अर्गानिक चिया उत्पादनमा झापाका किसान



झापा जिल्लामै पहिलो पटक अर्गानिक चिया उत्पादन गर्न झापाको हल्दिबारी र जलथलका चिया किसान जुटेका छन्। विषादि प्रयोगको कारण आलोचना भोगिरहेका झापाली चिया किसानले अपनाएको यो पद्धतिको प्रशंसा हुन थालेको छ।

हल्दिबारीका सतेन्द्रकुमार कर्ण पुराना चिया किसान हुन्। विसं २०५४ सालदेखि चियाखेती गर्दै आएका सतेन्द्र आफ्नै पाँच बिगाहा र अरुको गरेर १५ बिगाहा क्षेत्रफलमा चियाखेती गरिरहेका छन्। उनी विषादिरहित चियापत्ती उत्पादन गर्छन्। विगतमा उनले चिया बगानमा विभिन्न किसिमका विषादि प्रयोग गर्ने गरेको बताए। तर, विषादिकै कारण परिवारका सदस्य बिरामी भएको थाहा पाएपछि उनले विषादि प्रयोग गर्न छाडेको सुनाए।

जब विषादिको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने उनले थाहा पाए, त्यसै दिनदेखि विषादिरहित चिया उत्पादन गर्ने अठोट लिए। ‘विषादिको प्रयोगले किसानदेखि उपभोक्ता सबैलाई हानी गर्ने रहेछ’, उनले भने, ‘त्यसपछि मैले विषादिको प्रयोग गर्न छाडें।’

अहिले हल्दिबारीका उनीजस्ता अधिकांशः चिया किसान विषादिरहित चिया उत्पादन गर्छन्। चियामा हाल्नुपर्ने औषधिसमेत उनीहरु आफैँले उत्पादन गर्ने गरेका छन्। तितेपाती, बकाइनो, सिमाली, मेवा, लसुन, पिर्रे झार, निम, कालो कच्चु, बोझोलाई गाईको गहुँतमा पकाएर ड्रममा राख्ने र २०–२५ दिनमा चियामा छर्ने औषधि बनाउने गरेको जलथल–५ का चिया किसान पुष्प निरौलाले बताए। उनी भन्छन्, ‘पहिले विषादि छर्किंदा यहाँ बस्नै सकिँदैन थियो, हुस्से लागेजस्तै हुन्थ्यो, अहिले त फाइदै–फाइदा।’

‘हानिकारक विषादि छर्किएपछि निर्धारित समयसम्म चिया टिप्नुहुँदैन, तर हामी त त्योभन्दा अगाडि नै टिपेर फ्याक्ट्रीमा पठाउँदा रहेछौँ’ किसान सतेन्द्र भने, ‘हामीले अहिले आफ्नै गाउँघरमा पाइने वनस्पति पहिचान गरिसक्यौँ, अब कुनै चिन्तै छैन।’ चियामा लगाउने भिटामिन पनि आफैं उत्पादन गरिरहेको उनले जानकारी दिए। उनले विषादिरहित चिया उत्पादन गर्न सुरु गरेको तीन वर्ष भयो।

झापाको चियामा लुपर, हेलोपेटिस, रेड स्पाइडर, ग्रीन फल, थ्रीप्स लगायत रोग लाग्ने गरेको छ। आफैँले उत्पादन गरेको औषधि महिनाको दुईपटक स्प्रे गर्दा यी सबै समस्या न्यूनीकरण भएको किसानहरुको अनुभव छ। आफैँले उत्पादन गरेको औषधि छर्किन थालेपछि डेढ गुणाले उत्पादन बढेको समेत उनीहरु बताउँछन्।

हानिकारक विषादि लगाउन छोडे पनि उनीहरु रासायनिक मल युरिया, डिएपी, पोटास भने लगाइरहेकै छन्। १५ बिगाहामा ६० बोरा रासायनिक मल हाल्ने गरेका सतेन्द्रले अहिले २०-२५ बोरा मात्रै हाल्ने गरेको बताए। उनले प्राङ्गारिक मल उत्पादन गर्न थालेसँगै रासायनिक मलको प्रयोगमा कमी आएको सुनाए।

यी गाउँमा अर्गानिक चिया उत्पादनलाई अभियानकै रुपमा लगिने भएको छ। यसको लागि स्थानीय किसानले सहकारी संस्था नै खोल्ने भएका छन्।

आठ करोड ३४ लाखको लागतमा चिया प्रशोधन तथा मल उत्पादन गर्ने लक्ष्यसहित सहकारी खोलिएको स्थानीय हर्कबहादुर तामाङ बताउँछन्। ‘सरकारले अहिलेसम्म फ्याक्ट्री निर्माणका लागि रु एक करोड ७० लाख दिइसकेको छ,’ उनले भने, ‘अहिले त यहाँको चियापत्ती विषादिमुक्त मात्र हुँदैछ, अब त रासायनिक मल पनि हाल्न छोडेर अर्गानिक उत्पादन गर्ने योजना छ।’ 

प्रकाशित २२ पुस २०७३, शुक्रबार | 2017-01-06 10:33:01

प्रतिकृया दिनुहोस

 

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • बच्चाले ‘गर्छ’ सिक्तैन

    शिक्षाविदहरू जतिखेर पनि ‘सीप’ को कुरा गरिरहेका हुन्छन् : पढाइको सीप, लेखाइको सीप, सम्प्रेषणको सीप, हुँदाहुँदा सुनाइको सीप। कुनै मुश्किल काम...

  • भुइँचालोपछि राहत पर्खिरहेका सर्वसाधरण (फाइल फोटोः पालनी मोहन)

    भूकम्पः वर्ष दोस्रो, किस्ताः न पहिलो न दोस्रो

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणको १४ महिना बिताइसक्दा पनि सबै पीडितले पहिलो किस्ता पाउन सकेका छैनन्। दुई वर्षअघि वैशाख १२ गते गएको...

  • तेल चोरी रोक्न जेठ १ बाट ट्यांकरमा 'लकिङ सिस्टम'

    ‘नेपाली ट्यांकरमा अटोमेटिक लकिङ सिस्टम जडान गर्ने विषयमा भारतले पनि सहमति जनाएको छ,’ आपूर्ति विभागका डाइरेक्टर तथा निगमका प्रवक्ता पोखरेलले...

  • के गर्दैछन् मिस नेपालका यी सुन्दरी?

    राजधानीको अन्नपूर्ण होटलमा आइतबार भएको तालिममा मिस नेपालका सहभागी प्रतिस्पर्धी सदस्यहरुलाई खाना खाने शैलीबारे सिकाइएको थियो। प्रतियोगिता हुनुअघि...