जसका लागि सगरमाथा सबैभन्दा ठूलो भगवान

सर्वप्रथम सगरमाथाको शिखरमा पाइला टेक्ने आरोहण दलका एक मात्र जीवित सदस्य कान्छा शेर्पा भन्छन्– मेरो कथा सुनेर अरु दंग पर्दा खुसी लाग्छ



नाम्चे बजारमा नोभेम्बर महिनाको चिसो बिहान। ‘निर्वाण होम’को दोस्रो तलाको एउटा सानो कोठा। कोठाका भित्ताभरी फ्रेममा सजिएका छन्, अनेक तस्वीर। केही रंगीन, बाँकी सबै श्यामश्वेत। तस्वीरबाहेक भित्तामा तक्मा र प्रमाणपत्रहरु छन्। केही नेपाली संघसँस्था र सरकारले प्रदान गरेका, केही विदेशीले। ढोकाको छेउमै एउटा ठूलो झोलाजस्तो देखिने आकृति। झोलामा डन्डी मात्रै बाँकी छ, कपडाजति च्यातिइसकेका छन्।

स्वाट्ट पस्दा सानोतिनो संग्राहलयमा पो आइपुगेँ कि जस्तो भान हुने कोठा।

त्यही सानो कोठामा रहेको एउटा खाटमा बसेर बौद्ध धर्मावलम्बीहरुले घुमाउने माने घुमाउँदै थिए ८३ वर्षीय कान्छा शेर्पा। कान्छा शेर्पा, अर्थात् सन् १९५३ मा विश्वमै सर्वप्रथम सगरमाथाको शिखरमा पाइला टेक्ने आरोहण दलका एक मात्र जीवित सदस्य।

न्युजिल्याण्डका सर एडमन्ड हिलारी र नेपाली शेर्पा गाइड तेन्जिङ नोर्गेको टोलीमा यिनै कान्छा शेर्पाले ४५ दिन काम गरेका थिए।

एकाबिहानै म उनको कोठामा पुग्दा रातो ज्याकेट, ऊनीको टोपी र सिरक ओढेर ‘ओम मणि पद्मे हुम्’ मन्त्र पढ्दै माने घुमाइरहेका थिए कान्छा। हुन त त्यो समय मर्निङ वाक जाने र अलिकति माथि डाँडाको गुम्बामा गएर ध्यान गर्ने समय थियो उनको। तर उनलाई भेट्न कोही आउने भएपछि उनले आफ्नो नियमित दैनिकी त्यागेका थिए।

‘आजभोलि त मेरो कामै भेट्न आउने मान्छेहरुलाई आफ्नो कथा सुनाउने भएको छ,’ कान्छाले सुरुप्प चियाको चुस्की लिँदै भन्न सुरु गरे, ‘सँधै मान्छे आइरहन्छन्। अझ विदेशीहरु धेरै। मेरो कथा सुनेर अरु दंग पर्दा मलाई नि खुसी लाग्छ।’

उमेरमा ८० खुड्किलो केही वर्षपहिले नै उक्लिसकेका कान्छाको अनुहार उतिसारो चाउरी परेको देखिँदैन। हँसिलो अनुहार, आत्मविश्वास झल्किने शेर्पा लवजको बोली र २० वर्षे तन्नेरीकोजस्तो जोश देखेर म एकछिन छक्क परेँ र अस्ति दशैँअघि मात्र अपरेशन गर्नुपरेको मेरो ८३ वर्षको हजुरबालाई सम्झेँ।

कान्छा शेर्पा

उमेर एउटै भए पनि दुई जनाको स्वास्थ्य र जोशमा आकाशपातालको फरक। सायद यसैकारण शेर्पाहरु अरुभन्दा भिन्न छन् र संसारभर उनीहरुको पर्वतारोहण क्षमता, सीप र बहादुरीको चर्चा चल्छ।

हिमालको काखैमा रहेको नाम्चेमा जन्मिएका कान्छालाई आफ्नो गाउँ नजिकै सगरमाथा नामको हिमाल छ र त्यो चढ्न सकिन्छ भन्ने कुरा २० वर्षको उमेरसम्म थाहा थिएन। उनी एक साधारण परिवारमा जन्मिए, बाबुआमालाई सघाउन घाँसदाउरा बोक्थे, काठ वा गहुँको गह्रौँ बोरा बोकेर तीन दिन टाढा रहेको चीनको सीमासम्म पुग्थे र फर्किन्थे। उनको जीवनचर्या सामान्य शेर्पाको छोरो झैँ बित्यो।

‘यसरी बसेर हुँदैन भन्ने भएपछि गाउँकै एक साथीको लहैलहैमा लागेर म घरबाट राती सुटुक्क भागेँ,’ उनले सुनाए, ‘न बाउआमालाई सोधेँ, न कसैलाई सुनाएँ। अलिकति सातु बोकेर सीधै लागेँ दार्जिलिङतिर।’
अहिले आएर कान्छा सम्झिन्छन्, घरबाट भाग्नु नै उनका लागि नयाँ जीवनको सुरुवात थियो।

सात दिन लगाएर दार्जिलिङ पुगेपछि उनको भेट भयो तेन्जिङ नोर्गेसँग। तेन्जिङ पहिलेदेखि नै कञ्चनजंघा हिमालतिर काम गरिसकेका मान्छे रहेछन्। चार महिना दाउरा बोक्ने काम गरेपछि कान्छा तेन्जिङसँगै काठमाडौँ आए। त्यही बेला न्युजिल्यान्डबाट आएका एडमण्ड हिलारी र उनको टोलीसँग उनीहरुको भेट भयो।
उनीहरु केही समय जावलाखेलमा क्याम्पिङ गरेर बसे। ‘त्यतिबेला न मोटर थियो, न घर। जाउलाखेल त खुला मैदान मात्र थियो,’ कान्छा सुनाउँछन्, ‘हिँडेर भक्तपुर पुग्यौँ, त्यहीँबाट हाम्रो साँच्चैको सगरमाथा अभियान सुरु भयो। त्यसबेला कुल्ली मात्रै चार सय जना थिए।’

दुई महिनामा सो टोली नाम्चे बजार पुगेपछि सबै कुल्ली फर्र्किए। त्यहाँ जम्मा ३५ जना मात्र रहे। जसमध्ये १५ जना न्युजिल्याण्डबाट आएका र बाँकी २० जना शेर्पा गाइड र भरिया।

कान्छाको भागमा अक्सिजन, पानी र खानेकुरा बोक्ने जिम्मा परेछ। गत चैतमा हेलिकप्टरमा सगरमाथा आधारशिविर घुमेर फर्केका कान्छा सम्झिन्छन्, ‘ऊबेला त अहिलेको जस्तो कहाँ हुनु! घाँसे मैदानजस्तो थियो बेस क्याम्प, जहाँ याक चरिरहेको हुन्थे। अस्ति म जाँदा त सयभन्दा बढी पाल टाँगिएका र मान्छेको भीड देखेर छक्क परेँ।’

हिमालमा कहिल्यै नहिँडेको बाटो हिँड्न कठिन त हुने नै भयो। शेर्पाहरुले डोरी टाङेर बाटो बनाउँदै गए, जसलाई हिलारी, तेन्जिङ र टोलीका अरु सदस्यले पच्छ्याउँदै गए। कान्छाका अनुसार क्याम्प एकदेखि क्याम्प तीनसम्म अलि सजिलो थियो भने त्यसभन्दा माथि निकै कठिन। शेर्पाहरुले पाल, स्लिपिङ ब्याग, स्टोभ र खानेकुरा बोकेका थिए।

२९ मे को दिउँसो एक बजे साउथ कोलमा पुगेका कान्छालाई वाकीटकीबाट हिलारी र नोर्गेले सगरमाथाको चचुरोमा पाइला टेकेको खबर सुनाए। कान्छाका लागि मात्र होइन, आरोहण दलका सबैका लागि त्यो क्षण अविस्मरणीय रह्यो।

हिलारीले वाकीटकीमा भनेअनुसार नै सबै जना क्याम्प दुईमा झरेर बसे। जब दुई घण्टापछि अर्थात् तीन बजेतिर हिलारी र नोर्गे आइपुगे, उनीहरुको खुसीको सीमा रहेन। महिनौँदेखिको प्रयास सफल भएको थियो र विश्वमै नयाँ किर्तिमान कायम भएको थियो। उनी त्यस क्षणलाई सम्झिँदा अझै पनि गर्व महसुस गर्छन्। खुसीले नाम्चे फर्किसकेपछि तीन दिनसम्म छ्याङ खाएर नाचेको कान्छालाई हिजैजस्तो लाग्छ।

‘आज जेजस्तो छ, सब हिलारी र तेन्जिङले गर्दा भएको हो,’ कान्छा भन्छन्, ‘उनीहरुले संसारलाई सगरमाथाको बाटो देखाइदिए। हिलारी बाउ हुन् भने तेन्जिङ हाम्री आमा।’

त्यसयता कान्छाले जिन्दगीमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन। उनलाई वाचा गरेअनुसार नै हिलारीले एक महिनापछि प्रमाणपत्र, तक्मा र ज्याला ल्याएर कान्छाको हातमा राखिदिए। त्यसपछि कान्छा गाउँभरी हिरो भए। ‘त्यो बेला चाँदीको सिक्का चल्थ्यो। हामी शेर्पा सहयोगीलाई दिन भनेर ल्याएको पैसा काठको बाकसमा २५ जनाले बोकेर ल्याएका थिए। त्यसको सुरक्षाको लागि पाँच जना पुलिस पनि आएका थिए।’

उनको त्यसबेलाका कमाई दिनको आठ रुपैँया थियो। कान्छालाई अहिलेको चार हजारभन्दा त्यो आठ रुपैँया ठूलो लाग्छ। त्यो कमाइले त सारा बजार नै किन्न पुग्थ्यो भन्दै उनी एकछिन हाँसे। ‘त्यो बाकस पछि तेन्जिङको छोरा आएर दार्जिलिङको संग्राहलयमा राख्छु भने, मैले नि हुन्छ भनेर पठाइदिएँ,’ कान्छा भन्छन्।

दुवैले माया गर्ने भए पनि उनलाई हिलारीभन्दा तेन्जिङ अलि बढी नजिकका लाग्थे। पहिलो कारण उनी नेपाली थिए, अनि दोस्रो आफ्नै खुम्बु क्षेत्रका शेर्पा। पछिसम्म पनि उनीहरुको भेट भइरह्यो।

पर्वतारोहणको २० लामो अनुभवमा कान्छा धेरै पटक सगरमाथाको चुचुरोबाट नजिक साउथ कोलसम्म पुगेका रहेछन्। तर विडम्बना अरुले जस्तै उनले कहिल्यै पनि सगरमाथाको चुचुरोमा देशको झण्डा फहराउन पाएनन्। भन्छन्, ‘मलाई त्यस्तो मौका कहिल्यै आएन।’

कान्छाले त्यसो भनिरहँदा मनमा चसक्क बिझ्यो, जसले आफ्नो ज्यानको जोखिम मोलेर सैयौँलाई सगरमाथाको चुचुरोमा पुर्याए, तिनै व्यक्ति आफू भने कहिल्यै त्यो स्थानमा उक्लन पाएनन्। मनमनै सोचेँ, शेर्पाहरुको छाती पनि सगरमाथाजस्तै चौडा रहेछ।

तर पनि उनलाई पछाडि फर्केर हेर्दा जीवनसँग कुनै गुनासो छैन। मन खोलेर हाँस्दै भन्छन्, ‘पहिले धेरै संघर्ष थियो, अहिले मात्र खुसी छ।’

अझै केही वर्ष आरोहणमा काम गरेको भए त्यो अवसर पनि आउँथ्यो कि? तर सन् १९७१ मा कान्छाले पर्वतारोहणको पेसा नै छोडिदिए। कारण थियो, श्रीमतिको अडान। हिमाललाई भगवान् मान्ने उनकी श्रीमती कुनै दिन हिमाल रिसाए श्रीमान्को ज्यानमा तलमाथि पर्छ कि भनेर डराउँथिन्। उनकै आग्रहपछि कान्छाले हिमाल छोडेर अंग्रेजी सिके, एउटा ट्रेकिङ एजेन्सी खोले अनि छोराछोरीको भविष्य सोच्नतिर लागे।

‘मेरा दुवै छोरा यही नाम्चेमा बेग्लाबेग्लै होटल चलाउँछन्,’ कान्छाले छोराछोरीका बारेमा भने, ‘एक छोरी डेनमार्क र एक छोरी काठमाडौँमा बस्छन्। म पनि प्रायः काठमाडौँमै बस्छु। केही महिना मात्र भयो यता आएको।’

दुई वर्षअघि श्रीमती बितेपछि कान्छा अलि एक्लो भएको महसुस गर्छन्। १९५३ मा आफूले बोकेको झुत्रो झोला देखाउँदै भन्छन्, ‘यी यिनै हुन् बुढेसकालका साथी।’

शेर्पासँग लेखिका

सगरमाथाले उनलाई धेरै कुरा थियो, नाम, दाम र सम्मान। नेपाल सरकारले २०१३ मा सगरमाथा हीरक जयन्तीको अवसरमा उनी र उनकी श्रीमतीलाई काठमाडौँको सडकमा फूलैफूलले सजिएको बग्गीमा राखेर घुमाएको थियो। त्यो क्षण पनि उनलाई प्रिय लाग्छ। सरकारबाट खास आर्थिक सहयोग नपाए पनि नेता र मन्त्रीहरु उनलाई भेट्न घरमै पुग्छन्। त्यसैबाट उनी मख्ख छन्।

जिन्दगीका सबै इच्छा पूरा भइसके रे कान्छाका। अब बाँकी रहेको समय भगवानमै समर्पण गर्न चाहन्छन् उनी। उनका लागि सबैभन्दा ठूलो भगवान त सगरमाथा नै हो। ‘आज यो नाम्चे र पूरै खुम्बु क्षेत्र जस्तो अवस्थामा पुगेको छ, त्यो सबै सगरमाथाको कृपा हो,’ उनी भन्छन्, ‘घरघरमा चुलो बलेको छ, जीवन चलेको छ।’

जब मैले जलवायु परिवर्तनले गर्दा हिमालको हिउँ पग्लिँदै गरेको प्रसंग निकालेँ, कान्छाले गम्भीर भएर भने, ‘यो सब जलवायु परिवर्तनले होइन, भगवान रिसाएकाले गर्दा भएको हो। संसारभरीका मान्छे सगरमाथा चढ्न आउँछन्। पैसाको मुख हेर्ने हो भने यो राम्रो कुरा हो तर भगवानको बारेमा सोच्ने भए भगवानलाई रिस उठाउनु हुँदैन।’

उनीसँग एक घण्टाजति गफिएर विदा माग्नलाग्दा मैले एउटा सेल्फी खिचौँ है भन्दा कान्छा मुसुक्क मुस्कुराए।

भर्याङबाट तल ओर्लिँदै गर्दा केही सेकेण्ड रोकिएर सोचेँ, ‘भगवान’ सगरमाथा साँच्चै रिसाउलान् त?

(तस्विहरु– सुनिल शर्मा)

 

प्रकाशित २८ मंसिर २०७३, मंगलबार | 2016-12-13 15:03:13
author photo

श्रृष्टि काफ्ले सिन्ह्वासँग सम्बद्ध छिन्

@KafleShristi


प्रतिकृया दिनुहोस

  • जीवनमा रिलका पात्र

    एक पात्र जो टन्टलापुर घाममा आफू र आफ्ना बालखाका लागि खोला किनारमा गिटी कुट्दै छ। उसको त्यो कथालाई हामी वास्तविक जीवनमा सुन्न त्यति महत्व दिँदैनौ...

  • घरबार एकातिर, माया अर्कैतिर!

    कीर्तिपुरमा पढ्न आउँदा म विवाहित र एक बच्चाकी आमासमेत बनिसकेकी थिएँ। मेरा साथीहरू २६ कटेका छन् सबै। खासै कोही प्रेमको कुरा गर्दैनन्। २५ वर्ष पुग्दा...

  • मज्जाले प्रेम गर तर वियोगमा रुँदै नहिँड

    प्रेम गर्यो त गर्यो सकियो। मैले त प्रेम गर्न सकें त्यो नै मेरो सफलता हो। एउटा सफल प्रेम मैले बाँचें । बस्, प्रेमको सफलताको मापदण्ड प्रेम नै हो।...

  • पहिलो कला साहित्य उत्सवको एक दृश्य

    युवा–विद्यार्थी केन्द्रित साहित्योत्सव

    काँकरभिट्टामा यही फागुन १२ गतेदेखि आयोजना हुन लागेको तीन दिने कला साहित्य उत्सव विद्यालयका शिक्षक र विद्यार्थीहरूका उपयोगी हुनेछ। साधारणतया...

  • ध्वनि प्रदुषणको चपेटामा बिचरा बिरामी!

    केही महिनाअघिसम्म स्वास्थ्यमन्त्री गगन थापाकै निर्वाचन क्षेत्रमा पर्ने धुम्बाराही चोकैको एउटा भवनमा ‘अनमोल अस्पताल’ सञ्चालनमा थियो। सोही भवनको आधा...

  • कर्णाली-भेरी खोला, फेरि भेट होला-नहोला

    ‘हाम्रा बज्या भेडा पाल्दा खन्, हामी पनि भेडो पाल्न्या हुम्।’ यति भनिसकेर फुच्चेले एकपटक सुँक्क गर्यो, नाकको भेडोको लम्बाई घट्यो। मैले क्यामेरा...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सुवास नेम्वाङ

    ‘संशोधन विधेयक न पास हुन्छ, न फेल’

    मधेशलाई पहाडबाट छुट्याउनेबित्तिकै स्रोतका आधारमा कमजोर प्रदेश बन्न जान्छ। त्यसैले यो मधेश र मधेशी जनताको हित विपरीत छ भन्ने हाम्रो अडान हो। एमाले...

  • शान्ति मण्डला निर्माणको बाटो खुल्यो

    सवैभन्दा माथिल्लो भागमा ५४ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिनेछ। मण्डलाको प्रत्येक कुनामा हिन्दूधर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र...

  • 'पृथ्वीनारायणको एकीकरणलाई हामी पूर्णता दिन्छौं'

    केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा एमालेले स्वयम् सेवक प्रशिक्षण कार्यक्रम सोमबारदेखि शुरु गरेको छ। आगामी २१ फागुनदेखि शुरु गर्न लागेको...

  • ला ला ल्याण्डका निर्माता जोर्डन होरोविट्ज वास्तविक विजेता मुनलाइट भएको बताउँदै

    मुनलाइट र ला ला ल्यान्डमय ओस्कार

    ८९ औँ ओस्कारमा उत्कृष्ट फिल्म घोषित हुँदै मुनलाइटले इतिहास रचेको छ। गल्तीवश केही समयका लागि ला ला ल्याण्डलाई उत्कृष्ट फिल्म घोषित गरिएपछि मञ्चमा...