ब्लग

एक कविको सुर–चयन

भूपिन भन्छन्ः गीत तब मन पर्छ, जब त्यसमा श्रोताकै कथाको झरना खस्छ



कवि भूपिन
कवि भूपिन

एउटा राम्रो सङ्गीत सिर्जनामा श्रोताले आफ्नो भावना, संवेदना र विचारको तादात्म्यता खोज्छ। त्यसै कारण सङ्गीतले श्रोताको मनोदशा, भावना र चेतनालाई स्पर्श गर्छ। त्यो स्पर्शले मानव तन्तुको त्यस्तो भित्री तह छुन्छ, जसलाई सायद हम्मेसी अन्य विधाले छुँदैन। र, यस्तो स्पर्शलाई अनुभूत गर्ने हृदय सबैले पाउँदैनन्। हृदय पाइहाले पनि त्यसको असरलाई अभिव्यक्त गर्ने क्षमता निकै कममा हुन्छ। कवि/निबन्धकार भूपिनले त्यस्तो अभिव्यक्ति–सिप देखाएका छन्, एक निबन्धमा अर्थात् ‘मनका एल्बमका प्रिय गीत’मा। 

भूपिन गीतलाई सुमसुम्याउँछन्, जिन्दगीका वक्राकार गोरेटोमा साथी बनाउँछन्, मानवीकरण गरी तिनका चरित्र पर्गेल्न खोज्छन्। उनी आफूलाई विरेचित पार्ने छ ओटा प्रिय गीतको छनोट गर्दाको सकस र ती गीत छान्नुका कारणबारे चर्चा गर्छन्। छ प्रिय गीतमा चार नेपाली छन्, एकेक हिन्दी र अंग्रेजी।

उनको पहिलो छनौट हो– सिद्धिचरण श्रेष्ठकृत ‘मेरो प्यारो ओखलढुङ्गा, जसमा नारायणगोपालको स्वर तथा संगीत छ। यसमा उल्लेख भएको ओखलढुङ्गामा उनले यस्तो विम्ब भेटेका छन्, जुन सहर छिर्दा उनको गाउँ बलेवा बन्छ र विदेश पुग्दा त्यसले नेपालकै रूप लिन्छ। सन्दर्भअनुसार गीतिविम्बले नयाँ रूप धारण गर्ने उदाहरण दिएका छन् उनले।

कवि तीर्थ श्रेष्ठको ‘आमा’ उनको दोस्रो चयन हो, जसमा नेपथ्यका अमृत गुरुङको स्वर छ। यो गीत सुन्दा उनी संसारभरका आमा सम्झन्छन् र नमन गर्छन्। गायक गुरुङमा अमेरिकी कवि/गायक बब डिलनको झझल्को पनि भेट्टाउँछन्। कवितालाई अपरम्परागत शैलीमा गाइएकाले उनलाई यो गीत मन पर्दोरहेछ।

‘तिमी जुन रहरले’ उनको तेस्रो रोजाइ हो। यसमा दिनेश अधिकारीका शब्द र नारायणगोपालको स्वर–सङ्गीतमा छ। गीतकार अधिकारीले अठार वर्ष उमेरमा रचेको यो प्रेम गीत सुनेपिच्छे उनी विरेचित हुन्छन्। नारायणगोपालको घना निराशावादी गायकीमा चुर्लुम्मै डुब्न र तैरिन उनी यो सुन्छन्। संगीतलाई प्रेमबाट उब्जने आसा र निरासाको निकास खोज्ने माध्यम बनाउने अभ्यासको प्रतिनिधित्व गर्छ उनको यो छनौटले।

लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविता रविन शर्माले गाएपछि गीत बन्यो। यो गीत भूपिन–सूचीमा चार नम्बरमा छ। ईश्वरको अस्तित्वप्रति नै शंका गरिएको यो गीत छानेर भूपिनले विचार निर्माणमा पनि संगीतको महत्व रहेको छर्लङ्ग पारेका छन्। जब–जब उनी यो गीत सुन्छन् उनलाई लाग्छ, मानिस नै मानिसको एकमात्र ईश्वर हो।

पाँचौँ प्रिय छ– जोन लेननको ‘इम्याजिन’। यो युटोपियन गीतले उनलाई घरीघरी काल्पनिक दुनियाँमा पुर्याउँछ जहाँ राष्ट्रिय सीमाना, धर्म वा सम्पत्तिजस्ता पर्खालहरू भत्किएका छन्। छ त केवल मानवता र शान्तिको बस्ती। आदर्श समाजको परिकल्पनाबिना कलाको मूल्य हुँदैन सायद। त्यसैले भूपिन यस गीतमा निहित आदर्शको पूजारी बनेका छन्।

‘ये दौलत भी ले लो...’ जगजित–चित्रा सिंहले गाएको र सुदर्शन फाकिरले लेखेको यो गजलले उनलाई हदैसम्म नोस्टाल्जिक बनाइदिन्छ, यो उनको छैठौं चयन हो। ‘बाल्यकालबारे यति जीवन्त गीत मैले सुन्न पाएको छैन’ उनको दाबी छ। बाल्यकाल फिर्ता पाउने सर्तमा सम्पत्ति, सुन्दरता र जवानी पनि गुमाउन नहिच्किचाउने मानवीय चेतनाको काव्यिक व्याख्या यो गीतको शक्ति हो।

संगीतमा मान्छेलाई नोस्टाल्जिक बनाउने विचित्रको गुण हुन्छ। यो गजल सुन्दा उनी पनि बाल्यवयमा कागजको डुंगा बनाएर वर्षात्को बाढीमा बगाएको, चराहरू पक्रेको र तिनलाई आमाको आग्रहमा छोडिदिएका घटनाहरू सम्झन पुग्छन्। साथीहरूसँग मिलेर झुम्राका बेहुला–बेहुलीको बिहेमा जन्ती गएको, गाई चराउन जाँदा चौरमा धेरैपटक आफ्नो तस्वीर बनाएको र मेटेको कुरा याद गर्छन्। ‘जब उमेरको भूतले मलाई एकान्तमा तर्साउन थाल्छ, कल्पनामै सही टाइम मेसिनमा छिरेर म त्यो समयमा फेरि पुग्न चाहन्छु। यो गीतले मलाई छलकपटबिनाको बाल्यकालको दिव्यता सम्झाउँछ।’ सम्भवतः भूपिन मात्र होइन यो गीत सुन्ने जोकोही यसरी नै नोस्टाल्जिक बन्छ। आखिरमा संगीतको विशेषता यही त हो।

सामान्य अवस्थामा आफूलाई मन परेका गीतबारे बोल्नु कुनै ठूलो वा गाह्रो कुरा होइन। तर जब एउटा लेखक/श्रोताले ती गीत मन पर्नुका कारणबारे बोल्छ वा लेख्छ, तब त्यो चुनौतीपूर्ण काम बन्छ। उसले गर्ने विश्लेषण र व्याख्याले समाजमा संगीतलाई बुझ्ने दृष्टिकोण निर्माणमा समेत प्रभाव पार्छ। भूपिनका लागि गीत छनोट गर्ने काम कठिन बन्नुको कारण यही हो।

यो कठिनाइलाई उनले आफ्नै शैलीमा सुल्झाएका छन्। यो शैली नवीन छ। उनले छानेका गीतहरू, त्यसबारे उनले गरेका तर्क र जोडेका सन्दर्भहरूले गीत सङ्गीतका बहुआयामबारे छलफल थाल्ने आधार प्रदान दिएको छ। हरेक गीत छनोटका व्यक्तिगत, साहित्यिक तथा सृजनात्मक कारणले उनको यो निबन्धको दायरा फराकिलो बनेको छ। उनको छनोटका गीत र त्यसबारे गरिएका चर्चाले उनले गीतलाई पनि अध्ययन र चिन्तनको स्रोत बनाएको इंगित गर्छ।

मान्छेलाई कुनै गीत किन मन पर्छ त?

भूपिन भन्छन्, ‘गीतहरू मन पर्नुको एउटा कारण श्रोतासँगको विषयगत जोडाइ पनि हो। श्रोताले त्यो शब्द र आवाजमा आप्mनो कथाको झरना खसिरहेको महसुस गर्दछ। त्यसको सितलोले उसलाई निथ्रुक्क भिजाउँछ। विरेचित पार्छ।’

‘चौबीस रिल’ पुस्तकको ‘मनका एल्बमका प्रिय गीत’ शीर्षकको निबन्ध भूपिनको सुर–चयन बुझाउने एक सन्दर्भ हो। हुन त मैले हालसम्मै पढेकोमध्ये यो अब्बल निबन्ध पनि होइन, न त यो सोही पुस्तकको उत्कृष्ट निबन्ध नै हो। निबन्धको वहानामा सङ्गीत–श्रवणको अनुभूति पस्केको यो एक नयाँ पाठ्य–खुराक चाहिँ पक्कै हो। व्यक्तिले सङ्गीत सुन्ने कारण जान्न र त्यसलाई कसरी ग्रहण गर्दोरहेछ भनेर बुझ्न भूपिनको लेखाइले सघाउँछ। सङ्गीतसँग हुँर्कदाका अनगिन्ती भावना, अनुभूति र विचार सबैसँग केही न केही पक्कै होलान्। तिनलाई शब्दरूपी क्यामेराले खिचेर एउटा रिल हामी पनि थप्ने कि!

प्रकाशित ३० मंसिर २०७३, बिहिबार | 2016-12-15 13:38:48

प्रतिकृया दिनुहोस

  • आयातीत पीडाको कहानी

    हिजोआज नेपालका हरेक घरका नजिक वा टाढाका सदस्य विदेशिनु अकाट्य सत्य बनेको छ। तीमध्ये खाडी मुलुक जानेको संख्या बढी भएको कुरा पनि अर्को यथार्थ हो।...

  • कवि केशव सिलवाल

    सहरमा एक पुँजीवादः काँठमा एक रामचन्द्रे

    मिश्र सरको पुँजीवादबाट पीडित साक्ष्य हो रामचन्द्रे। उसलाई सिंहदरबारको कुनामा थन्किएको राज्यले नजर लगाउँदैन। उसको आहत कसैलाई सुन्ने फुर्सद छैन।...

  • विनोदविकास सिंखडा

    मेरो समयको एसएलसी र आजको एसइई

    एकाबिहानै फेसबुक खोलेर हेर्दा थाहा पाएँ, यो सालको एसएलसी सुरु भइसकेछ। आजभोलि त एसएलसीलाई ‘एसइइ’ पो भन्दा रहेछन्। सबै भन्छन्– यो परीक्षा जीवनको...

  • रवीन्द्र मिश्र

    रवीन्द्र मिश्रको समूहमा व्यक्ति प्रधानताको लक्षण

    राजनीति गर्छु भन्नेहरूले ति एजेण्डाका बारेमा स्पष्ट दृष्टिकोण सार्वजनिक नगरी सुख छैन। अहिले भएका वा भविष्यमा बन्ने सबै राजनीतिक दलले आफ्नो...

  • खस्कँदो छ उद्योग वाणिज्य महासंघको साख

    विस्तारै हटिरहेको लोडसेडिङ, उद्योगी र मजदुरबीचको सुमधुर सम्बन्ध र विदेशी लगानी बढिरहेको अवस्थामा अबको नेतृत्वले मुलुकमा लगानीको वातावरण रहेको...

  • समलिङ्गी जोडी रजनी र शर्मिला

    यस्ता छन् एक लेस्वियन जोडीका दुःखसुख

    नेपाली तेस्रो लिङ्गी अञ्जली तामाङको चर्चा काठमाडौँदेखि न्युयोर्कका पत्रपत्रिकासम्म पुग्दा मलाई पनि केही समयअगाडि बिबिसी साझा सवालमा आएका तेस्रो...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...

  • खुसी रहन अपनाउनुपर्ने यी पाँच उपाय

    मानिसको दिमागलाई के कुराले खुसी बनाउँछ त? अथवा एक व्यक्तिले बढी खुसी प्राप्त गर्न कस्ता कुरामा ध्यान दिनुपर्छ त? एक न्युरो साइन्टिस्ट एलेक्स कर्बका...

  • गुरुङ थातथलो पुग्दा यस्तो देखियो इतिहास

    अन्नपूर्ण र लमजुङ हिमालको फेदमा अवस्थित क्होला सोँथरलाई तीन गाउँमा विभाजन गरिएको छ। क्होला सोँथरको पश्चिमी भागमा केही घरहरुको अवशेष देख्न सकिन्छ...