ad ad

समाज


गेटा आँखा अस्पतालद्वारा बैतडी र दार्चुलामा ५६८ जनाको निःशुल्क शल्यक्रिया

गेटा आँखा अस्पतालद्वारा बैतडी र दार्चुलामा ५६८ जनाको निःशुल्क शल्यक्रिया

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १५:४, काठमाडौँ

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले दार्चुला र बैतडी जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको शल्यक्रिया शिविरमार्फत ५ सय ६८ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ।

दुई जिल्लाका विभिन्न स्थानमा ३ हजार ३ सय ७२ जनाको आँखा परीक्षण गर्दा मोतिबिन्दु देखिएको ५५५ जना र अन्य समस्या रहेका १३ जना गरी कुल ५६८ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र बिष्टका अनुसार वैशाख १६ देखि २५ सम्म दार्चुलाको खलङ्गा, गोकुलेश्वर र मार्मामा शिविर सञ्चालन गरिएको थियो। खलङ्गामा सञ्चालित शिविरमा १ हजार २ सय ४ जनाको आँखा परीक्षण गरी २ सय २ जनाको मोतिबिन्दु र ३ जनाको अन्य समस्याको शल्यक्रिया, गोकुलेश्वरमा सञ्चालित शिविरमा ९ सय १३ जनाको आँखा परीक्षण गरी १७१ जनाको मोतिबिन्दु र ४ जनाको अन्य समस्याको शल्यक्रिया र मार्मामा सञ्चालित शिविरमा ६ सय ९० जनाको आँखा परीक्षण गरी ५५ जनाको मोतिबिन्दुको र ३ जनाको अन्य गरी जम्मा ५८ जनाको शल्यक्रिया गरिएको विष्टले जानकारी दिए।

त्यसैगरी बैतडी जिल्लाको गोठालापानीमा वैशाख २७ र २८ गते सञ्चालित शिविरमा ५ सय ६५ जनाको आँखा परीक्षण गरी १२७ जनाको मोतिबिन्दु र ३ जनाको अन्य समस्याको शल्यक्रिया गरिएको विष्टले बताए।  

गेटा आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. सुरेसराज पन्त र जलबिन्दु रोग विशेषज्ञ डा. स्मध अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरूको टोलीले आँखा शिविर सञ्चालन गरी शल्यक्रिया गरेको हो।

रोटरी क्लब अफ इलभेरम नर्वे, फ्रेड हलोज फाउन्डेसन र मार्मा गाँउपालिकाको आर्थिक सहयोग तथा महाकाली नगरपालिका, शल्यशिखर नगरपालिका, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा बैतडी तथा दार्चुलाको समन्वयमा शिविर सञ्चालन गरिएको हो।

अस्पतालले वार्षिक रुपमा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूलाई लक्षित गरी हरेक वर्ष निःशुल्क शल्यक्रिया सहितको शिविरको आयोजना गर्दछ। अस्पतालका अनुसार गत आर्थिक वर्षमा अस्पतालले शल्यक्रिया शिविर मार्फत १४ हजार ९ सय ७३ जनाको आँखा परीक्षण गरी २ हजार ५ सय ६९ जनाको निःशुल्क शल्यक्रिया गरेको थियो।

नेपाल नेत्रज्योति संघले आफ्ना २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु मार्फत पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरु आँखा उपचारबाट बन्चित नहुन् भन्ने उद्देश्यले विभिन्न विकास साझेदार, नेपाल सरकार तथा स्थानीय निकायहरुहरुसँगको सहकार्यक्रमा देशैभरी निःशुल्क आँखा शिविरहरुको आयोजना गर्ने गर्दछ।

स्थापनादेखि हालसम्म संघको सञ्जाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरू गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा प्रवाह गरी ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .