गाउँलाई लेखिएको एक लभलेटर

'कालो पोथी'सँगै मुगुका कुना–कन्दरामा पुग्दा



 ठ्याक्कै आँखा अगाडि उभिएको थिएन हिमाल। थिएन रारा तालको पानी। बिहान बिहानै नुन र खुर्सानीसँग ट्वाँट दन्काँउदै थियो एउटा जँड्याहा सानो स्टिलको गिलासमा । मुगु सुरु भइसकेको थियो। छक्क परेर मैले हेर्दा ठकुरी दाइले भनेका थिए ‘क्या टवाल्ल अर्दि छौं यता यस्तै हो। मस्तै सितन चाहिँदो नाई जाँड धोक्नाकन।’

कुचो लाउँदै थिइन् एक बड्डीले आँगनमा। खेतमा देखिन्थे मान्छेहरू। नआउँदै रारा आएको दियो पैखुँ पानी। सिमीको दाल छड्किरहेको थियो होटलको एउटा कसौंडीमा। ‘कालो पोथी’मा जँड्याहाले प्याज र नुनसँग जाँड तानेपछि मेरो मनले मलाई मुगुतिर तान्दै लयो। गिलास पनि उस्तै। कतै त्यही मान्छेले तान्दै त छैन जस्तो लाग्ने।

हिंड्दै गर्दा भत्किरहेथ्यो मेरो कल्पनाको एउटा चित्र मुगुबारे। जहाँ उस्तै थियो परालको रङ, जस्तो हुन्छ म हुर्केको गाउँमा।

दाल छड्किरहेको होटलमा भात पर्खिंदै गर्दा भेटिएकी थिइन् सेतुकला विक। असी वर्षकी थिइन् उनी त्यो बेला। उनकै बारीमा फल्ने स्याउजस्ता थिए उनका गाला। 
‘माकस भोकै, लेनिन भोकै, प्रचन्ड भोकै छन्। ओडो मर्नु पुडो मर्नु धोका त धोकै छन्।’

के भनेको हो आमा यो ठाडी भाकाको गीतले?

‘जो मर्या पनि हाम्लाई त धोका हो नि भनेको नानी।’

मुगुकी यी आमा

प्रचन्डका के कुरा ऊ बेला मार्क्स र लेनिनसम्म ठाडी भाकामा आइपुगेका थिए।
‘आजकल सबै भन्दाछन् यस्तै यस्तै। माओवादीका ताका सुन्याको।’ मार्क्स र लेनिनबारे उनले जानकारी पस्किन्।

‘तर अब सबै राम्रो होला क्या? कोई नमर्या हुने है नानी। यसो होला क्या।’ उनले दिएको कोदोको रोटीसँगै निलिदिए उनका कुरा पनि। के थाहा र मलाई होला कि सबै राम्रो, रहिजाला यस्तै यस्तै। कस्तो थियो होला यो गाउमा लडाइँका बखत। सुनेकै कथाले काम्थें म कतिपटक।

सिनेमाले फेरि त्यही समय सम्झायो। आँखा छन् स्क्रिनमा मन उडेर पैखुंपानीमा। सौराईं लाइगो त मलाई पनि आफू हिंड्याको बाटाको।

पुडो मन कति भाग्याको म त फिलिम हेर्दैछु यता काठमाडौंमा। फिलिम भित्र पनि फिलिम देखाउने सिन आयो। हल नपुगेनी टिभी पुगेको थियो मुगुमा पाँचै वर्षअघि म पुग्दा। ‘कालो पोथी’मा बालकलाकार किरणले आफ्नो पोथीको नाम करिश्मा भन्छ। उता चर्चा राजेश हमालको पनि थियो। फिलिमका मान्छे त कैले पुग्लान् र खै यसै भन्दै हिंड्थे म।

कैले खिचिएला नि यताको फिलिम सोच्दै सोच्दै आँखाभरि चित्रहरू खिच्दै खिच्दै नापेर बाटाहरू। जब चिया पसलमा सुनिरहेथें मानबहादुर रोकाया दाइले गाएको ठाडी भाका। अनि भरेथेँ आफ्नो बुरुन्चे क्यामेरामा।

‘काँचो पल रुखै छ। पाको फल चरिले खायो। उहीसम्म दुःखै छ, जहाँसम्म जिन्दगी रला।’ गालामा हात राखी राखीकन केराको पातबाट छिचोलिएको आकाश हेर्दै उनले गाएका थिए त्यो दिन। जहाँसम्म छ जिन्दगी त्यहीसम्म छरे दुःख। उनको गीतले यसो भन्यो। गीत गुन्जँदै गर्दा किट्लीमा चिया उम्लियो।

घुमेर फर्केको ठाँउमा घरिघरि पुर्याए निर्देशक मिनकुमार भामले। कैले खिचिएलान् यो ठाँउका कथा भन्ने लागिरहेको एउटा कथाले म पर्दाको दृश्यसँगै डुल्दै थिएँ। पर्दामा पनि आयो एउटा ठाडी भाका। विरही बनाएर फुत्त गयो।

गाँउमा कोही नारा लगाउन पुग्दै थिए जनयुद्धका, कोही फिल्म देखाउन। स्कुलमा आएर नारा लगाएर जनयुद्धमा हिडेकी थिई सिनेमाकी उजेली। मेरो मनमा नाँचेकी थिई पवित्रा विक, जो हिंडेकी थिई युद्धमा। उसको सुरिलो भाकाले संसार बदल्न। उजेलीलाई उसकै भाइको साथीको भिनाजु अपहरण भएको थाहा थिएन। मैले भेटेकी पवित्रालाई पनि थाहा थिएन उसकै साथी सिर्जनाका बाबु अपहरणमा परेको कुरा। खाल्डोमा पुरिएर मारिएको दर्दनाक कहानी। मुटुमा हान्दै थियो एउटा कथाले, जो म पनि बिर्सन चाहन्थें।

आफ्ना–आफ्ना मान्छेका दुश्मन आफ्नै घरका मान्छे थाहा पाएपछि ‘कालो पोथी’मा किरण र प्रकाश झन्डै दुश्मन भएका थिए। उता पवित्रा र सिर्जनाका आजीवन दुश्मनी भइसकेको थियो। दुखायो सम्झनाले फेरि एकपटक। डरलाग्दो जङ्गलमा दुई बालक हराएको। कतै माओवादी त छैनन् भनेर डराउँदै हिडेको निर्दोषी डर।युद्धमा हिंडेकी छोरीलार्ई पर्खेर दुखी मन बाँचेको बाबुलाई पुलिसले थर्काएको अर्को डर। तातो ताप्के कि भुङ्ग्रो यस्तै थियो, त्यो समय निर्दोष मानिसहरूका लागि। दुवैतिरका दोषीहरूलाई फ्याट्ट गालामा हानेका छन् यी दृश्यहरूले। जङ्गलमा बम पड्केर मरेको निर्दोष बुढो मान्छे। गोलीको आवाजले डराएर लासको बिचमा सुतेका बच्चाहरू। राराको कन्चन पानीमा पखालिएको रगत। फेरि कहिल्यै नफर्कोस् यो समय। सिनेमा हेर्दा हल्लाउने दृश्यहरू कसरी बाँच्यो होला हाम्रो समाजले।

बिना कारण दुश्मन बनेका मान्छेहरू फेरि मित्र होलान्, नहोलान्। चुँडिएका पुलहरू पनि जोडिएलान्। तर मनहरू? खै! समाजमा भित्रिएको आत्मीय रिक्तता अनुमान लगाउन सकिन्छ। सिनेमा हेर्दै गर्दा।

हामीले हिडेको गाँउमा पनि जताततै देखिन्नथे चामलका लाइन मात्र। हुँदैनथे छाउपडी गोठ लस्करै। गाँउ बाँचिरहेको हुन्थ्यो एउटा स्वभाविक जीवन। त्यसैले सिनेमामा संसारको भूगोलको कुनै एउटा गाँउ आफ्नै पारामा बोल्दै थियो नबोलेर सिनेमाको भाका। हिमालका लस्करहरू होइन, चियाका पसलहरू आँउथे। आँउथ्यो कतै बार्दली बिनाको घर। धारामा पानी थापिरहेका मान्छेहरू। चरिरहेका गाइहरू। आँ गरेर धारामा पानी खाइरहेका कतै।

सिनेमाको दर्शक हुँ भन्ने नै भुलेछन् समाजशास्त्री चैतन्य मिश्रले–‘मैले म दर्शक हुँ भन्ने नै बिर्सें। ‘कालो पोथी’सँगै मुगुको गाँउमा फुत्त छिरेर हराएजस्तो भयो।’
निकै पर बसेर हेरिएको कल्पनाको एउटा चित्र भत्काँउदै थियो कालो पोथीले। जसरी भत्किएको थियो हिंड्दै गर्दा मेरो पनि। जहाँ संसारका सबै ठाँउमा जस्तो दिदीभाइको प्रेम हुन्छ। छोरी हराउँदा बाउको छातीको प्रेम दुख्छ। यसै गरी दुखेका थिए नि धेरै मनहरू माओवादी विद्रोहताका।

द्वन्द्व कथा नबोलेजस्तो गरी बोलिरहेको थियो सिनेमा। धारामा पानी थाप्न जाँदा तल्लो जात भनेर हेपिंदा चुपचाप फर्केको बालक एक्लै अलि पर गएर रुन्छ। घुँक्क घुँक्क। नदेखिएर यसरी बगेका धेरै आँसु देखाइदियो यो दृश्यले। अलिकति आफ्नो पनि तप्प चुहिने गरी। ‘भाग मिलखा भाग’ फिल्म खिच्ने क्यामेराले खिचेको यो दृश्यमा आँसुले बोलेको कुरा बुझ्नेलाई काफी छ।

सिनेमामा हिमाली जिल्ला भनेर कल्पना गरेजस्तो सौन्दर्य पनि चर्किएको छैन। न त दुःखहरू नै। चैतन्य मिश्रले भनेजस्तो युद्धका दृश्यहरू घरि सार्प भएर आएका छन्, घरि सटल (लुकेर)। जे–जे आएका छन् दैनिक जीवनको लयसँग मिल्दै मिल्दै आएका छन। त्यसरी आएका छन् जसरी आँउछन् जीवनमा।
बोका पर्संदै गर्दा सेनाले माओवादी कार्यकर्ता कतै लैजाँदै गरेको दृश्य। प्रकाशको भिनाजुलाई जग्गेबाट उठाएर माओवादीले अपहरण गरेको दृश्य। सिनेमाकै दृश्यजस्ता छन्। तर सिनेमाभन्दा पनि भयानक दृश्य बाँचेको थियो नि यो समाजले भनेर सम्झँदा मुटु झस्कन्छ।

कालो पोथीको एक दृष्य

‘बाँचेको युद्धको समयलाई साहित्य र कलामा बदल्न सजिलो छैन। अरुले अह्राएको शैलीमा यो सबै गर्न सकिदैन। त्यसका लागि शिल्प चाहिन्छ मौलिक। त्यो पनि आफूले बाँचेको जीवन जब इमान्दारीपूर्वक व्यक्त हुन्छ अनि बन्छ, उत्कृष्ट सिर्जना,’ इलाम बिर्सेर पर्दामा मुगु डुलेपछि लेखक केदार शर्मा आफैलाई व्यक्त गर्न खोज्दै थिए।
गाँउमा फिल्म देखाउने आवा सुनेर कथाका मुख्य पात्र किरण र प्रकाशको बहाना बनाएर भाग्छन्। यही दृश्यले सहरमा भागेर सिनेमा हेर्नेहरूको बचपन फर्काइदिन्छ।

भित्र सिनेमामा आइ लभ यु गित चलिरहँदा फुत्त बाहिर निस्केर लिप किस गर्न भ्याएका तन्नेरीहरूको तातो प्रेमले एकछिन दर्शकको मन प्रेमीप्रेमिकातिर फर्कन्छ।

बेचिएको कुखुरा फुत्काउने कुनै उपाय नभएपछि आफ्नो बहुमुल्य घडी लाउने भनेर प्रकाशले किरणलाई फकाएको। कुखुरो खोज्ने धुनकै बीचमा रुखको आड लागेर पोस्टकार्डमा केटीले लेखेको लभलेटर प्रकाशले पढेर मस्कँदै रुखको आड लिएको। तनावकै बीचमा राति आगो तापेर मस्त चुरोट तानेका सिनहरूले भन्छन्, आहा जिन्दगी! दुःखकै बीच पनि चुप लागेर बस्दैन है। रोएको रोयै गर्देन है। हामीले कल्पना गरेको आँसुआँसु मात्र छैन। त्यही बीचबाट चोरेर आफ्नो खुशी बाँचिदिन्छन् जिन्दगीहरू। आफूले डुल्दा कतै बिंडी तानेको कतै छयाङ्ग हानेको सम्झें मैले पनि। अनि सम्झें सास्तीकै बीच निलो आकाश हेरेर रमाएको।

हुर्कंदै गर्दा निर्देशकलेजस्तो जीवन बाँचे। मनमनमा लेखिएको एउटा स्क्रिप्टलाई क्यामेराले खिच्दै खिच्दै गए। सिने क्रिटिक बलबहादुर थापाले भने– ‘उनले यो सिनेमा बनाएका होइनन्, आफ्नो गाँउलाई लभलेटर लेखेका हुन्।’

उनले लेखेको लभलेटरको दृश्यमा धुँवाले कालो भएको भित्ता छ। मैलो भएको सिरक छ। कमेरोले पोतेका भित्ताहरूमा धर्साहरू छन्। मन परेका सिनहरू सिनेमाको फर्मुला बिर्सेर खिचेका छन् निर्देशकले। मन लागे जति।

भाषा छ उनले बोलेर हुर्किएको। जीवन छ बिस्तारै फेरिएको। उमेरसँगै बाँच्दै गएको जिन्दगीमा आएको परिवर्तनलाई यस्तो उस्तो भनेर विश्लेषण गर्ने फुर्सद नै भएन रे मिनलाई। भनिएजस्तै सिनेमा युद्धको विषय हो। सामाजिक यथार्थताको चित्रण हो या अरु केही। धेरै थोक होला। तर एउटा सत्य केहो भने समयको कालखण्डमा एउटा पुस्ताले बाँचेको जीवनको चित्रण जरुर हो। असार साउन बाँच्दाबाँच्दै आइपुगेको भदौ–असोज जस्तो हो, उस्तै हो यो सिनेमा निर्देशकको लागि। बाँच्नुकै रोमान्चकतामा हराएको। समयको साक्षी बनेर उभिएको जिन्दगी जस्तै।

मुगुको एक गाउँमा भेटिएका तिर्खाएका गाइबस्तु

चालिस वर्ष अगि मुगु डुलेका तीर्थ श्रेष्ठले त्यो बेला मान्छेका शिरमा टोपी देख्थे। खुट्टामा जुत्ता देख्दैनथे। तर सिनेमामा दुवै देखियो टोपी र जुत्ता। त्यो बेला मुगुमा सिनेमा भन्नु कुन चराको नाम। ‘कालो पोथी’मा किरणले आफ्नो कुखुराको नाम नै करिश्मा राखेको थियो। यो बाहेक अरु के होलान् परिवर्तन नाप्ने कुरा?मिनकुमार भामको विचारमा पनि धेरै छैनन्। बिस्तारै हुन्छ त्यहाँ सबै कुरा यही फिल्ममा जस्तो। खासै ठूलो हुँदैन दुःख। खासै उत्साह लाग्ने चर्को खुशी पनि हुन्न भन्छन्। जे हुन्छ बिस्तारै हुन्छ। अनि लामो अन्तरालमा समाज बिस्तारै बद्लन्छ। नबद्लिएजस्तो गरी केही पनि।

हिमाली भेगका मान्छे र मध्य पहाडी मान्छेको सम्बन्ध हल्ला नगरी सुटुक्क छिरेको छ सिनेमामा। जसरी भेटिन्छ मुगुको बाटो बाटोमा। चिया पसलहरूमा। पेम्बाको भट्टीमा। किरणले पालेको दिदीको पेवा कुखुरो उनले भोटिया जातका मानिसलाई बेचिदिन्छन्। यही कारणले बनेका दृश्यहरूले नेपाली समाजको रङ्गीन चित्र बोल्छ। बोल्छ मात्रै होइन बहेको हावाजस्तै प्राकृतिक र स्वभाविक छ पनि भन्छ। एउटा समयको राजनीतिक परिदृश्य मात्र होइन। यो समाजको इन्दे्रणी सौन्दर्य पनि छ ‘कालो पोथी’मा। बीचबीचमा आएका ठाडी भाकाले दोहोरीमा बानी परेकाहरूको कानलाई ‘पज’ गरिदिन्छ।

हृदयमा बाँचेको एउटा जीवन। केहो कसो हो भनेर घोत्लीनुमा होइन, बाँच्नुकै लयमा लठ्ठिएको । बाँच्दा भन्न नसकेर मनमा लुकाएका चित्रहरू। क्यामेराले खिचिदिए एकदिन र बन्यो ओस्कारमा नोमिनेसन हुन लायकको सिनेमा। समय थोरै छ भन्न पर्ने कथा धेरै छन्। यसो भन्दाभन्दै मिनले लेखे उनको गाँउलाई लभलेटर। उनको लेटरमा छिरेर गाँउ डुलें मैले फेरि एकपटक अनि अरुले पनि।

 

 

प्रकाशित १ असोज २०७३, शनिबार | 2016-09-17 14:20:23

प्रतिकृया दिनुहोस

  • लोकमान बहिर्गमनको हर्षबढाइँपछि ...

    जुन देशमा नायक नै छैनन्, त्यो देशमा कोही कसरी महानायक कहलाउँछ? म न, विपी कोइरालालाई ‘महामानव’ भनेको बुझ्छु, न राजेश हमाललाई ‘महानायक’। रेखा थापालाई...

  • 'पिताजी सामाजिक न्यायका जुझारु अभियन्ता हुनुहुन्थ्यो'

    बुवा पहिले कुक र सेफको रुपमा काम गर्नुहुन्थ्यो। तत्कालिन रोयल होटेलबाट वेटरको हैसियतमा काम सुरु गर्दै उहाँले कुकको रुपमा होटेल शङ्कर, होटेल ग्रीन,...

  • ओ मेरो रिक्सावाला दाइ!

    पारिलो घाममा अशोकले सुनाए घामजस्तै उज्याला सपना ‘नाला पुरिएको, ठाँउठाँउमा डस्टबिन राखिएको। रुख बिरुवा रोपेको, फूलहरू फुलेको। के भनुँ अरु। जो आँउछ...

  • अन्तरजातीय बिहेको दुखद् बकपत्र

    मेरो बाल्यकालमा दलित हुनुको विभेद अनुभव भएन। दौंतरीहरुले मलाई दलित भनेर कहिल्यै विभेद गरेनन्। डुल्दा, खेल्दा, खाँदा जुनैबेला पनि समान रुपमा...

  • पुस्तक हराएको सूचना

    म लत्याकलुतुक गलें। हराएको पुस्तक सकुशल उद्वार गर्नेे झिनो आशा पनि बाँकी रहेन। अब, एउटै विकल्प रह्यो, नयाँ पुस्तक किन्ने। यसबाट सहज रुपमा पुस्तकको...

  • माया त छैन, न्यानो त देऊ

    टिनले छाएका टिनकै टहरा अगाडि पुसको चिसोले थला परेका बूढाबूढीका खाक्कखुक्क ‘ताल नमिलेको ढिमे बाजा’जस्तो सुनिन्थ्यो। तैपनि ती भूकम्पपीडित जेष्ठ...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सिंहदरबार रेट्रोफिटिङ गर्न टेण्डर निकाल्ने तयारी

    भूकम्पले क्षतिग्रस्त बनाएको सिंहदरबार रेट्रोफिटिङ (सबलीकरण) गरिने भएसँगै पुनर्निर्माणले गति लिने भएको छ। सिंहदरबार पुनर्निर्माण सचिवालयले भवनलाई...

  • पश्चिम सेतीले जगाएको आशा

    पश्चिमसेती जलविद्युत आयोजना अघि बढाउन वैधानिक रुपमा बाटो खुलेको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले बुधबार स्वीकृति दिएपछि ७ सय ५० मेगावाटको...

  • लण्डनले स्वागत गर्‍यो पहिलो चिनियाँ रेललाई

    चीनबाट बेलायतका लागि छुटेको मालबाहक रेल बुधबार लण्डन पुगेको छ। १८ दिनको यात्रापछि ७ हजार ५ सय माइल दूरी पार गरेर सो रेल पूर्वी लण्डनको बार्किङमा...

  • मधेशमा पाँच लाखको शक्ति प्रदर्शन: एमाले

    मधेशमा पाइला टेक्नै नपाउने चेतावनी खेपिरहेको नेकपा एमालेले मेचीदेखि महाकालीसम्म पाँच लाखभन्दा बढी जनता सडकमा उतार्ने तयारी भइरहेको बताएको छ।...