माया त छैन, न्यानो त देऊ

भूकम्पीडित जेष्ठ नागरिक चाहन्छन् सरकारले प्रतिवद्धता पुरा गरोस्



टिनले छाएका टिनकै टहरा अगाडि पुसको चिसोले थला परेका बूढाबूढीका खाक्कखुक्क ‘ताल नमिलेको ढिमे बाजा’जस्तो सुनिन्थ्यो। तैपनि ती भूकम्पपीडित जेष्ठ नागरिकले, खोकीको तालमै सही, घाम तापिरहेका थिए। हुन पनि तिनले भक्तपुर च्याम्बासिंहस्थित गरुँडकुण्डमा झरेको घाम सङालेर रातसँगै चिसिने चिसोसित रातभर लडाइँ गर्नु थियो।

‘फेरि जाडो सुरु भयो। पानी चुहिन्छ। बतास चल्छ। यता कोल्टे फेरे उता चिसो हुन्छ। उता कोल्टे फेरे यता चिसो हुन्छ’, टहरा अगाडि घाम तापिरहेकी सुन्दरीमाया प्रजापति, ८८, ले नेवारी लवजमै भनिन्, ‘जाडोमा ओढ्ने छैन। दिन्छ भन्छ। सरकारले दिएर ल्याएको छैन। यस्तो जाडोमा त दिएर ल्याउनु पर्ने।’

टहरावासीमध्ये सबैभन्दा जेठी उनै सुन्दरीमाया थिइन्।
पोहोर उनले एकजोर सुरुवाल पाइन्। तर, लगाउने बानी नभएकाले त्यसै खेर गयो।

गएको पुस पालमुनि काटेकी सुन्दरीले यसपालि टीनको छानोमुनि काट्न भर्खरै सुरु गरेकी थिइन्।

जति रात छिप्पियो उति चिसो हुन्छ, टीनको छानोमुनि। शीत चुहिन्छ।

टहरामा बस्ने २४ घरधुरी जम्मै भक्तपुर नगरपालिका वडा नं. १ वासी हुन्।
लामो टहरामा प्रत्येक परिवारको लागि ठाउँ छुट्याउनलाई पनि बाँस र टीनको पाता नै प्रयोग गरिएको छ।

सुन्दरीमाया एक्लै बस्छिन्, टहराको छेउतिर बारिएको कोठामा।
छोराबुहारी र नातिनतिना भुइँचालोले भत्काएको घरनेर टहरा बनाएर बसेका छन्।

उमेरले नेटो काटे नि अलिअलि मात्र मुजा देखिने निधारमा रातो टिकुली लगाएकी सुन्दरीले बुट्टेदार चोलो लगाएकी थिइन्। पेटीकोटलाई बर्कोे बेरेकी थिइन्। बाया हातमा खोपेको ट्याटुलाई बेलाबेलामा मुसार्दै भाग्न खोज्ने प्लाष्टिकको चप्पल बेलाबेलामा छाम्थिन्।

कोठामा बेरिएको म्याट भित्तामा ठडिएको थियो। भुइँमा साँझ लगाउने बिछ्यौना उठाएर डसनाले छोपेकी थिइन्। ओढ्ने÷ओछ्याउने कपडासँगै भित्तानेर काठको सानो दराज थियो। त्यसको ठीक पारि बाँसमा माटोको भुर्की झुण्डिएको थियो। भुर्कीमुनि खाली कट्ठासँगै रित्तो सिलिन्डर पल्टिएको थियो। सिलिन्डरसँगै ठूला आकारका सिल्भरका भाँडा चाँचिएका थिए। र, कुनातिर पातलोखाले ब्लाङ्केट थियो।
‘यत्ति हो। धेरै लुगा छैन’, आफू सुत्ने कोठाभित्र पसेर वारिपारि हेर्दै सुन्दरीले भनिन्, ‘एक्लै बस्छु। बुहारीले पकाएर ल्याइदिन्छ।’

भुइँचालोमा घर भत्क्यो। बुहारी र नातिनी घाइते भए।

‘बुहारीको त घुँडासम्म पुरियो। फरिया झिकेर पो बाहिर निकाले,’ घाइते बुहारी अहिले भने निको भएको सुनाउँदै भनिन्।

भुइँचालो आउँदा उनी नाति र छोरासित घरबाहिरै बसिरहेकी थिइन्। भुइँचालो आयो भनेर कराउन थालेपछि दौडिइन्।
‘मर्ने सर्ने कुरा आफ्नो तकलिफको कुरा हो’, उनले आफूलाई केही नहुनुको कारण खोल्दै भनिन्।
(सायद उनले ‘तकलिफ’ भनेर ‘तक्दीर’ या ‘भाग्य’ हो भनेकी हुन्।)
१९९० को भुइँचालोमा उनी भीमसेनथान बजारमा खेलिरहेकी थिइन्। ठूला मान्छे जति भुइँचालो आयो भन्दै भाग्न थालेपछि पाँच बर्षकी सुन्दरी दाउराको भारीपछाडि लुकिन्। इँटा खस्न थालेपछि दाउरा बेच्न सहर गएका दाउराली दाउरा छाडेर भागेछन्। छाडेको दाउराको भारीपछाडि उनी लुकिछन्।
उनको छोरा गाडीको ‘टाइम किपर’ छन्।
माइतीमा भाइ थिए। मरे। मरेपछि बुहारी अर्को टिपेर गइन्। भाइका एउटा छोरा छन्। उनका भदै। ‘भोटेनी स्वास्नी ल्यायो। आउँदा पनि आउँदैन। बोल्दा पनि बोल्दैन’, मेसैसित माइती घरको समाचार पनि सुनाइन्।

उनका पति कपडा बेच्न काठमाडौं खाल्डोबाहिर जान्थे। पतिसँगै पछि लाग्थिन्। कपडा बेच्न जाँदा पतिले दाप्चा र रोशीमा मीत लगाए।

काठमाडौं खाल्डो काटेकै त्यतिबेला हो। र, उनी खाल्डोबाहिर पुगेका ठाउँ पनि तिनै मात्र हुन्।

मीतलाई बेलाबखत नेवारी पर्वमा बोलाउँथे। खासगरी बिस्केट जात्रा लाग्दा आउँथे। रोशीका मीतले माछा लिएर आउँथे भने दाप्चाका मीतले सुपो र डोका।

‘भोजमा चिउरा मासु खाने हो। मीतहरुको खाने बानी थिएन। पचाउन नसकी छेरेर ल्याउँथे’, चिउरामासु खाएर उनका मीतहरुलाई पखाला लागेको स्मरण गर्दै भनिन्।

मीतहरु बाँकी छन् कि छैनन्?

थाहा छैन। सायद मरे होलान्। सम्पर्क टुटेको धेरै भयो।

कम्मरमा झुण्ड्याएको ‘म्हीचा’ बेलाबेलामा छाम्थिन्। के राख्नु भएको छ भनेपछि उनले देखाइन्। म्हीचामा सय रुपैयाँको एउटा नोट र साँचो थियो।

...
बोली ‘खेँ’ भए पनि मान्छे चाहिँ होइन भन्ने पक्का भएपछि घाम तापिरहेका बूढाबूढीले घर सोधे।
थर सोधे।

रोल्पा घर भनेँ। बुझेनन्। दाङहुँदै जाने भनेँ।

त्यसपछि एउटी आमै अघि सरिन्। कारण, उनकी बहिनीको छोरीको दाङमा बिहे भएको रहेछ।

नानीलक्ष्मी प्रजापति प्यारालाइसिस भएपछि हाँसेको हाँस्यै गर्न थालेको भनिन्।

मेरा जेईबाबै भने रोएको रोयै गर्थे।

मेरा बाआमालाई पनि प्यारालाइसिस भएको छ र तपाईंहरुलाई भेट्दा बाआमा सम्झिएँ भनेँ। त्यसपछि ती आमैलाई हातगोडा यसरी चलाउन भनेँ, जो मैले अस्पतालमा जेईबाबैलाई लग्दा सिकेको थिएँ।

बिस्तारै बूढाबूढी खुल्न थाले। तर, जति खुले नि भाषाको पर्खाल थियो। उनीहरु नेपालीमा बोलेको बुझ्थे तर नेपालीमा फर्काउन सक्तैनथे। मैले न नेवारी बुझ्थेँ न फर्काउँथेँ। तर, एउटी बूढीआमाले अनुवादको काम गरिन्।

खुल्दै गए। त्यसपछि छोराबुहारीले मन दुखाएका गुनासो पनि सुनाउन थाले। आफन्तले चित्त दुखाएका कुरा पनि सुनाए।
...
कुराकानी सकेर नाम भुलिन्छ होला भनेर कापीमा झिकेँ।

के लाग्यो कुन्नि?

सबले आफ्नो नाउँ लेख्न आग्रह गरे। र, आफ्ना माग राख्न थाले।

‘सरकारी वा कुनै संस्थाको होइन’ भने पनि नलेखी सुख।

बूढाबूढीले भन्न थालेः
–द्वारिका प्रजापति, ७२। द्वारिकापत्नी नानीलक्ष्मी, ७२।

पाँचतले दुईवटा घर भत्के।
एउटा तयार हुँदैछ।
अहिलेसम्म दुईपालि गरी पच्चीस हजार पाए।
अहिलेसम्म दुईवटा काम्लो र एक बोरा चामल सहयोग पाए।
१३ जनाको परिवार छ।
पानी पर्दा हिलो हुन्छ।
जस्ताको छानोबाट शीत झर्छ। चिसोले सुत्न सकिँदैन।
शीत झर्ने ठाउँमा पाल राख्न पाए हुन्थ्यो।
पहिलेपहिले मान्छे आउँथे। अहिले आउन छाडे।

–नक्कली भोहजु, ७३।
पति मरिसके।
एक छोरो छन्।
चिसोमा ओढ्ने छैन।
भुइँचालोले तीन तले घर भत्कायो।
नगरपालिकाले अहिलेसम्म घरको नक्सा पास गरिदिएको छैन।

–हर्षमाया प्रजापति, ८४।
पति ९० बर्षका भए।
भुइँचालोले चारतले घर भत्कायो।
छोराहरुले चार रोपनी खेत बेचे, तीन करोडमा।
अब घर बनाउने योजना छ।
चिसोले घुँडा दुख्छ।

–न्हुच्छेलक्ष्मी प्रजापति, ५२।
९ महिनाकी नातिनी खेलाउँदै घाम तापिरहेकी थिइन्।
पति काम गर्न गए। तर, पाएको दिन काम गर्छन्। नियमीत काम छैन।
भुइँचालोले पाँचतले घर भत्कायो।
ठूलो छोराले १२ पास गरे। पैसा नभएकाले पढाइ छाडे।
बिहे गरी छोरी जति आआफ्ना घर गए।
‘के गर्ने? सोच्ने आँट पनि छैन। जाने ठाउँ कहीँ छैन’, उनले भनिन्।

–पुन्यस्वरी कोजू।
कति बर्ष पुगिन्?
उनको उमेर भन्दिने कोही थिएन।
‘गुली बर्ष’ भनेर एकअर्कालाई सोधे। तर, पत्ता लागेन।
पति मरिसके।
भुइँचालोले दुईतले घर भत्कायो।
तीन दाजुभाइ छन्। तिनका कुरा नमिल्दा घर बनाउने सुरसार छैन।
उस्तै समस्या थिए, नानीलक्ष्मी प्रजापति, ७७ र लक्ष्मीभक्त काँसुला, ७४, का पनि।

जटिलता तीनखाले थिएः
एक, घर भत्केको जग्गा थोरै छ। तर, तीनचार भाइको साझा छ। एकजना बेच्छुु भन्छ। किन्ने भाइसित पैसा छैन। र, नयाँ घर बनाउने पैसा पनि छैन।

दुई, नयाँ प्रावधानअनुसार बाटोलाई जग्गा छाड्नुपर्ने। नयाँ मापदण्डअनुसार घर बनाउने जग्गा नै बच्दैन।

तीन, घर बनाउन सरकारले कहिले पैसा दिन्छ? थाहा छैन। खेत हुने वा बढी जग्गा हुनेले त एक ठाउँको बेचेर घर बनाउन थाले। नहुनेले? आम्दानी नभएकाले न बहालमा बस्न सक्ने अवस्था थियो न त घर बनाउने।
पत्रपत्रिकामा त दुईतीन महिनामै सार्ने भनेको बूढाबूढीले सुनेका छन्। तर, सरेर जाने कहाँ?
ठेगान छैन।
...
घाम डुब्न थाल्यो। उनीहरु टहराभित्र पस्न हतारिए।

हातगोडा राम्रा हुने त सरासर भित्र पसे। तर, प्यारालाइसिसले थलिएकी नानीलक्ष्मी प्रजापति, ७२, भने लाठी टेक्दै मुस्किलले उभिइन्। यताउति हेरिन्। त्यसबेला कति बूढीआमाहरु टहराभित्र पसिसकेका थिए भने कति पस्दै।
नानीलक्ष्मी आमै बिस्तारै लागिन्।

त्यसपछि जेईलाई झन सम्झिएँ। बाबैलाई सम्झिएँ।

प्यारालाइसिसले छोएको सुरुको अवस्थामा त यसरी नै जेईबाबै आफैँ भित्रबाहिर गर्थे। तर, अहिले? अर्कैको सहारा चाहिन्थ्यो।

चारा खोज्न निक्लेका यी बूढाबूढीका छोराछोरी साहु र हाकिमअगाडि ङिच्च दाँत देखाइरहेका होलान् भन्ने सम्झिएँ। टहराबाट एकजना त झन अरब नै उडेका थिए।

भूकम्पपीडित आमाबाका गुनासाले जेईबाबैका गुनासा उप्काए।

आफूहरुले गाएका पुराना रोल्पाली गीत भतिजीहरु गीता–पार्वतीले बजाइदिएनन् भनी जेईबाबैले गुनासो गर्थे। कान र आँखाले माया मारेपछि भने ‘हाम्रो गीतको भिडियो र गीत बजाइदिएनन्’ भन्ने गुनासा सधैंका लागि बन्द भयो। केही समयअघि जेईका बाबैबिरुद्धका उजुरी र बाबैका जेईबिरुद्ध थिए। यसपालि दसै‌मा भने ती उजुरी पनि सकिएका थिए।

टहराबाट बाटोे लागेपछि आँखामा घरी जेईबाबै आए त घरी टहराका बूढाबूढी। कानमा बूढाबूढीका ससाना रहर बजिरह्यो, ‘न्यानो लुगा छैन। चिसोले मार्ने भयो।’

गाडीमा होस् या बाटोमा, भेटिने जतिकहाँ पुग्न एउटा वाक्य जिब्रोमा उभिएको छ, ‘अलिकति’ सही तपाईंसित ‘न्यानो’ छ भने पुग्नुस् टहरामा अनि भन्दिनुस् हाम्रो सरकारलाई पनि।’

प्रकाशित ७ पुस २०७३, बिहिबार | 2016-12-22 12:03:23

प्रतिकृया दिनुहोस

  • आयातीत पीडाको कहानी

    हिजोआज नेपालका हरेक घरका नजिक वा टाढाका सदस्य विदेशिनु अकाट्य सत्य बनेको छ। तीमध्ये खाडी मुलुक जानेको संख्या बढी भएको कुरा पनि अर्को यथार्थ हो।...

  • कवि केशव सिलवाल

    सहरमा एक पुँजीवादः काँठमा एक रामचन्द्रे

    मिश्र सरको पुँजीवादबाट पीडित साक्ष्य हो रामचन्द्रे। उसलाई सिंहदरबारको कुनामा थन्किएको राज्यले नजर लगाउँदैन। उसको आहत कसैलाई सुन्ने फुर्सद छैन।...

  • विनोदविकास सिंखडा

    मेरो समयको एसएलसी र आजको एसइई

    एकाबिहानै फेसबुक खोलेर हेर्दा थाहा पाएँ, यो सालको एसएलसी सुरु भइसकेछ। आजभोलि त एसएलसीलाई ‘एसइइ’ पो भन्दा रहेछन्। सबै भन्छन्– यो परीक्षा जीवनको...

  • रवीन्द्र मिश्र

    रवीन्द्र मिश्रको समूहमा व्यक्ति प्रधानताको लक्षण

    राजनीति गर्छु भन्नेहरूले ति एजेण्डाका बारेमा स्पष्ट दृष्टिकोण सार्वजनिक नगरी सुख छैन। अहिले भएका वा भविष्यमा बन्ने सबै राजनीतिक दलले आफ्नो...

  • खस्कँदो छ उद्योग वाणिज्य महासंघको साख

    विस्तारै हटिरहेको लोडसेडिङ, उद्योगी र मजदुरबीचको सुमधुर सम्बन्ध र विदेशी लगानी बढिरहेको अवस्थामा अबको नेतृत्वले मुलुकमा लगानीको वातावरण रहेको...

  • समलिङ्गी जोडी रजनी र शर्मिला

    यस्ता छन् एक लेस्वियन जोडीका दुःखसुख

    नेपाली तेस्रो लिङ्गी अञ्जली तामाङको चर्चा काठमाडौँदेखि न्युयोर्कका पत्रपत्रिकासम्म पुग्दा मलाई पनि केही समयअगाडि बिबिसी साझा सवालमा आएका तेस्रो...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...

  • खुसी रहन अपनाउनुपर्ने यी पाँच उपाय

    मानिसको दिमागलाई के कुराले खुसी बनाउँछ त? अथवा एक व्यक्तिले बढी खुसी प्राप्त गर्न कस्ता कुरामा ध्यान दिनुपर्छ त? एक न्युरो साइन्टिस्ट एलेक्स कर्बका...

  • गुरुङ थातथलो पुग्दा यस्तो देखियो इतिहास

    अन्नपूर्ण र लमजुङ हिमालको फेदमा अवस्थित क्होला सोँथरलाई तीन गाउँमा विभाजन गरिएको छ। क्होला सोँथरको पश्चिमी भागमा केही घरहरुको अवशेष देख्न सकिन्छ...