थाइल्याण्डमा नेपालको पर्यटन कार्यक्रम

थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावास र फुकेतस्थित अवैतनिक नेपाली कन्सुलेटले गत पुस २१ गते संयुक्त रुपमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रम समन्वय गर्न फुकेतस्थित गैरआवासीय नेपाली सङ्घ र थाई नेपाली सङ्घले पनि सहयोग गरेका थिए।

कार्यक्रममा करिब एक सय ट्राभल एजेन्ट÷अपरेटर, पत्रकार तथा नेपाली सङ्घका प्रतिनिधि सहभागी थिए। कार्यक्रममा फुकेतका सरकारी अधिकारी, उपगभर्नर सनित स्रिविहोक, जनसम्पर्क विभागका प्रमुख र फुकेत पर्यटन बोर्डका अध्यक्षलगायतको उपस्थिति थियो।

सो अवसरमा फुकेतका लागि नेपाली महावाणिज्यदूत प्रानी सकुलपिपातना तथा राजदूत खगनाथ अधिकारीले नेपालका पर्यटन आवश्यकताबारे जानकारी दिएका थिए।

काउन्सिलर जङ्गबहादुर गुरुङले नेपालका प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटकको सम्भावनाबारे उल्लेख गरेका थिए। दूतावासका प्रमुख सचिव रमेशकुमार चर्मकारले नेपालको ट्र्रेकिङबारे जानकारी दिएका थिए। उपगभर्नर सनित स्रिविहोक र गैरआवासीय नेपाली संघका प्रेम दनाइले पनि सम्बोधन गरेका थिए।

सोही दिन राजदूत अधिकारीले फुकेतका गभर्नरसँग भेट गरी आपसी चासोका विषयमा छलफल गरेका थिए। रासस

प्रकाशित 2017-01-10 10:59:19