ब्लग

रोजगारी फालाफाल, मजदुर पाउन हाहाकार



तस्विरः टाइम

‘म त विदेश जाँदैछु,’ साथी रमेशले सुनायो। 

‘किन? यहाँ राम्रै कमाइ हुन्थ्यो त!’ मेरो प्रश्न खस्न नपाउँदै उसको जवाफ आयो, ‘भनेजस्तो काम नै पाइँदैन। नेपालमा बसेर केही हुँदैन यार। विदेश गएर २–४ वर्ष दुःख गर्छु।’ 

‘यहीँ केही व्यवसाय गरेको भए पनि हुन्थ्यो होला नि!’ आफैँ व्यवसाय गर्न नसकेर एक वर्ष खाडीको तातो खाएर फर्केको मनुवाले सुझाव दिएँ। 

‘बरु फर्केर आफ्नै व्यवसाय गर्ने सोचिरहेको छु,’ रमेशबाट मैले अनुमान गरेकै उत्तर आयो।

‘देशमा कामै पाइँदैन, पाए पनि भनेजस्तो पाइँदैन। काम गर्‍यो–गर्‍यो सुक्को बच्दैन। विदेश गएर २–४ वर्ष दुःख गरे २–४ लाख त कमाइन्छ,’ विदेशिनुअघि धेरैका मुखबाट आउने रेडिमेट उत्तर जस्तै भइसकेको छ यो। मलाई पनि यस्तै लाग्थ्यो। ठिकै कमाइ हुँदाहुँदैको पत्रकारिता छाडेर म अरब भासिएको थिएँ। नेपालबाट देखेको सपना र अरब गएर भोग्ने वास्तविकतामा आकाश–जमिनको फरक। विदेश पुगेर पनि काम नपाउने, पाए पनि समयमा तलब नआउने, भाषा र सीपको अभावले हुने शोषण र कामदारले पाउने सास्ती मैले नजिकबाट नियालेको छु। 

आफ्नै कमजोरीका कारण चरम शोषणमा पर्ने र ज्यान गुमाउनेसम्मका घटना नयाँ होइनन्। वर्ष दिनमै नेपाल फर्केपछि मैले यो कुरा थुप्रैलाई सुनाएँ। तर, आफैँले नभोग्दासम्म मान्छेले चाल पाउँदैन भनेझैं कमैलाई मात्र मेरो सुझाव गतिलो लागेको छ। रमेश त्यो कममध्येमा पर्दैन भन्ने मलाई उसको आशयबाटै थाहा थियो। त्यसैले रमेशको उत्तर पहिले नै अनुमान गरेको थिएँ।

रमेश नेपाली समाजको आमपात्र। आमयुवाको प्रतिनिधि। ‘भनेजस्तो काम नपाएर’ दैनिक हजारभन्दा बढी युवा अहिले पलायन भइरहेका छन्। समाजशास्त्री गणेश गुरुङका अनुसार नेपालमा सक्रिय जनशक्तिको जनसंख्या ५७ प्रतिशत छ। कुल जनसंख्याको झन्डै ३० प्रतिशत, करिब ८० लाख मानिस अर्ध–बेरोजगार छन्। पर्याप्त काम नपाएको यो समूह सधैँ कामको खोजीमा रहन्छ। समाजशास्त्री गुरुङका अनुसार ‘ह्वाइट कलर जब’ खोज्ने प्रवृत्तिका कारण अर्ध–बेरोजगारी बढेको हो। देशभित्रै मजदुरी गर्न नचाहने धेरैजसो सानोतिनो घरायसी काम गरेर बसेका छन्। 

पलायन युवा र यहाँका व्यवसायी तथा लगानीकर्ताको भनाइ भने ठिक विपरीत छ। युवा भन्छन्, ‘कामै पाइँदैन,’ व्यवसायी भन्छन्, ‘कामदार नै छैनन्।’ व्यवसायीका अनुसार निर्माण र उत्पादनमूलक उद्योगमा दक्ष मात्र होइन, अदक्ष कामदार समेत पाउन मुस्किल छ। 

कामदार र व्यवसायीबीचमा किन यत्रो खाडल त? ‘पहिलो त अहिलेका युवा यहाँ काम गर्नै चाहँदैन। उनीहरुको आकांक्षा नै ठूलो हुन्छ। यहाँको कामलाई सानो देख्छ्न,’ निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठ भन्छन्, ‘दोस्रो कुरा पाइएका कामदार पनि धेरैजसो अदक्ष हुन्छन्, काम गर्दै जाँदा दक्ष भएपछि उनीहरु पनि पलायन हुन्छन् र यहाँ कामदारको अभाव भइरहन्छ।’ 

पोखरा र आसपासका जिल्लामा दैनिक कामदारको अभाव भइरहन्छ। साना–ठूला निर्माणका काम तथा परियोजना कामदार अभावले समेत समयमै सक्न नसकिने समस्या आएको व्यवसायीहरु बताउँछन्। घर निर्माण, जलविद्युत, कृषि, उद्योग लगायत थुप्रै क्षेत्रमा काम गर्न कास्की आसपासमा दैनिक हजारभन्दा बढी कामदारको अभाव हुने गरेको छ। 

निर्माण क्षेत्रले त पहिल्यैबाट कामदार नपाउने समस्या भोगिरहेको हो। अनुभवी मजदुरलाई रोक्न नसक्दा र नयाँको प्रवेश नहुँदा यो क्षेत्रमा जनशक्तिको चरम अभाव देखिएको छ। 

सिजनेवल कामले पनि कामदार पलायन बढाइरहेको छ। हिउँदमा काम पाउने र बर्खामा खाली बस्नुपर्ने समस्याले कामदारमा निराशा बढाउने गरेको हो। ‘यहाँ बहुबर्से योजनाहरु छैनन्, त्यसैले पनि कामदार धेरै वर्ष टिक्दैनन्,’ श्रेष्ठले भने। उनका अनुसार पोखरामा १५ देखि २० हजारको हाराहारीमा कामदार छन्। तर निर्माण क्षेत्रमा मात्र यसको एक चौथाइ सधैँ अभाव रहन्छ। त्यसमा पनि दक्ष कामदारको चरम अभाव छ। ‘दक्ष कामदार त यहाँ बस्दै बस्दैनन्। अलिअलि काम जानेपछि विदेशको भूत चढिहाल्छ,’ श्रेष्ठले भने, ‘काम सानो हुँदैन। विदेशमा गर्ने कमाइ यहीँ गर्न सकिन्छ भन्ने चेतनाको खाँचो छ।’ 

पोखराका निर्माण क्षेत्रमा अधिकांश भारतीय मूलका कामदार छन्। रोजगारीको खोजीमा नेपालका गाउँ रित्ता हुँदै गएका छन्। तर, नेपालमा भने सधैँ कामदारको अभाव छ। 

यहीँ छ विदेशको जति कमाइ

पारिश्रमिक कम हुने भएकाले कामदारको अभाव भएको हो कि? त्यो पनि होइन। एउटा मिस्त्रीले विदेशमा हुने कमाइ यहीँ कमाउन सक्छ। १० प्रतिशत मात्र दक्ष कामदार विदेश जाने समाजशास्त्री तथा वैदेशिक रोजगार विज्ञ डा. गुरुङको भनाइ छ। बाँकी ९० प्रतिशत विदेश जाने भनेको लेबरमा हो र उनीहरुले पाउने पारिश्रमिक भनेको मासिक १८ हजारदेखि ३० हजारसम्म हुन्छ। ‘यहाँ निर्माण क्षेत्रमा काम गर्ने अदक्ष कामदारले पनि दैनिक ४ सयदेखि ६ सय रुपैयाँ कमाउँछ। दक्ष कामदारले दैनिक एक हजारदेखि दुई हजारसम्म कमाउँछ,’ निर्माण व्यवसायी श्रेष्ठले भने, ‘यहाँ कामदारले महिनामा १५ हजारदेखि ५० हजारसम्म कमाउन सक्छन्।’ 

दैनिक १२ घण्टा काम गर्दा ज्याला पनि त्यसैअनुसार बढ्छ। कमाइका हिसाबले यो पारिश्रमिक नराम्रो होइन। ‘कामदारलाई टिकाएर राख्नै सकिन्न,’ निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष वासु गौचन भन्छन्, ‘अलिअलि काम सिकेपछि विदेशतिर हिँडिहाल्ने अवस्था छ। प्रोजेक्टपिच्छे नयाँ कामदार खोज्नुपर्ने र उनीहरूलाई काम सिकाउनुपर्ने वाध्यता छ ।’ विनासले अवसर पनि बोकेर ल्याउँछ भन्ने भनाइ जस्तै भूकम्पपछि नेपालमा आएको अवसर पुनर्निर्माण हो। पुनर्निर्माणमा थुप्रै दक्ष कामदारको आवश्यकता छ तर कामदारकै अभाव रहने बताउँछन्, निर्माण व्यवसायी ऋषि गौतम। 

हरेक क्षेत्रमा अवसरै अवसर 

निर्माण क्षेत्र जस्तै हरेक क्षेत्रमा यहाँ कामदारको अभाव छ। टि टाइम रेस्टुरेन्टका हरि बस्ताकोटी यहाँ काम नपाउने होइन हरेक क्षेत्रमा अवसरै अवसर देख्छन्। पर्यटनको पर्याय पोखरामा सधैँ कामदारको अभाव रहने उनको अनुभव छ। होटल–रेस्टुरेन्टले मुस्किलले दक्ष कामदार जुटाएका छन्। बिजिबी क्याफेका ज्याक तामाङ भन्छन्, ‘दक्ष कामदारले यहीँ राम्रो कमाइ गर्न सक्छन् तर दक्ष कामदारको अभावले सधैँ समस्या पार्छ।’ निर्माण क्षेत्रसँगै विभिन्न उद्योग, होटल, रेस्टुरेन्ट, कृषि, पदयात्रा, प्रेस लगायतका क्षेत्रमा हुने कामदारको अभावले यहाँ थुप्रै अवसर छन् भन्ने कुराको पुष्टि गर्ने व्यवसायी तामाङको भनाइ छ।

पोखराका सञ्चार माध्यममा हेर्ने र सुन्ने हो भने थुप्रै कर्मचारी आवश्यकताका विज्ञापन भेटिन्छन्।   कामदार नथपिने अवस्थामा एकअर्काका कामदार तान्ने चलन फस्टाएको छ। उता, व्यावसायिक कृषि पनि जनशक्तिविहीन छ। पशुपालन, फलफूल, तरकारी खेती लगायतका व्यावसायिक कृषि फर्महरु कामदार र प्राविधिक नपाएर हैरान छन्। मत्स्य, बागवानी र नार्क लगायतमा पनि दक्ष प्राविधिक तथा वैज्ञानिकको अभाव छ। 

देशमा यतिका अवसर हुँदाहुँदै कामै पाइएन भनेर विदेश जाने युवाले सोच्ने हो कि एकफेर?

प्रकाशित ४ पुस २०७३, सोमबार | 2016-12-19 10:54:49
author photo

अमृत सुवेदी नेपालखबर पोखरा संवाददाता हुन्

@AmritGurans

अमृत सुवेदीबाट थप


प्रतिकृया दिनुहोस

  • सुन्नुस त! विचार हाम्रा पनि छन्

    जब ग्राहक बारीमा सीधै ताजा तरकारी किन्न जान थाल्छ, बिचौलियाहरु बिच्किन थाल्छन्। र बिचौलिया नबिच्केसम्म ताजगी अलि परको कुरा हुन्छ। विचारका...

  • चित्ताकर्षक रारा, अद्भुत यात्रा

    यसपटक रारा घुम्ने रहरको मूल मुटुभित्र फुटेर आयो। इच्छाहरु यति रसाएर आए कि अनिच्छा र अल्छीका झिल्काहरुका लागि कुनै स्थान रहेन। यसपटकको...

  • खगेन्द्र संग्रौला

    गाई–निबन्धे गाली र खगेन्द्र संग्रौला

    संग्रौला सामाजिक सञ्जालमा निकै गाली खाने लेखकमा पर्छन्। उनले ट्वीटरमा केही लेख्नेबित्तिकै उनलाई गाली गर्नेहरू जाइलागिहाल्छन्। हिंसाको पक्षपोषण...

  • मिल्काइदेऊ नाथे ढोंग-२

    मैले सोधेँ, ‘हामीमध्ये को–को खुलेर हाँस्न सक्छौँ।’ प्रायः सबैको उत्तर थियो, ‘धेरै हाँस्ने बानी छैन।’ एकजना अभियन्ताको स्वीकारोक्ति थियो, ‘कुरा त...

  • पहेँलो जर्नल छोडेर गएकी निर्मला म्याडम

    हँसिलो मुहार र नेवारी लवजमा उनले मेरो संक्षिप्त परिचय मागेकी थिइन्। पहिलो भेटमै म उनको व्यक्तित्वबाट प्रभावित भएको थिएँ। उनको उज्यालो अनुहार आज पनि...

  • डाक्टर रामेश र चार्ल्स शोभराज

    मुटुविहीन मान्छेको मुटु ठीक गर्दा

    चार्ल्स भारतको तिहाड जेलबाट भागेका थिए। पुनमका पिता सोही जेलको एक कनिष्ठ अधिकारी थिए। उनले सो घटनबारे सुनेकी थिइन्। उनको पिताले भोगेको तनाव र...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...

  •  गोरखाको प्रोकभ्यालीमा गरिएको गहुँ खेती। यहाँ बर्षदिनमा एक खेतीमात्रै उत्पादन हुन्छ।

    उत्तरी गोरखाका यी भोकमरी-स्थान जहाँ राज्यको लगानी शून्य छ

    उत्पादन भएको अन्नले दुई-तीन महिना मात्रै खान पुग्ने, थप उत्पादन बृद्धि गर्न खेतीयोग्य जमिन पनि नभएको र सदरमुकामलगायत क्षेत्रबाट खाद्यान्न ढुवानी...