राजनीति


प्रधानन्यायाधीशका छोरा प्रधानन्यायाधीश चन्द्रचूड, नेपाल आएर अर्को इतिहास रचे

प्रधानन्यायाधीशका छोरा प्रधानन्यायाधीश चन्द्रचूड, नेपाल आएर अर्को इतिहास रचे

भारतीय प्रधानन्यायाधीश डा धनञ्जय यशवन्त (डी वाई) चन्द्रचूड नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार २१:४, काठमाडौँ

नेपाल र भारतबीच राजनीतिक र अन्य क्षेत्रका भ्रमण आदानप्रदान कति भए होलान्? तर, सुन्दा अचम्म लाग्ला। भारतीय प्रधानन्यायाधीश औपचारिक भ्रमणमा नेपाल आएकै रहेनछन्।

यो रिक्तता खण्डित गरेर नेपालको औपचारिक भ्रमण गर्ने पहिलो भारतीय प्रधानन्यायाधीशको इतिहास बनाएका छन्, डा धनञ्जय यशवन्त (डीवाई) चन्द्रचूडले। त्यसैले उनको भ्रमणलाई नेपालको सर्वोच्च अदालतले उच्च महत्त्व दिएको छ।

उनी शुक्रबार साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए। उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रार देवेन्द्र ढकाललगायतले स्वागत गरे। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव त स्वागतमा पुग्ने नै भए।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतीय प्रधानन्यायाधीश चन्द्रचूड नेपालको औपचारिक भ्रमणमा आएका हुन्। साथमा उनकी श्रीमती कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्टमास्टर चेतन अरोरा रहेका छन्।

गत माघमा प्रधानन्यायाधीश श्रेष्ठ भारत भ्रमणमा गएका थिए। उनी त्यतिखेर भारतीय सर्वोच्च अदालतको ७५ औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन दिल्ली गएका थिए। त्यसैबखत उनले आफ्ना भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

चन्द्रचूडले पनि आफू नेपाल भ्रमणका लागि इच्छुक रहेको र अनुकूल समय मिलाएर आउने वचन दिएका थिए। 

भारतीय प्रधानन्यायाधीश चन्द्रचूडको स्वागत गर्दै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश डा आनन्दमोहन भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

यस्तो छ कार्यक्रम
भारतीय प्रधानन्यायाधीश चन्द्रचूडले शनिबार सर्वोच्च अदालतको केन्द्रीय बाल न्याय समितिको आयोजनामा हुने राष्ट्रिय बालन्याय संगोष्ठीको विशिष्ट अतिथिका रूपमा भाग लिनेछन्। उक्त संगोष्ठीमा उनी मुख्य वक्ता (की नोट स्पिकर)का रूपमा प्रवचन पनि दिनेछन्।

शनिबार नै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उनका भारतीय समकक्षी चन्द्रचूडबीच औपचारिक द्विपक्षीय वार्ता हुनेछ। 

साँझ उनको सम्मानमा राजकीय भोजको आयोजना गरिएको छ, जसमा प्रधानन्यायाधीश श्रेष्ठसहित सर्वोच्च अदालतका सबै न्यायाधीश तथा विशिष्ट अधिकारीहरू, नेपाल सरकारका कानुनमन्त्री पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, कानुन सचिवलगायतलाई निम्त्याइएको छ।

शनिबार नै भारतीय प्रधानन्यायाधीश चन्द्रचूड पाटन दरबार, भक्तपुर दरबार र हनुमानढोका दरबारको अवलोकन भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ।

मुक्तिनाथ दर्शन गर्ने
भारतीय प्रधानन्यायाधीश चन्द्रचूड पर्सि आइतबार मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम मिलाइएको छ। उनकै विशेष आग्रहमा यो कार्यक्रम मिलाइएको व्यवस्थापनका खटिएका एक अधिकारीले जानकारी दिए।

आइतबार नै उनी अन्नपूर्ण आधारशिविर पुग्नेछन्। नजिकबाट हिमालको अवलोकन गर्ने इच्छा व्यक्त गरेकाले उनको यो कार्यक्रम तय भएको हो।

त्यस बिहान उनको ब्रेकफास्ट भने पोखरामा हुनेछ।

आइतबार राति उनी स्वदेश फर्कने तालिका छ।

प्रधानन्यायाधीशका छोरा प्रधानन्यायाधीश
चन्द्रचूड भारतका ५० औँ प्रधानन्यायाधीश हुन्। राष्ट्रिय विधिक सेवा प्राधिकरणका पूर्वकर्मचारी रहेका उनी बम्बे उच्च अदालतका न्यायाधीश हुँदै अलाहवाद उच्च अदालतका मुख्य न्यायाधीश भएर पनि काम गरेका थिए। 

सर्वोच्च अदालतको न्यायाधीशमा ८ वर्षअघि मात्र नियुक्त भएका हुन्। २०७९ कात्तिकमा उनले सर्वोच्च न्यायालयको नेतृत्व सम्हालेका हुन्।उनी आउँदो कात्तिक महिनासम्म न्यायपालिकाको नेतृत्व गर्नेछन्।

रोचक पक्ष के भने उनका बुवा पनि प्रधानन्यायाधीश थिए। भारतीय सर्वोच्च अदालतका १६ औँ प्रधानन्यायाधीश यशवन्त विष्णु चन्द्रचूडले सर्वाधिक लामो कार्यकाल बिताएका थिए।

२०३४ फागुनदेखि २०४२ असारसम्म उनी प्रधानन्यायाधीश पदमा रहेका थिए। ७ वर्ष ४ महिना उनले न्यायपालिकाको नेतृत्व गरेका थिए।

बाबुछोरा नै प्रधानन्यायाधीश भएको भारतको यो पहिलो घटना मानिन्छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .