समाज


सर्लाहीको बाराउद्योरणमा आगलागीबाट करोडौँको क्षति

सर्लाहीको बाराउद्योरणमा आगलागीबाट करोडौँको क्षति

फाइल फोटो


नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १८:३, बरहथवा (सर्लाही)

सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ। जिल्लाको दक्षिण पश्चिम स्थित विष्णु –१, बाराउद्योरण गाउँमा बिहीवार भिषण आगालागी भएको थियो। 

आगलागीबाट स्थानीयको ६१ घरसहित लत्ताकपडा, अन्नपात, नगद र अन्य सरसामग्रीसमेत नष्ट हुँदा दुई करोड १५ लाख बराबरको क्षति भएको बताइएको छ।

नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधिलगायतको उपस्थितिमा क्षतिको विवरण आँकलन  गरिएको थियो। आगलागीबाट ५७ स्थानीयको घर पूर्णरुपमा खरानी भएको र चार जनाको पक्की घरमा आङ्शिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

आगलागीबाट स्थानीयको दुई  मोटरसाइकल, एउटा ट्याक्टरसमेत जलेको छ। विष्णु –१ शत्रुधन राउतको घरबाट सुरु भएको आगोले चन्देश्वर राउत, सामबाबु राउत, जिगिन्द्र राउतलगायत गरी ५७ घर नष्ट भएको प्रहरीले जनाएको छ।  

बिहीबार दिउँसो लागेको सो आगो रातिमात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट भर्खरै खेतबाट ल्याएर भित्राएको सयौँ क्वीन्टल गहुँ तथा घरमा भण्डारण गरेर राखेको अन्य अन्नपात मात्रामा नष्ट भएको छ। आगलागीले क्षण भरमै राउत गाउँ खरानी भएको थियो।

तीब्र हावा तथा घरमा रहेका सिलिण्डर ग्यास विस्फोटले गर्दा आगो गाउँमा फैलिएको जनाइएको छ। यस्तै आगलागी लगतै पीडित परिवारलाई पालिकाले नजिकैको विद्यालयमा सामूहिक भोजनको व्यवस्था गरेको छ। 

बासको लागी विद्यालयमा प्रबन्ध गरिएको विष्णु –१ का वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए। धेरै पीडितले गएराती घर डढेकै स्थान नजिकै रात बिताएका थिए।

पीडितका लागि तत्काल विभिन्न सङ्घसंस्थाको सहकार्यमा त्रिपाल, केही भाडावर्तन, ओड्ने ओछ्याउने लगायतका सामग्री वितरणको तयारी गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले जानकारी दिए।  पीडितको दीर्घकालिन व्यवस्थापनको लागि कार्यपालिका बैठकले निर्णय गर्ने उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .