मुगुका महिलाले सोधे, तुमी पुन छोट्टी खेल्न्या हौ?



बाफरे बाफ, ११ वर्षको उमेरदेखि ५२ वर्षसम्म लगभग चार सय महिलासँग छोट्टी खेलेको दाबी पो गरेका रहेछन् उनले

गत बैशाखको पहिलो साता कालीकोट जाँदा हाम्रो समूहको नेतृत्व दुई दशक अगाडि कर्णालीका जिल्लाहरूमा बिकासे काम गरेका तर पछिल्लो समय त्यता नपुगेका अलि पाका सरले गरेका थिए। कालीकोटको गेला गाविसमा पर्ने गणेशकोटको उकालोमा उनले 'यतातिर अहिले पनि छोट्टी खेल्छन्?' भनेर स्थानीय स्रोत व्यक्ति प्रेम शाहीलाई सोधे। उनले अहिले त्यो चलन हराइसकेको तर आफूले किशोर अवस्थामा दाई र काकासँग मिलेर कसरी छोट्टी खेल्न जाने गरिन्थ्यो भन्नेबारे सुनाए।

दुई गाउँलाई छुट्याउने पाखोमा पुगेपछि प्रेम दाईले भने, 'हामीले यताबाट लाइट बाल्ने, उताबाट पनि लाइट बल्यो भने छोट्टी खेल्ने कुरा पक्का हुन्थ्यो।' उनले त्यो बेला छोट्टी खेल्न आउने महिला बारे भने, 'प्राय: माइत आएका महिलाहरू हुन्थे।' खेलमा खासै रुची नभएकी मलाई उनीहरूको कुरा सुन्दा छोट्टी खेल्ने भनेको दोहोरी खेल्ने पो हो कि, या तास/जुवा खेल्ने पो हो कि जस्तो लाग्यो। ठाउँ अनुसारको खेल हुन्छ, त्यो ठाउँको पनि खेल होला भनेर चुपचाप बसेँ। अलिकति त आफूभन्दा सिनियरसँग सोध्ने हिम्मत नभएर अनि खासै चासो पनि नभएर कालीकोटमा मैले छोट्टी खेल्ने कुरा सुने बिर्सिंएँ।

कालीकोटबाट फर्के लगत्तै मुगु जाने मेसो पर्यो। केड नामक गैरसरकारी संस्थाको सहकार्यमा काम गर्नुपर्ने थियो। मुगुको गमगढी स्थित केडको कार्यालयमा 'मुगुमा हुने बालविवाहको कारण' माथि अनुसन्धान केन्द्रित हुने बताएपछि केडका कर्मचारी प्रमोद दाहालले भने, 'अरु त देशभरिका उस्तै कारण हुन्छन्। यताको एउटा कारण छोट्टी खेल्ने पनि हो, महिलासँग कुरा गर्दा त्यसबारे पनि कुरा गर्नु होला है।' प्रमोदको कुरा सुनेपछि कालीकोटमा 'छोट्टी खल्ने' विषयमा चासो नराखेकोमा थकथक लाग्यो। जे भए पनि यो खेल (छोट्टी खेल्ने) मुगुका किशोरीहरूको सानै उमेरमा बिहे गर्ने एउटा कारणमध्ये पर्दो रहेछ भन्ने बुझियो। मैले छोट्टी खेल्ने भनेको के हो भनेर जिज्ञासा राख्दा त्यसबारे स्थानीय महिलाले राम्ररी बताउँछन् भनेर प्रमोद पन्छिए।

गमगढीबाट सोरूकोट जाने बाटोमा सँगै गएका पूर्ण भाइले सोधे, 'छोट्टी खेल्ने कुरा पनि लेख्ने हो दिदी?' मैले अझै कुरा राम्ररी बुझेकी छैन। के लेख्ने, के नलेख्ने? मैले पूर्ण भाइलाई 'हेरम' भनें। सोरूकोट पुगेपछि केडको फिल्ड कार्यालयमा खाने-बस्ने व्यवस्था भयो। कार्यालयमा थिए, कास्की हंसपुरका रामचन्द्र न्यौपाने। मुगुमा बालविवाहका कारण के-के हुन सक्छन् भन्ने मेरो चासोलाई उनले सम्बोधन गरे, 'बाल बिवाह, यौनस्वास्थ्य, पढाइ छोड्ने चलनको एउटा कारण चाहिँ छोट्टी खेल्ने पनि हो।' उनले अर्थ खुलाए, छोट्टी खेल्ने अर्थात् केटी खेल्ने/केटीसँग खेल्ने/केटीलाई खेलाउने। राम राम ! रामचन्द्रका कुरा सुनेर मा ट्वा परें। उनले एउटा गाउँमा गरेको स्वास्थ्य सिविरमा दुई सय जना महिला मध्ये एक सय ९९ जनालाई यौनजन्य रोग भएको पाइएको पनि खुलाए। कस्तो समाजमा छौँ हामी, कस्तो देशमा छौँ हामी सोचेर एकफेर शरीरमा काँडा उम्रिए।

छोट्टी सहमतिमा खेलिने सामूहिक खेल रहेछ। छोट्टी खेल्ने र छोट्टी बस्ने भन्ने कुराको फरक-फरक अर्थ। छोट्टी बस्ने गैरयौनजन्य र छोट्टी खेल्ने यौनजन्य क्रियाकलाप। साथीसाथीमा उक्त विषयमा पहिले नै कुरा हुने रहेछ बस्ने कि खेल्ने भनेर। पहिले नै सल्लाह भए अनुसार चार-पाँच युवती र चार-पाँच युवा अलि सुनसान ठाउँको गोठमा भेला हुने रहेछन्। त्यसरी भेला हुनेमा विवाहित महिलाले आफ्ना बाल्यकालका साथी बहिनी, भतिजी र वयस्क पुरुषले पनि साथी, भाइ, भतिज लिएर छोट्टी बस्न/खेल्न जाने चलन रहेछ। मनमा लागेका कुरा आफ्नो प्रेमी/प्रेमिकालाई देउडा गीतको माध्यमबाट व्यक्त गरिने रहेछ। यदि गीत सरासर गाइन्छ भने त्यो छोट्टी बसेको हो। जहाँ बाल्यकालका साथी, माइत आएकी चेली बसेर आफ्ना दुःखसुखका कुरा गरेको भनेर बुझिने। यदि गीत बीच-बीचमा बन्द भए, त्यहाँ यौनजन्य क्रियाकलाप पनि भएको अनुमान गरिने। आफ्नो-आफ्नो समूह र गोप्य रूपमा बस्ने हुनाले अन्य सदस्यलाई त्यसमा सहभागी गराइँदै।

प्राय: महिलाहरू माइत गएको समयमा छोट्टी खेल्ने काम हुन्छ। मुगुका महिला पनि माइती जाने भनेको कुनै चाडपर्वमा हो। वैशाख पूर्णिमा, जनै पूर्निमामा त्यहाँ ठूलो मेला लाग्छ। प्रेमविवाह गरेकी एक महिलालाई, 'मइती जाँदा तपाईं छोट्टी खेल्न जानुहुन्छ?' भनेर सोधेकी थिएँ। त्यति प्रश्न गर्न मैले खुब भूमिका बाध्नुपर्‍यो। आफ्नी श्रीमती अर्को मान्छेसँग यौन सम्बन्धमा रहेको कुरा कुन पुरुषलाई मन पर्दो हो? भलै श्रीमाती माइती गएको बेला आफू छोट्टी खेल्न जाने गरेकै किन नहोस्। छोट्टी खेलिने चलनलाई कतिले उदार यौन जीवनका रूपमा पनि लिने गरेका रहेछन्। तर त्यस्तो सोचाइ पुरुषमै हाबी थियो, जो सँधै समाजमा उपरथलोमा बसेको छ। त्यति स्वतन्त्रता महिलाले भोगेका पक्कै थिएनन्। श्रीमाती अर्कैसँग लागेको थाहा पाउने श्रीमानले रङ्गेहात समाउने समयको प्रतीक्षा गर्छ। समातिए जारी तिर्न सक्ने आँट भएको मानिसले चाहिँ आफूलाई मनपरेकी विवाहित महिलासँग छोट्टी खेल्ने हिम्मत राख्छ।

विवाहित भन्दा अविवाहित/एकल महिलासँग छोट्टी खेल्न मन पराउँछन् रे पुरुषहरू! कसैलाई मन पराउनुको पनि सामाजिक आर्थिक अवस्था हुने रहेछ। अविवाहितसँग छोट्टी खेल्दा जारी तिर्नुपर्ने, महिलाका पोइली (श्रीमान) पट्टिका कसैले भेटे चुटाइ खानुपर्ने कारण पनि केटाको रोजाइमा अविवाहित केटी नै पर्छन् रे!

मैले महिलाहरूसँग छोट्टी खेल्ने विषयमा खुब निदीखोजी गरेकाले होला एउटीले मलाई सोधिन्, 'सर तुमी पुन छोट्टी खेल्न्या हौ?' मैले 'मेरो श्रीमान लिएर आउँछु अनि मलाई पनि लैजाऊ है' भनें। मेरो कुरा सुनेर महिलाहरू खुब हाँसे। श्रीमानसँग छोट्टी खेल्न केको स्वाद भन्ने आशयमा कुरा गरे। मैले यसैउसै कुरा टारेँ। मुगुमा महिलाको ३५ र पुरुषको ४० वर्ष सरदार आयु हो। अत्याधिक बालमृत्युदरका कारण सरदर आयुमा केही फरक पारेको छ। तर, ६० काटेको स्थानीय मानिस मुगुमा सिला खोजेझैँ खोज्नुपर्छ। गाउँमा एकजना शाही बाजे थिए, ७२ वर्षका। मेरै बा ७० कटिसकेकाले मलाई अचेल बुढा मान्छेका कुरा सुन्न मनपर्छ।

एकदिन कागे (नाम) बहिनीको चिया पसलमा गफ गरेर बसिरहेका थियौं। शाही बा आएर मलाई सोधे, 'के के सोध्यौ त महिलाकन?' मैले छोट्टी खेल्नेबारे सोधेको भनेपछि उनले उत्साहित हुँदै भने, 'अहिलेकाले के छोट्टी खेल्छन् र? हाम्रो जमानामा पो खेलिन्थ्यो।' उनले आफ्नो जमानाको कुरा झिकेपछि मलाई उनीप्रति चासो बढ्यो। उनले बोलेका कुरा भिडियो लिनपर्‍यो भनेर मोबाइल झिकेँ। मोबाइल निकालेपछि उनले, 'पख राम्रा लुगा लगाउँछु र खिचौली' भने। उनका लुगा ठिकठाकै थिए। भिडियो कसैलाई देखाउँदिन भनेपछि उनले लुगा फेर्ने सर्त छाडे। रमाइलो गर्दै उनका कुरा रेकर्ड गरिरहेँ, काठमाडौँ गएर सुनौँला भन्ने सोचेर। काठमाडौं आएपछि उनले बोलेका कुरा फेरि एकफेर सुनेँ।

शाही बाले ११ वर्षको उमेरमा पहिलो पटक छोट्टी खेलेका रहेछन्। अहिले २० वर्ष भएछ छोट्टी नखेलेको। उनका कुरा ध्यान दिएर सुन्दा म त अचम्मैमा परेँ। बाफरे बाफ, ११ वर्षको उमेरदेखि ५२ वर्षसम्म लगभग चार सय महिलासँग छोट्टी खेलेको दाबी पो गरेका रहेछन् उनले। छोट्टी खेल्दाखेल्दै तीन जनासँग बिवाह भएको रहेछ। उनले भनेका रहेछन्, 'घरै त तीन भईगाए, बुन (बन/घरबाहिर) कत्ति भए कत्ति कसले हिसाब गर्ने?'

छोट्टी खेलेका कति महिलाहरूको पेटमा आफ्नो बच्चा पनि थियो होला भन्दै उनले सुनाए, 'बच्चाकी आमा जहाँ गयो उहींका भैगए।' आफूले खेलेका छोट्टीहरू र तीनका पेटमा हुर्केका बच्चाको याद आउने बताउँदै उनी अलि भावुक भए, 'याद आएर पनि के र? म उता नजाने उनीहरू यता आउने नही।'

छोट्टी सहमतिमा नै बस्ने/खेल्ने भएपछि त्यसलाई किन छोट्टा खेल्ने नभनेको होला? भन्ने प्रश्न मेरो मनमा उठिरह्यो। पछि थाहा भयो त्यो पनि शक्ति सम्बन्धित हुनेरहेछ। छोट्टी सहमतिमा खेलिए पनि विवाह गर्ने/सँगै जीवन बिताउने बिन्दुमा पुग्ने हो भने केटाको घरमा नै जाने हुनाले छोट्टा खेल्ने नभनेर छोट्टी खेल्ने भनेको होला, मनलाई शान्त पारेँ।

प्रकाशित १७ कार्तिक २०७३, बुधबार | 2016-11-02 10:16:45

प्रतिकृया दिनुहोस

  • आयातीत पीडाको कहानी

    हिजोआज नेपालका हरेक घरका नजिक वा टाढाका सदस्य विदेशिनु अकाट्य सत्य बनेको छ। तीमध्ये खाडी मुलुक जानेको संख्या बढी भएको कुरा पनि अर्को यथार्थ हो।...

  • कवि केशव सिलवाल

    सहरमा एक पुँजीवादः काँठमा एक रामचन्द्रे

    मिश्र सरको पुँजीवादबाट पीडित साक्ष्य हो रामचन्द्रे। उसलाई सिंहदरबारको कुनामा थन्किएको राज्यले नजर लगाउँदैन। उसको आहत कसैलाई सुन्ने फुर्सद छैन।...

  • विनोदविकास सिंखडा

    मेरो समयको एसएलसी र आजको एसइई

    एकाबिहानै फेसबुक खोलेर हेर्दा थाहा पाएँ, यो सालको एसएलसी सुरु भइसकेछ। आजभोलि त एसएलसीलाई ‘एसइइ’ पो भन्दा रहेछन्। सबै भन्छन्– यो परीक्षा जीवनको...

  • रवीन्द्र मिश्र

    रवीन्द्र मिश्रको समूहमा व्यक्ति प्रधानताको लक्षण

    राजनीति गर्छु भन्नेहरूले ति एजेण्डाका बारेमा स्पष्ट दृष्टिकोण सार्वजनिक नगरी सुख छैन। अहिले भएका वा भविष्यमा बन्ने सबै राजनीतिक दलले आफ्नो...

  • खस्कँदो छ उद्योग वाणिज्य महासंघको साख

    विस्तारै हटिरहेको लोडसेडिङ, उद्योगी र मजदुरबीचको सुमधुर सम्बन्ध र विदेशी लगानी बढिरहेको अवस्थामा अबको नेतृत्वले मुलुकमा लगानीको वातावरण रहेको...

  • समलिङ्गी जोडी रजनी र शर्मिला

    यस्ता छन् एक लेस्वियन जोडीका दुःखसुख

    नेपाली तेस्रो लिङ्गी अञ्जली तामाङको चर्चा काठमाडौँदेखि न्युयोर्कका पत्रपत्रिकासम्म पुग्दा मलाई पनि केही समयअगाडि बिबिसी साझा सवालमा आएका तेस्रो...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...

  • खुसी रहन अपनाउनुपर्ने यी पाँच उपाय

    मानिसको दिमागलाई के कुराले खुसी बनाउँछ त? अथवा एक व्यक्तिले बढी खुसी प्राप्त गर्न कस्ता कुरामा ध्यान दिनुपर्छ त? एक न्युरो साइन्टिस्ट एलेक्स कर्बका...

  • गुरुङ थातथलो पुग्दा यस्तो देखियो इतिहास

    अन्नपूर्ण र लमजुङ हिमालको फेदमा अवस्थित क्होला सोँथरलाई तीन गाउँमा विभाजन गरिएको छ। क्होला सोँथरको पश्चिमी भागमा केही घरहरुको अवशेष देख्न सकिन्छ...