गण्डकी


पोखरा किन खुलेन, किन पानी परेन?

पोखरा किन खुलेन, किन पानी परेन?

वाशुदेव मिश्र
बैशाख २१, २०८१ शुक्रबार १९:२२, पोखरा

नांगो आँखाले ८ हजार मिटर अग्लो हिमाल हेर्न पाइनु समुद्र सतहबाट ८८४ मिटर उचाइमा रहेको पोखराको विशेषता हो।

पोखराबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हावाको दूरी नाप्ने हो भने करिब ३५ किलोमिटर जति टाढा छ।

प्रसिद्ध भूगोलविद् टोनी हागनका अनुसार ६ हजार ७८७ मिटर अग्लो माछापुच्छ्रे त पोखराबाट जम्माजम्मी २५ किलोमिटरकै दूरीमा छ। पूर्व–पश्चिम ४५ तथा उत्तर–दक्षिण चौडाइ ८ देखि १० किलोमिटर रहेको पोखरा उपत्यका नदी, बेँसी र टारहरूको संगमस्थल पनि हो।

कोत्रेखोलादेखि फुर्सेखोला, विजयपुरदेखि हेम्जा–सुइखेत, लामाचौर, पुरन्चौरदेखि भुर्जुङखोला,लाहाचोक, घाचोक, मर्दिखोला, कृस्ती, बौमारा, रिसिङ, घिरिङसम्म फैलिएको यो उपत्यकामा हतपती गर्मी  हुँदैनथ्यो। 

तापक्रम ३३–३६ डिग्री सेल्सियसभन्दा माथि जानासाथ साँझ पानी परिहाल्थ्यो। पानी परेपछि चल्ने चिसो सिरेटोले ज्याकेट लगाउन बाध्य पार्थ्यो। यो कृषिविद डा अनिल सुवेदीको अनुभव हो।

लामो समय लुम्ले कृषि अनुसन्धान केन्द्रमा बिताएका डा सुवेदीले हेर्दाहेर्दै पोखरा बदलिएको छ। वातावरण विभागले शुक्रबार अद्यावधिक गरेको विवरण अनुसार पोखराको वायु प्रदूषण एक्युआई १९३ रहेको छ। यो भनेको काठमाडौंपछिको बढी प्रदूषित हो।

लामो समयदेखि पोखरामा पानी परेको छैन। फागुन १४ गते बिहान हल्का वर्षा र त्यसको केही दिनपछि पानी छिट्याए पनि धुलो मर्ने गरी पानी परेकै छैन। पोखरामा किन पानी परेन त?

डा सुवेदी भन्छन्, ‘यो हामीहरूको जुन खाल्डो (पोखरा) मा ताल–तलैया, सिमसार, खोला प्रशस्तै छन्। यी जलाशयबाट वाष्पीकरण भएर पानी वायुमण्डलमा जान्छ। माथि गएपछि बादलबाट वर्षा हुनुपर्ने हो। तर, अहिले विज्ञानलाई चुनौती दिइरहेको छ।’

पानी कहाँ गयो त?
‘यतिबेला धुलो र धुँवाले वायुमण्डल पनि सुख्खा भएको छ। गएको वाफ त्यहीँ सुक्यो। अहिले त वायुमण्डल नै सुकेजस्तो छ। आकाशमा पानीका कणहरू हुन्थे। ती हराएका छन्,’ सुवेदीको ठम्याइ छ, ‘यसो हुनुमा डढेलो मुख्य कारण हो।’

पृथ्वी राजमार्ग निर्माणाधीन छ। अन्य निर्माणका कार्य पनि भइरहेका छन्। प्रदूषण बढेको छ। यस्तै पानी पार्ने पश्चिमी वायु पनि चलेको छैन। पूर्वी वायु प्रि-मनसुनको बहाव पनि यो वर्ष भएन। त्यसबाट पनि असर परेको विज्ञहरूको भनाइ छ।

जानकारहरूका अनुसार, पोखराभन्दा बाहिरको हिन्द महासागर र बंगालको खाडीबाट जलप्रवाहसहित आउनले हावाले पानी पार्थ्यो, त्यो पनि आएको छैन। बंगालको खाडी र त्यसभन्दा परबाट मौसमी जलप्रवाह रोकिएको छ।

अर्कोतर्फ, पोखराको उत्तरी क्षेत्रमा उच्च हिमाली क्षेत्र रहेको छ। अन्नपूर्ण हिमशृंखलाले उत्तरबाट आउने हावालाई रोकिरहेको छ। उत्तरबाट बहने हावा नआउने अनि यहाँबाट उत्पन्न भएको धुँवा र धुलो उडेर जाने ठाउँ भएन, आकाशमै रह्यो। जसले गर्दा प्रदूषण बढायो।

पोखरा वरपर डाँडाहरू छन्। डाँडाहरूले प्राकृतिक रूपमै हावा शुद्ध बनाउने काम गर्छन्। कार्बन डाइअक्साइड उत्सर्जनमा सघाउँछन्। तर, पोखरा वरपर भएका डाँडाहरूमा वनभन्दा बस्ती छन्।

‘काठमाडौंमा पनि हुन त त्यस्तै हो तर काठमाडौंको उचाइ बढी छ। जनसंख्या धेरै भएकाले मात्र हो, नत्र काठमाडौंको हावा वास्तवमै शुद्ध हुन्थ्यो, उचाइको कारणले,’ डा सुवेदी भन्छन्।

पोखरा वन विज्ञान अध्ययन संस्थान पोखराका प्रमुख प्राडा विनोद हेज्यू पनि डा सुवेदीको भनाइमा सहमत छन्। पोखरामा लामो समयसम्म पानी नपर्नु नै आश्चर्य अनि अध्ययनको विषय भएको उनको भनाइ छ। लामो समयसम्म पानी नपरेकोमा उनी पनि आश्चर्यचकित छन्। 

‘सामान्यतः यस्तो अनुभव थिएन,’ हेज्यू भन्छन्, ‘जलवायु परिवर्तनले देखाएको लक्षणसँग मिल्दोजुल्दो छ। वैशाख लागेपछि पानी पर्थ्यो। तर, यसपटक त्यस्तो भएन। पछिल्लो समय यहाँ  वर्षा भए पनि अप्रत्यासित खालको हुने गरेको छ। लामो समय नपर्ने अनि कहिले एक्कासि पर्ने।’

डा हेज्यूकै भनाइमा, डढेलोले पनि वातावरण बिगारेको छ। धुँवाले गर्दा कार्बनको समस्या त छँदै छ, कचौरा आकारको उपत्यका हुँदा प्रदूषण झन् नियन्त्रणबाहिर भयो। 

‘पानी नै पर्‍यो भने प्रदूषण कम हुन सक्ला, नत्र यस्तै रहने भयो,’ उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .