ प्रमुख श्रेष्ठले बताए।

उपत्यकाका तीनवटै जिल्लालाई छुने बाहिरी चक्रपथको लम्बाइ ७२ किलोमिटरको हुने छ। सुरुवातमा चोभारदेखि सतुंगलसम्म ६.६ किलोमिटर काम थालेपछि आयोजनाले कार्यान्वयन तहको अनुभव वटुल्ने छ। चार वर्षअघि यसै खण्डबाट काम थाल्न खोज्दा स्थानीयवासीले व्यापक विरोध गरेका थिए। तर अहिले त्यस्ता खालको अवरोधको हटिसकेको छ।

त्यस्तै गत श्रावण १९ मा सरकारले गरेको निर्णय अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले चक्रपथ निर्माणका क्रममा जग्गा परे स्थानीयवासीले दाबी विरोध गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेकोमा धेरै दाबी विरोध नभएपछि यसको अवरोध खुलेको हो। ३५ दिनको अवधिमा ५० जनाले मात्र बाहिरी चक्रपथ निर्माण गर्न नहुने भन्दै प्राधिकरणमा उजुरी दर्ता गरेका थिए।

आयोजना निर्माणमा ७० हजार रोपनी जग्गालाई जग्गा विकास योजना मार्फत् चक्रपथको निर्माणका लागि अधिग्रणको प्रक्रिया सुरु भइसकेको छ। यसको लागत ६ अर्ब ३६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। चक्रपथको सम्पूर्ण काम सुरु भएको ५ वर्षभित्र निर्माण गर्ने लक्ष्य आयोजनाले लिएको छ।

उपत्यकाको दक्षिण र पूर्वी भूभागमा आवागमन सुविधा बढाउने र व्यवस्थित बस्ती विकास गर्ने भनिएको आयोजना चोभार, सतुंगल, नैकाप–पुरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोकर्णेश्वर, थली, डाँछी, दुवाकोट, दधिकोट हुँदै लुभु र हरिसिद्धि, धापाखेल बुङ्मती हुँदै चोभारसम्म पुग्ने छ। जहाँ ३४ पक्की पुल र भित्री चक्रपथबाट बाहिरी चक्रपथमा जोड्ने ४७ वटा सडक निर्माण हुने छन्। सडक खण्डका विभिन्न स्थान गरी १ दशमलव ५ किलोमिटर सुरुङमार्ग पनि रहनेछ।
सडकखण्डमा पर्ने स्थानीय बासिन्दालाई जग्गाको मुआब्जा नदिई उनीहरूको सट्टा भर्ना प्रक्रियाबाट पुनःस्थापना गरिने बताइएको छ। यसका लागि सडकको दायाँबायाँ दुवैतिर २ सय ५० मिटरका दरले जग्गा अधिग्रहण गरिनेछ। बाहिरी चक्रपथवरिपरि वातावरणमैत्री, आधुनिक, प्रविधियुक्त र सुविधासम्पन्न बस्ती निर्माण गर्ने लक्ष्यसहित आयोजनाले काम थालेको छ।

आयोजनाले हालसम्म विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर), परामर्श तथा कर्मचारी तलबका लागि मात्रै ९ करोड ८८ लाख ४५ हजार ५ सय ४६ रुपैयाँ खर्च गरिसकेको छ। यो विवरण आर्थिक वर्ष २०६१÷६२ देखि २०७१-७२ सम्मको हो। आयोजनासँग १० वर्षको अवधिमा १७ करोड १६ लाख ९४ हजार ३ सय ४ रुपैयाँ वार्षिक बजेट थियो। काठमाडौं, ललितपुर र भक्तपुरका कृषियोग्य जमीन तथा पानीका स्रोत भएका क्षेत्र संरक्षण गर्नेगरी आयोजना अगाडि बढाउने तयारी सरकारले गरेको छ।

आर्थिक वर्ष ०५६-५७ मा सरकारले बाहिरी चक्रपथको परिकल्पना गरेको थियो। व्यवस्थित बस्ती र दिगो सहरीकरणको महत्वाकांक्षी योजनाका रूपमा बाहिरी चक्रपथलाई अघि सारिएको थियो। ७ वर्षअघि अर्थ मन्त्रालयले आयोजनाका लागि करिब १० करोड र क्षतिपूर्तिमा खर्च गर्न ३ करोड रुपैयाँ छुट्याएको थियो। त्यसमध्ये ९ करोड रुपैयाँ कार्यालय सञ्चालनमै सकिएको छ भने मुआब्जाका लागि छुट्याएको रकम खर्च गर्न नसकेर प्रत्येक वर्ष ‘फ्रिज’ हुँदै आएको छ।

बाहिरी चक्रपथको चौडाइ ५० मिटर हुने छ। ८ लेनमा बन्ने यो चक्रपथले उपत्यकाभित्रको ठूलो भूभागलाई ओगट्नुका साथै दु्त गतिमा बस्ती विकास हुने तथा सहरीकरणको चापमा परेका अधिकांश क्षेत्रलाई समेट्ने छ। सडक आसपासमा आयोजनाले विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थललगायत पूर्वाधारसहित व्यवस्थित बस्ती विकास गर्ने योजना तयार पारेको छ।

प्रकाशित २६ मंसिर २०७३, आइतबार | 2016-12-11 14:30:26

प्रतिकृया दिनुहोस

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पुण्यमति खोलामाथि परम्परागत झोलुङ्गे पुल र आधुनिक पुल

    पनौती फोटो यात्रा

    प्रदर्शनीमा राखिएका फोटोहरुले पनौतीको भूगोल, परिवेश, प्राकृतिक सम्पदा, वास्तुकला, मठ मन्दिर, गल्ली र मान्छेका फोटा मार्फत पनौतीको दैनिकी, वातावरण र...

  • सरकारलाई निर्देशन: पुनर्निर्माणमा अपुग ५८८ अर्ब तत्काल जुटाऊ

    ९ हजारको ज्यान लिनेगरी शक्तिशाली भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत पीडितले राज्य भएको अनुभूति गर्न नसकेकाले तत्काल प्रभावकारी कदम चाल्न...

  • आशा जगाउने सरगम

    यो घरमा विभिन्न कारणले अभिभावक गुमाएका र पारिवारिक रुपमा बिचल्लीमा परेका बालिकाहरुलाई घरेलु वातावरणमा हुर्काइएको छ। पारिवारिक वातावरणसँगै सङ्गीतमा...

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्दै अमेरिकी सेनाका एसिया प्यासिफिक कमान्डर ह्यारी, साथमा नेपालका लागि अमेरिकी राजदूत तेप्लिज

    नेपालमा अमेरिकाको बढ्दो सामरिक चासो

    संयुक्त राज्य अमेरिकाको दैनिक चासो यतिखेर अरब र युरोपतिरै छ। दक्षिण एसिया उसको पहिलो प्राथमिकतामा छैन, त्यसमा पनि नेपाल झन् चासोबाहिर भएको मानिन्छ।...