बम्बई जाँदो, रूपियाँ कमाउँदो



सेरा रावल र जया रावल
सेरा रावल र जया रावल
तस्बिरः सरला गौतम

आडैमा कसैको भुनभुनले मेरो तन्द्रा भङ्ग भयो। ओहो! यो उकालोमा त म एक्लै पो छु। मेरो होश आयो।

सकिएको थियो द्वन्द्व। हान्दै थिए द्वन्द्वका बाछिटाले। दिनकै लर्को लागेर मान्छेहरू खालि हात भारततिर हुँइकिरहेको म देख्थें।

उँभोउँभो जाऊ, मुथिमुथि जाउ (माथि माथि जाउ)। मैले बाटो सोधेँ, उनीहरूले बताए।

बडेमानको ढुङ्गामा झोलाको आड लगाएर म पल्टिरहेकी थिँए। मेरो चाल देखेर लोकल साथी मलाई छोडेर टाप कसिसकेकी थिइन्। सोध्दै आउनु भनेर।

बाजुराको पान्डुसेनको उकालो थियो त्यो। वरिपरि रुख बिरुवा केही नभएको। आकाशमा नाङ्लो जत्रो घाम। बुरुन्चे सानो बोटको आडमा त्यो ढुङ्गा लाख थियो।

खाना खाएपछि उकालो लाग्न परोस् भन्ने त सराप नै हो रे। त्यसै भन्थे मान्छेहरू। मलाई त्यो दिन कसैले सरापेको थियो।

मेरो आडमा आएर गुनगुन गर्ने दुई बालक थिए।

बाटो बताएर फेरि आफ्नै धुनमा उनीहरू हराए। अक्सर नयाँ मान्छे देखेर दङ्ग पर्ने यो ठाँउमा उनीहरूले मलाई बाल दिएनन्।

मलाई बोल्ने तलतल झन् बढ्यो। दुवैले मकैको ठाँट चपाउँदै थिए।

मैले सुरु गरें। स्कुलबाट भाग्याको हो रे लौ। अल्छि लाग्यो पो भन्छन्। पढ्नु पो पर्छ मैले अर्ती दिएँ। उनीहरूले मेरो अर्ती गने पो।

जया रावल सात वर्षका र सेरा रावल नौ वर्षका थिए, पाँच वर्षअगि। पढाइको कुराले उनीहरूको ध्यान खिच्न सकिन।

मैले सोधें मोटर देख्याको छौं। हेडलाइटजस्ता आँखा अनि हातको पार स्टेरिङजस्तो। हात घुमाउँदै घुर्र्र्र गर्दै भने देख्याका।

नार्इं भन्लान् भनेको अर्कै आयो उत्तर। पान्डुसेनसम्म मोटर पुग्थ्यो वर्षाद्बाहेक त्यो बेला। सोचें त्यही देख्या होलान्। तल मोटर बाटोमा।

मोटर चढ्याका?

ढुक्कैसँग भने, ‘चढ्याको।’

कहाँकहाँ पुग्याको?

‘तराई र बम्बई सप्पैतिर गयाको।’ खल्ली पो परेछन्।

कँहा निको लाग्यो (राम्रो लाग्यो)?

सेरा बोल्यो, ‘तराई निको मान्दो म। बम्बई त गलाई(थकाई¬)लाग्दो।

जयाले भन्यो, ‘ना मकन बम्बई निको मान्दो। मस्तै फलफुल खान पाँइदो। नरिवलका पानी पाइप हालिहालिकन।’

यसो भन्दा ऊ कस्तो लोभियो अनि लोभलाग्दो देखियो।

फेरि सम्झ्यो नरिवलको पानी र भन्यो, ‘खाइरहन मन लाग्दो पुडो (थेगो) सकिजाँदो।’

पढाइतिर फेरि फर्काएँ, ‘यसरी भागेर हुन्छ पढेर के बन्ने?’

दुवैले पालैपालो भने, ‘बम्बई जाँदो रुपियाँ कमाउँदो।’

‘अनि के गर्ने पैसाले ?’

‘गुँड किन्दा, फलफुल, नरिवल सबै किन्दा। पैसा भएपछि सबै मिल्दो छ।’

उनीहरू यसरी रमाए। मानौं सबै कुरा मिलिसक्यो।

अनि?

‘आमाकन पेटीकोट चोलो किन्दा।’ मेरा हातका चुरा देखाएर भने, ‘चुरा पनि।’

सानो क्यामेरा थियो मेरो हातमा। त्यही देखाएर फेरि भने, ‘तम्राजस्तो क्यामेरा पनि किन्दा।’ अनि मज्जाले हाँसे।

सकिएको थियो द्वन्द्व। हान्दै थिए द्वन्द्वका बाछिटाले। दिनकै लर्को लागेर मान्छेहरू खालि हात भारततिर हुँइकिरहेको म देख्थें। बात मार्थें। लक्का जवान छोरा गुमाएर द्वन्द्व पीडितले पाउने पैसाको लागि धाउँदा–धाउँदा थाकेका बाबुहरू पनि। आँगनमा जीउ बिसाउने बेला दिल्ली बम्बईकै बाटोमा। फगत खालि हात।

सेरा र जयाको बम्बई सपना पनि भेट्न पाएँ।

हामी बिस्तारै उकालो लाग्दै गयौं। त्यो मकैको ठाँट उनीहरू चपाउँदै थिए अझै पनि। टाइम पास गरेका होलान्। स्कुलबाट भागेका न थिए।

दोबाटो आयो। छुटिने बेला भयो। ऊ त्यो बाटो जाऊ। मलाई बाटो देखाएर उनीहरू आफ्नै बाटो लागे। देखिने बेलासम्म मैले हेरिरहें।

उनीहरू अहिले के गर्दै होलान्। बम्बई गई पनि सकेकी!?

प्रकाशित १९ भदौ २०७३, आइतबार | 2016-09-04 10:40:23

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो रहेछ ह्वेल ठूलो हुनुको कारण

    ब्लु ह्वेल विश्वमै सबैभन्दा भीमकाय जीव हो। जेट प्लेनजत्रो लम्बाइ, कारजत्रो मुटु र एउटा वयष्क हात्तीको जति नै तौल भएको जीब्रो, ह्वेललाई सानो कसैले...

  • प्रचण्ड

    'मभन्दा अघि विदेशनीति विवेकभन्दा आवेगले निर्देशित थियो'

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन गर्दै सरकारले छिमेकीसँग सन्तुलित र राष्ट्रकेन्द्रित सम्बन्ध विकास गरेको बताए। उनले...

  • को हुन् साझाकी शोभा जसले कांग्रेस–एमालेलाई आच्छु आच्छु पारिन्

    पाटन औद्योगिक क्षेत्रमा शोभाको उन तथा हस्तबुनाई कारखाना पनि सञ्चालनमा रहेछ जहाँ पाँच सय भन्दा बढी महिला कामदारलाई उनले रोजगारी दिएकी छिन्। भन्छिन्,...