भारत र जापानले अमेरिकी राष्ट्रपति जो बाइडेनको ‘जेनोफोबिक’ टिप्पणी खारेज गरेका छन्। हालै बाइडेनले कम आप्रवासी लिएका मुलुकहरुको आलोचना गर्दै जापान र भारत पनि आप्रवासी नरुचाउने मुलुक भएको आरोप लगाएका थिए।
‘अहिले चीन आर्थिक रुपले किन अड्किरहेको छ, जापान किन समस्यामा छ, रुस, भारत किन समस्यामा छन्? किनभने उनीहरु जेनोफोबिक छन्, उनीहरु आप्रवासी रुचाउँदैनन्,’ बाइडेनले भनेका थिए, ‘हाम्रो मुलुकमा आर्थिक वृद्धि भइरहनुको एउटा कारण के हो भने हामी आप्रवासीलाई स्वागत गर्छौं।’
यसको जवाफमा भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले ऐतिहासिक रुपमा भारत आप्रवासीप्रति खुला रहँदै आएको र आर्थिक हिसाबले सशक्त रहेको बताएका छन्।
‘पहिलो कुरा त, हाम्रो अर्थतन्त्र समस्यामा छैन,’ शुक्रबार जयशंकरले एक कार्यक्रममा भने, ‘मलाई लाग्छ, हामी भारत आउने आवश्यकता रहेका मानिस र यहाँ दाबी रहने मानिसप्रति खुला रहनुपर्छ।’
भारतले हालै बंगलादेश, अफगानिस्तान र पाकिस्तानका हिन्दुहरुलाई नागरिकता दिने कानुन लागू गरेको छ। मुस्लिविरुद्ध विभेद भएको भन्दै त्यसको व्यापक विरोध पनि भएको थियो।
जापान पनि अति कम आप्रवासी भएका मुलुकमा पर्छ। वासिङ्टनस्थित जापानी दूतावासले बाइडेनको टिप्पणी दुर्भाग्यपूर्ण भएको बताएको छ।
जापानी नीतिलाई ठिकसँगले नबुझेको दूतावासको प्रतिक्रिया छ। एजेन्सी
Shares
प्रतिक्रिया