लठ्ठै छन् मदिरा व्यवसायी पनि



साभार - टीएचटी

सहरी जीवनशैलीमा ‘पार्टी कल्चर’ बढेकोले पनि मदिराको उपभोग दिनानुदिन बढ्दै गएको छ। नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी भन्छन्, ‘मदिराबिनाको पार्टी पनि के पार्टी भन्ने सोच छ। स्वदेशी तथा घरेलु मदिरा राखियो भने पार्टीको माहोल नै अर्कै बन्छ। जति महँगो मदिरा राख्यो, स्टटस उति नै बढी मूल्यांकन हुन थालेको छ।’

मदिरा नपुगेको सम्भवतः कुनै गाउँ छैन। बोटलमा ‘प्याक’ गरिएका मदिरा हुन् या स्थानीय स्तरमै बनाइएका ‘लोकल’ गाउँगाउँमा पाइन्छ। मदिरारहित समारोह वा भोज अहिले सायदै देख्न सकिन्छ। गाउँदेखि सहरसम्म यो क्रम फैलिसकेको छ। राजधानीमा ठमेल, दरबारमार्ग, लाजिम्पाटलगायत त्यस्ता स्थान हुन् जहाँ ‘गुड फ्राइडे’ भन्दै शुक्रबारको साँझ वा कुनै विशेष अवसरमा पबमा बसेर वाइन र टकिला सट लिइरहेका युवायुवती भेटिन्छन्।

हरेक साँझ क्लबमा व्यस्त हुने वरिष्ठ डिजे शिशिर लामा भन्छन्, ‘कहिले कुन साथीलाई गफको तालमा उडाइरहेका हुन्छन् त कहिले देशमा भविष्य छैन भन्दै विदेसिने योजना बनाइरहेका हुन्छन्। यस्तो दृश्य देशका अन्य सहरमा पनि छ्यापछ्याप्ती देख्न सकिन्छ।’ त्यतिमात्रै हैन, ड्रिंक गर्नाले त्यो समयलाई अझ अविस्मरणीय र रमाइलो बनाइदिन्छ, डिजे लामाको अनुभव छ।

रवी केसी

त्यसो त मदिरा अब पब वा बारमा सीमित साथीबीच मात्र पिउने पदार्थ रहेन। घरमै परिवारका सबै सदस्य बसेर आआफ्नो रुचिका मदिरा पिउनेको संख्या पनि बढिरहेको छ। केसी भन्छन्, ‘कुनै खुसीको अवसरमा परिवार सदस्यसँगै वाइन, ह्विस्की र बियर पिउँछन्। ‘मेरो घरमा पिउन कुनै बन्देज छैन, सँगै बसेर निर्धक्कसाथ पिउँछौं।’

‘मदिरा कल्चर’ बढ्दै गएसँगै नेपालमा मदिरा उद्योगको संख्या समेत बढिरहेका छन्। पाँच दर्जन स्वदेशी मदिरा उद्योग सञ्चालनमा छन्। अल्कोहलको मात्रा अनुसार स्पिरिट, बियर र वाइन गरी तीन थरिका मदिरा पाइन्छन्। मदिराको गुणस्तरलाई यूपीमा मापन गरिन्छ। जति कम यूपीमा उत्पादन हुन्छ, उति नै गुणस्तरीय हुन्छ। नेपालको सहरी क्षेत्रमा २५ र ग्रामीण भेगमा ४० देखि ५० यूपीसम्मका मदिराको खपत बढी हुने गरेको संघका महासचिव किशोर भट्टराई बताउँछन्।

नेपाली समाजमा पश्चिमा संस्कृतिको नक्कल गर्ने क्रम बढेसँगै मदिरा चियर्स गर्ने ट्रेन्ड फेसनकै रूपमा विकास भएको छ। भट्टराई भन्छन्, ‘काम गर्नेलाई जाँडरक्सी दिने पुरानो नेपाली चलन हो। तर, विश्वयुद्धबाट फर्किएका लाहुरेले तास खेल्न सिके। तास खेल्नेले नै जाँडसमेत किनेर खान थालेपछि सामाजिक रूपमा मदिराको किनबेच हुन थालेको हो।’ त्यसअघि भने शासकहरूले युरोपबाट मदिरा झिकाएर खाने गरेको उनको कथन छ।

यसरी सुरु भएको मदिराको किनबेच समाज पुँजीवादी बजारीकरणमा छिरेपछि व्यक्तिको हैसियत निर्धारण गर्ने तहसम्म पुगेको छ। यति डिस्टिलरीका प्रवन्ध निर्देशक अभिषेक श्रेष्ठको अनुभवमा मदिरा पिउनुलाई सभ्य र आधुनिक संस्कृतिसँग समेत जोडेर हेर्न थालिएको छ। भन्छन्, ‘समाजमा घुलमिल हुनसमेत मदिराको प्याला समाउनैपर्ने अवस्था आइसकेको छ।’

किशोर भट्टराई


यतिले अहिले वर्ल्ड दरबार, ब्ल्याक चिम्नी, भोड्का, उत्पादन गरेर बजारमा ल्याएको छ। वर्ल्ड दरबारले जोनी वाकरको रेडलेवलसँग प्रतिस्पर्धा गरिरहेको छ, भने, ब्ल्याक चिम्नीले ब्ल्याक लेवलसँग प्रतिपर्धा गरिरहेको श्रेष्ठ बताउँछन्।

एकातिर मानिसको मदिराप्रतिको सोख बढ्दै जानु र त्यही अनुसार उद्योगीले आफ्नो उत्पादनलाई ‘अपग्रेट’ गरेकाले नेपाली उत्पादनले राम्रो बजार लिइरहेको अध्यक्ष केसीको बुझाइ छ।

सांस्कृतिक, सामाजिक चिन्तनमा आएको फेरबदलले मदिराको परिभाषामै परविर्तन ल्याइदिएको छ। भट्टराई भन्छन्, “घरमा कोदोको जाँड–रक्सी टन्न हुन्छ तर पाहुनालाई बियर वा ब्रान्डी खुवाउन पाइयो भने आफ्नो इज्जत बढेको महसुस गर्छन्। उत्पादन प्रणालीमा आएको परिवर्तनले उपभोग र चिन्तनमा समेत फरक पारिरहेको छ।’

यस्तै सोचाइकै कारण मदिराको खपत बढिरहेको छ। ‘मदिराले मानिसको भावनासँग खेल्छ,’ गोर्खा ब्रुअरीका महाप्रवन्धक बैभव शर्मा बताउँछन्, ‘त्यसैले यो जुनसुकै अवस्थामा पनि सबैको साथी बन्न सकेको हो।’

विदेशी ब्रान्डहरू सिभास, जोनी वाकर, ब्ल्याक लेवल, ग्रिन लेवल, ब्लु लेवल, रेड लेवल, भ्याट ६९, रोयल स्याल्युट, फेमस ग्राउजज चर्चित छन्। यसबाट थाहा हुन्छ, नेपालमा ब्रान्डेड मदिराप्रेमीको संख्या पछिल्ला पाँच वर्षमा विदेशी मदिराको आयात चार गुणा बढेको नेपाल मदिरा उत्पादक संघका अध्यक्ष केसी बताउँछन्।

शिशिर लामा

कतिपय कम्पनीले विदेशी ब्रान्डको अनुमतिमा नेपालमै उत्पादन गरेर त्यही ब्रान्डमा उत्पादन गरेका छन्। यसले समेत विदेशी ब्रान्डप्रति नेपाली उपभोक्ताको झुकाव रहेको बुझ्न कठिन छैन। नेपालमा मदिरा प्रयोगको परम्परा लामो छ। यहाँ यस्ता जाति पनि छन्, जसको जन्मदेखि मृत्युसम्मका संस्कारमा मदिरा अनिवार्य चाहिन्छ। तर, अचेल मदिराको प्रयोग कुनै जाति विशेषको संस्कारमा मात्रै सीमित छैन, हरेक जाति र संस्कृतिको जीवनको प्रिय हिस्सा बनिसकेको छ।

प्रकाशित २२ पुस २०७३, शुक्रबार | 2017-01-06 16:22:40

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो रहेछ ह्वेल ठूलो हुनुको कारण

    ब्लु ह्वेल विश्वमै सबैभन्दा भीमकाय जीव हो। जेट प्लेनजत्रो लम्बाइ, कारजत्रो मुटु र एउटा वयष्क हात्तीको जति नै तौल भएको जीब्रो, ह्वेललाई सानो कसैले...

  • प्रचण्ड

    'मभन्दा अघि विदेशनीति विवेकभन्दा आवेगले निर्देशित थियो'

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन गर्दै सरकारले छिमेकीसँग सन्तुलित र राष्ट्रकेन्द्रित सम्बन्ध विकास गरेको बताए। उनले...

  • को हुन् साझाकी शोभा जसले कांग्रेस–एमालेलाई आच्छु आच्छु पारिन्

    पाटन औद्योगिक क्षेत्रमा शोभाको उन तथा हस्तबुनाई कारखाना पनि सञ्चालनमा रहेछ जहाँ पाँच सय भन्दा बढी महिला कामदारलाई उनले रोजगारी दिएकी छिन्। भन्छिन्,...