राजनीति


राष्ट्रियसभा विधायन समितिले लियो लुम्बिनी गुरुयोजनाबारे जानकारी

राष्ट्रियसभा विधायन समितिले लियो लुम्बिनी गुरुयोजनाबारे जानकारी

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार २१:४०, काठमाडौँ

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज बुद्धजन्मस्थल लुम्बिनीका पछिल्ला गतिविधि र सम्पदा क्षेत्रका बारेमा जानकारी लिएको छ।

समितिका सभापति र सदस्यहरुले लुम्बिनी विकास कोषको कार्यालयमा लुम्बिनी गुरुयोजनाअन्तर्गत योजनाहरुको कार्यान्वयन, तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकरण र बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा जानकारी लिएका हुन्।

कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजनाको प्रगति, कपिलवस्तु विश्व सम्पदा सूचीका सूचीकरणका अन्तिम मनोनयन दस्तावेज पेस गरिएकोलगायत विषयमा समितिलाई जानकारी गराएका थिए।

त्यस अवसरमा विधायन समितिका सभापति मायाप्रसाद शर्माले बुद्धजन्मस्थल लुम्बिनीका सन्दर्भमा स्थलगत अध्ययन गर्ने उद्देश्यले आफूहरु आएको बताए। महत्वपूर्ण दस्तावेज, अभिलेख र ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बद्ध निकायको व्यवस्थापन सम्बन्धमा आवश्यक नीतिगत विषयहरूमा संसदीय भूमिका निर्वाह गर्नुपर्ने सभापति शर्माले बताए।

छलफलमा विधायन समितिका सदस्यहरु एवं राष्ट्रियसभा सदस्यहरु गोपाल भट्टराई, गोमादेवी तिमल्सिना, युवराज शर्मा, रेनु चन्द, सुमिज्ञा बिसी र समिति सचिव कमला शाक्यको उपस्थिति थियो।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सरकारले लुम्बिनी गुरुयोजना कार्यान्वयन र प्रगतिका विषयमा जानकारी दिइएको सदस्यसचिव शाक्यले बताए।

समितिको टोलीले आज नै बुद्धजन्मस्थल लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा, कुदानलगायत क्षेत्रहरुको भ्रमण गरेका छन्।

सरकारलाई राष्ट्रियसभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए, गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय, सल्लाह दिनसमेतका लागि संविधानको धारा, ९७ तथा राष्ट्रियसभा (दोस्रो संशोधन) नियमावली, २०७५ को नियम १४७ बमोजिम सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको गठन भएको हो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .