ब्लग

कफन छेउ रोइरहेकी बहिनी



‘किन गइरहेछन् हँ दाजी? महिला पनि जान लागेको भेटेँ,’ बानेश्वरस्थित वैदेशिक रोजगार प्रबर्धन बोर्डमा राहतका लागि लाइनमा बस्दै गर्दा अघिल्लो दिन विदेश जान विमानस्थलमा लागेको लर्को देखेकी बहिनीले सोधी, ‘महिलाहरु पनि जाने रहेछन्, किन सरकारले रोक्दैन?’

त्यसबेला उसको छेउमै बसी नुवाकोटकी एक तामाङ बहिनीले छोरीलाई दुध खुवाइरहेकी थिइन्। चार बच्चाकी आमा तिनी साउदीमा पति मरेपछि राहतका लागि आएकी थिइन्। र, हामीजस्तै कुरिरहेकी थिइन्।

‘दाजी, सरकारमा बसेकाका छोराछोरी पनि त मरेका होलान् नि,’ देहरादुने–हिन्दी लवजको नेपालीमा उसले फेरि सोधेपछि भने एकाएक झस्किएँ।

बहिनीलाई लागेको रहेछ कि प्रधानमन्त्री, मन्त्री, सचिव जस्ता नीति निर्माण तहमा बसेका मान्छेका आर्थिक र सामाजिक स्टाटस पनि उसको जस्तै होला। तिनका छोराछोरी पनि साउदी र मलेसियामा कमाउन उडेका होलान्। र, हाम्रा नातेदारजस्तै तिनका छोराछोरी पनि बाकसमा फर्के होलान्।

‘तिनका त नातेदारसमेत साउदी र मलेसियामा छैनन्। गरिबका छोराछोरी बाकसमा फर्के नि, सग्लो नफर्के नि तिनलाई लुतो न चिलायो,’ यसरी दिनमा चार जना नेपाली कामदार विदेशबाट बाकसमा आउँदा पनि किन सरकारी बेवास्ता छ भनी बहिनीलाई बुझाउन कोसिसस्वरुप भनेँ।

‘छोराछोरी र नातेदार नभए नि बाकसमा फर्कने त तिनका नागरिक त हुन् नि दाजी,’ छोरोलाई दुध चुसाउँदै कतिखेर काम सकेर जाने भनी कुरिरहेकी बहिनीले फेरि भनी, ‘किन सरकारले रोक्दैन? के सरकारको कुनै जिम्मेवारी हुँदैन र?’

त्यसपछि थप बोल्ने मसित साहस थिएन। मसित जवाफ थिएन।

चुपचाप उसलाई हेरेँ।

‘तिनका छोराछोरी नेपालमै छन् त,’ उसले सोधी।

‘विदेशमा पनि छन्। तर कमाउन होइन,’ मैले भनेँ।

‘कहाँ छन् त,’ उसले फेरि सोधी।

‘अमेरिका, क्यानाडा, अस्ट्रेलिया अनि युरोपमा छन्,’ मैले भनेँ।

‘ए’ भन्दै उसले अाफ्नो ध्यान उनै अनुहारहरुमा केन्द्रित गरी जो आउजाउ गरिरहेका थिए। कोही प्रियजनका शव विमानस्थलमा लिन जानलाई गाडीको बन्दोबस्ती गर्ने चिठीका लागि त कोही राहतको कागजात लिएर।

ती अनुहार प्रायः २०-२५ वर्षकै वरपरका थिए।

आएका युवती बहिनीजस्तै आफ्ना बच्चा च्यापेर आएका थिए। र, प्रियजन गुमाएका तिनका आँखा अनन्त तिर्खाले खक्रक्क थिए। 

बोर्डका कर्मचारीेले कसैलाई के पुगेन भन्दै फर्काउँथे त कसैलाई के।

...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा बाहिर कुरिरहेका थिए, झन्कार फुपाजुले।

‘खै त अरु?’

‘शव लिन।’

‘कतिखेर हो पसेको?’

‘धेरै भयो।’

भित्र अल्झिएजस्तो लाग्यो।

शव लिनलाई चारजना पस्न दिन्थ्यो।

सरासर गएँ।

के नमिलेर ढिलो भयो भन्दै शव लिने ठाउँमा छिरेँ।

बाटैमा एउटा शव ल्याइरहेका थिए। सोधेँ। कन्चनुपरको रहेछ।

शव राखिएको ठाउँमा दुईवटा शव थिए, एउटा मलेसियाबाट आएको र अर्को साउदीबाट।

टाढैबाट चिन्नुको कारण थियो, तीन दिनअघि मात्र मलेसियाबाट आएको (मामा तुलसीविक्रम पुन) को शव बुझेका थियौँ। त्यस दिन बाकसमा फर्कनेमध्ये तीनजना त मगर थिए। र, दुईजना रोल्पाली।

एउटा शव सेतो प्लास्टिकले बेरेको थियो। अर्कोचाहिँ रातो रंगको काठको बाकसमा।

'अाफ्नाे मान्छे कुन हो, हेर्नुस्।'

हेर्न थाल्यौँ। एउटामा नाम थियो तर रातो रंगको काठको बाकसमा नाम थिएन। तर, नम्बर चाहिँ मिल्यो।

एकचोटि आर्यघाटमा बाकस साटिएकाको घटना प्रसंग उप्काउँदै सोध्यौँ। शव नै दुईवटा मात्र भएकाले त्यस्तो फरक नपर्ने जानकारी दिए।

शव लिन जाँदा मेरो कान्छामामाको छोरालाई देखेँ। शव लिन गएका उनलाई मात्र चिनेँ।

शव लिएर बाहिरियौँ।

शव लिएर बाहिरिँदा बाकस पखेटा लगाएर उड्नेको लस्कर उस्तै थियो। जुँगाको रेखी भर्खरै बसेका तन्नेरी रुक्स्याक झोला बोकेर गइरहेका थिए। तिनलाई बिदा गर्न आएका तिनका पत्नी बालक च्यापेर रोइरहेका थिए।
जाने बाटोबाट तन्नेरी छिरिरहेका थिए भने फर्कने बाटोबाट हामीले बाकस लिएर फर्कंदै थियौँ।

गाडी आइसकेको थियो। गाडीमा राख्यौँ। त्यसपछि गाडी आर्यघाटतर्फ गुड्यो।

‘सालाको शव साउदीबाट आउँदैछ’ भन्ने झन्कार फुपाजुको खबरको आधारमा एअरपोर्ट पुगको थिएँ। बाँकी कुरा सोध्न उचित पनि ठानिनँ। गाउँघरको मलाम जानु नैतिक कर्तव्य नै थियो। तर, ससुराल राङ्कोटको कुन गाउँ भनी कहिल्यै सोधेको पनि थिइनँ। त्यसैले उनको सालालाई चिन्नै कुरै भएन।

दुईचार जना शवसित गाडीमा लाग्यौँ भने बाँकी अर्को गाडीमा।

एअरपोर्टबाट गाडी गुडेपछि चिनजान गराइयो, सानीआमाको छोरोसित।

१७-१८ वर्षअघि घोराहीमा भेट भएको थियो। दाजुभाइले नै अनुहार भुलिसकेका रहेछौँ।

दाजुलाई ढोगेँ।

‘आएको त धेरै भयो। भाइको फोन पनि थिएन। बहिनीलाई लिएर आएको,’ चिनजानसँगै दाजुले भने।

फुपाजुलाई थाहा थिएन कि उनका सालाले बिहे गरेकी मेरी बहिनी हुन्। थाहा हुने कुरा पनि भएन। उनीहरु कालापार बस्थे त हामी नेपालमा। आउजाउ थिएन।

‘खै त बहिनी?’

‘सिधै आर्यघाट गए।’

मलामी मन एकाएक भनन्न भयो।

...

शवबाहन बाकस छाडेर गयो, आर्यघाटको विद्युत शवदाह गृहछेउमा। काठको बाकस थियो, रातो रङको।

बाकस भुइँमा ओरालेपछि एकजनाले बच्चा हात लिए। चिनेँ, अनुमान लाउन गाह्रो थिएन कि बच्चा च्यापेर रोइरहेकी त्यही हो बहिनी।

सरासर गएँ।

चिनाई दिएँ, ‘जैपा तेरो ठूलीआमाको छोरो। कान्छो दाजी।’ ‘बहिनी’ भनेँ।

‘यस्तो ठाउँमा भेट हुन लेखेको रहेछ,’ वरपर बसेकाले यत्ति भनेपछि बहिनी झन भक्कानिई।

बहिनीसित पहिलो भेट त भयो, तिहारमा होइन। आर्यघाटमा।

सानो बच्चालाई उसको ठूलाबाले बोके। छोरी भने घाटमा गएका आफन्तसित घरी यता घरी उता गरिरहेकी थिई।

मंसिरको घाम। यस्तै २ बजेको हुँदो हो। पालो त ५ बजेतिर मात्र आउलाजस्तो देखियो। तेस्रो नम्बरमा पालो परेको थियो।

बाकस नखोली बस्यौँ।

बहिनीलाई देखाएका थिएनौँ।

तर, ‘देखाउन पर्छ’जस्तो लाग्यो।

उनलाई रोकिरहेका थिए। नरोकौँ भन्यौँ।

ऊ सुस्तरी बाकस राखेको ठाउँमा गई। त्यसपछि बाकसलाई छोई। बाकसमै अडिएर बसी। फेरि बाकसलाई सुम्सुम्याई। मानौँ सुतिरहेका पति नउठून्।

त्यसपछि उसले आफूलाई थाम्न सकिन।

कतिले उसलाई समायौँ त कतिले बच्चाबच्ची।

सानो बच्चाले ठूलाबाको पिठ्युबाट घरी बाकसमा अडेस लागेर रोइरहेकी आमालाई हेर्थे त घरी यता घरी उता गरिरहेकी ९ वर्षीया दिदी मुश्कानलाई।

‘कहाँ के’ भन्दै वरपरका मलामी पनि झुम्मिए।

पालो आउन एक घण्टा जति समय रहेको बेला बाकस खोल्यौँ। बाकस खोल्दा पनि बहिनीलाई देखाउनुपर्छ भन्यौँ।

खोल्यौँ।

उभिएर चुपचाप हेरी।

शवको वरपर कोइला र काठ चिर्दा निक्लेको भुस। बीचमाम शव।

शव बाहिर निकाल्यौँ।

आउनेबित्तिकै चार हजार हाराहारी तिरेर सदगतको सर्जाम ठिक गरिसकेका थियौँ। भलै, सदगत कसरी गर्ने? के-के गर्ने? कसैसित मेलोमेसो थिएन। सब आलाकाँचा परेछौँ। मलामी गएका काठमाडौँमा बस्ने र भारतमा बस्ने मात्र थियौँ। गाउँको ‘परम्परा’ कसैलाई थाहा थिएन।

जे हुन्छ आफैँ गर्ने। केही फरक पर्दैन।

भेला भएका प्रायः पुरानो परम्परालाई अक्षरशः पालना गर्नेखाले थिएनन्। भत्काउनुपर्छ भन्ने धेरै थिए। जे भए पनि मृत्युमा त परिवारको राय नै महत्वपूर्ण हो। बहिनी र उसकी जेठाजुसित कुराकानी भएपछि नजिकै उपलब्ध बाहुन आए। उनकै पछि लागेर सदगतको काम सुरु भयो।

बाहुनले पानी खुवाउन भने।

अनुहार ढाकेको लुगा उठाए। सुस्तरी मसारी। पानी खुवाउँदै भक्कानिई।

मरेको नै दुई महिना भइसकेको थियो। अनुहार कालो भएको थियो।

झण्डै दुई घण्टापछि शव जलाएर सकेको खबर आयो।

त्यसबेला रात परिसकेको थियो।
...

फरक-फरक प्रसंगतिर लान कोसिस गरेँ ताकि उसको दुःखतिर मन नजाओस्।

त्यसबेला कान्छामामाको छोरा लाहुरे, झन्कार र बहिनीको जेठाजु शवसित आएका कागजात र गाउँबाट ल्याएका कागजातलाई फोटोकपि र नोटरी गर्न गएका थिए। श्रम विभागबाट कागत लिएर बुझाएपछि बल्ल राहतको प्रक्रिया थालिएको थियो। अझै इन्सुरेन्समा जान त बाँकी नै थियो। कहीँबाट के कागत पुगेन भन्थे त कहीँ के कागत पुगेन।

‘तिमीहरु कालापार गएको कति भयो?’

बहिनीलाई सोधेँ।

कहिले गएका हुन्? न उसलाई थाहा थियो न त मलाई नै।

उसलाई यत्ति मात्र थाहा रहेछ कि एउटी छोरी लिएर काकु सान्जी कालापार गएका थिए। बाँकी बहिनीसहित दुई भाइ र तीन बहिनी कालापारमै जन्मे।

उसले थाहा पाउँदा कालापारमा उसका बाआमा, दाजु र दिदी सबले आलु लाउँथे।

स्कुल पठाउन भने। तर, यति धेरै रोई कि कान्छी छोरीको मायाले स्कुल नै पठाइएन। त्यसपछि त उसले पढ्ने कुरै भएन। नपढेकी बहिनीले सिलाइ सिकेकी रहिछ। उसकी दिदीकी छोरीले खोलेको पसलमा सिलाइ काम गर्दिरहिछ।

उसले जिन्दगीमा पहिलोपालि यति धेरै ठाउँमा सही गरेकी थिई। घरी यता सही गर भन्थे त घरी उता। उसले सही गर्थी, बिना पुन।

कालापार त रोल्पालीको लागि पानीपधेँरो थियो। त्यै पानीपधेँरो अहिले तन्केर अरब पुगेको छ।

यसरी गोठ नै बोकेर कालापारिएका काकु सान्जीले आलु लगाए। यति धेरै वर्षसम्म आलु लगाए कि उसको बाआमा र सासुससुराको लाउँला र खाउँलाको भर्भराउँदो जिन्दगी नै आलुसित लडीबडी गर्दै बित्यो।

११ वर्षजति भयो, अहिले देहरादुन नजिकको अर्को सानो सहर बिकासनगरमा घर बनाएछन्। त्यै घरमा उसको दुई दाजु बस्छन्। उसका सासुससुरा र जेठाजुले त अहिले पनि आलुसितको सम्बन्ध तोडेका छैनन्।

कालापारमै अरबको हावा पुग्यो। त्यो हावाले यति धेरै हल्लायो कि अरब नउडी नछाड्ने भए। त्यसपछि उसको पति पनि साउदी उडे। वैशाखको भुइँचालो जानेबेला नै उनी उडे काठमाडौंबाट अरब। तर, कमाएर नेपालमा सुखसाथ जीवनयापन गर्ने सपनासित बोकेर गएका पति भने डेढ वर्षपछि बाकसमा फर्किए।

...

छोरी मुश्कान ९ वर्ष पुगिन्। बिकासनगरमै एउटा प्राइभेट स्कुलमा पढ्छिन्।

छोरो अंश ११ महिनाका भए।

‘तिम्ले फेसबुक चलाउँछौ?’

‘मोबाइलमा चलाउँथेँ। बन्द गरेँ,’ बन्द गर्नुको कारण खुलाउँदै भनी, ‘यसको बासित च्याट गर्नलाई खोलेकी थिएँ।’

गाउँका फोटो देखाएँ उसलाई। र, कालापारका फोटो देखाउन भनेँ।

‘सबै फोटो मुश्कानले डिलिट गरिछ। अब किन चाहियो भनी,’ छोरीले फोटो डिलिट गरेको प्रसंग उप्काई।

त्यसपछि?

यसैयसै भरिएको आँसुलाई तह लाउन आइरहेका मान्छेतिर हेर्न थाली।

सबै अनुहार ऊजस्तै थिए।

...

ऊ नेपाल आएको दोस्रोपालि थियो।

मरेको खबर पाएपछि नागरिकता बनाउन रोल्पा गई। नागरिकता, नाता प्रमाणित गर्न बिहे दर्ता र पतिको मृत्यु दर्ता एकैचोटि सकाई।

र, काठमाडौं पहिलोपालि आई।

तर, काठमाडौं यात्रा यस्तो बेलामा भयो कि पतिलाई बिदा गर्ने दुखद् क्षणमा।

...

मेरा जेईबाबै कालापार गए। त्यसबेला म काठमाडौँमा पढ्दै थिएँ। आलु लगाइरहेका काकु सान्जीकहाँ गएर बसे। काम गरे। त्यसबेला जेईले सान्जीलाई बहिनी मागिछन्।

‘ठूलीआमाले मलाई गोद लिने भन्नुभएको थियो। तर, नेपाल फर्कने बेला आमाले ‘यो त रोला’ भनेर मान्नुभएन,’ बोर्डमा पर्खिरहेको बेला कालापारका कुरा उप्काउँदै उसले भनी।

‘ठूलीआमा रिसाएर आउनुभयो।’

हामी तीन भाइ मात्र थियौँ।

पर्वमा छिमेकीका घर छोरीचेलीले भरिलो हुँदा जेईलाई खल्लो लाग्थ्यो। त्यसपछि जेई रुन्थिन्, ‘मर्ने बेला एक तुर्का आँसु चुहाउने छोरी पनि दिएनौँ, दैव।’

सायद त्यै छोरीको तिर्खा मेट्न बहिनीलाई मागेकी हुँदी हुन्। तर, जेईले कहिल्यै सान्जीले ‘छोरी दिएन’ भनी गुनासो गरिनन्।

मेरी जेई काइँली हुन् भने उसकी आमा कान्छी।

अहिले पनि मावल बजेनी जाँदा ‘जैपा काइँलीको छोरा’, ‘जैपा काइँली फुपूको छोरा’ भनेर चिन्छन्।

जेईको नाउँ काइँली मात्र थाहा थियो। २०६२ को अन्ततिर रोल्पाका पुराना लोकगीत जेईबाबैले ‘बरै’ अल्बम निकाल्दा पहिलोपालि जेईको नाउँ थाहा पाएँ।

बेलाबेलामा अहिले पनि जेई रुन्छिन्, ‘कान्छीसित भेट नभई मर्ने भएँ।’

‘सान्जीले पठाएको भए तिमी आउँथ्यौँ त?’ मैले सोधेँ। ऊ केही बोलिन। त्यसबेला नै नेपाल आएको भए यस्तो घटना हुन्नथ्यो कि? बिहे नै अन्तै गर्थी कि?

मेरो मनमा जाती नजाती कुरा खेले।

ऊ केही बोलिन।

त्यसबेला ११ वर्षकी थिई।

बहिनीले पटकपटक सोधी, मेरो जेई र बाबैको स्वास्थ्य अवस्थाबारे सोधी। र, पहिलोपालि नेपाल आउँदा आमालाई भेटेको प्रसंग उप्काई।

‘ठूलीआमाले मलाई चिन्नु भएन। म कालापार कान्छीको छोरी भनेँ। सुन्नु हुने रहेनछ। अहिले कस्तो छ दाजी ठूलीआमालाई?’

उसले सोधी।

प्यारालाइसिसले जेईबाबै नै थला परेको समाचार सुनेर आत्तिई।

...

पुगेका थियौँ, सानो गौचरनस्थित सूर्य लाइफ इन्सुरेन्समा।

त्यो दोस्रो दिन थियो।

त्यस दिन चेक दिन्छु भनेको थियो।

चार घण्टा जति कुर्‍यौँ।

इन्सुरेन्समा पनि बहिनीजस्तै आए। तर, तीन महिला पुगेपछि भने उसले अप्ठेरो मानी।

दुई महिला बच्चासित आएका थिए। र, तिनका साथमा थिइन्, सारी लगाएकी एउटी सुकिली महिला।

हिजो यी दुई महिलासित बहिनीले कुराकानी गरेकी रहिछ।

सुकिली महिलाले कुराकानी गरिन्। मिति नमिलेको भन्दै फर्कायो। तिनका पति मरेको मिति फरक परेको थियो।

कपिलवस्तुबाट आएका ती दुईटी जेठानी-देउरानी रहेछन्। दुई भाइ नै मरेका रे। एउटा मरेको त ६ महिना पुग्यो रे।

दुदुई वर्ष जतिका बच्चा लिएर आएका दुवै थारु युवती थिए।

उनीहरु केही बोलेनन्। बच्चा च्यापेर नबोली फरक्क फर्किए।

चार घण्टाजति कुरेपछि पासपोर्ट माग्यो।

बहिनीको जेठाजुले पासपोर्ट दिए।

केही समयपछि साढे सात लाखको चेक दियो। र, चेकपछाडि बहिनीलाई सही गर्न भनियो।

बहिनीले लेखी, बिना।

चेक हातमा लिएर एकछिन टोलाई।

त्यो चेक कर्मचारीले मागे। लिफामा राखिदिए।

चेक राखिएको लिफा हातमा लिई एकछिन यताउति हेरी।

पति अब चेकमा आएको सम्झी या अब केही बाँकी छैन भन्ठानी कुन्नि?

वरपर हेरी।

चेक थियो, ग्लोबल आइएमईको।

संयोग, बैंक इन्सुरेन्सकै तल्लो तलामा रहेछ।

आएकै महिना दिन नाघिसकेको थियो भने शव जलाएको १३ दिन पुग्न लागिसकेको थियो। रिन लागेको थियो। पैसा निकालेपछि खर्चपर्च हुन्थ्यो।

‘अब के गर्ने?’

दुई दिनभित्र नहिँडे शव जलाएको नै १३ दिन कट्थ्यो।

‘पैसा त बैंकमार्फत भारतमा लान मिल्दैन।’

बैंकले भनेपछि फेरि हामी अर्को छाँगाबाट खस्यौँ। भारतमै बस्ने उसलाई यहीँ मात्र पैसा झिक्ने भएपछि के गर्ने होला? क्यास बोकेर हिँड्ने कुरा पनि भएन।

पतिको राहत बुझ्नकै लागि मात्र रोल्पामा खाता खोलेकी थिई।

बैंकले पाँच सय र एक हजार भारतीय नोटमा लागेको प्रतिबन्धले झन अप्ठेरो पारेको जानकारी गरायो।

...

बहिनीको ब्लड प्रेसर लो रहेछ।

साना नानीलाई कसरी हुर्काउने र पढाउने? आफूले के गर्ने?

बहिनीले केही सोचेकी पनि छैन।

‘सासुससुराको चित्त नदुखाउनू। छोराछोरीको खुसी पनि हेरेर निर्णय लिनू,’ उसलाई भनिटोपलेँ।

गएको शनिबार बहिनीलाई नेपालगन्जका लागि नयाँ बसपार्कबाट विदा गर्दा रात परिसकेको थियो। नेपालगन्जबाट रुपडिहा–हरिदार–देहरादुन पुग्न तीन दिन लाग्नेछ।

...

त्यस दिनदेखि के भयो कुन्नी, एअरपोर्टमा ल्यान्ड गर्ने हरेक जहाजमा बाकस नै आएजस्तो लाग्छ। र, आर्यघाटमा मेरी बहिनी बाकसछेउमा भक्कानिएको झझल्को आइरहन्छ।

भन्देऊ न प्रियजन, कहिले यस्तो लाग्न छाड्छ?

प्रकाशित २५ मंसिर २०७३, शनिबार | 2016-12-10 12:26:18

प्रतिकृया दिनुहोस

  • जीवनमा रिलका पात्र

    एक पात्र जो टन्टलापुर घाममा आफू र आफ्ना बालखाका लागि खोला किनारमा गिटी कुट्दै छ। उसको त्यो कथालाई हामी वास्तविक जीवनमा सुन्न त्यति महत्व दिँदैनौ...

  • घरबार एकातिर, माया अर्कैतिर!

    कीर्तिपुरमा पढ्न आउँदा म विवाहित र एक बच्चाकी आमासमेत बनिसकेकी थिएँ। मेरा साथीहरू २६ कटेका छन् सबै। खासै कोही प्रेमको कुरा गर्दैनन्। २५ वर्ष पुग्दा...

  • मज्जाले प्रेम गर तर वियोगमा रुँदै नहिँड

    प्रेम गर्यो त गर्यो सकियो। मैले त प्रेम गर्न सकें त्यो नै मेरो सफलता हो। एउटा सफल प्रेम मैले बाँचें । बस्, प्रेमको सफलताको मापदण्ड प्रेम नै हो।...

  • पहिलो कला साहित्य उत्सवको एक दृश्य

    युवा–विद्यार्थी केन्द्रित साहित्योत्सव

    काँकरभिट्टामा यही फागुन १२ गतेदेखि आयोजना हुन लागेको तीन दिने कला साहित्य उत्सव विद्यालयका शिक्षक र विद्यार्थीहरूका उपयोगी हुनेछ। साधारणतया...

  • ध्वनि प्रदुषणको चपेटामा बिचरा बिरामी!

    केही महिनाअघिसम्म स्वास्थ्यमन्त्री गगन थापाकै निर्वाचन क्षेत्रमा पर्ने धुम्बाराही चोकैको एउटा भवनमा ‘अनमोल अस्पताल’ सञ्चालनमा थियो। सोही भवनको आधा...

  • कर्णाली-भेरी खोला, फेरि भेट होला-नहोला

    ‘हाम्रा बज्या भेडा पाल्दा खन्, हामी पनि भेडो पाल्न्या हुम्।’ यति भनिसकेर फुच्चेले एकपटक सुँक्क गर्यो, नाकको भेडोको लम्बाई घट्यो। मैले क्यामेरा...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • होमस्टे वर्गीकरणसहित करको दायरामा

    सरकारले नेपालमा सञ्चालित ‘होमस्टे’लाई वर्गीकरण गर्दै करको दायरामा ल्याउने भएको छ। नेपालमा सञ्चालित केही होमस्टले मासिक राम्रो आम्दानी गर्न...

  • कहिले फारिएला काठमाण्डूको धुलो?

    मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक नन्दप्रसाद खनाल भन्छन्, ‘हामी दिनरातै काम गरिरहेका छौँ। आठ मिटर चौडाइभन्दा ठूला...

  • पेट्रोलियम पदार्थको हाहाकार हट्ने

    ‘तेल चोर्न’ पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका ट्यांकर चालकले एक महिनाको समयसीमा दिँदै शुक्रबारदेखि पेट्रोलियम पदार्थ उठाउने भएका छन्। नेपाल आयल...

  • केरुङ–रसुवागढी नाका

    नुवाकोटमा नेपाल-चीन औद्योगिक पार्क निर्माण यसै वर्ष अघि बढ्ने

    विश्वको अल्पविकसित मुलुकमध्ये पर्ने नेपालमा कृषि वस्तुबाहेक अरु अधिकांश कुरा आयातमा निर्भर हुनुपरेको बताउँदै वाङ्ले यसबाट आम नेपालीको आवश्यक मागको...