समाज


झापामा छात्रामाथि गोली प्रहार गर्ने पूर्वशिक्षक, मुद्दा फिर्ता गर्न दिइरहेका थिए दबाब

झापामा छात्रामाथि गोली प्रहार गर्ने पूर्वशिक्षक, मुद्दा फिर्ता गर्न दिइरहेका थिए दबाब

उजिर कार्की
बैशाख २१, २०८१ शुक्रबार २१:१८, काठमाडौँ

झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको खुलेको छ।

शुक्रबार दिउँसो दमक नगरपालिका ५ जेष्ठ नागरिक भवन अगाडि उदयपुरको लिङचुङबुङ गाउँपालिका ३ की १८ वर्षकी एनिका अधिकारी गजमेरमाथि गोली प्रहार भएको थियो।

गोली प्रहारबाट घाइते भएकी एनिकाको झापाको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।

गोली प्रहारमा संलग्न व्यक्ति फरार छन्। तर गोली प्रहार कसले र किन गरेको भन्ने प्रहरीले पत्ता लगाएको छ।

प्रहरी स्रोतका अनुसार एनिकालाई गोली प्रहार गर्ने उनकै पूर्वशिक्षक सिरहा घर भएका अमितकुमार यादव भएको खुलेको छ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा एनिकाले २०७९ मा दुर्व्यवहारसम्बन्धी उजुरी दिएकी थिइन्। उक्त उजुरीपछि नै यादव फरार भएका थिए।

तर पछिल्लो समय उनले एनिकालाई उक्त उजुरी फिर्ता लिन दबाब दिइरहेको खुलेको छ। एनिकाले उजुरी फिर्ता लिन नमानेका कारण गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ।

एनिकाले आफूलाई मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको सूचना प्रहरीलाई दिएकी छन्।

कक्षा १० सम्म लिङचुङबुङमै अध्ययन गरेकी एनिका कक्षा ११ र १२ पढ्न भने झापा गएकी थिइन्। दमक नगरपालिका ५ का कमल बुढाथोकीको घरमा डेरामा बसेर पढ्दै आएकी थिइन्। उनी दमक नगरपालिका २ को हिमालय माध्यामिक विद्यालयमा अध्ययनरत थिइन्।

शुक्रबार कक्षा १२ को परीक्षा दिएर फर्किने क्रममा दमक ५ को जेष्ठ नागरिक भवन नजिकै उनीमाथि गोली प्रहार भएको थियो। स्थानीयले गोली चलेको सुनेपछि घटनास्थलमा पुगेर एनिकाको उद्धार गरेका थिए।

उनको पेटमा गोली लागे पनि छेडिएको भने छैन। अहिले आईसीयूमा राखेर उपचार गराइरहेको झापाका डीएसपी कृष्णकुमार चन्दले बताए।

फरार यादवको खोजी भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .