ओ मेरो रिक्सावाला दाइ!

मैले सोधें ‘चिया खाने’?

उनी पज भए।

फेरि सोधें ‘माइस्थान जाने’?

उनले टाउको हल्लाए।

वीरगन्ज घन्टाघरको सामुन्नेमा रोकिएको थियो अशोक पटेललको (३८¬) को रिक्सा।

केही दिनको शीतलहरपछि कुमारीको जोवन जस्तो घामका किरणहरू पोखिएका थिए वीरगन्ज शहरमा।

हल्काहल्का चिसो मधुरमधुर घाम। मातलाग्दो समय। निर्जीव घन्टाघर पनि आँफैसँग मुस्कायो कि झैं लागेको मलाई।

कैलाश चिया नखाएरै खुलेको थियो मुड।

रिक्सा साइकल, मोटरसाइकल, टाँगा र मोटरहरूको ककटेल समायोजन वीरगन्ज शहर। टिङटिङ घन्टी बजाउँदै अशोकले कुदाए रिक्सा।

आवाजहरूकै बिच थप एउटा आवाज थपेर उनले मलाई सोधे ‘जेरी पुरी खान जाने?’

तोइट! क्या प्रस्ताव।

‘ये भि कोइ पुछ्ने की बात हे,’ मैले भने। भोजपुरीको तलतल हिन्दीले मेटेको सुनेर उनी हाँसे मस्त। बीच शहरमा।

झ्याप्प ब्रेक लाग्यो। माइस्थानको अगाडि रोकियो रिक्सा। रिक्सा तानेर सार्दै गर्दा मैले क्यामेरा उनीतिर तेर्साएँ।

उनले थाहा नपाएझैं गरी पोज दिइरहे। मान्छेहरूले अलिअलि रोकिएर हेर्न थालिसक्या थिए। उनको अनुहारको के कुरा गर्नु। मखलेल मखलेल!

चोकबाट थोरै भित्र गयौं।

‘यो ठाँउमा जेरी पुरी मिठो पाइन्छ,’ उनले खासियत बताए।

मैले अरे वा! को शैलीमा आँखा ठुलो पारेँ।

बडाबडा कराहीमा तैरिएका जेरीहरू लौ आऊ हामीलाई खाऊ भनेर लयमा तैरिएका झैं लाग्ने। अशोकको चालमा बेग्लै अदा छाएको थियो।

आमने–सामने हामी एक टेबलमा बस्यौं। उनले फर्माइस सोधे।

मेरा लागि ल्वाङ मिठाई र आफ्नो लागि प्लेटभरि जेरी पुरी।

जेरी पुरी खाँदै गर्दा उनले नाकाबन्दी ताका मितेरी पुलमा खाएको मासुभात सम्झे। सामान ओसार्ने काम पाइरहे रे बेला बेला। ‘तेल त कति ओसारें कति’। त्यसैले त उनलाई नाकाबन्दीभन्दा पनि रिस इलेक्ट्रोनिक्स रिक्सा देखेर लाग्छ। साला त्यो बिजुली रिक्साले उनको ब्यापारमा हानेर खोपडी खराब गरेको छ।

एकछिन मासुभात खाँदा र तेल ओसार्न पाएको दिनमा मात्र नाकाबन्दी बाल लागेन उनलाई। नत्र बाँकी दिनमा यस्ले पनि गिदी खाएछ। डर त्रास र अभरको कमाइ। कसरी धान्ने गरिबले जिन्दगी।

फेरि नाकाबन्दी भयो भने?

मैले सोध्न नपाई उनका आँखा तर्सिए।

‘धत! रोजरोजको धन्दा छोडेर नाकाबन्दी आन्दोलनमा जाने फुर्सद हामीलाई कहाँ छ?’

काठमाण्डौ कालीमाटीमा बसेका हुन् उनी पाँच वर्ष।

नाक उचाल्दै भने ‘मान्छेहरूले हेप्थे खुब। तर आजकल जाँदा त्यस्तो हेपाइ छैन।’

उनलाई लागेको छ पहिलो मधेस आन्दोलनपछि काठमाण्डौले मधेसलाई चिनेको छ। हेप्न पनि कम गरेको छ।

तर हेपाइ सकिएको छैन नि! मैले कुरा निकाले।

अनि चपाएको जेरी निलेर भने, ‘सधैँ पहरिया, मधेसिया गरेर कति समय चल्छ। कसैले कसैलाई नहेपी आफ्नो आफ्नो काम गरे त सबै राम्रो भइहाल्छ।’

उनको दुई बच्चा छन्। अहिले खपडाको घर छ। बच्चा पढाउनु छ। पुलिस बनाउनु छ। खपडाको घरबाट पक्की घर लगाउनु छ।

‘सधैँ सधैँ लफडा भइरहे मेरो यो सबै सपना कसरी पूरा होला?’ उनका सपनाको कुरा उनकै नाममा राज्य गर्नेलाई पनि थाहा छैन होला है।

नगरी काम पुग्दैन उनलाई खान साँझ र बिहान। खपडाको घरमा थकानको निद सुतेर उनी कल्पन्छन्, पक्की घरमा इन्सपेक्टर छोरा र डाक्टर छोरी।

भन्छन्, ‘मैले पढ्न पाइन त के भो मेरो बच्चा पढाउँछु।’ त्यो प्लेटको अर्को पुरी खाँदै फेरि उनी वीरगन्जको विकासका लागि नेतालाई सुझाए।

‘बाटो राम्रो बनाऊ, स्कुल राम्रो बनाऊ। राम्रो बनाऊ अस्पताल। मधेसी मधेसी भनेर कुर्ची तानेर थोडी हुन्छ। आएको पैसाले काम गर तब हुन्छ।’

एकछिन उनी बोलेनन्। काम गर्ने मान्छेको बोल्ने कुरा कति पो हुन्छन् र! उनी थोडी नामी ट्वीटे हुन्। म पनि के भको होला।

मैले मिठाई उनले जेरी पुरी चिरिप्प पार्यौ।

गोजीमा हात लगाउँदै शानसँग अघि बढे र काउन्टरमा गए उनी।

र, सोधे हाम्रो पैसा कति भयो?

मैले हतारिंदै अघि बढेर उनलाई रोकें। अशोक हिन्दी फिल्मका हिरो अशोककुमारको अदामा हाँसे। अनि भने, ‘अहिले तपाईंले तिर्नु भयो, अर्को पटक मेरो घरमा खाना खाने। तरुवा बनाउन लगाँउछु।’ मधेसको तरुवाको क्या केहेना। यो पालि मुस्काउने पालो मेरो। अनि हामी आँखा आँखामा बोल्यौं।

एक चक्कर फेरि रिक्सामा लगायौं हामीले।

ओर्लेर सोधें, ‘तपाईंको सपनाको वीरगन्ज कस्तो होला?’

उनका आँखाका नानी असली मोती जसरी चम्किए।

पारिलो घाममा अशोकले सुनाए घामजस्तै उज्याला सपना ‘नाला पुरिएको, ठाँउठाँउमा डस्टबिन राखिएको। रुख बिरुवा रोपेको, फूलहरू फुलेको। के भनुँ अरु। जो आँउछ मेरो वीरगन्जमा ऊ बढिया फिल गरोस् फर्केर गएपछि र फर्कीफर्की आइरहोस् मेरो ठाँउमा।’

एकछिन अघि खाएको जेरीको सप्पै मिठो ओठमा सोहोरेर उनी फेरि मुस्काए यति भनेपछि। बुरुन्चे क्यामेरा अफ गरें मैले। बाई बाई हामीले गर्यौ एकअर्कालाई। परपरसम्म हेरिरहे उनले मलाई, मैले उनलाई। ओ, मेरो रिक्सावाला दाइ!

प्रकाशित 2017-01-08 13:30:48