कारोबार


युवा पकडमा अटो व्यवसाय : अधिकांश घरानामा दोस्रो पुस्ताको नेतृत्व

युवा पकडमा अटो व्यवसाय : अधिकांश घरानामा दोस्रो पुस्ताको नेतृत्व

करण चौधरी, निराकर श्रेष्ठ, अभिमन्यु गोल्छा, गौरव सारडा र निर्वाण चौधरी


वसन्त अर्याल
बैशाख २२, २०८१ शनिबार १३:१०, काठमाडौँ

अटो व्यवसाय क्षेत्रमा युवापुस्ताको जबर्जस्त उपस्थिति देखिन थालेको छ।

सबैजसो व्यावसायिक घरानाले अटो व्यवसायको जिम्मा दोस्रो र तेस्रो पुस्तालाई दिएका छन्। 

अहिले तिनै युवापुस्ताले यस क्षेत्रलाई हाँकिरहेका छन्। 

त्यसो त नेपालमा अटो व्यवसाय ट्रेडिङको रुपमा मात्रै छ। दुई पांग्रेबाट सुरु भएको एसेम्बलिङले विस्तारै गति लिँदै छ। चारपांग्रेको एसेम्बलिङ बल्ल सुरु हुँदै छ। 

अहिले सबैजसो दुईपांग्रे ब्रान्डको एसेम्बलिङ नेपालमै हुन्छ। हुन्डाईले चारपांग्रेको परीक्षण गरिरहेको छ। अटो ट्रेडिङसँगै एसेम्बलिङ उद्योगलाई पनि युवापुस्ताले नै नेतृत्व गर्नथालेका छन्। 

बजारमा युवापुस्ता अघि सरिरहँदा प्रतिस्पर्धा पनि बढ्दै गएको छ। एकल ब्रान्डको विरासतमा नयाँ खासगरी विविध ईभी आगमनले धावा बोल्न थालेका छन्।  

दुईपांग्रे, चारपांग्रेसहित कमर्सियल गाडीमा धेरै ब्रान्ड भित्रिएका छन्। तीव्र प्रतिस्पर्धा छ। 

विश्वबजारमै गाडीसम्बन्धी प्रविधि छिटो छिटो परिवर्तन हुँदै छन्। ईभीमै पनि हाइब्रिडदेखि ब्याट्रीसम्म र हाइड्रोजन इन्धनका सवारीसाधन बन्नथालेका छन्। स्वचालित प्रविधिको परीक्षण हुँदै छन्। 

यसबेला कम्पनीहरुले सही समयमा ब्रान्डसँगै नयाँ मोडल नभित्र्याउँदा ‘फ्लप’ हुने डर उत्तिकै छ। 

नेपाली अटो क्षेत्रमै केही वर्षअघि धेरै गाडी बेच्ने घरानाले मागअनुसारको प्रोडक्ट नल्याउँदा व्यापारमा गिरावट भोगेको छ। पेट्रोल गाडीलाई मात्रै लक्षित गरेका व्यवसायीलाई विद्युतीय गाडी भित्र्याउनेले व्यापारमा चुनौती दिएका छन्। 

ब्रान्ड भित्र्याएको २–३ वर्षमै सबैभन्दा बढी गाडी बिक्री गर्न सफल भएका छन्। 

यसरी सफल हुन नयाँ प्रविधि र नयाँ बजार बुझेर व्यवसाय अघि बढाउने रणनीतिक नेतृत्वको आवश्यकता महशुस गरेरै हुनसक्छ, कम्पनीहरु युवापुस्ताको पकडमा आएका छन्। 

ध्रुव थापा

किन आए अटोमा फ्रेस अनुहार? 
कतिपय व्यवसायी युवापुस्तालाई व्यवसाय सिकाउन र विदेश पलायनबाट रोक्न व्यवसायको जिम्मा लगाएको बताउँछन्। अन्य व्यवसायको तुलनामा स्थापित ट्रेडिङ व्यवसाय अघि बढाउँदा असफलता हुने सम्भावना कम पनि हुने उनीहरुको भनाइ छ। 

‘अटो बजार तीव्र प्रतिस्पर्धामा अघि बढेको छ। सही समयमा प्रोडक्टको विषयमा निर्णय गर्न नसके सफलता पाउन मुश्किल छ’, अटो व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसनका निवर्तमान अध्यक्ष ध्रुव थापा भन्छन्, ‘युवापुस्ताले विश्वबजारको अवस्था हेरेर बजार रणनीति बनाउने कुरा छिटो क्यास गर्न सक्छ।’

युवा पुस्ताले अटो बजार सम्हालेसँगै प्रचारप्रसारको शैली परिवर्तन भएको छ। उनीहरुले सामाजिक सञ्जाल, इन्फ्लुयन्सरलाई बढी प्रयोग गर्दै आएका छन्। 

करिब २ दशकदेखि अटो व्यवसाय सम्हाल्दै आएका आकाश गोल्छाले पहिलाको अटो बजार र अहिले धेरै नै परिवर्तन भएको सुनाए। 

‘युवा पुस्ताको नेतृत्वसँगै समयको परिवर्तनले अटो व्यवसायको शैलीमा परिवर्तन आएको छ’, उनी भन्छन्, ‘सही समयमा सही प्रोडक्ट ल्याउन नसक्दा असफल भएका उदाहरण छन्।’

गोल्छाले भर्खर व्यवसाय सम्हालेका युवाले आफ्ना बुबाहरुसँग सल्लाह गर्छन् भने केहीले आफैँ निर्णय गर्न सक्षम भइसकेको बताउँछन्। 
‘अहिले नयाँ प्रोडक्टसँगै प्रचार आक्रामक छ’, उनी भन्छन्, ‘प्रतिस्पर्धाको शैली परिवर्तन भएको छ।’

अटो व्यवसायमा देशभर नेटवर्क राम्रो हुनेको बढी बिक्री हुने गरेको थियो। अहिले ग्राहकले अन्तर्राष्ट्रिय बजारमै गाडी सार्वजनिक हुँदा त्यसको जानकारी राख्ने भएकाले नेटवर्कले मात्रै काम गर्न छाडेको छ। अटो बजारमा नयाँ प्रवेशीले आक्रामक व्यापार गरेका छन्।

अहिले बजारमा कुन घरानाले कुन ब्रान्ड ल्यायो भन्दा पनि कस्तो ब्रान्ड र मोडल भन्नेले फरक पार्ने व्यवसायी बताउँछन्। 

कुन ग्रुपमा कसले सम्हाल्दै छ अटो व्यवसाय?
सुजुकीका चारपांग्रे गाडी सीजी होल्डिङअन्तर्गतको सीजी मोटोकर्प आधिकारिक बिक्रेता छ। त्यसको नेतृत्व करण चौधरीले गरेका छन्।

करण चौधरी अटो व्यवसायीहरुको छाता संगठन नाडा अटो मोबाइल एसोसिएसनका अध्यक्ष समेत छन्। उनी अरुण चौधरीका छोरा हुन्। उनले सुजुकीका चारपांग्रे हेर्छन्। 

अरुणका दाइ विनोद चौधरीका छोरा निर्वाणले अटो व्यवसायमा आक्रामक प्रवेश गरेका छन्। निर्वाण चौधरीले नेतृत्व गरेको सीजी मोटर्स धेरै ब्रान्ड होल्ड गर्ने कम्पनीमा पर्छ।

सीजी मोटर्सले नेपालमा चारपांग्रेका नयाँ ब्रान्डसँगै बजारमा राम्रै उपस्थिति रहेको २ पांग्रे बिक्री थालेको छ। नेटा, केवाईसी, किङलङ, आयन र हिरोका दुईपांग्रे बिक्री थालिसकेका छन्। नयाँ ब्रान्ड ल्याउनको लागि सम्झौता गरिसकेका छन्।

गौरव सारडा

सारडा ग्रुपले नेपालमा निशान, ओमोडा, चेरीलगायतका ब्रान्ड बिक्री गर्दै आएको छ। सारडा ग्रुपका निर्देशक गौरव सारडाले अटो व्यवसाय हेर्न थालेका छन्। उनीसँगै निशान ब्रान्ड सन्दिप सारडाले पनी हेर्छन्। सारडा ग्रुपको व्यवसाय दुली चन्द्र सारडाले सुरु गरेकोमा गौरव र सन्दिप तेस्रो पुस्ताका हुन्। हाल ग्रुपको अध्यक्ष शिव रतन सारडा छन्। 

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपको अटो व्यवसाय निराकर श्रेष्ठले नेतृत्व गरिरहेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष समेत रहेका श्रेष्ठ ग्रुपका अध्यक्ष गणेश बहादुरका कान्छा छोरा हुन्। केही वर्ष अघिसम्म मुख्यतः अन्जन श्रेष्ठले व्यापार हेर्दै आएकोमा अहिले निराकर अघि बढेका छन्। अन्जन श्रेष्ठ नाडाका पूर्वअध्यक्ष समेत हुन्। 

नेपालमा बढी दुईपांग्रेको बिक्री गर्दै आएको बजाजको नेतृत्व अभिमन्यु गोल्छाले गर्न थालेका छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाका छोरा हुन्। नेपाली बजारमा प्रिमियम दुईपांग्रे केटीएम समेत अभिमन्युले नेतृत्व गर्छन्। बजार रणनीति बनाउनेदेखि नीतिगत बहसमा अभिमन्युको उपस्थिति छ। 

टोयोटाको आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेसन छ। यसअनुसार युनाइटेड सिन्डिकेट प्रा.लिमा सुरज बैद्यको ६०, ऋतुसिंह बैद्यको ३० र छोरा सुशन बैद्यको १० प्रतिशत सेयर छ। सुशन बैद्य सुरज र ऋतुसिंहका छोरा हुन्। नेपालमा महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेडमा समेत सुशन बैद्य सेयर होल्डर छन्। वैद्य अर्गनाइजेसनले विद्युतीय स्कुटर ब्रान्ड एथर भित्र्याएको छ। टोयोटासँगै एथरको ब्रान्डिङ रणनीति सुशनले गर्दै आएका छन्।

निशान ढकाल (आईएमई)

आईएमई ग्रुपले कमर्सियल गाडी र हेभिएक्युप्मेन्टको व्यापार गर्दै आएको छ। आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले अटो व्यवसायमा छोरा निशान ढकाललाई अघि बढाएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसनमा कमर्सियल गाडीको सभापति निशान छन्। आईएमई ग्रुपले भारतीय ब्रान्ड अशोक लेल्यान्डको बस र ट्रक बिक्री गर्छ। त्यस्तै हेभी इक्विपमेन्टमा इस्कोर्टसको आधिकारिक बिक्रेता छ। 

शंकर ग्रुपको अटो व्यवसाय शाहिल अग्रवालले हेर्छन्। ग्रुपअन्तर्गत नै २ वटा ग्रुप छन्। जसमा जगदम्बा ग्रुपको अध्यक्ष शाहिल अग्रवाल छन् भने जगदम्बा होल्डिङ्सको अध्यक्ष सुलभ अग्रवाल छन्। अटो व्यवसाय जगदम्बा ग्रुपअन्तर्गत छ। जगदम्बाले टीभीएस ब्रान्ड र प्रोटोन कार बिक्री गर्दै आएको छ। टीभीएसले नेपालमै एसेम्बल गरी मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ। 

नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापाले आफ्ना छोरालाई अघि बढाएका छन्। छोरा सौरभ थापा नाडा कार्यसमिति सदस्य छन् भने हिमालय अर्गनाइजेसनको प्रबन्धनिर्देशक रहेका छन्। उनीहरुले आयाम इन्टरनेशनलमार्फत फोर्स मोटर्सका गाडी नेपालमा आयात तथा वितरण गर्दै आएका छन्। 

सौरभ थापा

विशाल ग्रुपमा निकुञ्ज अग्रवालले अटो व्यवसाय गर्दै आएका छन्। उनी पनि दोस्रो पुस्ताकै हुन्। नेपालमा चलेका ब्रान्डमध्ये बीवाईडी पनि हो। जसको व्यवसाय यमुना श्रेष्ठले हेर्छिन्। उनी आफैँले अटो व्यवसाय सुरु गरेकी हुन्। 

धेरै अटोमोबाइल ब्रान्ड होल्ड गर्ने एमएडब्लु ग्रुपको अटो व्यवसाय विष्णु अग्रवाल आफैँले हेर्दै आएका छन्। उनी नेपाल उद्योग परिसंघको निवर्तमान अध्यक्ष समेत हुन्। होन्डाको व्यापार लामो समयदेखि सौरभ ज्योतिले हेर्दै आएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .