ब्लग

म तामाङको तिहार



म धादिङको छत्रेदेउरालीमा हुर्के बढें। त्यहीँ मेरो विद्यालय शिक्षा पूरा भयो। पेसा चाहिँ पत्रकारिता अपनाएको छु। मेरो लागि तिहार यही सेरोफेरोमा घुम्दछ र तिहारको अर्थ पनि मैले यही सेरोफेरोमा खोज्नुपर्ने हुन्छ।

पत्रकारिता व्यस्त पेसा हो। झन् अनलाइन पत्रकारितामा त द्रूत र व्यस्त रहनुपर्ने। यो पृष्ठभूमिमा पनि म तिहार मनाउन छत्रेदेउराली जाँदैछु। तिहारलाई स्थानीय परम्परा र मौलिक रुपमा मनाउन त्यहाँ जाने निर्णय गरेको हुँ। छत्रेदेउराली, जहाँका तामाङ समुदायले तिहारलाई पनि आफ्नै सांस्कृतिक पर्वजस्तै गरी मान्दै आएका छन्। त्यसैले म पनि यो पर्वलाई बिना प्रश्न सधैँ मनाउँछु।

तामाङ–बाहुनको समिश्रण भएको छत्रेदेउरालीको एउटा बस्तीमा हुर्किएको मैले देखेको र भोगेको पनि संस्कृति समिश्रण नै हो। मेरो समुदायमा दशैं, तिहार, माघे संक्रान्ति, चैते दशैं मानिन्छ तर जन्म, मृत्यु संस्कार भने बौद्ध परम्परा अनुसार लामा पुरोहितबाट गरिन्छ। त्यो ठाउँमा तामाङ समुदायमा ‘एकल्चरेसन’को प्रभाव परेका कारण त्यस्तो भएको हो।

तामाङ समुदाय त्यहाँको रैथाने समुदाय होइन। अरु ठाउँबाट बसाइ सरेर आउँदा तामाङहरुले आफूसँगै जन्म मृत्यु संस्कार लिएर आएका हुन्। दशैं, तिहार, माघे संक्रान्ति, चैते दशैं तामाङ समुदायको मौलिक चाडपर्व नभएकाले यहाँकै समुदायसँग सम्मिलित भई मनाउन थालेका हुन्। यसमा राज्य सत्ताको प्रभाव परेकाले पनि तामाङ समुदायले स्थानीयसँगै दशैं, तिहार जस्ता चाड मनाउन सिको गरेको हुनपर्छ।

यो सांस्कृतिक समिश्रणसँगै जन्मेदेखि नै यी चाडपर्व र परम्परासँग अभ्यस्त छु। तिहार रङ, फूल, झिलीमिली बत्तीहरुको पर्व, अनि पशुपन्छीका साथै भातृत्व एवम् मानवताको भावना प्रकट गर्ने पर्वका रुपमा स्थापित छ। यो पर्वमा जोकसैको पनि मन प्रफुल्ल हुने हुँदा म त्यसको अपवाद हुन सक्तिन। त्यसमाथि सयपत्री, मखमली र गोदावरीको सुवास, म जन्मे हुर्केको छत्रेदेउरालीको बेँशीका फाँटहरुमा लहरै झुल्ने पहेला धानका बालाहरुसँगै तिहार मुखरित हुने गर्दछ। यस्तो पर्वमा त्यहाँका जोकोही खुसी नहुने कुरै भएन।

वर्षामा गोरुझैँ जोतिएका र मंसिरमा फाँटहरुमा बाली थन्क्याउन व्यस्त बन्नुपर्ने कृषक दाजुभाइ तथा दिदीबहिनीको थकान मार्ने मौसम पनि तिहार नै हो। त्यहाँ पनि धान काट्ने चटारो लगभग यतिबेला सकिन्छ। कहिलेकाहीँ त साँच्चै यस्ता पर्वहरु नदोहोरिने हो भने जीवन निरसिलो बन्ने मात्र होइन पारिवारिक तथा नातेदारी प्रथा पनि अप्रभावकारी हुने खतरा बढ्छ। यस्ता चाडले परिवारिक सहकार्य मजबुत बनाई समुदायमा भाइचारा बढाउन प्रेरित पनि गर्दछन्।

यी सबै संस्कृतिबारे म पनि अरु जस्तै रुमलिन सक्थे होला। यसरी खर्रर भन्न सक्दिन थिएँ होला, यदि मैले समाजशास्त्रमा उच्चशिक्षा हासिल गर्न चासो नदेखाएको र पत्रकारितामा केन्द्रित नभएको भए। समाजशास्त्रको अध्ययनले मलाई म, मेरो समुदाय, मेरो समाजमा अभ्यासरत सांस्कृतिक चाडपर्व र संस्कारबारे बुझ्न उत्साहित बनायो। पत्रकारिताले त्यो उत्सुकतालाई पाठकबीच पुर्याउन सम्भव बनायो।

मेरो जिजु हजुरबुवाले काभ्रेबाट आफ्ना सन्तानलाई धादिङतर्फ बसाइँ सार्नु भएको रहेछ। बसाइँ सर्दा उहाँहरुले आफ्नो मौलिक संस्कृति लिएर आफूसँगै आउनुभएको थियो। अप्ठ्यारो लाग्ने भए पनि मेरो मातृभाषा मेरो बुवा–ममीसम्मलाई बोल्न आउँछ र बुझ्नुहुन्छ। तर हाम्रो पुस्तासम्म आइपुग्दा मातृभाषा राम्ररी नबुझ्ने भएका छौं। म जस्तै छत्रेदेउरालीका धेरैजसो तामाङ नयाँ पुस्ताले आफ्नो मौलिक संस्कृति अभ्यास गर्न रुचि देखाउन छाडेका छन्।

केही वर्ष भयो तिहारमा खेलिने द्यौसी–भैलो सांस्कृतिक विविधतामा संलग्न हुन नपाएको। होइन भने स्थानीय स्तरमा उपलब्ध बाजागाजाका साथ मौलिक भाकामा गाइने र भट्याइने द्यौसी–भैलोमा कम्ता हिँडिदैन्थ्यो। म जब बुझ्ने भएँ, त्यतिबेला मलाई ल्होसार पर्व हुन्छ भनेर कहिल्यै जानकारी भएन। दशैं–तिहार नै सबैभन्दा ठूलो पर्व हो भनेर पढियो अनि त्यसलाई नै सिरोधार्य गर्दै विशेष रुपमा मनाउने गरियो। यो जानेर–नजानेर भइरहेको छ।

७–८ वर्ष अगाडि स्कुल बिदापछि कागतिहारको दिन काग पूजा, कुकुर तिहार दिन कुकुर पूजा, गाई पूजा, लक्ष्मी पूजा हुँदै भाइटीका मनाउँथे। भाइटीकाको दिन दाजुभाइलाई टिका लगाउनको लागि भनेर एक दिनअघि देखि मखमली फूलका माला गाँसिन्थ्यो। बिहान हुने बित्तिकै नहाईधुवाई गरेर चोखो बन्ने, दाजुभाइलाई टीका लगाउनका लागि भनेर केही नखाने गरिन्थ्यो। तिहारको दिन फुपूहरु आउनुहुन्छ विशेष कोसेलीका साथ। अनि दाजुभाइलाई टीका लगाइन्छ। उनीहरुबाट पनि टीका थापिन्छ।

अहिले पनि यो परम्परागत अभ्यासले निरन्तरता पाइरहेको छ। तर, भाइटीकाको अभ्यास भने तामाङ समुदाय र क्षेत्री बाहुन समुदायबीच केही फरक छ। क्षेत्री–बाहुन समुदायले सप्तरङगी टीकाको साथमा रातो टिका लगाउँछन्। तर तामाङहरुले रातो टीका नलगाई सप्तरङ्गी टीका मात्र लगाउँछन्। सम्भवतः तामाङ समुदायमा रातोलाई नभई सेतो रङलाई पवित्र मान्ने गरिएकाले त्यस्तो भएको होला। 

केही वर्षयता दशैं–तिहार मनाउन जब म काठमाडौंबाट छत्रेदेउराली जाने तयारीमा हुन्छु, केही तामाङ दाइहरुले सोधेको प्रश्नले मलाई अल्मलाउँछ। उनीहरुको प्रश्न हुन्छ, ‘बैनी दशैं– तिहार त नक्कली तामाङहरुले मात्र मनाउँछन्।’

यो प्रश्नको सामाना मैले गर्दै आएकी छु अचेल। यो प्रश्नअनुसार सक्कली हुने प्रयासमा म आफ्नो जन्मस्थानको परम्पराबाट विमुख हुने पो हो कि? डर पनि लाग्छ। दशैं–तिहारै नमनाउने हो भने त्यस ठाउँसँग मेरो सम्बन्ध कमजोर हुने निश्चित छ। मेरा लागि दशैं र तिहार पहिचानको गहन विषय नभई जन्मस्थान र म बीचको सम्बन्धको प्रतीक हो। सम्भवतः पछिल्लो समय यस्ता प्रश्न अरु शिक्षित तामाङहरुले पनि सामना गरिरहेको हुनुपर्छ।

नेपालको संविधान २०७२ मा धर्मनिरपेक्ष भनेर उल्लेख गरिएको छ। संविधानअनुसार मलाई कुनै धर्म मान्न रोकटोक छैन। तैपनि मेरो संस्कृति, परम्पराप्रति मेरो चासो र जिज्ञासा बढ्न थालेको छ। अनि यसको महत्वबारे पनि केही जान्ने उत्सुकता बढेको छ। र त म भन्छु, यस्तै छ, म तामाङको तिहार।

प्रकाशित १६ कार्तिक २०७३, मंगलबार | 2016-11-01 08:17:41

प्रतिकृया दिनुहोस

  • सुन्नुस त! विचार हाम्रा पनि छन्

    जब ग्राहक बारीमा सीधै ताजा तरकारी किन्न जान थाल्छ, बिचौलियाहरु बिच्किन थाल्छन्। र बिचौलिया नबिच्केसम्म ताजगी अलि परको कुरा हुन्छ। विचारका...

  • चित्ताकर्षक रारा, अद्भुत यात्रा

    यसपटक रारा घुम्ने रहरको मूल मुटुभित्र फुटेर आयो। इच्छाहरु यति रसाएर आए कि अनिच्छा र अल्छीका झिल्काहरुका लागि कुनै स्थान रहेन। यसपटकको...

  • खगेन्द्र संग्रौला

    गाई–निबन्धे गाली र खगेन्द्र संग्रौला

    संग्रौला सामाजिक सञ्जालमा निकै गाली खाने लेखकमा पर्छन्। उनले ट्वीटरमा केही लेख्नेबित्तिकै उनलाई गाली गर्नेहरू जाइलागिहाल्छन्। हिंसाको पक्षपोषण...

  • मिल्काइदेऊ नाथे ढोंग-२

    मैले सोधेँ, ‘हामीमध्ये को–को खुलेर हाँस्न सक्छौँ।’ प्रायः सबैको उत्तर थियो, ‘धेरै हाँस्ने बानी छैन।’ एकजना अभियन्ताको स्वीकारोक्ति थियो, ‘कुरा त...

  • पहेँलो जर्नल छोडेर गएकी निर्मला म्याडम

    हँसिलो मुहार र नेवारी लवजमा उनले मेरो संक्षिप्त परिचय मागेकी थिइन्। पहिलो भेटमै म उनको व्यक्तित्वबाट प्रभावित भएको थिएँ। उनको उज्यालो अनुहार आज पनि...

  • डाक्टर रामेश र चार्ल्स शोभराज

    मुटुविहीन मान्छेको मुटु ठीक गर्दा

    चार्ल्स भारतको तिहाड जेलबाट भागेका थिए। पुनमका पिता सोही जेलको एक कनिष्ठ अधिकारी थिए। उनले सो घटनबारे सुनेकी थिइन्। उनको पिताले भोगेको तनाव र...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • एउटा नेताको इखले जन्माएको चिनियाँ हाइस्पीड रेलको किस्सा

    रेलको सबैभन्दा विलासी डिब्बाको सिट भाडा १७४८ पर्छ जुन विमानको भन्दा करीब ५०० आरएमबीले बढी हो। साडे ५ सय आरएमबीमा सोही स्पीड रेलको साधारण टिकट किन्न...

  • पूर्वसभासद फुदुङ कुटपिटः यस्तो रहेछ खास कारण

    सुनसरीको इटहरी उपमहानगरपालिकाको ४ नम्बर वडामा पूर्वजर्नेल तथा माओवादी केन्द्रका पूर्वसांसद् कुमार फुदुङ कुटिएका छन्। आफ्नै रिसोर्टमा महिला मृत...

  • प्रदेश नम्बर ५ को राजधानी दाङ कि बुटवल? मतदाता झुक्याए नेताले

    एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता...

  •  गोरखाको प्रोकभ्यालीमा गरिएको गहुँ खेती। यहाँ बर्षदिनमा एक खेतीमात्रै उत्पादन हुन्छ।

    उत्तरी गोरखाका यी भोकमरी-स्थान जहाँ राज्यको लगानी शून्य छ

    उत्पादन भएको अन्नले दुई-तीन महिना मात्रै खान पुग्ने, थप उत्पादन बृद्धि गर्न खेतीयोग्य जमिन पनि नभएको र सदरमुकामलगायत क्षेत्रबाट खाद्यान्न ढुवानी...