समाज


मौसमविद् भन्छन् : अझै ३ दिन वर्षाको बलियो सम्भावना देखिँदैन

‘प्रिमनसुनका बेला अनुमान मिल्ने सम्भावना पनि कम हुन्छ’
मौसमविद् भन्छन् : अझै ३ दिन वर्षाको बलियो सम्भावना देखिँदैन

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
बैशाख २३, २०८१ आइतबार १२:९, काठमाडौँ

अझै तीन दिन अर्थात् मंगलबारसम्म देशव्यापी खालको वर्षा हुने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिलेको ‘सिस्टम’ (मौसम प्रणाली) खासै बलियो नभएकाले वर्षाको सम्भावना त्यति धेरै नदेखिएको हो। 

‘अझै ३ दिन त्यस्तो देशभरि पर्याप्तसँग वर्षा हुने सम्भावना देखिन्न’, आइतबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘आजभन्दा भोलि, भोलिभन्दा पर्सि वर्षाको सम्भावना अलि बढी देखिएको छ, तर देशव्यापी रूपमा होइन।’

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको प्रक्षेपणअनुसार आज दिउँसोलाई कोसी प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका ‍एक/दुई स्थानमा मात्र हल्का वर्षा हुने सम्भावना छ। तर रातिलाई कतै वर्षाको सम्भावना छैन। 

सोमबारलाई भने वर्षाको सम्भावना अलि बढी देखाइएको छ। महाशाखाको प्रक्षेपणअनुसार सोमबार दिउँसो कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ। साथै देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।  

यस्तै सोमबार राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै देशका बाँकी भूभागका एक/दुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ। 

महाशाखाका अनुसार मंगलबार दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै बाँकी प्रदेशका एक/दुई स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ। 

यस्तै मंगलबार राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै बाँकी प्रदेशका पनि एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। 

तर अहिले प्रिमनसुन सिजन भएकाले अनुमान गरेजस्तै वर्षा भइहाल्छ भनेर ढुक्क हुन नसकिने मौसमविद् नगरकोटीको भनाइ छ। 

‘यो प्रिमनसुनका बेला मौसम अनुमान मिल्ने सम्भावना अलि कम हुन्छ, स्थानीय वायुबाट एकैछिनमा बादल विकास भई गड्याङगुडुङ वर्षा भई पनि हाल्छ, कहिले आइसकेको बादल हटेर पनि जान्छ, कहिले एक ठाउँमा पानी पर्छ, नजिकै अर्काे स्थानमा परेको हुँदैन’, उनले भनिन्, ‘अलि बलियै सिस्टम आएका बेला मात्र अनुमान बढी मिल्ने हुन्छ।’

सबैभन्दा बढी हिउँदयाम (विन्टर) मा मौसम अनुमान मिल्ने र त्यसपछि मनसुनका बेला अनुमान मिल्ने मौसमविद् नगरकोटीको भनाइ छ।   

‘जाडो महिनामा पश्चिमी वायुको बलियो प्रणाली आउँछ, जसलाई हाम्रो मोडलले क्याप्चर गर्छ र अनुमान मिल्छ’, उनले भनिन्, ‘यसैगरी मनसुनका बेला पनि बंगालको खाडीबाट बलियो सिस्टम आउने भएकाले हाम्रो मोडलले बढी क्याप्चर गर्छ र अनुमान मिल्ने सम्भावना बढी हुन्छ।’

अहिले प्रिमनसुनमा पनि अलि बलियो सिस्टम आएका बेला भने ‘मोडलले क्याप्चर’ गर्ने र अनुमान मिल्ने उनको तर्क छ। ‘अहिलेको सिस्टम बलियो सिस्टम होइन, त्यही भएर कतै कतै वर्षा हुने सम्भावना देखिए पनि त्यो मिल्ने सम्भावना कम हुन्छ’, उनले भनिन्। 

तथापि सोमबार र मंगलबार अलि धेरै ठाउँमा वर्षाको सम्भावना देखिएकाले भनिएका स्थानमध्ये कहीँ न कहीँ पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्। 

‘जस्तो : सोमबार दिउँसो कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनसक्ने भनेका छौँ, यस आधारमा त्यस दिन कोसी र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना अलि बढी छ’, उनले भनिन्, ‘तर त्यस दिन देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मात्र त्यो पनि हल्का वर्षा मात्र हुने सम्भावना भनिएको छ, यस्तोमा सम्भावना अलि कम हुनसक्छ।’  

अलि देशव्यापी रूपमा, पर्याप्त मात्रामा वर्षा हुने सम्भावनाचाहिँ कहिलेबाट देखिन्छ त?

नेपालखबरको जिज्ञासमा मौसमविद् नगरकोटी भन्छिन्, ‘हामी सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छौं, यस अवधिमा त्यस्तो कुनै सम्भावना देखिएको छैन, बलियो खालको मौसम प्रणाली भित्रिने सम्भावना देखियो भने त हामी विशेष बुलेटिन जारी गरेर जानकारी गराइहाल्छौँ नि!’

मौसमविद्का अनुसार गत मार्च १ तारिखदेखि नेपालमा प्रिमनसुन सिजन चलिरहेको छ। यसको औसत अवधि ३ महिना भए पनि मनसुन नभित्रिँदासम्म यो नै कायम रहेको मानिन्छ। 

नेपालमा मनसुन (वर्षायाम) भित्रिने औसत मिति जुन १३ तारिख हो भने बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो।

यसपछि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ र यो फेब्रुअरी महिनासम्म रहन्छ। त्यसपछि मार्च १ मा फेरि प्रिमनसुन सुरु हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .