सिस्नुपानी देउसी

सुवास नेम्वाङले हामीलाई नै व्यङ्ग्य गर्दै भन्नुभो- गोरु ब्यायो हेर्नुस् त!

यसपालि सिस्नुपानी 'निम्ता'मा प्रधानमन्त्रीदेखि लोकमानसिंह कार्कीसम्म



लक्ष्मण गाम्नागे
लक्ष्मण गाम्नागे

१९ बर्ष त सिस्नुपानीको नाउँमा देउसी खेलियो। हरेक वर्ष देउसीको तयारी गर्दा हामीलाई लागेको कुरा के हो भने, वर्षभरिका विभिन्न घटनाक्रमका बारेमा राम्ररी अध्ययन र त्यसबारे सूचना सङ्कलन गरिएन भने, त्यो देउसी झुर हुन्छ।

यसपटक प्रधानमन्त्रीको भारत भ्रमण, भ्रष्टाचार, महँगी, भाषा विवाद, नेपालप्रति भारतको वक्र दृष्टिकोण, राजनीतिक दलका कमीकमजोरी आदि विषयवस्तु समेटेका छौँ

खासगरी हास्य व्यङ्ग्यले विकृति, विसङ्गतिका विरुद्धमा प्रहार गर्ने हुनाले मूलतः वर्षभरिमा कहाँ कहाँ त्यस्ता विसङगति भए, तीमध्ये कुन कुन विषयमा हास्य व्यङ्ग्यको प्रयोग गर्न सकिन्छ भनेर हामी विमर्शमा जुट्छौँ। चिन्तन मन्थन गर्ने हाम्रो एक किसिमको शैलीको विकास भइसकेको छ। त्यसैअन्तर्गत बसेर देउसीको विषयवस्तु तयार पार्छौँ। हाम्रा लागि सबैभन्दा जटिल काम भनेको देउसी लेख्नु नै हो।

किनभने हाम्रो प्रस्तुतिको शक्ति भनेकै शब्द चयन हो। देउसीको लय त पहिल्यै छँदैछ, विषयवस्तुअनुसार कुन शब्दले बढी भन्दा बढी कर्णप्रिय, चोटिलो र धारिलो बनाउन सकिन्छ भनेर हामी गृहकार्य गर्छौँ। यसका लागि हामीलाई झण्डै एक महिना लाग्छ। हरेक वर्ष दसैंलगत्तैदेखि सुरु गरेर तिहार आइपुग्दासम्म हामी यसैमा व्यस्त हुन्छौँ। हामी सुरुका वर्षमा सञ्चार माध्यममा देउसी खेल्थ्यौँ र सञ्चारमाध्यम मार्फत् स्रोताहरुले, जनताले हाम्रा आवज सुनुन् भनेर। पछिल्लो समयमा चाहिँ हामीले एक ठाउँमै देउसी अभ्यास गरिरहेका छौँ। हामीले जसजसलाई निम्ता गर्नुपर्ने हो, सञ्चारमाध्यमदेखि स्रोतागणसम्मलाई त्यहीँ निम्ता गर्छौँ।

सञ्चारमाध्यमले त्यहीँबाट रेकर्ड र प्रचारप्रसार गर्छन्। मुलुकका महत्वपूर्ण ओहोदामा बसेका प्रधानमन्त्री, मन्त्रीहरु, प्रशासकहरु, पत्रकारहरु सबैलाई जहाँजहाँ हाम्रा आवाज प्रत्यक्ष सुनाउनु पर्ने हो र जुनजुन ठाउँमा हामीले व्यङ्ग्य गर्नुपर्ने हो, जसले त्यो व्यङ्ग्य सुन्नुपर्ने हो ती सबैलाई एकै ठाउँमा भेला पारेर देउसी खेल्ने गर्छौँ। हामीले प्रज्ञाप्रतिष्ठानको हलमा यसरी भेला गराएर देउसी खेल्न थालेको यसपाली तीन वर्ष पुग्छ। यो काम प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा भइरहेको छ।

एउटा मजा कस्तो भने, हामी प्रस्तोता भयौँ, अतिथि बन्नेहरु व्यङ्ग्य लाग्नुपर्ने पात्र भए। हामी दुई पक्षबीचको प्रतिक्रिया सुन्ने र हेर्ने दर्शक स्रोता पनि त्यहीँ हुन्छन्। यसरी तीनै पक्षको उपस्थिति र संयोजन गजबको हुन्छ। यो निशुल्क कार्यक्रम हो। व्यङ्ग्य खप्न सक्नेहरुले यसलाई खप्छन् र सहज रुपमा लिएर प्रतिक्रिया पनि त्यहीअनुसार दिन्छन्। कतिले तपाईंहरुले भनेका कुरा ठिकै हो भन्छन् त कोहीले यो व्यङ्ग्य मेरा लागि नभएर अर्को पात्रका लागि हो पनि भन्छन्। 

सिस्नुपानी

सिस्नुपानी

खप्न नसक्नेहरु त्यहाँ कडा प्रहार हुन्छ भनेर नआउने पनि छन्। कतिपयलाई अतिथि बनाएर ल्याउन निकै गाह्रो हुन्छ। कोही त आउँछु भनेर पनि आउँदैनन्। यो व्यक्तिको आफ्आफ्नो सहने क्षमता र स्वभावमा भर पर्दोरैछ। कतिपय नेताले अहो, ‘तपाईंहरुले गजब गर्नुभो, ठिक भन्नुभो’ पनि भन्छन्। हाम्रो कामले नाक खुम्च्याउनेहरु त हुने नै भए। तैपनि, अनौपचारिक भेटघाटमा तपाईंहरुले नराम्रो गर्नुभयो भनिहाल्ने छैनन् भन्दा हुन्छ।

हास्य व्यङ्ग्यको विशेषतै यही हो कि यो गालीगलौज होइन। यसमा व्यङ्ग्य जतिसुकै तीखो भए पनि हास्यको पुट दिइएकोले कडा र अप्रिय कुरा सुने पनि एकछिन सुनुन्जेल मान्छे हाँस्न बाध्य हुन्छ। पछि उसले सम्झेर त्यसलाई अर्कै किसिमले लिन पनि सक्छ। सिस्नुपानीको समूह जुन छ, त्यो यस्तो किमिमको बनेछ कि यसका सबै परम्पराभन्दा बाहिर निस्कने खोज्ने खालका सदस्यहरु छन्। सुरुमै हामी सबैले परम्परागत रुपमा खेलिरहेको शैलीभन्दा फरक तरिकाले देउसी खेल्नेमा एकमतमा पुग्यौँ।

हाम्रो काम र क्षेत्र हास्य व्यङ्ग्य गर्ने हो, त्यसकारण बलि राजाको कथा, रामायण वा महाभारतको कथा भन्दा फरक किसिमले जानुपर्छ भन्ने सोचका कारण यो खालको फरक विषयवस्तु आयो। यसले समाजमा फाइदै गरेको छ भन्ने मलाई लाग्छ। हाम्रा चाँडपर्वलाई पश्चिमाकरण गरेर अत्याधुनिक किसिमका बाजागाजा बजाउने वा अङ्ग्रेजी गीतहरु गाउने, जोरजबर्जस्ती गरेर पैसा उठाउने जस्ता विकृतिलाई हामीले रोक्यौजस्तो लाग्छ। देउसीमा पनि हामीले सामाजिक र राजनीतिक रुपान्तरणको विषयवस्तुसँग जोडेर देउसीलाई सकारात्मक मोड दियौँ भन्ने विश्वास छ। 

सुरुसुरुमा सिस्नुपानी संस्थालाई बलियो बनाउने हिसाबले केही महत्वपूर्ण घर, संस्था र व्यापारिक घरानाहरुमा खेल्यौँ पनि। तर आर्थिक फाइदाका लागि हामीले देउसी खेलेका छैनौँ। संस्थालाई सुदृढ बनाउने बाहेक अर्थ सङ्कलनकै लागि मात्र खेल्नु हुँदैन भनेर हामीले सञ्चारमाध्यमहरुमा खेल्यौँ, त्यसबेला आफ्नै खल्तीबाट पैसा उठाएर पनि देउसी भट्टयायौँ।
पछिल्लो समयमा प्रज्ञाप्रतिष्ठानमा खेल्दा प्रतिष्ठानले नै हल उपलब्ध गराउँछ। हामीलाई मन पराउने संस्थाहरुसँग नजिक भएर विज्ञापन सङ्कलन गर्ने र ब्यानर माग्ने आदि काम भने हामी गर्छौँ। यसले हाम्रो खर्च व्यवस्थापनमा सघाएको छ। देउसी गाएर पैसा उठाएर अर्को कुनै क्षेत्रमा काम गर्ने भन्ने उद्देश्य हामीले नराखेकोले देउसीकै लागि खर्च जुटाउँछौँ अनि त्यसमै खर्च गर्छौँ।

सिस्नुपानी

सिस्नुपानी

वर्षभरि हुने घटनाक्रमबारे कमबेस हामी पहिल्यै जानकार हुन्छौँ। पत्रपत्रिकालगायत अन्य स्रोतबाट सूचना सङ्कलन गर्न गाह्रो छैन। तीमध्ये छुटाउनै नहुने विषयवस्तुबारे सल्लाह गरेर प्राथमिकता निर्धारण गर्छौँ। त्यसबाहेक हल, बाजागाजा, कलाकार, सजावट जस्ता काममा परिश्रम लगाउनु त छँदैछ। हरेक देउसी खेलिसकेपछि हामी त्यसको समीक्षा गर्छौ। कुनै पनि देउसी हाम्रो कमजोर भएको अनुभव छैन। प्रस्तुति गर्दा हामीले स्रोताबाट जस्तो प्रतिक्रिया पाइरहेका हुन्छौँ, त्यो हरेक वर्ष उत्तिकै उत्साहजनक छ।

विगत १८ ओटा शृङ्खलामा हामीले विभिन्न खालका देउसी खेलेका छौँ। एक पटक हामी देउसी खेल्न धरान पुग्यौँ। एउटा वर्ष वसन्तपुर र बानेश्वर जस्ता काठमाडौँका प्रमुख चोकमा पनि देउसी खेल्यौँ। यसबीचमा एउटा महत्वपूर्ण घटना सम्झनु पर्दा, २०६२ सालमा राजा ज्ञानेन्द्र शाहको सत्ता निरङ्कुशताको उत्कर्षमा पुगेको थियो। निकै कडाइ गरिएको समय थियो। शाही शासनको विरुद्धमा फाँकी प्रस्तुत गर्दै हामीले गौशालाबाट बानेश्वर चोकसम्म देउसी जुलुस गर्यौँ। यसमा पनि हामीलाई कुनै बाधा व्यवधान आएन। यसरी देउसी कार्यक्रमलाई हामीले फरक समयमा फरक फरक तरिकाले उपयोग गरेका छौँ।

हरेक वर्ष जो प्रधानमन्त्री हुन्छन्, व्यङ्यवाण हान्ने एक जना प्रमुख पात्र उनै हुन्। प्रधानमन्त्रीलाई निम्तो त गरिने नै भइयो। यस पटक लोकमानसिंह कार्कीलाई पनि निम्तो दिएका छौँ। अहिलेका हटकेक नै उनी हुन्। हामीले सबैलाई बोलाउने हो, तर आउने नआउने त उहाँहरुकै मर्जी। यस पटकको विषयवस्तुमा चाहिँ प्रधानमन्त्रीको भारत भ्रमण, भ्रष्टाचार, महँगी, भाषा विवादको कुरा, नेपालप्रति भारतको वक्र दृष्टिकोण, राजनीतिक दलका कमीकमजोरी आदि राजनीतिक सामाजिक विषयवस्तु समेटेका छौँ।

सिस्नुपानी

सिस्नुपानी

केपी ओली आफू पनि व्यङ्ग्य गर्नुहुन्छ, बोलाउँदा आउनु पनि हुन्छ। सुवास नेम्वाङ्ले पनि हाम्रो देउसीको प्रसङ्ग जोडेर चर्चा गर्नु भएको थियो। हामीले संविधान नआएको सन्दर्भमा गोरु कहिले ब्याउला भनेका थियौँ। पछि संविधान आएपछि वहाँले हामीसँग ठट्टा गर्दै भन्नुभयो, ‘गोरु ब्यायो, हेर्नुस् त।’

हाम्रा प्रस्तुतिमा राजनीति हाबी भएकै हो। मुलुकलाई दिशानिर्देश गर्ने नै राजनीतिले हो। फेरि, सबैभन्दा बढी विकृति विसङ्गति पनि त्यहीँ छ। त्यही भएर स्वतः यो विषयले महत्व पाइहाल्दोरैछ। तर सामाजिक–सांस्कृतिक पक्षलाई छोडेका भने होइनौँ। वर्षभरिका प्रमुख घटनालाई समेट्दै आएका छौँ। साङ्गीतिक पक्षमा पनि हामीसँग शिशिर योगी, कमलकान्त भेटवाल, रामकृष्ण दुवाल हुनुहुन्छ। हामीले बाहिरका साथीहरुको पनि सहयोग लिने गरेका छौँ।  

तिहारलाई हामीले विशेष महत्व दिएका छौँ। दसैँ आयो कि, साथीहरु र स्रोताहरुले पनि यो वर्ष तिहारमा के छ सोध्नुहुन्छ। दसैंपछि हाम्रो खोजी सुरु भइहाल्छ। सुरुमा तिहारका बेला सकेसम्म फरक किसिमले देउसी खेलौँ भन्ने हिसाबले सुरु गरियो। सबैखाले समूह, क्लबहरुले तिहारमा देउसीभैलोलाई महत्व दिँदै आएका छन्। यसको रोचकता, यसको आकर्षण र प्रभावका कारण हामीले पनि यसलाई माध्यम बनायौँ। सबैजनाको माया र सिस्नुपानी समूहका साथीहरुको साथ र हौसलाले यसले सानोतिनो अभियानको रुप लिएको छ। हाम्रो देउसी थप रोमाञ्चक बन्दैछ।

(प्रभाकर गौतमसँगको कुराकानीमा आधारित)

प्रकाशित १३ कार्तिक २०७३, शनिबार | 2016-10-29 09:12:01
author photo

लक्ष्मण गाम्नागे सिस्नुपानी संस्थासँग सम्बद्ध व्यंग्यकार हुन्

@LaxmanGamnage


प्रतिकृया दिनुहोस

  • आयातीत पीडाको कहानी

    हिजोआज नेपालका हरेक घरका नजिक वा टाढाका सदस्य विदेशिनु अकाट्य सत्य बनेको छ। तीमध्ये खाडी मुलुक जानेको संख्या बढी भएको कुरा पनि अर्को यथार्थ हो।...

  • कवि केशव सिलवाल

    सहरमा एक पुँजीवादः काँठमा एक रामचन्द्रे

    मिश्र सरको पुँजीवादबाट पीडित साक्ष्य हो रामचन्द्रे। उसलाई सिंहदरबारको कुनामा थन्किएको राज्यले नजर लगाउँदैन। उसको आहत कसैलाई सुन्ने फुर्सद छैन।...

  • विनोदविकास सिंखडा

    मेरो समयको एसएलसी र आजको एसइई

    एकाबिहानै फेसबुक खोलेर हेर्दा थाहा पाएँ, यो सालको एसएलसी सुरु भइसकेछ। आजभोलि त एसएलसीलाई ‘एसइइ’ पो भन्दा रहेछन्। सबै भन्छन्– यो परीक्षा जीवनको...

  • रवीन्द्र मिश्र

    रवीन्द्र मिश्रको समूहमा व्यक्ति प्रधानताको लक्षण

    राजनीति गर्छु भन्नेहरूले ति एजेण्डाका बारेमा स्पष्ट दृष्टिकोण सार्वजनिक नगरी सुख छैन। अहिले भएका वा भविष्यमा बन्ने सबै राजनीतिक दलले आफ्नो...

  • खस्कँदो छ उद्योग वाणिज्य महासंघको साख

    विस्तारै हटिरहेको लोडसेडिङ, उद्योगी र मजदुरबीचको सुमधुर सम्बन्ध र विदेशी लगानी बढिरहेको अवस्थामा अबको नेतृत्वले मुलुकमा लगानीको वातावरण रहेको...

  • समलिङ्गी जोडी रजनी र शर्मिला

    यस्ता छन् एक लेस्वियन जोडीका दुःखसुख

    नेपाली तेस्रो लिङ्गी अञ्जली तामाङको चर्चा काठमाडौँदेखि न्युयोर्कका पत्रपत्रिकासम्म पुग्दा मलाई पनि केही समयअगाडि बिबिसी साझा सवालमा आएका तेस्रो...

 

 

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • साडी, स्वीटर र ब्लाउजमा बुट्टा भर्ने तथा कढाइ गर्ने सीप सिकिरहेका एकल जीवन बिताउँदै आएका रोल्पाका महिला

    सीप सिकेर जीवन बदल्ने प्रयास गर्दैछन् रोल्पाका यी एकल महिला

    उमेर नपुग्दै विवाह गर्ने चलन रोल्पामा अझै घटेको छैन। सानै उमेरमा विवाह गर्ने अनि उमेर छिपिँदै गएपछि पारिवारिक समस्या देखाएर सम्बन्ध विच्छेद...

  • परासर आश्रमतनहुँको सेती र मादी नदीको किनारमा अवस्थित परासर आश्रम

    पर्यटकीय स्थलमा बदलिँदै छ व्यास क्षेत्र

    पर्याप्त सम्भावना रहेर पनि प्रचारप्रसार एवम् पूर्वाधार विकासका दृष्टिले ओझेलमा परेको यस क्षेत्रलाई व्यास क्षेत्र विकास कोष तनहुँको सकृयतामा करिब २७...

  • चिनियाँ रक्षामन्त्री चाङ भ्रमणका पाँच सन्देश

    सुरक्षाविद् डा. दीपकप्रकाश भट्ट ‘साउथ चाइना सी’ बाहेक अन्य क्षेत्रमा त्यति चीन त्यति चिन्तित नरहेको बताउँछन्। ‘ट्रप्प र मोदीको क्यामेस्ट्रिी...

  • आहा, उहिलेको पोखरा

    पहिले पाटीरपौवा, धारा–कुवा चौतारी र कुलोकुलेसा धेरै थिए। धान रोप्दा होस् या धान भित्र्याउँदा रमाइलो हुन्थ्यो। चाड पर्व र मेलाको महत्व अलग थियो।...