ad ad

सुदूरपश्चिम


एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

नेपालखबर
जेठ १, २०८१ मंगलबार १९:४६, कञ्चनपुर

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ।

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले विश्वासको मत दिने बताए।

एमाले नेतृत्वबाट विश्वासको मत दिन निर्देशन आएकोले सोहीअनुसार आफूहरुले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारी गरेको उनको भनाइ छ।

बुधबार दलको बैठक बसेर यसबारे आधिकारिक निर्णय गर्ने रावलको भनाइ छ।

मुख्यमन्त्री सोडारीले जेठ ३ गते बिहीबार विश्वासको मत लिँदैछन्। त्यसका लागि बिहीबार बिहान १०ः१५ मा प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए।

यसअघि वैशाख २१ र २२ गते दुई पटक विश्वासको मत लिने जमर्को गरेका मुख्यमन्त्री सोडारी एमालेको अड्कोले विश्वासको मत लिन सकेका थिएनन्।

नवनिर्वाचित सांसद दमनबहादुर भण्डारीलाई शपथ नलिएर गठबन्धनमा छलफल नगरी हतार गरेर विश्वासको मत लिन खोजेको, बझाङ उपचुनावमा एमालेलाई हराउने गरी उम्मेदवार खडा गरेको तथा गठबन्धनभित्रको एमाले र एकीकृत समाजवादीको खटपटले एमाले सोडारीलाई विश्वासको मत दिन तयार भएको थिएन।

वैशाख ६ मा मुख्यमन्त्री नियुक्त भएका सोडारीले एक महिनाभित्र प्रदेश सभामा बहुमत सिद्ध गर्न विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ।

६ वैशाखमा ४ सांसद रहेको नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

बझाङ उपचुनावमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएपछि सत्ता गठबन्धनलाई बहुमतका लागि झनै सहजता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .