एक अर्ब युवाको बेरोजगार भविष्य

अतिकम विकसित देशहरूमा नै युवाको जनसंख्या बढी छ, नेपालमा झण्डै आधा जनसंख्या युवा छन्



अहिले युवासँग सम्बन्धित प्रश्न नीति–निर्माणकर्ता संस्था र नेताहरूसमेत उठाइरहन्छन्। प्रश्न उठ्नु आफैमा समाधान होइन, तर यसले के संकेत गर्छ भने अब युवाहरूको भूमिकालाई बेवास्ता गर्न मिल्दैन। नेपालमा मात्रै हैन, संसारभरि नै युवाको सवाल प्रमुखताको साथ उठिरहेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव वानकी मुनले युवादुत नियुक्त गरेर युवाका विषयलाई युवाकै नेतृत्वमार्फत् सम्बोधन गर्न प्रयास पनि गरिरहेका छन्।

नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ मध्य १ करोड ६८ लाख ९ हजार ८ सय बयालिस युवा छन्

विश्वका १५० भन्दा बढी देशका सरकार प्रमुख र उच्चपदस्थ अधिकारी सम्मिलित बैठक सन् अघिल्लो वर्षको सेप्टेम्बर २५–२७ मा संयुक्त राष्ट्र सङ्घमा बस्यो। उक्त बैठकले आगामी १५ वर्ष अर्थात् सन् २०३० सम्मको लागि तय गरेको दीगो विकासका १७ वटा लक्ष्य पूरा गर्न युवाको नेतृत्वदायी भूमिकाको परिकल्पना गर्दै यस वर्षको अन्तराष्ट्रिय युवा दिवसको नारा तय गरेको थियो। यस बीचमा नेपालमा युवाको क्षेत्रमा सरकारी र गैरसरकारी क्षेत्रबाट केही महत्वपूर्ण काम भएका छन्। युवा तथा खेलकुद मन्त्रालय स्थापना हुनु, ०६६ मा पहिलो पटक राष्ट्रिय युवा नीति बन्नु, मन्त्रालयले जिल्ला जिल्लामा युवा सूचना केन्द्रको स्थापना गर्नु र राष्ट्रिय युवा नीतिले परिकल्पना गरेको राष्ट्रिय युवा परिषद निर्माणको लागि युवा परिषद गठन ऐनअनुरूप पहिलो पटक राष्ट्रिय युवा परिषद बन्नु नीतिगत उपलब्धि हो। त्यसैगरी राष्ट्रिय युवा नीतिको परिमार्जन र युथ भिजन २०२५ निर्माणको लागि कार्यदल निर्माण, कार्यदलले तयार पारेको परिमार्जित राष्ट्रिय युवा नीति र युथ भिजन २०२५ मन्त्री परिषदबाट पारित भई कार्यान्वयनको लागि अगाडि बढ्नुलाई पनि उपलब्धि मान्न सकिन्छ। तर, नीतिगत परिवर्तनले पनि किन युवाको समस्या समाधान गर्न सकेको छैन त? यो अहिलेको महत्वपूर्ण प्रश्न हो।

संयुक्त राष्ट्रसङ्घ जनसंख्या कोषका अनुसार १० देखि २४ वर्ष उमेर समुहका १.८ विलियन युवा जनसंख्या छ। यो इतिहासमा सबैभन्दा बढी युवा जनसंख्या भएको समय हो। अर्को तथ्य चाहिँ युवाको जनसंख्या अतिकम विकसित देशमा बढी छ। नेपालको सन्दर्भमा १६ देखि ४० वर्ष उमेर समूहलाई राष्ट्रिय युवा नीतिअनुसार युवा मान्ने गरिन्छ। यसरी हेर्दा नेपालको पछिल्लो जनगणना २०११ अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ मध्य १ करोड ६८ लाख ९ हजार ८ सय बयालिस युवा छन्। झण्डै देशको आधा जनसंख्या युवा समूहमा पर्दछ। त्यसमध्ये ५४.५ प्रतिशत महिला र ४५.८ प्रतिशत पुरुष छन्। युवा जनसंख्या धेरै हुनु कुनै पनि देशको अवसर र चुनौती दुवै हो। युवा जनसंख्या बढी हुनुलाई जनसांख्यिक लाभ अर्थात् वोनस पपुलेसन मानिन्छ। सदैव कुनै पनि देशमा यस्तो आँकडा स्थिर रहँदैन। सन ०१५ उच्च युवा जनसंख्या रहेको वर्ष थियो भने अब बिस्तारै युवा जनसंख्याको आंकडा घट्ने क्रममा छ। संसारको विकास क्रमलाई हेर्दा युवा जनसंख्या बढी भएको बेला उनीहरूको नेतृत्वका समुचित प्रयोग र सहभागिताको सुनिश्चितता गर्न सकियो भने छिटोछिटो विकास र प्रगति भएको देखिन्छ।

नेपालको सन्दर्भमा युवाको पूर्ण सम्भाव्यता उपयोग हुन सकेको छैन। आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र संस्थागत गर्ने प्रक्रियामा युवाको भुमिकालाई जहिले पनि नजरअन्दाज गरिँदै आएको छ, जसको कारण नेपालमा आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने र बारम्बार आन्दोलन गर्नुपर्ने बाध्यता छ। गणतन्त्र स्थापनापश्चात्को परिवर्तनलाई संस्थागत गर्ने प्रक्रियामा युवाको सहभागिता सुनिश्चित नहुँदा युवामा निराशा बढ्ने र बिदेश पलायन समेत बढ्ने गरेको छ। यस्तो अवस्थामा दीगो विकासको लक्ष्य प्राप्त गर्न युवाको नेतृत्वदायी भुमिका कसरी निर्माण गर्न सकिन्छ भन्ने अहम् प्रश्न हामी बीच छ। अहिले कुनै नेपाली युवालाई युवाको प्रमुख समस्या सोध्यो भने उत्तर आउँछ– बेरोजगारी। यस्तो अवस्थामा रोजगारी, स्वरोजगार, उद्यमशीलता र सिप विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरौं।

भारतमा ब्रिटिश उपनिवेशकालदेखि नै लाहुर जाने चलन थियो। उद्यम, व्यापार–व्यवसाय गरेर कमाउनुभन्दा आफ्नो लागि आफै उब्जाउने र परिवार पाल्ने परम्परा बढी थियो। त्यसैगरी नेपालमा कामलाई सम्मान गर्नुभन्दा पनि भाग्यमा विश्वास गर्ने संस्कृति हावी भएकाले काम गर्ने मान्छे सानो भन्ने सोच व्याप्त थियो/छ। प्रत्येक दिन १५ सयभन्दा बढी युवा विमानस्थलको बाटो वैदेशिक रोजगारीमा जान्छन्, भारत जाने र लुकेर चोर बाटो हुँदै जानेको संख्या यकिन छैन। ५० लाखभन्दा बढी नेपाली युवा सस्तोमा श्रम बेच्न विदेशी भूमिमा पुगेका छन्। भूकम्पको महाविपत्तिका बेला आफ्ना आफन्त गुमाउदा सिंगो देशमा शोक हँुदा ती युवा नेपाल फर्कन पाएनन्। यस्तो अवस्थामा पनि उनीहरूले विदेशी भूमिमा आँसु, पसिना र रगत बगाइरहेका छन्। उनीहरू सामु विदेशिनुबाहेक अर्को विकल्प छैन। रोजगारी र उद्यमशीलताको प्रमुख चुनौती राजनीतिक अस्थिरता, उत्पादनमुखी उद्योग नहुनु, कृषिको औद्योगिकीकरण नहुनु, उद्योगमैत्री संरचना नहुनुका साथै कामप्रति सम्मान नहुनु रहेको छ। नेपालका एकजना चर्चित समाजशास्त्री डोरबहादुर बिष्टले आफ्नो किताब ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’मा भाग्यवादले गर्दा हामी पौरख शून्य भएको उल्लेख गरेका छन्। त्यसमा थपेर भन्ने हो भने नेपालमा सबैभन्दा बढी सिप भएको वर्ग–समुदाय सबैभन्दा पछाडि पारियो र विभेदको शिकार बनाइयो, जसले गर्दा बहुसंख्यक युवा पनि विभेदको मारमा परे। उनीहरूले न सम्मानपूर्वक आफ्नो पेशा अँगाल्न पाए, औद्योगीकीकरण गर्ने सोचे।

व्यवस्थापनमा स्नातकोत्तर युवाले व्यवसाय गर्न चाह्यो भने सजिलै कर्जा पाउँदैन, कर्जा पाउन धितो अनिवार्य छ। हातमा डिग्री पासको सर्टिफिकेट छ, तर त्यसलाई बैंकले धितो मान्दैन। नेपालमा बैंकहरूले घरानियाँ व्यापारीलाई मात्र पत्याउँछन्। व्यवसाय गर्नेका लागि नेपालका बैंकहरूको व्याजदर निकै उच्च छ। यसबारे नेपाल राष्ट्र बैंकले सोच्नु ढिला भइसकेको छ। गाँउगाँउमा खोलेका सहकारीले टाँठाबाठालाई मात्रै फाइदा पुर्‍याएको छ। सिर्जनशील परियोजनामा पैसा लगानी गर्नेभन्दा बिहे, ब्रतबन्ध र सानोसानो गर्जो टार्ने काममा आम सहकारीको भूमिका देखिन्छ। नेपालका सहकारीहरूले पनि गाँउको आवश्यकताअनुरूपको योजनामा लगानी गर्न ढिला भइसकेको छ। नेपाल विश्व युवा विकास सूचकाङ्कमा १४५ औं स्थानमा रहेको छ। दक्षिण एसियाका मुलुकसँग तुलना गर्दा पनि नेपालको युवा विकास सूचकाङ्क सबैभन्दा कमजोर देखिन्छ। सरकारी तथ्याङ्कमा नेपालमा पूर्ण बेरोजगार युवाको दर २.३ प्रतिशतमात्र देखाइए पनि अर्धबेरोजगार युवाको दर करिब ३६ प्रतिशत छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)का अनुसार पूर्ण बेरोजगारी दर १९.२ प्रतिशत र अर्ध बेरोजगारी दर २८.३ प्रतिशत छ। अर्धबेरोजगारीमा रहेको नेपालको करिब ३६ प्रतिशत युवा शक्ति आर्थिक उत्पादन र सिपसँग जोडिन सकेको छैन। सीमान्तकृत, अल्पसङ्ख्यक, आदिवासी, दलित, अपाङ्गता भएका युवामा बेरोजगारी दर उच्च रहेको छ। युवा श्रमशक्तिको झण्डै आधा भाग अझै गुजारामुखी कृषिमा आश्रित छ। वैदेशिक रोजगारीमा जाने वार्षिक पाँच लाख ३८ हजार युवामध्ये ७४ प्रतिशत अदक्ष छन्। सेवा क्षेत्रमा रोजगारीको अनुपात केही बढेको देखिए पनि औद्योगिक क्षेत्रमा भने यो अनुपात घटेको छ। विप्रेषण गार्हस्थ उत्पादनको २९ प्रतिशत पुगेको भए पनि यसको निकै सानो अंशमात्र उत्पादनको क्षेत्रमा प्रवाह भएको छ। प्रत्येक वर्ष ४ लाख ५० हजार युवा श्रम बजारमा प्रवेश गर्छन् तर १० प्रतिशत युवाले पनि नेपालमा रोजगारी पाउँदैनन्। हुन त अहिले संसारभरिका एक अरब युवालाई रोजगारी चाहिएको छ। कामदारको अनुपातमा रोजगारीको कमी छ। यो एउटा ठूलो चुनौती भएको छ।

कुनै पनि राष्ट्रको भविष्य युवाको भविष्यसँग जोडिएको हुन्छ। युवाका समस्या, सवाल र सम्भावनाको उचित पहिचान गरी उनीहरूको आवश्यकता र आकांक्षालाई सम्बोधन गरियो भने राष्ट्रनिर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सकियो भने मात्रै राष्ट्रले विकास तथा उन्नतिको बाटो पहिल्याउन सक्छ। एक अर्ब युवा बेरोजगार भएको अवस्थामा अहिलेको प्रमुख आवश्यकता भनेको युवामा लगानी बढाउने र युवा जनशक्तिको सदुपयोग गर्ने नै हो। सन् २०३० सम्ममा दीगो विकासका लक्ष्यहरू पूरा गर्न पनि युवाको नेतृत्वदायी भुमिका आवश्यक र अपरिहार्य छ। यस्तो गर्न सके मात्रै दीगो विकासको लक्ष्य सन् २०३० सम्म पूरा गर्न सकिन्छ।

प्रकाशित २६ मंसिर २०७३, आइतबार | 2016-12-11 12:52:57

प्रतिकृया दिनुहोस

  • जीवनमा रिलका पात्र

    एक पात्र जो टन्टलापुर घाममा आफू र आफ्ना बालखाका लागि खोला किनारमा गिटी कुट्दै छ। उसको त्यो कथालाई हामी वास्तविक जीवनमा सुन्न त्यति महत्व दिँदैनौ...

  • घरबार एकातिर, माया अर्कैतिर!

    कीर्तिपुरमा पढ्न आउँदा म विवाहित र एक बच्चाकी आमासमेत बनिसकेकी थिएँ। मेरा साथीहरू २६ कटेका छन् सबै। खासै कोही प्रेमको कुरा गर्दैनन्। २५ वर्ष पुग्दा...

  • मज्जाले प्रेम गर तर वियोगमा रुँदै नहिँड

    प्रेम गर्यो त गर्यो सकियो। मैले त प्रेम गर्न सकें त्यो नै मेरो सफलता हो। एउटा सफल प्रेम मैले बाँचें । बस्, प्रेमको सफलताको मापदण्ड प्रेम नै हो।...

  • पहिलो कला साहित्य उत्सवको एक दृश्य

    युवा–विद्यार्थी केन्द्रित साहित्योत्सव

    काँकरभिट्टामा यही फागुन १२ गतेदेखि आयोजना हुन लागेको तीन दिने कला साहित्य उत्सव विद्यालयका शिक्षक र विद्यार्थीहरूका उपयोगी हुनेछ। साधारणतया...

  • ध्वनि प्रदुषणको चपेटामा बिचरा बिरामी!

    केही महिनाअघिसम्म स्वास्थ्यमन्त्री गगन थापाकै निर्वाचन क्षेत्रमा पर्ने धुम्बाराही चोकैको एउटा भवनमा ‘अनमोल अस्पताल’ सञ्चालनमा थियो। सोही भवनको आधा...

  • कर्णाली-भेरी खोला, फेरि भेट होला-नहोला

    ‘हाम्रा बज्या भेडा पाल्दा खन्, हामी पनि भेडो पाल्न्या हुम्।’ यति भनिसकेर फुच्चेले एकपटक सुँक्क गर्यो, नाकको भेडोको लम्बाई घट्यो। मैले क्यामेरा...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • केरुङ–रसुवागढी नाका

    नुवाकोटमा नेपाल-चीन औद्योगिक पार्क निर्माण यसै वर्ष अघि बढ्ने

    विश्वको अल्पविकसित मुलुकमध्ये पर्ने नेपालमा कृषि वस्तुबाहेक अरु अधिकांश कुरा आयातमा निर्भर हुनुपरेको बताउँदै वाङ्ले यसबाट आम नेपालीको आवश्यक मागको...