राजनीति


सामाजिक न्यायको महत्त्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम : प्रधानमन्त्री

सामाजिक न्यायको महत्त्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम : प्रधानमन्त्री

नेपालखबर
बैशाख १९, २०८१ बुधबार १६:१५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा सामाजिक न्याय र समृद्धि सम्भव नहुने बताएका छन्।

संयुक्त ट्रेड युनियन महासंघद्वारा आज यहाँ आयोजित १ सय ३५ औँ  श्रमिक दिवससम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चित गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन्।

‘यही यथार्थलाई आत्मसात गरेर नै नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो प्रमुख कार्यभार हो।’

श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम संगठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गरानुपर्ने बताए।

‘युवाको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील छ। स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्त्वपूर्ण माध्यमको रूपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले श्रमिकको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको छ।’ 

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको जग बसाइएको उल्लेख गर्दै उनले संविधानमा व्यवस्था भएको समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आधार सामाजिक न्याय भएको धारणा राखे। 

सामाजिक न्याय कार्यान्वयनको महत्त्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम भएको उल्लेख गर्दै उनले सो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषय भनेर टिप्पणी गरे।

लाखौँ श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेको परिप्रेक्ष्यमा विदेशमा रहेका नेपाली र अनौपचारिक क्षेत्रका सम्पूर्ण श्रमिकलाई यस कार्यक्रममा समावेश गर्ने प्रक्रिया अगाडि बढिरहेको जानकारी पनि उनले दिए।

‘सबैलाई सामाजिक सुरक्षा’ भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न आफ्नै निर्देशन र पहलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको सुरुआत गरिएको उनको भनाइ थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .